कविताहरु

गाउँ – शहर

गाउँदेखि शहरसम्म एउटा बाटो छ
कहिँ हिलो कहिँ धुलो माटो छ

एका विहानैदेखि गाउँ
ट्याङ्करका ट्याङ्कर
‘शुद्ध खाने पानी’ दिन्छ शहरलाई

खर्पनभरि साग दिन्छ
शहरलाई उसको भाग दिन्छ
दिन्छ मोटा सुँगुरहरु
बाँधेर बिक्रम टेम्पोमा

धुलो उडाउँदै गाउँ
शहरले नै दिएको ट्रिपरमा
गिट्टी दिन्छ
दिन्छ बालुवा

शहर बदलामा गाउँलाई
केही अपार्टमेन्ट दिन्छ
दिन्छ केही नौला सुकिला मान्छेहरु
काला सिसाहरु
र अग्ला पर्खालहरु पनि देखिन्छ गाउँको दृश्यमा
गाउँलाई शहरले दिएको गाउँभित्रको शहरमा

गाउँले सपना दिन्छ
शहरले पासपोर्ट दिन्छ
गाउँले बेरोजगारी दिन्छ
शहरले लुडो र क्यारेमबोर्ड दिन्छ

Kamal Kumar is a Journalist. Currently he works for Herne Katha.

Leave a Reply

Your email address will not be published. Required fields are marked *