लेख

खोइ मेरो देश ?

मुस्ताङ जिल्लाको जोमसोम नपुग्दै आउने मार्फा गाउँमा कालिगण्डकी नदीपारि एउटा बस्ती छ । जीर्ण झोलुंगे पुललाई चौबीसै घन्टा हुर्रेर चल्ने हावाले लिन्ठिङ-लिन्ठिङ हल्लाइरहन्छ । हावाले ज्यानसमेत हल्लाइदिन्छ कहिलेकाहीँ । बुद्ध धर्मका मन्त्र लेखिएका ध्वजापताका पुलभरि बाँधिएका छन् । पुलका फलामे डोरीलाई चपक्क समातेर मुन्तिर गडगडाएर बगिरहेको कालो गण्डकीलाई नियाल्दै लामो सास फेरेर यो पुल तर्छ यहाँ पुग्ने कुनै नौलो मान्छे ।

पुलपारि जंगल छ । स्याउको जंगल । जंगल छिचोलेपछि भेटिने बस्तीको ठेगाना राजनीतिक नक्सामा भए पनि यहाँका मान्छेहरूको मनमा न कुनै देश छ न कुनै ठेगाना ।

तिब्बती क्याम्पको नामले चिनिने यो बस्तीमा ४५ घर छन् । जनसंख्या २ सयभन्दा अलि बढी होला । बस्तीको सुरुमै समुदायले चलाएको एउटा गेस्टहाउस भेटिन्छ । यदाकदा तिब्बती शरणार्थीहरूप्रति दया पलाएर यो सामान्य गेस्टहाउसमा पाल्ने कुइरेहरूबाट उठेको रकम यही बस्तीकै हितमा खर्च गरिन्छ ।

कम्युनिटी गेस्टहाउसमा यसपटक दादुराको खोप लगाउन आएको टोली झुलुक्क झुल्कियो । गाउँभरिका बच्चालाई खोप लगाएपछि डाक्टरको सल्लाहमा चार कक्षासम्म पढाइ हुने स्कुलमा पनि हाफ डे छुट्टी भयो । दादुराको खोप लगाउन आएको टोलीले हात चाट्दै भात खाएर बिदा भएपछि गेस्टहाउसका म्यानेजर र स्कुलका पि्रन्सिपल डाक्पा किचनको कुनामा बसेर स्याउको छ्याङ खान थाले एक्लै भावुक भएर । एक ग्लास घिउ कलरको छ्याङ टक्य्राउँदै उनले भने, ‘सर प्योर हो । प|mुट्सबाट बनाएको टिब्बेटन वाइन । काठमाण्डुको जस्तो केमिकल मिसाएको होइन ।’

डाक्पा त्यतिखेर ४, ५ वर्षका मात्र थिए जतिबेला उनका आमाबाबु बिते । पोखराको हेम्जामा शरणार्थी क्याम्पमै जन्मेका डाक्पालाई तिब्बतबाट नेपाल भागेर आउँदाका कथा सुनाउने कोही भएनन् । नेपालमा जन्मेर ४० नाघिसकेका डाक्पा आफ्नो परिचयबारे सधैं कन्फ्युज्ड छन् । आफूलाई टिबेटन भन्छन् । तर तिब्बत त एकादेशको कथा पो हो त । १९४९ मा चिनियाँ आक्रमणपछि धेरै तिब्बतीहरू भागेर नेपालमा शरण लिन आइपुगेका हुन् । डाक्पा दोस्रो पुस्ताका शरणार्थी हुन् । जो नेपालमा जन्मिए । डाक्पाले पनि धेरै नेपालीले जस्तै तिब्बतीको बारेमा किताबमा लेखिएका कुरा मात्रै पढेका छन् । नदेखेको र नपुगेको एउटा बिरानो भूमिसँग जोडिएको ६० वर्ष पुरानो परिचयको त्यान्द्रो समातेर डाक्पा अझै भन्न बाध्य छन्, ‘म टिब्बेटन हो ।’

हेम्जामा बाआमा बितेपछि डाक्पा भारतका बालमन्दिरहरूमा पढ्न पुगे । १९९८ मा मुस्ताङको यो क्याम्पमा फर्केर आए र स्कुलमा बालबालिकालाई पढाउन थाले । जिन्दगी यसैगरी चलिरहेको छ । डाक्पा न सुखी छन् न दुःखी छन् । उनको हाँसो मिठो छ । राष्ट्रियताको कित्तामा डाक्पाजस्ता अरू थुप्रै तिब्बती शरणार्थीहरू कहाँ उभिने हो उनीहरूलाई नै थाहा छैन ।

मैले निष्ठुरी भएर डाक्पालाई फ्याट्टै सोधेँ, ‘नेपालको माया लाग्छ कि लाग्दैन ?’ डाक्पाको सहज र कन्पिmडेन्ट जवाफ आयो, ‘लाग्छ, किन लाग्दैन । नेपाल सुखी भयो भने हामी सुखी हुन्छौं, नेपाल दुःखी भयो भने हामी दुःखी हुन्छौं । यहाँको पोलिटिक्सले हामीलाई पनि चिन्ता लाग्छ ।’

समस्या परिचयको मात्रै रहेछ । राज्यले सही गरेर दिने एउटा कागजको टुक्रा, जसलाई नागरिकता भनिन्छ, त्यही नागरिकता नपाउनुले डाक्पाजस्ता तिब्बतीहरू नेपालमा जन्मेर ४ दशकभन्दा बढी बाँचिसक्दा पनि परिचयविहीन छन् । डाक्पा भन्छन्, ‘आईए बीए पढेका, सीए पढेका, डाक्टर पढेका सबै छन् यहाँ । नागरिकताबिना काम नपाइने रैछ । प्रब्लम छ ।’

आफूले दिनदिनै स्कुलमा पढाउने नानीहरू ः जो नेपालमा जन्मेका तेस्रो पुस्ताका अनागरिक हुन्, नेपालमै जन्मेका आमाबाबुबाट जन्मेका यी गैरनेपाली नानीहरूको भविष्य पनि डाक्पाले सुन्दर देखेका छैनन् ।

िि

गिाउँपारि बजार छ । मार्फा बजार । मार्फा बजारका पुराना गल्लीहरूमा यही क्याम्पका थुप्रै शरणार्थीहरूको उपहार पसल छ । आजकल बजारमुन्तिर सडकमा बस र जिप चल्छन् । पहिलेजस्तो कुइरेहरूको भीड लाग्दैन पसलमा । सुनसान गल्लीका उपहार पसलमा ग्राहक ढुकेर बसेका देखिन्छन् तिब्बती शरणार्थीहरू ।

मिङमारको उमेर ३३ वर्ष भयो । उनी पनि नेपालमै जन्मेकी हुन् । उनका दुई नानीहरू पनि छन् । मिङमार दिनभरि पसलमा ग्राहक कुरेर बस्छिन् । पसलअघिल्तिर हिँडिरहेका कुइरे देखिन् भने ‘प्लिज कम इनसाइड’ भनेर बोलाउँछिन् । बेलाबखतमा थर्मसमा राखिएको घिउ हालेको चिया कपमा खन्याउँछिन् । कानमा लगाउने झुम्का र हातमा लगाउने तिब्बती गहनाका पुराना मक्केका धागोमा नयाँ धागो हालेर बसिरहन्छिन् । वर्षमा एक दुईचोटि छोरीहरूलाई घुमाउन भारतका केही तीर्थस्थल जान्छिन् । उनका छोरीहरू पनि क्याम्पकै स्कुलमा पढ्छन् । मिङमार त्यति राम्रो नेपाली बोल्दिनन् । उसो त मिङमार मात्र होइन क्याम्पका अधिकांश नेपालीमा बोल्न सहज महसुस गर्दैनन् । यहीँ जन्मेर दशकौं बाँचिसक्दा पनि नेपाली भाषा अझै सहजसँग बोल्न नसक्नुले यो समुदायको अरू समुदायसँग हुने अन्तरक्रिया कति पातलो रहेछ भनेर अनुमान लगाउन सकिन्छ । भन्न खाजेको यो समुदाय कति एक्लो रहेछ ।

मिङमारको पसलमा कुनै सामान बार्गेन नगरी किनिदिने सर्तमा पनि उनले माइक्रोफोन अगाडि अन्तर्वार्ता दिन मानिनन् । कारण उही दोहोर्‍याउँथिन्, नेपाली राम्रो छैन । उनले ‘अर्को साल आउनुस् अनि अन्तर्वार्ता दिउँला’ भनिन् ।

मिङमारकै पसलमा झुलुक्क आइपुगिन् थुक्तेन डोल्का । ४४ वर्षकी थुक्तेनलाई आमाले डोल्पामा पाएको रे । आमाबाबु तिब्बतबाट भागेर नेपाल आइरहँदा बाटोमा जन्मेकी हुन् थुक्तेन । पछि बाआमा भर्खरकी छोरी बोकेर काठमाण्डुमा स्वयम्भू र बौद्धको दर्शन गर्न गए । अनि फर्केर आई यही हिमालको काखमा रहेको शिविरलाई आफ्नो थलो बनाए ।

एउटा मान्छेको जिन्दगीमा ४४ वर्षले के अर्थ राख्छ ? थुक्तेन त आफ्नो जिन्दगी दुःख सुखमा बितिसकेको बताउँछिन् । उनलाई फेरि छोराछोरीको पो चिन्ता छ त । १२ कक्षासम्म जसोतसो पढाए पनि त्यसमाथि पढ्न पैसा चाहिन्छ । पढेर पनि के गर्ने शरणार्थीलाई कसले काम दिन्छ र । काम गर्न नागरिकता चाहिन्छ ।

मिङमारको पसलभन्दा अलि पर कर्माको पसल छ । कर्माका दिनहरू पनि धेरैजसो ग्राहक कुरेरै बित्छ । खास भन्ने हो भने, मेरो पहिलो भेट कर्मासँगै भएको थियो । उनको पसलमा राखिएको एउटा पुरानो श्यामश्वेत तस्बिरबाट सुरु भएको कुराकानीका क्रममा उनले नै क्याम्पमा जान अनुरोध गरेका थिए । झोलुङ्गे पुल तरेर क्याम्प पुगेको थिएँ म । क्याम्पका युवाहरू पनि बोल्न साह्रै हिच्किचाएको अनुभव फर्केर आएर कर्मालाई सुनाएको थिएँ । कर्मा भन्दै थिए, ‘टिबेटनहरू साह्रै सोझा हुन्छन् । हाम्रोभित्रको मिटिङमा मुठ्ठी कस्छन्, बाहिर बोल्न पनि सक्दैनन् ।’

कर्माको उमेर ३५ वर्ष भयो । उनी पनि नेपालमै जन्मेका हुन् । भनिरहन पर्दैन उनी पनि गैरनेपाली हुन् । अहिलेसम्म बिहे गरेको छैन । बिहे गर्न पनि मन छैन । कारण भन्छन् कर्मा, ‘बिहे गरेपछि भविष्य र देश नभएको अर्को पुस्ता जन्मिन्छ ।’

कमसेकम बोलीमा कर्मा सबैभन्दा क्रान्तिकारी देखिए । आफ्ना समस्या भन्न पनि डराउने यो समुदायमा कर्माले समस्या धेरैलाई पोखिसकेका छन्, गाउँ डुल्न आएका पूर्वराजा ज्ञानेन्द्रदेखि अमेरिकी राजदूतसम्मलाई ।

देश नहुनुको पीडा कस्तो हुँदो रहेछ कर्मा ? निकै दबेको आवाजमा कर्माले भने, ‘संसारमा सबैभन्दा ठूलो पीडा नै शरणार्थी भएर बाँच्नु रहेछ । आमा नहुनुको पीडाजस्तै हुन्छ देश नहुनुको पीडा ।’

तिब्बती हस्तकलाको कर्माको पसलमा एउटा पुरानो तस्बिर छ । श्यामश्वेत तस्बिर । १९६४ को तस्बिर हो त्यो । जहाँ कर्माका बाबु बन्दुक बोकेर उभिएका छन् । कर्माका बाबु खम्पा विद्रोही थिए । तिब्बत कब्जा गरेको चिनियाँ सेनाविरुद्ध लड्न तयार पारिएको भूमिगत विद्रोही जत्थाका एक ठूलै कमान्डर थिए कर्माका बाबु । कर्मा भन्छन्, ‘सीआईएले हात झिक्यो । विद्रोह असफल भयो ।’ कर्माका बाबु त्यो फोटो खिचाउँदा सीआईएको तालिम लिन अमेरिकाको कोलोराडो गएका थिए ।

एउटा योद्धा बाबुको छोरा पसलमा हस्तकला बेचेर बस्छ । भात खाने मेलो त्यही हो । जुन देश छोडेर बाआमा आए त्यो देश त आफ्नो हुँदै भएन, जुन देशमा जन्मेर ३५ वर्ष काटियो त्यो देश पनि आफ्नो हुन सकेन । अरू धेरैका जस्तै कर्माको पनि समस्या परिचयको हो जसले उनलाई जिन्दगीभर दोधारमा पारिरह्यो । कर्माको देश खोइ ? सायद उनी शरणार्थी क्याम्प जाने बाटोमा पर्ने झोलुङ्गे पुलजस्तै हुन् जुन दुई किनारमा बाँधिएको छ । न वल्लो किनाराको हो, न पल्लो किनाराको । अनि हावाले बेजोडले हल्लाइरहन्छ, लिन्ठिङ-लिन्ठिङ ।

कान्तिपुर कोसेलीमा प्रकाशित

Kamal Kumar is a Journalist. Currently he works for Herne Katha.

Leave a Reply

Your email address will not be published. Required fields are marked *