गंगा तटमा रचिएका टैगोरका आत्मकथा, सत्यजित रे र रितुपर्नो घोषका फिल्म, भुपेन हजारिकाका गीत र अरु यस्तै इधर-उधरले कलकत्ता जाने हुटहुटी लामो समयदेखि मनमा थियो । यसपालिको दशैं विदामा त्यो तिर्खाले शान्ति पायो । सँगै काम गर्ने हामी चार सहकर्मी एक-एउटा झोला भिरेर सुनौली हुँदै गोरखपुरको रेल पकड्न रमाना भयौं ।
उसो त कलकत्ता नेपालबाट सबैभन्दा नजिकैको बन्दरगाह पनि हो । पूर्वी नाका काकडभिट्टाबाट जाँदा धेरै छोटो पर्ने थाहा भइकन पनि हामी पश्चिमतिर लागेका थियौं । किनकि गोरखपुरबाट रेल धेरैबेरसम्म चढ्न पाइन्छ । भारत यात्रामा सँधै रेलले आकर्षण गर्छ । रेलमा दिनभरि, रातभरि दौडिरहनु मात्रै पनि यात्राको आधासरो आनन्द हो ।
गोरखपुरबाट बिस्तारै हिँडेको पूर्वान्चल एक्सप्रेस कहिले तुफान हुन्थ्यो कहिले कुनै अनजान पटरीमा अर्कोतिरबाट आएको रेलगाडीलाई साइड दिन घन्टौं कुरेर बस्थ्यो । रेलका हरेक डिब्बामा कम्तिमा चार वटा शौचालय हुन्छन् । तर यसरी अन्जान ठाउँमा रेल रोकिएको मौका पारेर यात्रुगणहरु ढोकाबाट फुत्त फुत्त जमीनमा हाम्फाल्थे र क्षितिजमा उडेका बकुल्लाका बथान हेर्दै मूत्र बिसाउँथे । स्टेशन न स्टेशन, कोही कोही पोका बोकेर रेलबाट झर्थे र बाटो लाग्थे । कोही कोही त्यसै गरी चढ्थे ।
साँझ नपरुन्जेल रेलभित्र बजार हुन्थ्यो । साबुन, स्याम्पु, मन्जन, चटपटे, भात, केरा, पकौडा बेच्नेदेखि गीत गाएर, दिक्क लगाएर पैसा माग्नेको थरिथरिका अनुहारले रौनकता थपिरहन्थ्यो । रातभरि मान्छे सुत्थे । रेल दौडिरहन्थ्यो । कहिलेकाहिँ बिउँझिनेहरु झ्यालबाट बाहिर चियाउँथे । जुनको प्रकाशमा पर थुम्का थुम्की डाँडाहरु, ताल तलैया, विशाल धानका फाँट, नरिवलका बुटा, बस्ति केके केके देखिन्थे । ठाउँ ठाउँमा विशाल औद्योगिक क्षेत्र थिए ।
पूर्वोत्तर भारतमा अन्य क्षेत्रको तुलनामा रेलगाडीहरु समयमा चल्दा रहेनछन् । गोरखपुरबाट रेल चढेको २० घन्टा लामो सफरपछि भोलिपल्ट विहान हामी निर्धारित समयभन्दा करिब डेढ घन्टा ढिला हावडा पुग्यौं । हावडा पुललाई रविन्द्र सेतु भन्दा रहेछन् । अंग्रेजले १९४२ मा बनाइदिएको यो पुल कलकत्ताको ‘ल्यान्डमार्क’ हो । गङ्गाबाट भँगालो फाटेको विशाल होग्ली नदीमा बनेको ७०५ मिटर लामो आठ लेनको सडक बोकेको पुलमा एउटा पनि पिलर छैन भन्ने थाहा पाउँदा त्यो बेलाको इन्जिनियरिङ सम्झेर जिब्रो नटोकी बस्न सकिएन ।
पहाडको देशबाट झरेका हामीलाई समुद्र हेर्नु थियो । कलकत्ताको नामी समुद्री तट डिगा हो भन्ने गुगलले पहिले नै बताइसकेको थियो । हामी हावडा पुल हेरेर थप कलकत्ता भ्रमण थाँति राखेर डिगा जाने बस चढ्यौं र सुरु गर्यौं अर्को १ सय ८० किलोमिटर लामो बस यात्रा । आधाजसो दूरी बसले ८ लेनको विशाल एक्सप्रेस वेमा झिमिक्कै पार गर्यो । बाँकि आधा बाटो भने यताकै जस्तो, साँघुरो र खाल्डा खुल्डी । दायाँ बायाँका दृश्यहरुले दया नगरेको भए बसको उफ्र्याइ र अनवरत बजिरहने कर्कश हर्नको आवाजले बिरामी बनाउँथ्यो होला । झन्डै ६ घन्टाको यात्रा पछि डिगा पुगियो । बंगालको खाडीको एउटा सुन्दर तटीय शहर अनि सुन्दर विच । गोवाका निला समुद्री तटमा रमाइसकेका हामीलाई यो खासै नसुनिएको तटले निराश बनाउँछ कि जस्तो लागेको थियो, तर त्यसो भएन । हामी रमायौं ।
समुद्री तट व्यस्त थियो । विदेशी पर्यटक एकदम कम । अधिकांश भारतीय । हामी रात परुन्जेल छालसँग रमाइरह्यौं । कहिले छालले बगायो । कहिले छालसँगै बग्यौं । शरिर थाके नि मन थाकेको थिएन । पुणिर्माको रात थियो । घाम डुबेसी जुन उदायो । अनि झन् सुन्दर भयो । पुणिर्मामा ठूला छाल आउँदा रहेछन् । समुद्रको सतह पनि बढ्दै बढ्दै आयो । अघिसम्म पर देखिने छालहरु किनारामा ढुंगै ढुंगामाथि बसेका हाम्रा खुट्टासम्मै आइपुगे । पानीभरि जुनको उज्यालो टल्किएको थियो । छाल आउँथ्यो, जान्थ्यो । कहिले गडगडाएर आउँथ्यो । एकैछिन शान्त हुन्थ्यो फेरि । ‘समुद्र जस्तै शान्त’ भन्छन् नि कविहरु । त्यसरात मैले पत्ता लाउनै सकिनँ समुद्र शान्त हुन्छ कि अशान्त ?
भोलिपल्ट फर्कुनु थियो । कलकत्ता त घुम्नै बाँकि छ विहान होटलबाट झोला भिरेर जानु अघि एकपल्ट फेरि गंगासागर हेर्ने रहर पलायो । किनारामा नरिवल पानी बेच्नेले घाम छेक्न टाँगिदिएको पालमुनि बसेर एकछिन समुद्र हेरेपछि त मन कहाँ मान्थ्यो र ? फेरि हाम्फाल्यौं पानीमा । प्रचण्ड घामले छाला डढेको पत्तो भएन । पानीमा एक-डेढ घन्टा रमायौं । कलकत्ता जाने बस चढ्दा दिउँसोको १ बजिसकेको थियो । विशाल कलकत्तामा कुन ठाउँमा, कुन गल्लीमा गएर बस्ने भन्ने हाम्रो अनभिज्ञतालाई गुगलले नि मेटाउन सकेको थिएन । झमक्क रात परेपछि कलकत्ता पुगियो । बसबाट झरेपछि हामीले मान्छेहरुलाई सोध्यौं ‘यहाँ टुरिस्टहरु आएर कहाँ बस्छन् ?’ उनीहरुले ‘पार्क स्ट्रीट’ भने । हामी त्यतै लाग्यौं र होटल खोज्न थाल्यौं । त्यति धेरै होटल भाको ठाउँमा नि कतै कोठा खाली छ भन्दैनन् त । एउटा होटलवालाले कारण बताए, इदको छुट्टी पारेर त्यही साँझ मात्रै १० हजार बंगलादेशीहरु कोलकाता छिरेछन्, अनि होटलको हाहाकार । बल्लतल्ल एउटा ठीकैको होटलमा महँगो दाममा कोठा पाइयो ।
भोलिपल्ट निस्कियौं सडकमा । दिनभरि कलकत्ता घुम्ने इरादा थियो । तर कलकत्ता त विशाल पो छ त । अनि कहाँ कहाँ घुम्ने ? छुटाउनै नहुने ठाउँ कुन होला ? बस र रेलका भिडले तर्साइसकेको थियो । बाटो छेउमा चिया पिउँदै गर्दा एक सहकर्मीले जुक्ति निकाले, ‘ट्याक्सी खोजौं’ । दुइ जना ट्याक्सी खोज्न लागे । दिनभरि कलकत्ता घुमाइदिनु पर्ने हाम्रो शर्त । उसले भन्यो ‘बेलुका ८ बजेसम्म घुमाएर होटलमा ल्याएर छोडिदिन्छु ३ हजार दिनोस्’ हामीले भन्यौं १५ सय । कुरा मिल्यो २ हजार भारुमा ।
प्रोदीप दास नामका टुप्पीदेखि कपाल र्झन भर्खरै सुरु भएका श्याम वर्णका अन्दाजी ४० नाघेका ट्याक्सी ड्राइभर सँगै बसेर चिया पियौं । अनि उनको पहेँलो रङको सुन्दर एम्बेसडर कारमा चढ्यौं । नेपाल छोडेदेखि नै हल्काफुल्का रुघा खोकीले सताइएका एक सहयात्री आफूलाई ‘मरिज’ बताउँदै अगाडि सिटमा बसेर ड्राइभरसँग गफिन थाले । भारत घुम्न गइरहनेहरुको सँधै एउटा पूर्वाग्रह हुन्छः युपि विहारमा असल मानिस कम हुन्छन् सहयोगी हुँदैनन् ठग्न खोज्छन् र दक्षिण भारतीयहरु सहयोगी र असल हुन्छन् । हामी थियौं पूर्वी भारतमा । ट्याक्सी ड्राइभर सोझा थिए । १६ वर्षदेखि ट्याक्सी चलाएर उनले हालसालै आफैंले त्यो ट्याक्सी किनेका थिए । बेच्यो भने १ लाख आउँछ भन्दै थिए । धेरै नबोल्ने ट्याक्सी ड्राइभर त्रृणमुल काँग्रेसका भोटर रहेछन् । २ दशक पश्चिम बंगालमा राज गरेको कम्युनिष्टले सिन्को पनि नभाँचेको उनको बुझाइ थियो ।
प्रोदिप दासले हाम्रो यात्रा कालीघाटस्थित काली मन्दिरबाट सुरु गराइदिए । कलकत्ताको नाम पनि यसै मन्दिरबाट राखिएको भनिँदो रहेछ । दर्शनका लागि लामो लाइन हुने मन्दिरमा सर्टकर्टबाट दर्शन गराइदिने दलालहरुले घेरेर हैरान पार्दा रहेछन् । वागमति भन्दा धेरै फोहोर पानी बग्ने घाटछेउ घुमघाम गरेपछि हामीले त्योभन्दा धेरै सफा वागमती सम्भिmएर मनमनै गर्व गर्यौं । काली दर्शनपछि प्रोदीप दासले हामीलाई बाटो छेउको एउटा विशाल रेस कोर्स -घोडा दौड खेल हुने ठाउँ) देखाउँदै भिक्टोरिया मेमोरियल पुर्याए । त्यस ठाउँमा एउटा नाम चलेको पुरानो चर्च र खगोलिय पिन्डहरुको अध्ययन गर्ने तारामन्डल भनिने प्रयोगशाला नि रहेछ । प्रोदीप दासले आफूले ट्याक्सी रोक्ने ठाउँ देखाउँदै भने ः ‘यी तीन वटै ठाउँ घुमेर आउनोस्, ४५ मिनेट जति लाग्छ’ हामीले हस् भन्यौं र प्रोदिपलाई छोडेर भिक्टोरिया मेमोरियल छिर्यौं । तत्कालीन बेलायती महारानी भिक्टोरियाको सम्झनामा बनाइएको यो विशाल भवन चानचुने रहेनछ । कलकत्ताको ताजमहल । भित्र १३ औं शताब्दीदेखि भारतको इतिहास लेखिएका । घुम्दा घुम्दै हामीलाई भिक्टोरियामै १ घन्टा भन्दा बढि लाग्यो । त्यहाँबाट निस्केर तारामन्डलमा गएर ग्रह र ताराहरुको बारेमा आधा घन्टा लामो एउटा आकर्षक प्रस्तुति हेयौैं । चर्च पनि हेरेर आउँदा २ घन्टा जसो भइसकेको थियो ।
हतार हतार प्रोदीपले ट्याक्सी रोक्छु भनेको ठाउँमा जाँदा न उनी थिए न ट्याक्सी नै थियो । पार्किङ गर्न नपाएर अलि पर पुगेकी भनेर चारैतिर खोज्यौं । अँह प्रोदीप भेटिएनन् । परेन आपत । चार जना सहयात्री चारतिर बाँडिएर चर्को घाममा ट्याक्सीको खोजी गर्यौं । भेटिएन । विहान १० बजेतिर ट्याक्सी चढेका थियौं हामी । २ बजिसकेको थियो ।
हामीले भारतको सीम कार्ड किन्न खोज्दा विदेशीले पाउँदैनन् भन्ने जवाफ पाएका थियौं । त्यसैले हामीले ट्याक्सी ड्राइभरको नम्बर पनि लिएका थिएनौं । एकजना सहयात्रीले भने उनको ट्याक्सीको फोटो खिच्न भ्याएका रहेछन् । जहाँ ट्याक्सी नम्बर लेखिएको थियो डब्ल्यु बि ०४ बी ५९५९ । हामीमा अलिकति आशा पलायो । बुलेट बाइकमा दबंग स्टाइलमा गस्तिमा हिँड्ने सेतो बर्दि लगाएका कलकत्ते पुलिस गुहार्यौं । उनले सोधे ः ‘सामान छुटेको थियो ट्याक्सीमा?’
हामीले भन्यौं, ‘थिएन, पानीको एउटा बोतल मात्रै थियो’
‘किन खोजेको त त्यसलाई ?’
हामीले भन्यौं ‘हामीले उसलाई एक पैसा पनि दिएका थिएनौं । उसको आधा दिनको कमाइ भए पनि दिन चाहन्छौं ।’
पुलिसले हाँसेर उडाइदिएः ‘जाने दो ।’
अर्का एक सहयोगी जस्ता देखिने पुलिस भेटिए । उनलाई नि व्यथा सुनाइयो । उनले प्रष्ट भने, ‘कलकत्तामा यसरी ट्याक्सी खोज्ने सिस्टम छैन । कुनै हालतमा भेटिँदैन । बरु प्रहरी चौकीमा ट्याक्सी नम्बर दियो भने उसको फोन नम्बर र ठेगाना पाउन सकिन्छ ।’ पुलिस चौकी जानुअघि भेटिएका सबै ट्याक्सीलाई हामीले खोजेको ट्याक्सी ड्राइभरको विवरण दियौं । कसैले कसैलाई चिन्दा रहेनछन् । हामीले पटक पटक एउटै जवाफ पायौं ‘कलकत्तामा ३८ हजार ट्याक्सी छन् ।’
पुलिस चौकीमा थानेदारले हामीसँग एकछिन केरकार गरे । ठूलै तहकिकात हुन्छ कि झैं साना साना विवरण सोधे । अनि भने ‘ट्याक्सी चाहिँ भेटिँदैन, बरु ट्याक्सीलाई दिने पैसा मलाई दिनोस्, त्यो ट्याक्सी ड्राइभर यहाँ आयो भने उसलाई दिउँला ।’ हामीलाई ट्याक्सी डाइभर पुलिस चौकी जाला भन्ने रतिभर लागेको थिएन । बाटोमा हामीले प्रोदीप दासलाई सोधेका थियौं, ‘कलकत्तामा तपाईंलाई सबभन्दा मन नपर्ने कुरा के हो ?’ उसले भनेको थियो ‘बर्दिवाले’
हामीले कलकत्ता घुम्ने समय ट्याक्सी हन्टिङमा खेर फालिरहेका थियौं । विहान चिया खाएदेखि केही खान पाइएको थिएन । प्रोदीप दासले नै बंगाली खाना पाइने ठाउँमा लान्छु, सँगै खाने भनेको थियो ।
हामीमध्येका पाका सहयात्री सबभन्दा उत्साही थिए । उनी भन्दै थिए ‘घुमघाम छाडौं जसरि नि त्यो ट्याक्सी खोजेर उसलाई भाडा तिर्ने मिसनमा लागौं ।’ हामी बाँकि तीनले नाइँ भन्न सकेका थिएनौं । तर अब कहाँ जाने ? कहाँ खोज्ने ? बाटोमा सोधखोज गरिरहँदा अर्का एक ट्याक्सी डाइभरले सुझाए, ‘कलकत्ताको ट्याक्सी एसोसिएसनमा जानोस्, त्यहाँ ट्याक्सी नम्बर भनेपछि फोन नम्बर ठेगाना सब पाइन्छ’ मध्य कलकत्ताको कुनै गल्लीभित्र तिनै ट्याक्सीवालाले पुर्याइदिए । उनी उत्साहित हुनुको कारण रहेछ, केही समयअघि एक जना प्रोफेसरले त्यसैगरी भाडा तिर्न बिर्सेका रहेछन् उनलाई । अनि प्रोफेसर ३ महिनापछि खोज्दै आएछन् र भाडा तिरेछन् ।
ट्याक्सी एशोसिएसनको कार्यालयमा केही पाका व्यक्ति चुपचाप फाइल पल्टाउँदै थिए । भित्तामा एक पूर्व कम्युनिष्ट मन्त्रीको तस्बिर टाँसिएको थियो । ट्याक्सी खोजीको कहानी हामीले सुरुदेखि बेलिबिस्तार लगायौं । उनीहरु एकदम उत्साही भएर भनेः ‘सजिलै पाइन्छ उसको फोन नम्बर’ हामी कुरेको कुरेइ गर्यौं । जतिखेर सोध्दा पनि ‘एकछिन’ ‘एकछिन’ भन्थे । उनीहरुले कहिले फाइल पल्टाउँथे कहिले फोन घुमाउँथे । हामीले भोक थाम्न सकेनौं । ‘नम्बर खोज्दिराख्नोस् हामी आउँछौं’ भनेर बाहिर निस्क्यौं । रोटी सोटी खाएर आधा घन्टापछि फर्केर जाँदा नि ‘खोज्दैछौं’ भन्ने जवाफ मात्र पायौं । केही अगाडि आशाको संचार भएको हामीमा फेरि निराशा छाउन थाल्यो । कुर्दा कुर्दै एसोसिएसनका कोषाध्यक्ष जसपाल सिंह आए । उनले नि फोन घुमाए । धन्न ट्याक्सीको ठेगाना चाहिँ पाइयो । फोन नम्बर पाइएन । पाइएको ठेगानामा जाउँ न त भन्ने सल्लाह हुँदै थियो, जसपाल सिँहले थर्काए, ‘यो धेरै टाढा छ । असम्भव नै छ जान’ फेरि त्यो उसको स्थायी ठेगाना थियो, ५० किलोमिटरको परिधिमा फैलिएको दक्षिण कोलकताको कुनै गल्ली । जान निकै टाढा, गएर नि भेट हुने सम्भावना निकै कम ।
५९५९ को खोजि प्रयास लगभग असफल भयो । अँध्यारो भइसकेको थियो । हामी होटलतिरको बाटो लाग्यौं ।
भोलिपल्ट विहान जहाँ प्रदीपलाई भेटिएको थियो त्यहिँ गएर खोज्यौं । सडकमा दौडेका हरेक ट्याक्सीको नम्बर प्लेटमा आँखा पुग्थ्यो । ५९५९ कतै देखिएन । यो खोजीको क्लाइमेक्स पर्खिरहनु भएको छ भने, छैन । प्रोदीप भेटिएनन् ।
ट्याक्सी एसोसिएसनका जसपाल सिँहले प्रोदीपको ठेगाना लेखिदिएको कागजको चिर्कटो गोजीमा बोकेर हामी निराश मनले नेपाल फक्र्यौं । बाटोमा भेटिएका दर्जनौंलाई ५९५९ खोज्दाको ‘परेसानी’को कथा सुनायौं । कोही चाख मानेर सुन्थे । कोही हाम्रै गल्ती देखाउँथे । कोही ‘जाने दो’ भन्थे ।
प्रोदीपको ठेगानामा एउटा चिठीसम्म लेखेर पठाउने कि भनेर हामी सहयात्रीहरु सोच्दैछौं ।
प्रकाशित: कार्तिक १४, २०७१