गाउँ, बाउ र छोराहरु

रातो सूर्यास्तका बेला
गाउँ एक्लो छ
बाउ एक्लो छ
दिनभरि कामबाट फर्केर
ढोका उघार्न आइपुग्दैन कुनै छोरो ।

नजिकै छिमेकमा
हरेक सूर्यास्तपछि
सुनिन्छ हार्मोनियमको झंकार,
जहाँ मोटो चश्मा लगाएको
एउटा एक्लो बाउ
भजन गाइरहन्छ
दबाएर छोरोको सम्झना
दबाएर हार्मोनियम ।

रातो सूर्यास्तमा
धुलो उड्दैन
गाउँको एउटा पुरानो चौरमा,
जहाँ खेल्दैनन् छोराहरु
खेल्दा खेल्दै लड्दैनन् साना छोराहरु
किनकि
हुत्तिँदै घर पुगेर हाम्फाल्ने
बाउका काखहरु छैनन् घरमा
घरमा बाउहरु छैनन्

हरेक रातो सूर्यास्तमा
गाउँ सुन्दर छैन पहिले जस्तो,
जहाँ बाउ-छोराहरु छैनन्
केवल छन् त
बाउविनाका छोराहरु
र छोराविनाका बाउहरु

Inspired by recent visit to my hometown Hetauda

नोभेम्बर १९, २०१२
काठमाण्डु


Leave a Reply

Your email address will not be published. Required fields are marked *