• होम
  • कविता
  • यात्रा
  • पत्र
  • कथा
  • गन्थन
  • लेख
  • Poems
  • Letters
  • Musings
  • Travel
  • Video

Musings by Kamal Kumar

  • गाउँ, बाउ र छोराहरु

    November 19th, 2012
    रातो सूर्यास्तका बेला
    गाउँ एक्लो छ
    बाउ एक्लो छ
    दिनभरि कामबाट फर्केर
    ढोका उघार्न आइपुग्दैन कुनै छोरो ।

    नजिकै छिमेकमा
    हरेक सूर्यास्तपछि
    सुनिन्छ हार्मोनियमको झंकार,
    जहाँ मोटो चश्मा लगाएको
    एउटा एक्लो बाउ
    भजन गाइरहन्छ
    दबाएर छोरोको सम्झना
    दबाएर हार्मोनियम ।

    रातो सूर्यास्तमा
    धुलो उड्दैन
    गाउँको एउटा पुरानो चौरमा,
    जहाँ खेल्दैनन् छोराहरु
    खेल्दा खेल्दै लड्दैनन् साना छोराहरु
    किनकि
    हुत्तिँदै घर पुगेर हाम्फाल्ने
    बाउका काखहरु छैनन् घरमा
    घरमा बाउहरु छैनन्

    हरेक रातो सूर्यास्तमा
    गाउँ सुन्दर छैन पहिले जस्तो,
    जहाँ बाउ-छोराहरु छैनन्
    केवल छन् त
    बाउविनाका छोराहरु
    र छोराविनाका बाउहरु

    Inspired by recent visit to my hometown Hetauda

    नोभेम्बर १९, २०१२
    काठमाण्डु

  • खोइ मेरो देश ?

    October 20th, 2012
    मुस्ताङ जिल्लाको जोमसोम नपुग्दै आउने मार्फा गाउँमा कालिगण्डकी नदीपारि एउटा बस्ती छ । जीर्ण झोलुंगे पुललाई चौबीसै घन्टा हुर्रेर चल्ने हावाले लिन्ठिङ-लिन्ठिङ हल्लाइरहन्छ । हावाले ज्यानसमेत हल्लाइदिन्छ कहिलेकाहीँ । बुद्ध धर्मका मन्त्र लेखिएका ध्वजापताका पुलभरि बाँधिएका छन् । पुलका फलामे डोरीलाई चपक्क समातेर मुन्तिर गडगडाएर बगिरहेको कालो गण्डकीलाई नियाल्दै लामो सास फेरेर यो पुल तर्छ यहाँ पुग्ने कुनै नौलो मान्छे ।

    पुलपारि जंगल छ । स्याउको जंगल । जंगल छिचोलेपछि भेटिने बस्तीको ठेगाना राजनीतिक नक्सामा भए पनि यहाँका मान्छेहरूको मनमा न कुनै देश छ न कुनै ठेगाना ।

    तिब्बती क्याम्पको नामले चिनिने यो बस्तीमा ४५ घर छन् । जनसंख्या २ सयभन्दा अलि बढी होला । बस्तीको सुरुमै समुदायले चलाएको एउटा गेस्टहाउस भेटिन्छ । यदाकदा तिब्बती शरणार्थीहरूप्रति दया पलाएर यो सामान्य गेस्टहाउसमा पाल्ने कुइरेहरूबाट उठेको रकम यही बस्तीकै हितमा खर्च गरिन्छ ।

    कम्युनिटी गेस्टहाउसमा यसपटक दादुराको खोप लगाउन आएको टोली झुलुक्क झुल्कियो । गाउँभरिका बच्चालाई खोप लगाएपछि डाक्टरको सल्लाहमा चार कक्षासम्म पढाइ हुने स्कुलमा पनि हाफ डे छुट्टी भयो । दादुराको खोप लगाउन आएको टोलीले हात चाट्दै भात खाएर बिदा भएपछि गेस्टहाउसका म्यानेजर र स्कुलका पि्रन्सिपल डाक्पा किचनको कुनामा बसेर स्याउको छ्याङ खान थाले एक्लै भावुक भएर । एक ग्लास घिउ कलरको छ्याङ टक्य्राउँदै उनले भने, ‘सर प्योर हो । प|mुट्सबाट बनाएको टिब्बेटन वाइन । काठमाण्डुको जस्तो केमिकल मिसाएको होइन ।’

    डाक्पा त्यतिखेर ४, ५ वर्षका मात्र थिए जतिबेला उनका आमाबाबु बिते । पोखराको हेम्जामा शरणार्थी क्याम्पमै जन्मेका डाक्पालाई तिब्बतबाट नेपाल भागेर आउँदाका कथा सुनाउने कोही भएनन् । नेपालमा जन्मेर ४० नाघिसकेका डाक्पा आफ्नो परिचयबारे सधैं कन्फ्युज्ड छन् । आफूलाई टिबेटन भन्छन् । तर तिब्बत त एकादेशको कथा पो हो त । १९४९ मा चिनियाँ आक्रमणपछि धेरै तिब्बतीहरू भागेर नेपालमा शरण लिन आइपुगेका हुन् । डाक्पा दोस्रो पुस्ताका शरणार्थी हुन् । जो नेपालमा जन्मिए । डाक्पाले पनि धेरै नेपालीले जस्तै तिब्बतीको बारेमा किताबमा लेखिएका कुरा मात्रै पढेका छन् । नदेखेको र नपुगेको एउटा बिरानो भूमिसँग जोडिएको ६० वर्ष पुरानो परिचयको त्यान्द्रो समातेर डाक्पा अझै भन्न बाध्य छन्, ‘म टिब्बेटन हो ।’

    हेम्जामा बाआमा बितेपछि डाक्पा भारतका बालमन्दिरहरूमा पढ्न पुगे । १९९८ मा मुस्ताङको यो क्याम्पमा फर्केर आए र स्कुलमा बालबालिकालाई पढाउन थाले । जिन्दगी यसैगरी चलिरहेको छ । डाक्पा न सुखी छन् न दुःखी छन् । उनको हाँसो मिठो छ । राष्ट्रियताको कित्तामा डाक्पाजस्ता अरू थुप्रै तिब्बती शरणार्थीहरू कहाँ उभिने हो उनीहरूलाई नै थाहा छैन ।

    मैले निष्ठुरी भएर डाक्पालाई फ्याट्टै सोधेँ, ‘नेपालको माया लाग्छ कि लाग्दैन ?’ डाक्पाको सहज र कन्पिmडेन्ट जवाफ आयो, ‘लाग्छ, किन लाग्दैन । नेपाल सुखी भयो भने हामी सुखी हुन्छौं, नेपाल दुःखी भयो भने हामी दुःखी हुन्छौं । यहाँको पोलिटिक्सले हामीलाई पनि चिन्ता लाग्छ ।’

    समस्या परिचयको मात्रै रहेछ । राज्यले सही गरेर दिने एउटा कागजको टुक्रा, जसलाई नागरिकता भनिन्छ, त्यही नागरिकता नपाउनुले डाक्पाजस्ता तिब्बतीहरू नेपालमा जन्मेर ४ दशकभन्दा बढी बाँचिसक्दा पनि परिचयविहीन छन् । डाक्पा भन्छन्, ‘आईए बीए पढेका, सीए पढेका, डाक्टर पढेका सबै छन् यहाँ । नागरिकताबिना काम नपाइने रैछ । प्रब्लम छ ।’

    आफूले दिनदिनै स्कुलमा पढाउने नानीहरू ः जो नेपालमा जन्मेका तेस्रो पुस्ताका अनागरिक हुन्, नेपालमै जन्मेका आमाबाबुबाट जन्मेका यी गैरनेपाली नानीहरूको भविष्य पनि डाक्पाले सुन्दर देखेका छैनन् ।

    िि

    गिाउँपारि बजार छ । मार्फा बजार । मार्फा बजारका पुराना गल्लीहरूमा यही क्याम्पका थुप्रै शरणार्थीहरूको उपहार पसल छ । आजकल बजारमुन्तिर सडकमा बस र जिप चल्छन् । पहिलेजस्तो कुइरेहरूको भीड लाग्दैन पसलमा । सुनसान गल्लीका उपहार पसलमा ग्राहक ढुकेर बसेका देखिन्छन् तिब्बती शरणार्थीहरू ।

    मिङमारको उमेर ३३ वर्ष भयो । उनी पनि नेपालमै जन्मेकी हुन् । उनका दुई नानीहरू पनि छन् । मिङमार दिनभरि पसलमा ग्राहक कुरेर बस्छिन् । पसलअघिल्तिर हिँडिरहेका कुइरे देखिन् भने ‘प्लिज कम इनसाइड’ भनेर बोलाउँछिन् । बेलाबखतमा थर्मसमा राखिएको घिउ हालेको चिया कपमा खन्याउँछिन् । कानमा लगाउने झुम्का र हातमा लगाउने तिब्बती गहनाका पुराना मक्केका धागोमा नयाँ धागो हालेर बसिरहन्छिन् । वर्षमा एक दुईचोटि छोरीहरूलाई घुमाउन भारतका केही तीर्थस्थल जान्छिन् । उनका छोरीहरू पनि क्याम्पकै स्कुलमा पढ्छन् । मिङमार त्यति राम्रो नेपाली बोल्दिनन् । उसो त मिङमार मात्र होइन क्याम्पका अधिकांश नेपालीमा बोल्न सहज महसुस गर्दैनन् । यहीँ जन्मेर दशकौं बाँचिसक्दा पनि नेपाली भाषा अझै सहजसँग बोल्न नसक्नुले यो समुदायको अरू समुदायसँग हुने अन्तरक्रिया कति पातलो रहेछ भनेर अनुमान लगाउन सकिन्छ । भन्न खाजेको यो समुदाय कति एक्लो रहेछ ।

    मिङमारको पसलमा कुनै सामान बार्गेन नगरी किनिदिने सर्तमा पनि उनले माइक्रोफोन अगाडि अन्तर्वार्ता दिन मानिनन् । कारण उही दोहोर्‍याउँथिन्, नेपाली राम्रो छैन । उनले ‘अर्को साल आउनुस् अनि अन्तर्वार्ता दिउँला’ भनिन् ।

    मिङमारकै पसलमा झुलुक्क आइपुगिन् थुक्तेन डोल्का । ४४ वर्षकी थुक्तेनलाई आमाले डोल्पामा पाएको रे । आमाबाबु तिब्बतबाट भागेर नेपाल आइरहँदा बाटोमा जन्मेकी हुन् थुक्तेन । पछि बाआमा भर्खरकी छोरी बोकेर काठमाण्डुमा स्वयम्भू र बौद्धको दर्शन गर्न गए । अनि फर्केर आई यही हिमालको काखमा रहेको शिविरलाई आफ्नो थलो बनाए ।

    एउटा मान्छेको जिन्दगीमा ४४ वर्षले के अर्थ राख्छ ? थुक्तेन त आफ्नो जिन्दगी दुःख सुखमा बितिसकेको बताउँछिन् । उनलाई फेरि छोराछोरीको पो चिन्ता छ त । १२ कक्षासम्म जसोतसो पढाए पनि त्यसमाथि पढ्न पैसा चाहिन्छ । पढेर पनि के गर्ने शरणार्थीलाई कसले काम दिन्छ र । काम गर्न नागरिकता चाहिन्छ ।

    मिङमारको पसलभन्दा अलि पर कर्माको पसल छ । कर्माका दिनहरू पनि धेरैजसो ग्राहक कुरेरै बित्छ । खास भन्ने हो भने, मेरो पहिलो भेट कर्मासँगै भएको थियो । उनको पसलमा राखिएको एउटा पुरानो श्यामश्वेत तस्बिरबाट सुरु भएको कुराकानीका क्रममा उनले नै क्याम्पमा जान अनुरोध गरेका थिए । झोलुङ्गे पुल तरेर क्याम्प पुगेको थिएँ म । क्याम्पका युवाहरू पनि बोल्न साह्रै हिच्किचाएको अनुभव फर्केर आएर कर्मालाई सुनाएको थिएँ । कर्मा भन्दै थिए, ‘टिबेटनहरू साह्रै सोझा हुन्छन् । हाम्रोभित्रको मिटिङमा मुठ्ठी कस्छन्, बाहिर बोल्न पनि सक्दैनन् ।’

    कर्माको उमेर ३५ वर्ष भयो । उनी पनि नेपालमै जन्मेका हुन् । भनिरहन पर्दैन उनी पनि गैरनेपाली हुन् । अहिलेसम्म बिहे गरेको छैन । बिहे गर्न पनि मन छैन । कारण भन्छन् कर्मा, ‘बिहे गरेपछि भविष्य र देश नभएको अर्को पुस्ता जन्मिन्छ ।’

    कमसेकम बोलीमा कर्मा सबैभन्दा क्रान्तिकारी देखिए । आफ्ना समस्या भन्न पनि डराउने यो समुदायमा कर्माले समस्या धेरैलाई पोखिसकेका छन्, गाउँ डुल्न आएका पूर्वराजा ज्ञानेन्द्रदेखि अमेरिकी राजदूतसम्मलाई ।

    देश नहुनुको पीडा कस्तो हुँदो रहेछ कर्मा ? निकै दबेको आवाजमा कर्माले भने, ‘संसारमा सबैभन्दा ठूलो पीडा नै शरणार्थी भएर बाँच्नु रहेछ । आमा नहुनुको पीडाजस्तै हुन्छ देश नहुनुको पीडा ।’

    तिब्बती हस्तकलाको कर्माको पसलमा एउटा पुरानो तस्बिर छ । श्यामश्वेत तस्बिर । १९६४ को तस्बिर हो त्यो । जहाँ कर्माका बाबु बन्दुक बोकेर उभिएका छन् । कर्माका बाबु खम्पा विद्रोही थिए । तिब्बत कब्जा गरेको चिनियाँ सेनाविरुद्ध लड्न तयार पारिएको भूमिगत विद्रोही जत्थाका एक ठूलै कमान्डर थिए कर्माका बाबु । कर्मा भन्छन्, ‘सीआईएले हात झिक्यो । विद्रोह असफल भयो ।’ कर्माका बाबु त्यो फोटो खिचाउँदा सीआईएको तालिम लिन अमेरिकाको कोलोराडो गएका थिए ।

    एउटा योद्धा बाबुको छोरा पसलमा हस्तकला बेचेर बस्छ । भात खाने मेलो त्यही हो । जुन देश छोडेर बाआमा आए त्यो देश त आफ्नो हुँदै भएन, जुन देशमा जन्मेर ३५ वर्ष काटियो त्यो देश पनि आफ्नो हुन सकेन । अरू धेरैका जस्तै कर्माको पनि समस्या परिचयको हो जसले उनलाई जिन्दगीभर दोधारमा पारिरह्यो । कर्माको देश खोइ ? सायद उनी शरणार्थी क्याम्प जाने बाटोमा पर्ने झोलुङ्गे पुलजस्तै हुन् जुन दुई किनारमा बाँधिएको छ । न वल्लो किनाराको हो, न पल्लो किनाराको । अनि हावाले बेजोडले हल्लाइरहन्छ, लिन्ठिङ-लिन्ठिङ ।

    कान्तिपुर कोसेलीमा प्रकाशित

  • नदी र सडक

    October 12th, 2012
    पहिले यहाँ नदी थियो
    एउटा लामो
    निकै लामो
    जीवनजस्तै लामो नदी,
    बगिरहने नदी
    बजिरहने नदी ।

    अहिले नदी छेउ छेउ
    नदीको लम्बाइलाई
    नदीको बगाइलाई
    नदीको ‌बेगलाई
    चुनौती दिँदै
    सडक सुतेको छ ।
    घीनलाग्दो सडक
    सुन्दर नदी छेउ
    मुर्दा जस्तै सुतेको छ,

    सडक न त
    नदी जस्तै लामो-लामो छ
    न त नदीजस्तै बग्छ
    न त नदीजस्तै बज्छ !

    नदीमा त केवल
    मरेका मान्छेहरु मात्र बग्थे

    सडकले त जिउँदा मान्छेहरु बगायो,
    बलिया पाखुरा
    र बलिया घोडाहरु बगायो,
    परबाट घन्टी बजाउँदै
    लोमान्थाङबाट घोडा चढेर आउने
    दारा गुरुङका इष्टमित्र बगायो,
    कति सम्बन्ध बगायो,
    नदी छेउका कति देउता,
    ढुङ्गै सही:
    त्यो पनि बगायो,

    नदी त
    आफू धेरै बग्थ्यो
    अरुलाई कम बगाउँथ्यो
    तर यो सडक
    आफू बग्दै बग्दैन
    र अरुलाई बगाइरहन्छ ।

    अक्टोबर २०१२, मुस्ताङ

  • मिसन मंगल

    August 18th, 2012
    अघिल्लो साता दुई प्रकारका ठूला खेल भइरहेका थिए संसारमा । कोही ओलम्पिक्समा दौडिँदै थिए भने क्युरियोसिटी नामको यान मंगल ग्रहतिर दौडिँदै थियो । झन्डै ९ महिना लामो रेस पार गरेर क्युरियोसिटीको मंगल सतहमा अवतरण हुने तयारी भइरहँदा धेरैले लन्डन ओलम्पिक्सलाई बिर्सेका थिए ।

    सन् १९६१ तिर एउटा भाषणको क्रममा तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले एक दशकभित्रै अमेरिकाले चन्द्रमामा मान्छे पठाउने घोषणा गरिदिए । शीतयुद्धको बेला सोभियत संघसँग चलिरहेको ‘स्पेस रेस’मा पछि पर्न लागेको देखेपछि अलि बढी नै आवेगमा आएर राष्ट्रपति महोदयले चन्द्रमामा मान्छे नै पठाउने योजना सार्वजनिक गरिदिएपछि नासालाई बडो धर्मसंकट परेको थियो । किनभने त्यतिबेला नासासँग चन्द्रमामा मान्छे पठाउने कुनै योजना थिएन ।

    केनेडी राष्ट्रपति मात्र थिएनन् । त्यतिबेलाका सबभन्दा प्रभावशाली र चर्चित नेता पनि थिए । आखिर उनको त्यही लहडी भाषणबाट सुरु भएको योजनाले सन् १९६९ मा मूर्त रूप पायो । अमेरिकाले चन्द्रमामा मान्छे पठाइछाड्यो । संसारका लागि त्यो घटना ऐतिहासिक भयो । नेपालसम्मका अंग्रेजी स्कुलका विज्ञान विषयका पाठ्यपुस्तकमा चन्द्रमामा पाइला राखिरहेका निल आर्मस्ट्रङको आवरण तस्बिर छापियो र मान्छेको जातले भनिरहन पायो, मान्छे महान् छ हामीले चन्द्रमालाई पनि छाडेनौं । कतिपयले त अमेरिकाले चन्द्रमामा मान्छे पठाएको समेत पत्याएनन् । सन् १९६९ देखि ७३ सम्म एपोलो मिसनमा १२ जनाले चन्द्रमामा पाइला टेके । त्यसपछि अहिलेसम्मका ४० वर्षमा कुनै मान्छे पनि चन्द्रमामा पुग्न सकेको छैन । सायद चन्द्रमामा जानुको उदेश्य केवल जानु मात्रै थियो, त्यहाँबाट हात पर्ने केही थिएन ।

    अहिलेचाहिँ कुरो मंगल ग्रहको हो । पृथ्वीसँग मिल्दोजुल्दो स्वभाव भएको यो ग्रहसँग धेरै पहिलेदेखि नै मान्छेको जिज्ञासा र कल्पना जोडिँदै आएको छ । अमेरिका र उसको अन्तरिक्ष नियोग नासालाई नजिकबाट बुझ्नेहरूले सधैं के भन्ने गरेका छन् भने, नासा साँचो कुरा लुकाउन खप्पिस छ । मंगल ग्रहको पातलो वायुमण्डलमा १३ हजार माइलको गतिमा खस्दै गरेको क्युरियोसिटी यान हावामै जलेर भष्म भएको भए पनि नासाले केही सुन्दर र रोचक जवाफहरू तयार पारेर राखेको थियो, जसले उसको असफल प्रयासलाई पनि उपलब्धिकै रूपमा सावित गथ्र्यो । भइदियो के भने, नासा सफल भयो । यान मंगल ग्रहकै सतहमा उत्र्यो र भटाभट फोटो खिचेर पठाउन थाल्यो ।

    नासाले जे गरे पनि गलत देख्ने ‘षड्यन्त्रको सिद्धान्त’मा विश्वास गर्नेहरूले यानले पठाएको पहिलो फोटोमै षड्यन्त्रको गन्ध देखे । त्यो फोटोमा एउटा कालो धब्बा थियो । त्यो धब्बा के थियो ? मंगलको कुनै जीव ? कुनै रहस्य ? आखिर के ? मंगल अवतरणका प्रत्यक्ष प्रसारण टेलिभिजनमा भइरहँदा सामाजिक सञ्जालमा यस्ता प्रश्नहरूको ओइरो लागेका थिए । नासाले जवाफ दिन कर लाग्यो, ‘यो अरू केही होइन हाम्रै यानले उडाएको धूलो हो ।’ कतिले पत्याए । कतिले पत्याएनन् । हुन पनि मंगलबाट पृथ्वीमा आइपुगेको पछिल्लो फोटोले मानिसहरूलाई एकपटक फेरि सन् १९७६ सम्झाइदिएको थियो । जतिखेर भाइकिङ १ यानले खिचेको मंगल सतहको एउटा तस्बिरमा मान्छेको अनुहारझैं लाग्ने आकृति देखिएको थियो । कालान्तरमा त्यो एउटा चट्टान मात्रै भएको पुष्टि भयो ।

    ***

    पृथ्वीबाट मंगल ग्रहको दूरी २५ करोड माइल छ । १९६० को दशकमा मंगलको आकाशसम्मै यान पुग्यो । त्यसपछि यस ग्रहका थप रहस्यहरू बाहिर आउन थाले । यहाँ कुनै समय पानीको अस्तित्व थियो । अहिले पनि बरफका रूपमा रहेको पानी भेटिएको छ । पृथ्वीजस्तै वायुमण्डल र पृथ्वीजस्तै सूर्यबाट ठिक्कको दूरीमा न धेरै तातो न धेरै चिसो अवस्थिति । यी यावत् कुराहरूले जिज्ञासु मानव जातिको यो ग्रहप्रति रुचि बढाइदिएको हो ।

    मंगल ग्रहका यी सबै भूगर्भीय र जैविक सर्तहरूले जीवनको सम्भावनालाई एउटा सानो स्थान दिन्छन् । र जिज्ञासु प्राणी मान्छेले यही सम्भावनालाई खोतल्ने क्रममा मंगलमा यति धेरै रुचि दिएको हो । अमेरिकाले मंगल ग्रहमा पनि आफ्नो साम्राज्यवाद विस्तार गर्न, त्यहाँ रातारात सहर बसाउन र त्यहाँबाट महँगा खानीहरू पृथ्वीमा ओसार्नकै लागि दुई चार वर्षको अन्तरमा अर्बौं खर्च गरेर यानहरू पठाइरहेको हो भन्ने विश्लेषणचाहिँ हालको लागि यथार्थभन्दा अलि पर नै रहन्छ । अर्थात् हावादारी । कमसे कम अहिलेका लागि मंगल जेम्स क्यामरुनले ‘अवतार’मा देखाएको प्यान्डोराजस्तो ग्रह होइन ।

    यसको अर्थ यो होइन कि, अमेरिकाले नितान्त वैज्ञानिक र पवित्र सामाजिक उद्देश्य बोकेर यी महँगा मिसनहरू सञ्चालन गरिरहेको छ । अमेरिकी प्रशासन, यसका विज्ञान र प्रविधिका अनुसन्धान र भविष्यवाणीका विश्लेषणहरू आम विश्वासीको बुझाइ र पहुँचभन्दा धेरै टाढा छन् । स्वयं अमेरिकी राष्ट्रपति बाराक ओबामाले मंगलमा यान पठाउने नासाको टोलीलाई फोन गरेर भनेका थिए, मंगलमा जीव भेटियो भने सुरुमा मलाई भन्नुहोला, सानो जीवाणु भेटिए पनि मैले सुरुमा थाहा पाउनुपर्छ । ओबामाले ठट्टै गरेका भए पनि नासाले मंगलमा जीवाशेष भेट्यो भने ओबामाले समेत तत्काल थाहा पाउने छैनन् । बाँकी संसार त परको कुरा । एउटा भनाइ छ नि, ‘वी नेभर नो ह्वाट वी डन्ट नो’ अर्थात् हामीलाई के थाहा छैन भन्ने कुरा, हामीलाई कहिले नि थाहा हुँदैन ।

    मंगलमा अवतरण गरेको क्युरियोसिटी यान यसअघि त्यहाँ पठाइएका यानहरूभन्दा शक्तिशाली छ । यसअघिका सम्पूर्ण यानहरूले गर्न सक्ने कामलाई जोड्ने हो भने पनि क्युरियोसिटीले गर्न सक्ने कामभन्दा कम नै हुन्छ । यसअघि साना यान पठाइन्थ्यो । यसपटक सिङ्गै प्रयोगशाला नै मंगलमा खसालिएको छ । प्राविधिक हिसाबले अत्यन्त जटिल प्रक्रियाबाट । केश फुलेका अनुभवी वैज्ञानिकहरूले पनि क्युरियोसिटी यान मंगल ग्रहको सतहमै नपुगी नष्ट हुने अनुमान गरेका थिए । त्यसैले नासाको लागि मंगल अवतरणले नै एउटा प्रमुख उदेश्य पूरा गरिदियो । त्यो यानले पत्ता लगाउने थप कुराहरू त सबै नासाको नाफामा जोडिनेछ ।

    ***

    नासाले मंगल ग्रहमा पठाएको पछिल्लो यान, अहिलेसम्म कुनै ग्रहमा पठाइएको सबैभन्दा ठूलो यान हो । पृथ्वीबाट मंगलसम्मको दूरी, यान पठाउन लागेको खर्च, यसमा प्रयोग भएका अत्याधुनिक उपकरण र मंगलमा जीव अवशेष खोज्ने यसको उद्देश्यजस्ता फ्याक्टरहरूले नासाको मंगल यात्रालाई कुनै रोमाञ्चकारी कथा या फिल्मजस्तो बनाइदिएको छ । मान्छे रमाएका छन् । एउटा गरिब देशको मान्छेले पनि संसारको अर्को कुनोको मान्छेले नै गरेको यो उपलब्धिमा गर्व महसुस गरेको छ । २३ महिनापछि क्युरियोसिटी यानको आयु सकिनेछ । मंगलको कुनै खाल्टोमा यो यान निष्त्रिmय हुनेछ । नासाले पत्रकार सम्मलेन गर्नेछ । र उसले पत्ता लगाएका कुराहरू बडो जटिल र प्राविधिक शब्दावलीमा सुनाउनेछ । संसारले बुझेजस्तो गर्नेछ र धेरै कुरा थाहा पाउने छैन ।

    हुन पनि सामान्य मानिसलाई मंगल ग्रहसम्म पुग्न लागेको इन्धन, क्युरियोसिटीमा जडान गरिएका क्यामेरका लेन्सका विशेषताजस्ता प्राविधिक पक्षसँग खासै चासो हुँदैन । यो विशाल ब्रह्रमाण्डको कुनै टाढा टाढा कुनामा हामीजस्तै प्राण भएका जीव होलान् कि नहोलान् भन्ने लेम्यान उत्सुकता न हो । र केवल नासाको यसपटकको मंगल अन्वेषणबाट हाम्रो उत्सुकताको तिर्खा पूर्ण रूपमा मेटिएला भनेर अपेक्षा नगरे पनि हुन्छ । विज्ञानका सर्तहरूका अनुसार मंगल ग्रहमा जीवन असम्भव छ । यहाँको पातलो वायुमण्डलमा पर्याप्त अक्सिजन छैन । सूर्यका हानिकारक किरण रोक्ने ओजोन तह छैन । पानी छैन । एउटा ब्याक्टेरियासमेत १५ सेकेन्ड बाँच्ने आधार पनि छैन ।

    तर केही झिनो आधारहरू छन् जसले विगत कुनै समयमा मंगलमा जीवन थियो कि भन्ने सम्भावनालाई जीवित राखेको छ । कुनै समय त्यहाँ जीवन भएको भए, के कुराले त्यसलाई नष्ट गर्‍यो ? मंगलमा बसाइ सर्नेभन्दा पनि यो प्रश्नको जवाफ खोज्ने कामचाहिँ नासाको लागि र मानव जातिका लागि बढी महत्त्वपूर्ण हो । सौर्यमण्डलमा एउटै तरिकाले बनेका पृथ्वी र मंगलका समानताहरूबीच, मंगल ग्रहमा जीव अस्तित्व सखाप पार्ने कारण, पृथ्वीको लागि पनि कुनै समयमा एउटा गम्भीर कारण बन्न सक्छ । पृथ्वीका प्राणीलाई बचाउने एउटा महत्त्वपूर्ण पाठ बन्न सक्छ । मंगल अन्वेशषणले खोजेको जवाफ पनि त्यही नै हो ।

    ***

    १९९० को दशकमा मंगल ग्रह अन्वेषणको कुनै मिसनमा ३ महिना काम गरेका एन्ड्रयु केसलर हफिङटनपोस्टमा लेख्छन्, ‘बाहिर सुनिने गरेको कुरा र नासाको मिसन कन्ट्रोल रूममा देखिने कुरामा धेरै अन्तर छ । नासा सधैं आफ्नो असफलता लुकाउने प्रयासमा हुन्छ र सुन्दर कथा बुनेर प्रस्तुत गर्छ । ओलिम्पिक्समा जम्मा सय मिटर दौडनेले के

    पाउँछ ? एउटा सुनको तक्मा ? उसको तारिफ, चर्चा, समाचार, महत्त्व कति हुन्छन् कति । यसको पछाडि ओलम्पिक्सको प्रतिष्ठा र त्यो खेलाडीले सय मिटर दौड जित्न जिन्दगीभर गरेको मिहिनेतलाई प्रमुख कारण मानिन्छ । सय मिटर दौड्दा त यत्रो नाम र हल्ला हुन्छ भने ब्रह्माण्डमा अर्बौं मिटर दौडँदा त्यसले चर्चा पाउनु स्वाभाविक हैन र ? त्यसमा पनि त मिहिनेत र प्रतिष्ठा दुवै जोडिएको छ, ओलम्पिक्समा जस्तै ।’

    कान्तिपुर कोसेलीमा प्रकाशित

  • रित्तो बस‍

    July 24th, 2012
    बस छुटिसकेको बसपार्कमा
    मलाई लिएर जाने बस
    फेरि फर्केर आए जस्तो
    नसोचेको आयौ तिमी

    एक बस
    खचाखच सम्झना बिउँताइदियौ

    मनमनै बोलिरहेँ म

    मौन डुलिरहेँ
    बसपार्क छेउका टुङ्गो नभएका गल्लीहरु जस्तै
    अतीतका केही नागबेली बाटाहरुमा

    निथ्रुक्कै भिजेँ
    तिम्रो हेराइको वर्षात्‌मा,
    चप्पलले माथि-माथि सम्म
    हिलो छ्यापिरह्यो
    सम्झनाको

    गन्तब्यहीन अँध्यारा गल्लीहरुमा
    बेफिक्री फर्किएर
    हराएँ एकछिन
    रमाएँ एकछिन

    जसरि आयौ
    त्यसरी गयौ तिमी
    बिस्तारै गयौ
    तर एक्कासी गयौ

    म अझै मनमनै बोलिरहेको थिएँ
    आज कतै जाने रुट नभएको
    रित्तो बस भएर ।।

  • असार

    June 17th, 2012
    चुमेर सुस्तरि
    गालाभरि फलेका आलुबोखराहरु
    वसन्त, हिउँद र गृष्म बाँचेको
    गुलमोहरको रुख जस्तै
    वयोवृद्ध
    सम्झनाका पत्रहरुलाई
    नचाउँदै मन्द मन्द

    बाफ उडिरहेको सडकमा
    पर कतै धुलो उडाउँदै
    एस एल सी पासको खबर
    अम्मालाई सुनाउन
    हतारिँदै साइकल कुदाइरहेकी किशोरीलाई
    तर्साउँदै, जिस्काउँदै

    ओडाइदिएर बादलको छाता
    परदेशी श्रीमानको सम्झनामा
    गुनगुनाउँदै
    खेतको आलीमा
    घाँस खुर्कीरहेकी
    गर्भवतीलाई

    पोहोर वर्षामै
    हो क्यारे
    कहिँ कतै
    बेस्सरी रुझेको
    सम्झाइदिएर
    एउटा कविलाई

    टाढा धेरै टाढाबाट
    शीतल फोकाहरु
    पानीका बोकेर
    आइपुग्यो मनसुन
    आइपुग्यो असार
    तिर्खा लागेको बेला ।।

    १७ जुन २०१२
    काठमाण्डु

  • एउटा कवि मरेर गयो

    June 6th, 2012
    कवितामै भए पनि
    एउटा सुन्दर फूल फूल्दथ्यो
    सपना उदाउँथ्यो हरेक विहान
    अन्धकार झर्दथ्यो शीत भएर
    हिमाल रातै रंगिन्थ्यो
    बालक हाँस्दा

    कवितामै भए पनि
    देश विरलै दुख्दथ्यो
    भ्रुण हत्या नि हुँदैन थियो क्रान्तिका वीजहरुको
    रातारात हराउँदैन थिए सीमा स्तम्भहरु

    बस् कवितामै होस्
    हाम्फाल्दैन थिइन् आमा
    सन्तान च्यापेर पुलबाट,
    झर्दैन थियो आँशु
    अस्पतालको सैय्यामा प्यारालाइसीस भएर
    लडिरहेको सहीदको आँखाबाट

    कवितामै भए पनि
    परदेशिएको एउटा कसिलो पाखुराको
    कमलो मन
    बिझाउँदैन थियो हरेक रात
    प्रेमिका र खेत बन्धक राखेको साहुको अनुहार
    एक्कैपटक सम्झिएर

    कवितामा
    बँगैचा हुन्थे
    फूल हुन्थे
    हुन्थे पुतलीहरु
    कहाँ हुन्थे र शीकारी कवितामा?
    कहाँ हुन्थे र तस्करी कवितामा?

    तर अफशोच
    आज एउटा कवि मरेर गयो
    कसले लेख्ला अब
    फूलको कविता?
    कसले देख्ला अब
    फूलको देश ?

    ६ जुन २०१२, काठमाण्डु

  • गाउँ – शहर

    May 14th, 2012
    गाउँदेखि शहरसम्म एउटा बाटो छ
    कहिँ हिलो कहिँ धुलो माटो छ

    एका विहानैदेखि गाउँ
    ट्याङ्करका ट्याङ्कर
    ‘शुद्ध खाने पानी’ दिन्छ शहरलाई

    खर्पनभरि साग दिन्छ
    शहरलाई उसको भाग दिन्छ
    दिन्छ मोटा सुँगुरहरु
    बाँधेर बिक्रम टेम्पोमा

    धुलो उडाउँदै गाउँ
    शहरले नै दिएको ट्रिपरमा
    गिट्टी दिन्छ
    दिन्छ बालुवा

    शहर बदलामा गाउँलाई
    केही अपार्टमेन्ट दिन्छ
    दिन्छ केही नौला सुकिला मान्छेहरु
    काला सिसाहरु
    र अग्ला पर्खालहरु पनि देखिन्छ गाउँको दृश्यमा
    गाउँलाई शहरले दिएको गाउँभित्रको शहरमा

    गाउँले सपना दिन्छ
    शहरले पासपोर्ट दिन्छ
    गाउँले बेरोजगारी दिन्छ
    शहरले लुडो र क्यारेमबोर्ड दिन्छ

  • भन पण्डित्

    April 26th, 2012
    भन पण्डित्
    फलाकेर क्लिष्ट मन्त्रहरु
    कति बालिकालाई पढ्न सिकायौ?

    घिउमा मुछेका अन्नका दानाहरु
    होमेर अग्नी देवतालाई
    कति भोकलाई शान्त पार्यौ?

    भन पण्डीत
    बयान गरेर हातका रेखाहरु
    निधारका धर्काहरु
    र कुण्डलीका नक्साहरु
    कति बिरामीको ज्यान जोगायौ?
    कति जनालाई जागिर दिलायौ?
    रत्नपार्ककी ती वृद्धाको
    कति माना मकै बिकायौ?

    आधुनिक कंशका घरमा
    कृष्णलीलाको बयान गर्दैछौ
    वर्षौंदेखि
    साँच्चै,
    फुलाउँदै घाँटीका नशा
    वेजोड शंख फुकेर
    कति वटा क्रान्तिको उद्घोष गरायौ?

    गाडेर आँगनमा बाँसको लिङ्गो
    कति शहीदलाई स्वर्ग देखायौ?

    भन पण्डीत
    गौदानसँगै तारेर बीरजा नदी
    कति आत्मालाई वैकुण्ठ पुर्यायौ?

  • कुकुरहरु

    April 6th, 2012
    किन भुक्छन् कुकुरहरु ?
    तर्साउँछन् परेवा, भँगेरा र मसीना पुतलीहरुलाई

    किन झम्टिँदैनन्?
    मालिकहरुलाई
    देख्दैनन् किन कुनै आतंक?
    रगत लत्पतिएका कम्ब्याट पोशाकमा
    कम्मरमा लुकाइएका
    लोडेड नाइन एम एम पिस्तोलमा
    कुल्चिएका सपना हजार
    बुटहरुमा ।

    किन वेपर्वाह सुतिरहन्छन् कुकुरहरु
    र्याल काढ्दै

    झम्टिँदै गड्यौला खाने भँगेराहरुलाई
    बिथोल्दै फूल र पुतलीको माधूर्य सम्बन्धलाई
    देखाउँछन् बहादुरी मालिकहरुलाई

    किन सुँघ्दैनन्
    र भुक्दैनन्
    कारको डिक्कीमा लुकाइएको
    मुर्तीलाई
    किन थाहा पाउँदैनन्
    तेस्का मालिक लुटेरा हो भनेर

    विचरा कुकुरहरु
    हड्डीको मोलमा शहादत दिन्छन्
    बफादारीको

    कुकुरको नाममा कलंकहरु,

    विद्रोह गर न हो
    कुक्कुरहरु!

←Previous Page
1 2 3 4 5 … 10
Next Page→

Proudly powered by WordPress