कविताहरु

एउटा कवि मरेर गयो

कवितामै भए पनि
एउटा सुन्दर फूल फूल्दथ्यो
सपना उदाउँथ्यो हरेक विहान
अन्धकार झर्दथ्यो शीत भएर
हिमाल रातै रंगिन्थ्यो
बालक हाँस्दा

कवितामै भए पनि
देश विरलै दुख्दथ्यो
भ्रुण हत्या नि हुँदैन थियो क्रान्तिका वीजहरुको
रातारात हराउँदैन थिए सीमा स्तम्भहरु

बस् कवितामै होस्
हाम्फाल्दैन थिइन् आमा
सन्तान च्यापेर पुलबाट,
झर्दैन थियो आँशु
अस्पतालको सैय्यामा प्यारालाइसीस भएर
लडिरहेको सहीदको आँखाबाट

कवितामै भए पनि
परदेशिएको एउटा कसिलो पाखुराको
कमलो मन
बिझाउँदैन थियो हरेक रात
प्रेमिका र खेत बन्धक राखेको साहुको अनुहार
एक्कैपटक सम्झिएर

कवितामा
बँगैचा हुन्थे
फूल हुन्थे
हुन्थे पुतलीहरु
कहाँ हुन्थे र शीकारी कवितामा?
कहाँ हुन्थे र तस्करी कवितामा?

तर अफशोच
आज एउटा कवि मरेर गयो
कसले लेख्ला अब
फूलको कविता?
कसले देख्ला अब
फूलको देश ?

६ जुन २०१२, काठमाण्डु

Kamal Kumar is a Journalist. Currently he works for Herne Katha.

Leave a Reply

Your email address will not be published. Required fields are marked *