• होम
  • कविता
  • यात्रा
  • पत्र
  • कथा
  • गन्थन
  • लेख
  • Poems
  • Letters
  • Musings
  • Travel
  • Video

Musings by Kamal Kumar

  • के खोजेको गुगलले?

    January 15th, 2010
    सन् २००६ मा चीनको विशाल इन्टरनेट बजार देखेर गुगलको आँखा यस गतिशील अर्थतन्त्रमा गाडिएको थियो । चीनमा सेवा सुरु गर्नको लागि चीन सरकारले अघि सारेको सेन्सरसिपको शर्तलाई समेत गुगलले मानेको थियो । उक्त शर्त अनुसार गुगलको सर्च रिजल्टमा तियानमेन हत्याकाण्ड, तिब्बत स्वतन्त्रता लगायतका विवादित र चीन सरकारको नीति बिपरितका कुराहरु देखाउन पाइँदैन थिए।

    सर्च रिजल्टमा सेन्सरशिप लगाउने चिनीयाँ प्रस्ताव मानेकोमा त्यो बेला गुगलको थुप्रै आलोचना पनि भएको थियो । तर अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत गर्ने बताउने गुगलले नहुनु मामा भन्दा कानो मामा ठीक भन्दै आफ्नो बचाउ गरेको थियो । गुगलको तर्क थियो चिनियाँहरुलाई सूचना दिँदै नदिनु भन्दा सेन्सर गरेको सूचना दिनु सही हो ।

    ३ वर्ष पछि, गएको साता गुगलले चिनियाँ मानवअधिकारवादीहरुको जिमेल एकाउन्टमा चीनबाट पटक पटक सुनियोजित आक्रमण भएको भन्दै चीनमा आफ्नो कम्पनी बन्द गर्ने संकेत दिएको छ । गुगलले भनेको छ, उसले अब चीन सरकारको शर्त मान्ने छैन र चीनमा आफ्ना सर्च रिजल्टहरुमा सेन्सर गर्ने छैन । जसको मतलव चीनले सेन्सर नगरिएको गुगल सर्चमा प्रतिबन्ध लगाउनु हो र ७ सय जनालाई रोजगारी दिइरहेको गुगलको कार्यालय बन्द हुनु हो ।

    गुगलको निर्णय अपरिपक्व र मूर्खतापूर्ण छ ।

    पहिलो, चीनमा मात्र होइन, अभिव्यक्ति स्वतन्त्रता भएका अमेरिका र बेलायतमा पनि जुन सुकै कम्पनीले पनि कानुनको पालना गर्नु पर्छ । बेलायतमा वालवालिकालाई यौन र हिँसा जन्य वेबसाइट हेर्न प्रतिबन्ध लगाउने, र अपराधिक छानविनका लागि इन्टरनेट सर्भिस प्रोभाइडरहरुले व्यक्तिगत सूचना अधिकारीहरुलाई दिनुपर्ने प्रावधान पनि कानुन हो र चीनमा राष्ट्रिय एकतामा खलल पार्ने र साम्प्रदायिक द्वन्द्वलाई बढावा दिने सूचना र जानकारीको प्रचार प्रसारमा लगाइएको रोक पनि कानुन हो । गुगलको पछिल्लो निर्णय चीनको लागि टाउको दु:खाइ त पटक्कै होइन । जसरी गुगलको पक्ष लिएर अमेरिकी अधिकारीहरुले कूटनीतिक स्तरमै चीनलाई दबाब दिन खोजेका छन्, त्यसले चीनलाई हल्लाउन पनि सक्दैन । यद्यपी, बजारका हल्लालाई साम्य पार्न चीनियाँ विदेश मन्त्रालयकी एक प्रवक्ताले प्रष्टसँग भनिदिइन्, ‘चीनमा आएर कसैले कम्पनी चलाउन खोज्छ भने चीनको कानुन मान्नु पर्छ ।’

    दोस्रो, हरेक मुलुकको लागि राष्ट्रिय सुरक्षा पहिलो प्राथमिकता हो । राष्ट्रिय सुरक्षा र आतंकवादको तर्क अघि सारेर प्रजातन्त्रमा नाम कहलिएका मुलुकले पनि व्यक्तिका फोन र इमेल ट्य्राक गर्न सक्ने सम्मका कानुन बनाउन अघि सरेका छन् । चीन अपवाद होइन । नयाँ विश्वको नयाँ केन्द्र हुने सम्भावना बोकेको चीनको लागि राष्ट्रिय सुरक्षाको मुद्दा गम्भीर नै हो । अमेरिका र बेलायतले पनि शंकास्पद आतंकवादी समूहका नाइकेका इमेल एकाउन्टहरु आधिकारिक स्तरबाटै ह्याक गर्ने प्रयास गरेका समाचार पनि बेला बखतमा आउने गरेकै हुन् । अमेरिका र बेलायतले उनीहरुको शत्रुको इमेल एकाउन्टमा आक्रमण गर्न हुन्छ भने चीनले किन हुँदैन?

    तेस्रो, गुगलले समेत यो भन्ने आँट गर्न सकेको छैन कि चिनीयाँ अधिकारवादीहरु जिमेल एकाउन्टमा भएको आक्रमण सरकारी स्तरबाट भएको हो । उसँग प्रसस्त आधार नभएर नै, उसले चीन सरकारको हात रहेको आरोप समेत लाउन सकेको छैन । कुनै व्यक्ति वा समूहबाट हुने यस्ता आक्रमणमा पुरै देशलाई नै मुछ्नुको पछाडि नियत या बदनियत जे पनि हुन सक्छ ।

    संसारमा सबैभन्दा धेरै इन्टरनेट प्रयोगकर्ता चीनमा(३६ करोड) छन् । यो संख्या वर्षेनी १५०० प्रतिशतले बढ्दैछ । र चीनमा गुगलको सर्च इन्जिन एक तिहाइ इन्टरनेट प्रयोगकर्ताले मात्र चलाउँछन् । एक तिहाइले मात्र गुगल प्रयोग गर्दा पनि चीन संसारमै गुगलको लागि अमेरिका पछिको दोस्रो ठूलो बजार हो । चीन जस्तो विशाल बजारबाट हात झिक्नु गुगलको लागि भन्न जति सजिलो छ, गर्न त्यति सजिलो छैन । चीनमा सबैभन्दा धेरै (६० प्रतिशत भन्दा बढि)ले बाइडु सर्च इन्जिन प्रयोग गर्छन् । गुगलको पछिल्लो कदमलाई उक्त सर्च इन्जिन कम्पनीले ‘प्रतिस्पर्धा गर्न नसकी भाग्ने बहाना भएको’ आरोप लगाएको छ ।

    र अन्त्यमा,
    गुगलको कदमले घाटा गुगललाई नै हुन्छ । चीनलाई केही फरक पर्दैन । प्रविधि विश्लेषक बिल थोम्सनले बीबीसीमा लेखेका थिए, ‘चीनबाट बाहिरिन चुनौती दिनु भनेको,ह्‌वेलको जिउमा थुक्छु भनेर चुनौती दिनु जस्तै हो’

    Also Seen on Nagarik

  • पर पर क्षितीजमा

    January 14th, 2010

    पर पर क्षितीजमा
    अस्ताउँदो सूर्यको लालीमा
    बादलका रङ्गीचङ्गी धर्काहरु
    आकाशको छाती नाप्थे,
    बादलका अमूर्त ढिक्काहरुमा
    रुमानी कथाहरु बुनिन्थे
    राजा रानी, हात्ती घोडा, राजकुमार र परीका कथाहरु,
    क्षितिज नै ओझेल परेका छन् आज-भोलि
    बादलको आकृतिमा कथाहरु छैनन्
    पर पर क्षितिजमा बादलहरु छैनन् …….

    पहाडहरुसँग
    उचाइ नापिन्थ्यो सपनाको,
    भर्खर झरी परेर पखालिएका
    उज्याला, हरिया जङ्गल झैं
    प्रष्ट थिए सपनाका क्यानभासहरु
    आजभोलि पहाड पनि छैन,
    झरी हैन, तुषारो पर्छ
    पर पर क्षितीजमा सपनाहरु छैनन्,
    पहाडहरु छैनन् ….

  • गजल

    January 11th, 2010

    हिँड्न खोज्दा अल्मल्लेको त्यो बाटो कुन होला?
    फेरी हाम्लाई भेटाउने दोबाटो कुन होला?

    न गन्ध छ, न दुर्गन्ध छ, निर्जन यो एकान्तमा
    हाम्रो आफ्नै सुगन्ध थ्यो, त्यो माटो कुन होला?
    हिँड्न खोज्दा अल्मल्लेको त्यो बाटो कुन होला?

    तिमीसाथ थियौ त,चोट पनि हल्का लाग्थ्यो
    एउटा मीठो चोटको, त्यो खाटो कुन होला?
    हिँड्न खोज्दा अल्मल्लेको त्यो बाटो कुन होला?

    सुन्दर थियो कतै नलेखिएको एउटा कथा
    कहानीको अन्तिम, त्यो पाटो कुन होला?
    हिँड्न खोज्दा अल्मल्लेको त्यो बाटो कुन होला?

    टुट्ने छैन, छुट्ने छैन भन्ने गर्थ्यौं सँधै भरी
    नसोचेको, नचाहेको, त्यो फाटो कुन होला?
    हिँड्न खोज्दा अल्मल्लेको त्यो बाटो कुन होला

  • पाकेटमारलाई सावधान कि पाकेटमारदेखि सावधान ?

    October 27th, 2009
    आरएनएसी अगाडिको सडक छेउमा रहेका विजुलीको पोलमा, हुलाकमा, अस्पतालमा, सिनेमा हलमा, सार्वजनिक सौचालयमा, लोकल बसमा, नेपाल यातायातमा, नाइट बसमा, ट्याम्पुमा, विमानस्थलमा, तरकारी बजारमा, माइक्रोमा, नेपाल टेलिकममा, विद्युत प्राधिकरणमा, खानेपानी लिमिटेडमा, सिँहदरबारमा- जहाँ त्यहिँ लेखिएको हुन्छ ‘पाकेटमारदेखि सावधान’ ।

    राज्यका सुरक्षा निकायहरुले जनताको भिडभाड र व्यस्तता हुने सबै ठाउँमा पाकेटमारदेखि सावधानी गराएर ठूलो कर्तब्यवोध गरेका हुनुपर्छ । जर्ज अर्वेलको उपन्यास नाइन्टिन एट्टी फोर को पात्र बिग ब्रदरले जस्तै पाकेटमार देखि सावधानको सूचनाले हरेकलाई एकचोटि आफ्नो बगली छाम्न बाध्य पारेको छ, झसँङ्ग हुँदै महिलाहरुलाई बोकिरहेको ब्याग अझै कसेर समात्न प्रेरित गरेको छ । उभिने समेत ठाउँ नहुने सार्वजनिक बसमा चढ्दा डण्डी समाउने कि खल्तीमा हात राख्ने भन्ने तनाव पनि धेरैले महसुश गरेको हुनु पर्छ ।

    तर…

    बेलायतको एउटा शहरको गल्लीमा प्रहरीले टाँसेका सूचनाहरु पढेपछि मलाई नेपालमा टाँसिएका सूचनाहरु जनतालाई तनाव दिन मात्र राखिएका हुन् भन्नेमा दुई मत भएन ।

    यहाँको सूचनामा जनतालाई होइन, पाकेटमारलाई र लुटेरालाई सावधानी गराइएको छ । ‘लुटेराहरु सावधान, हामी तिमीहरुको कडा निगरानी राख्दैछौं’ यस्ता सूचना नजिकै बाट हिँड्दा पनि भित्रदेखि सुरक्षाको अनुभूति हुँदो रहेछ ।

    तर नेपालका तनाव दिने सूचना हाँसो लाग्दो छन्, मानौं पाकेटमार भनेका कुनै महामानव हुन्, जो शक्तिशाली छ, जसको पेशा अत्यन्त सम्माननीय छ, जसलाई प्रशासनले केही गर्न सक्दैन । उनीहरु जहिँकहिँ पनि हुन सक्छन, कतैबाट टुप्लुक्क आइपुग्न सक्छन् र ती महान् पाकेटमारदेखि सिधा साधा सर्वसाधारण आफैं सतर्क हुनै पर्छ । त्यसैले त ठाउँ ठाउँमा जनतालाई चेतावनी दिइएको छ, ‘पाकेटमारदेखि सावधान’

    जानेर होस् वा अन्जानमा, नेपालका सार्वजनिक ठाउँमा जनतालाई सावधानी गराएर राखिएका यस्ता सूचनाले पाकेट मार्ने कामलाई अप्रत्यक्ष बैधता दिएको छ । पाकेटमारको आतंकलाई सर्वव्याप्त बनाइदिएको छ । प्रहरी प्रशासनको लाचारीलाई छर्लङ्ग पारिदिएको छ ।

    सावधान पाकेटमारलाई भन्ने नि पाकेट मारिनेलाई ? लुटेरालाई भन्ने कि लुटिनेलाई ।

    र अन्त्यमा….

    नेपालको प्रशासन र प्रहरीले सस्तो र प्रभावकारी प्रविधिलाई पनि आत्मसात गर्न सकेका छैनन् । सुरक्षाका दृष्टिले संवेदनशील ठाउँलाई सिसिटिभी मात्रै राखिदिए पनि दिमाग ठीक भएकाहरुले क्यामेरा देख्दा देख्दै अपराध गर्दैन थिएन होलान् नि !

  • आतंकवाद खतरनाक कि अमेरिका ?

    September 11th, 2009
    सेप्टेम्बर ११ को आक्रमणमा ३ हजारले ज्यान गुमाए। यसको बदलामा इराक र अफगानिस्तानमा अमेरिकी नेतृत्वमा भएका युद्धमा हालसम्म मर्नेको संख्या ७ लाख ५० हजार नाघिसकेको छ। जुन सेप्टेम्बर ११ मा भएको आक्रमणमा मारिनेको संख्याको २ सय ५१ गुणा बढि हो। इराक युद्ध र अफगान युद्धमा मारिनेको संख्या सन् १९९३ देखि सन् २००४ सम्म संसारभर भएका आतंकवादी आक्रमणमा मारिनेको संख्याको १ सय ८ गुणाभन्दा बढि हो।

    यी तथ्याङ्कबाट नै सजिलै बुझ्न सकिन्छ विश्वको लागि आतंकवाद भन्दा डरलाग्दो आतंकवादविरोधी युद्ध रहेको छ। अमेरिकी नेतृत्वमा भइरहेको यो युद्धले लाखौं सर्वसाधारणको ज्यान लिएको छ अरबौं डलर खर्च गरेको छ र विश्वलाई थप असुरक्षित बनाएको छ। सेप्टेम्बर ११ पछि त्यस्तै किसिमको आक्रमण अमेरिकामा त दोहोरिएको छैन तर आतंकवादको पछिल्ला शिकार भारत पाकिस्तान अफगानिस्तान र मध्यपूर्वका मुलुक भएका छन्। एउटा माहुरीले टोक्यो भनेर माहुरीको गोलामा ढुंगा हान्ने काम अमेरिकाले गरेको छ।

    शीत युद्धको बेलामा कम्युनिष्टहरुलाई आतंकवादी मानिन्थ्यो। शीत युद्धपछि मुसलमानहरुलाई अमेरिकाले आतंकवादी भन्न थाल्यो। इतिहासलाई राम्रोसँग नियाल्ने हो भने आतंकवादलाई अमेरिका लगायत पश्चिमका ठूला राष्ट्रले आफू अनुकुल ब्याख्या गर्दै आएका छन्। लकरबी बम हमलाका आक्रमणकारी अलि मोहम्मद अल मेग्राहीलाई स्कटल्याण्ड सरकारले रिहा गर्नुको पछाडि बेलायत र लिबियाबीचको तेलसम्बन्धी सम्झौता कारण रहेका कुराको भरपर्दा सबुतहरु मिडियामा आइसकेका छन्। निहित राजनीतिक स्वार्थका पछाडि रचिएको आतंकवाद विरोधी युद्धको गम्भिर परिणाम भने तेस्रो विश्वका जनताले भोग्नु परेको छ । मानौं यी मुलुकका मान्छे मान्छे नै होइनन्।

    इराकसँग आमविनाशकारी हतियार भएको आरोपमा अमेरिकाले सेप्टेम्बर ११ पछि इराकमा आक्रमण गर्यो। युद्धका ८ वर्षमा ५ लाख त सर्वसाधारण मात्र मारिए तर आमविनाशकारी हतियार भेटिएन। के अमेरिकी नेतृत्वको युद्ध आमविनाशकारी हतियार भन्दा कम सावित भयो अफगानिस्तानमा युद्धमा विदेशी सेनाले प्रयोग गरेका घातक क्लस्टर बमको कारण हजारौं सर्वसाधारणले ज्यान गुमाए शरिरका महत्वपूर्ण अंग गुमाए । अन्धाधुन्ध गरिएका हवाइ आक्रमणमा घरमा सुतिरहेका गाडीमा चढिरहेका बाटोमा हिँडिरहेका थुप्रै सर्वसाधारण मारिए। तर अमेरिकाले जसको खोजी गर्न भनी दोस्रो विश्वयुद्ध पछिकै भयानक युद्धको श्रृंखला सुरु गर्यो ती व्यक्ति ओसामा विन लादेन कुनै पनि कारवाहीमा मारिएनन्। उनको सुँइको सम्म पनि पाएन बहुराष्ट्रिय सेनाले।

    सन् १९८० को दशकमा विन लादेन र उनका सहयोगीहरुले अमेरिका कै सहयोगमा तालिम र हतियारहरु पाए । अफगानिस्तानमा रहेको तत्कालिन सोभियत शासनविरुद्ध लड्नको लागि तालिवानलाई रकम सिआइएले दियो तालिम बेलायती सेनाले दियो। सन् १९९६ मा तालिवानले अफगानिस्तानको सत्तामा कब्जा जमाए पछि वाशिङटन किन केही बोलेन
    आतंकवादविरुद्ध अमेरिकी नेतृत्वमा भएको विश्वब्यापी अभियानले सभ्यताको भिडन्त क्ल्यास अफ सिभिलाइजेसन लाई जन्माउने खतरा समेत रहेको छ। अमेरिकाको फ्लोरिडा राज्यको एउटा स्कूले विद्यार्थीहरु केही समयअघि एउटा स्थानीय चर्चले वितरण गरेको टिसर्ट लगाएर घर फर्केका थिए र उनीहरुको टिसर्टमा लेखिएको थियो ‘इस्लाम इज डेभिल इस्लाम भनेको शैतान हो’। अमेरिकाले मुस्लिम जगतप्रति फैलाएको घृणाको प्रोपागाण्डा यसबाट प्रष्ट हुन्छ। आतंकवादविरुद्ध भनिएको यो युद्धमा केवल ह्वाइटहाउस र डाउनिङ स्ट्रीट मात्र लागेका छैनन् सँगसँगैको प्रोपागाण्डा युद्धमा भ्याटिकनदेखि वाल स्ट्रीटसम्म र पश्चिमका मिडियाका समेत कन्जरभेटिभ तत्वहरु लागेका छन् । जसको उग्रपन्थ अलकायदाको भन्दा कम छैन।

    जब सोभियत संघ पतन भयो शीत युद्ध सकियो जब साम्राज्यवादको भू राजनीतिले कोल्टे फेरेर अर्थ र तेल उन्मूख हुन थाल्यो तब आतंकवादलाई हेर्ने अमेरिकी परिभाषामा पनि परिवर्तन भयो। नयाँ परिभाषामा धार्मिक र जातीय कुरालाई मुछियो। विशाल साँस्कृतिक र शान्तिपूर्ण इतिहास बोकेको मुसलमान समूदायलाई अमेरिकाले पछिल्ला दुई दशकमा नै आतंकवादसँग जोडिदियो। तुलनात्मक रुपमा दोस्रो विश्व युद्ध पछि शान्त रहेको विश्वलाई फेरि अस्थिरतातर्फ उन्मुख गर्यो अमेरिकाले। आतंकवाद एउटा सिर्जित मुद्धा हो र यसको रचनाकार अमेरिका हो। विभिन्न देशमा मुस्लिम अतिवाद पछाडिका अधिकांश कारणहरु आन्तरिक थिए। तर यसलाई अन्तर्राष्ट्रियकरण अमेरिकाले गर्यो ।

    ओबामाले सन् २०१२ सम्म इराकबाट सबै अमेरिकी सेना फिर्ता बोलाउने घोषणा गरिसकेका छन्। इजिप्ट भ्रमणमा रहँदा उनले मुस्लिम समुदायसँग नयाँ सम्बन्धको लागि आव्हान पनि गरेका छन्। तर आतंकवादी संगठनका प्रमूखहरुले ओबामाको मुस्लिमसँग निकट हुने नीतिलाई पत्याएका छैनन्। विश्लेषकहरुले पनि भन्ने गरेका छन् ओबामा बोल्दा खेरी ओबामा नै हुन् तर काम गर्दा बुस। ओबामाले दुई वर्ष भित्र इराकबाट सेना फर्काउनु समस्याको समाधान होइन। अफगानिस्तानमा थप सेना पठाउनु त झन् हुँदै होइन।

    केही दिन अघि दोहोर्याएर हेरेको खालिद युसेनीको उपन्यासमाथि बनेको फिल्म ‘द काइट रनर’मा सन् १९७९ मा सोभियत संघले अफगानिस्तान आक्रमण गरेको प्रसंग छ। प्रमूख पात्र मध्येका एक बाबा होमायुन एर्सारदी कम्युनिष्ट विरोधी हुन्छन्। सोभियत आक्रमणपछि उनी छोरा अमिरसँग देश छाडेर भाग्ने तयारी गर्छन्। उनले एक सहयोगीलाई भन्छन्- ‘हाम्रो घर रेखदेख गरिदिनु होला। रसियनहरु फर्केर गएपछि हामी आउँछौं।’ ती सहयोगीले सोध्छन्- ‘रसियनहरु फर्केनन् भने ? बाबाले जवाफ दिन्छन्- ‘अवश्य फर्केर जानेछन् यो देश आक्रमणकारीहरुको लागि दयालु छैन।’

    वास्तवमै इराकपछि अफगानिस्तानमा ध्यान केन्द्रित गरेको बहुराष्ट्रिय सेनाले त्यहाँ स्थायी जित अपेक्षा नगरे हुन्छ। स्वयं नेटोका जेनरलहरुले नै यो कुरा स्वीकार गर्दै आएका छन्। आतंकवादलाई जित्ने सबैभन्दा ठूलो हतियार धैर्यता हो। सेप्टेम्बर ११ पछि केवल धैर्य मात्र गरिएको भए र मुस्लिम उग्रवादीहरु भएका मुलुकले आन्तरिक कडाइ गरेको भए मानव इतिहासले यति ठूलो क्षति भोग्नु पर्ने थिएन । न त अमेरिकाको छवि नै बिग्रने थियो ।

    आतंकवादविरुद्ध युद्धको लागि अमेरिकी र बेलायती सनक भन्दा पनि विशेष गरी इराक र अफगानिस्तानमा बलियो र प्रजातान्त्रिक सरकार आवश्यक छ। इराकको बगदाद र अफगानिस्तानको काबुलमा थुप्रौ वर्ष काम गरेका र अमेरिकी विदेश मन्त्रालयमा ४० वर्ष बिताएका रायन क्रोकरले सेप्टेम्बर ११ पछि सिक्नु पर्ने पाठहरुको बारेमा न्युजविक पत्रिकामा लेखेका छन्- ‘अमेरिकालाई रणनीतिक धैर्यता जरुरी छ तर परम्परागतरुपमा अमेरिकीहरुले त्यो सिकेका छैनन्।’

    Also Seen on Nagarik

  • ‘युनाइटेड ब्रेक्स गिटार’

    July 26th, 2009
    क्यानेडियन गायक डेभ क्यारोल सन् २००८ को मार्च महिनामा आफ्नो सांगितिक समूह सन्स अफ म्याक्वेलसँग साँगितिक कार्यक्रम लिएर अमेरिकाको नेब्रास्का जाँदै थिए । उनी चढेको युनाइटेड एयरलाइन्सको विमानमा उनको मूल्यवान टेलर गिटार पनि थियो । तर विमानका कर्मचारीहरुले सामान उतार्ने बेलामा उनको ३५०० डलर पर्ने गिटारलाई हेलचेक्य्राइँपूर्वक फ्याँकेको देखियो ।

    पछि हेर्दा उनको त्यो गिटार कामै नलाग्ने गरी भाँच्चिएको रहेछ । एयरलाइन्सले आफ्नै कारणले गिटार भाँच्चिएको स्वीकार गरे पनि दोष भने एक कर्मचारीले अर्का कर्मचारीलाई लगाइरहे ।

    गायक क्यारोललले क्षतिपुर्ती माग गरे पनि उनलाई ९ महिना यसै झुलाइयो । र अन्त्यमा एयरलाइन्सका कर्मचारीले क्षतिपुर्ती दिन नसकिने बताए । त्यसपछि पीडित बनेका गायक क्यारोलले युनाइटेड एयरलाइन्समा भेटेका अन्तिम कर्मचारीलाई एउटा वाचा गरे, ‘युनाइटेड एयरलाइन्ससँगको मेरो अनुभवका बारेमा म तीनवटा गीत लेख्नेछु, गाउनेछु हरेकको भिडियो बनाउने छु र संसारभरिका मानिसले हेर्न सकिने गरी देखाउने छु’

    नभन्दै गायक क्यारोलले गीत गाए र भिडियो पनि बनाए । युट्युबमा १९ दिन अघि राखिएको उनको म्युजिक भिडियो ‘युनाइटेड ब्रेक्स गिटार’ आइतबारसम्म ४० लाख ९५ हजार पटक हेरिएको छ । यो गित बेलायतमा आइट्युन्सको आधिकारिक वेबसाइटबाट सबैभन्दा धेरै डाउनलोड समेत भएको छ । पश्चिमका सञ्चार माध्यम, गुगल, ट्वीटर र अन्य सोसल नेटवर्किङमा सबैभन्दा धेरै चर्चा युनाइटेड ब्रेक्स गिटारकै छ ।

    क्यारोलले बनाएको म्युजिक भिडियोको लोकप्रियता यति धेरै बढ्यो कि त्यसलाई युनाइटेड एयरलाइन्सले चुप लागेर हेर्नै सकेन । र अन्तत: लज्जित भएको युनाइटेड एयरलाइन्सले क्षतिपुर्ती दिने भएको छ ।

    लोक रक गायक डेभिड क्यारोलले विमान कम्पनीसँग क्षतिपुर्ती दाबी गर्न मुद्दा मामिला गर्न पनि सक्थे होलान्, तर उनले रचनात्मक विरोध शैली अपनाए जसले युनाइटेडलाई क्षतिपुर्ती दिन बाध्य पार्यो । उनले बनाएको म्युजिक भिडियो केवल इन्टरनेटमा मात्र राखिएको थियो । सिडी र टिभीका लागि नबनाइए पनि उनको भिडियो निकै धेरै मानिसले हेरेछन् । यसले विश्वब्यापी रुपमा बढ्दै गएको एउटा भर्चुअल समाजको शक्तिलाई पनि प्रतिबिम्बित गर्छ । बेलायती पत्रिका इन्डिपेन्डेन्टले यसलाई इन्टरनेटको ‘विशाल प्रभाव’ भनेको छ ।

  • बन्द दृष्टि

    June 18th, 2009
    एकीकृत नेकपा माओवादीले सोमबार आव्हान गरेको बन्दका बेला म धुम्बाराही र सुकेधारा आसपासका शान्त र रापिलो चक्रपथको बाफिलो हावा खाँदै हिँडिरहेको थिएँ । मध्यान्हको १ बजेको थियो । सडकका दायाँ बायाँ घामले डढेका र पसीनाले भिजेका अनगिन्ति मान्छेको ताँती लागेको थियो । मान्छेले पाएको चरम दुःखको उदाहरण खोज्ने हो भने बन्दले सास्ति पाएकाहरुको अनुहार हेरे हुन्छ । थकान, चिन्ता, हडबडि, त्रास,र आक्रोश ।

    धुम्बाराही चोकमा टायरहरुले थिचेर एउटा रातो झण्डा गाडिएको थियो । त्यसका वरपर ढुंगा र इँट्टा का लक्ष्मण रेखाले बाटो छेकेका थिए । बन्द गराउनेहरुको पनि आफ्नै चेन अफ कमान्ड हुँदो रैछ । एउटा टोली बीच बाटोमा उभिएर बन्दको अवज्ञा गर्नेहरुलाई टायरको हावा खोल्दिने, तोडफोड गर्ने, गाली गलौज गर्ने जस्ता भौतिक कारवाही गर्न ब्यस्त थियो । अर्को टोली चाहीँ नजिकैको प्रतीक्षालय, अथवा अलि शितल ठाउँमा बसेर गफ चुट्न र बेलाबेलामा सडकमा बसेकाहरुलाई निर्देशन दिन ब्यस्त देखिन्थ्यो। उनीहरु अलि सुपेरियर लाग्थे । प्रतीक्षालयमा बस्नेले ठूलो स्वरमा कराउँथ्यो, ‘नछोड् नछोड्’ सडकमा बसेकाहरु जोशिन्थे अनि बन्दको अवज्ञा गर्ने जो
    सुकैमाथि पनि जाइ लाग्थे ।

    मध्य दिनको सुनसान सडकमा पर कतै मिराज देखिएको ठाउँबाट एउटा साइकलको आकृति नजिक आउन थाल्यो । साइकलमा दुइ जना थिए । उसको अनुहारको गोरो छाला घामले डढेर रातो भएको थियो, जो साइकल चलाउँदै थियो । उखरमाउलो गर्मीमा साइकलको प्याडल घुमाउँदा घुमाउँदा उ निकै थकित देखिन्थ्यो । कलिलो लाग्ने
    जुँगाको रेखी पसीनाले निथ्रुक्क भिजेको थियो । उसको साइकलको अगाडी डन्डीमा उस्तै हालतको तर उ भन्दा अलि पाको देखिने दारीवाल युवा बसेका थिए । बन्दकर्ताहरुको नजिकै आउँदा ती दुई व्यक्ति मात्र होइन, उनीहरु चढेको निर्जिब साइकल पनि डराएको देखें मैले त ।

    साइकल नजिकै आयो । सडकमा बसेका बन्दकारीहरु शिकार झम्टिए जसरी जाइलागे । साइकलमा अगाडी डन्डीमा बस्ने व्यक्ति केही भन्न खोज्दै थियो । तर त्यो
    भिडको गडगडाहटमा ती व्यक्तिको आवाज कसैले सुनेन । मैले पनि बुझिन । एक जना बन्दकारीले साइकलको हावा खोल्दियो । छिस्स । साइकलमा चढ्ने दुई भाइ
    निरिह बनेर हेरी रहे ।

    साइकलको हावा खोल्दिसकेपछि मात्र ती बन्दकारीले साइकल चढ्नेसँग कुरा गर्न थाले । एउटाले थर्कायो, ‘हाम्रो बन्द अवज्ञा गर्ने?’ साइकलको डन्डीमा बस्नेले ज्यादै विनम्र भएर भने, ‘ म नौबीसेदेखि हिँड्दै आको । हिँड्दा हिँड्दा खुट्टा बाँउडेर हिँड्नै नसक्ने भएँ, अनि भाइलाई फोन गरेर बोलाको, त्यहीँ पर देखि साइकलमा चढेको हो’
    अर्को बन्दवाला बोल्यो, ‘अवज्ञा किन गरेको त’ । मैले सोचें यिनीहरुले अवज्ञा भन्ने शब्द घोकेर आका छन् । जसरी हुन्छ यसलाई वाक्यमा प्रयोग गरेपछि हुन्छ ।
    शायद त्यो अमूर्त प्रश्नको सही जवाफ साइकलमा चढ्नेलाई दिन आएन ।

    बन्दकारीले साइकलको हावा खोल्दिँदा पनि उ शान्त थियो । उसले फेरि निवेदन गर्यो, ‘म पनि तपाई‌हरु जस्तै हो । म पनि ३ वर्ष हिँडेको हुँ’ बन्दकारीहरुलाई उसको कुराले छोएन । फेरि अर्कोले अवज्ञा भन्ने शब्द दोहोर्यायो, ‘ल ल अबदेखि अवज्ञा गर्ने हैन’ साइकलको डन्डीबाट ती मानिस ओर्लिए, खुट्टा खोच्याउँदै निराश र अमीलो
    अनुहार बनाउँदै लुखुरलुखुर अघि लागे । उनी कसैले नसुन्ने गरी बर्बराउँदै थिए । उनको अनुहार हेर्दा यस्तो लाग्थ्यो, उनी तीन वर्ष हिँडेको पार्टी प्रति उनमा ठूलो वितृष्णा जागेको छ ।

  • बिन्दास सभासद्

    May 5th, 2009

    देश राजनीतिक संकटमा होमिएका बेला यी युवा सभासद् प्रेमको कुरामै व्यस्त थिए….

    फेसबुक सामाजिक सञ्जालको एउटा सशक्त माध्यम बन्न पुगेको छ। अमेरिकी राष्ट्रपति बाराक ओबामादेखि पूर्व अर्थमन्त्री बाबुराम भट्टराईले पनि युवा पुस्ताको मन बुझ्न फेसबुक कै सहारा लिएका थिए ।

    फेसबुकमा केही नाम चलेका र प्रभावशाली मानिसहरु पनि छन्। उनीहरुले फेसबुकलाई हजारौं समर्थक र सरोकारवालाहरुसँगसम्बन्ध कायम गर्न एउटा बलियो माध्यमका रुपमा प्रयोग गर्न सक्छन्। नेकपा मालेका मनोनित सभासद् राजेन्द्र खेतान,जो एक सफल उद्यमी पनि हुन्। उनी पनि फेसबुकमा छन्। उनलाई फेसबुकमा आफ्नो साथीको सूचिमा राख्‍न बेला मेरा धेरै अपेक्षा थिए। एक जना युवा उद्यमी र सभासद्। उनका विचारहरु। युवा पुस्तालाई उनका सुझावहरु। उनका अनुभवहरु,यस्तै उत्पादनशील र सिर्जनशील कुराहरुको अपेक्षा मैले नेपालका एक जना सभासद् र उद्यमीको फेसबुकबाट गरेको थिएँ।

    तर उनी विन्दास रहेछन्। प्रधानमन्त्री पुष्पकमल दाहालले राजिनामा दिएपछि देश गम्भीर राजनीतिक संकटमा होमियो। फेसबुकमा देशविदेशका युवा साथीहरु अब के होला भन्ने चिन्तामा थिए। सबैका आफ्नै अड्कल, आकांक्षा र अनुरोध थिए। नेपालको एक्स जेनेरेशनमा यति धेरै राजनीतिक सचेतना देखेर म दङ्ग थिएँ।

    एकाएक मेरो आँखा राजेन्द्र खेतानको फेसबुक अपडेटमा पुग्यो। (फेसबुकमा मनमा लागेका कुरा, अथवा आफू के गर्दैछु भनेरजतिखेर मन लाग्यो त्यतिबेला अपडेट लेख्न सकिन्छ) राजेन्द्र खेतानको अपडेटमा अंग्रेजीमा लेखिएको थियो- लभ इज ब्लाइन्ड (प्रेम अन्धो हुन्छ)। हुनत उनको फेसबुक अपडेट नितान्त व्यक्तिगत हो। उनलाई आफ्नो कुरा आफ्नो ढंगले राख्‍न पाउँछन्। तर त्यो हेरेर म जस्ता उनीप्रति अपेक्षा गर्नेले उनीप्रति धारणा बनाउन पनि पाउँछन्। मलाई उदेक लाग्यो, चरम राजनीतिक संकटका कारण देशमा संविधान लेखन नै अन्यौलमा परेका बेला संविधान लेख्‍न मनोनित भएका यी विवाहितसभासद्को दिमागमा ‘अन्धो प्रेम रहेछ’। उनले त्यो स्टाटस कुनै ‘वायरलेस डिभाइस’ बाट अपडेट गरेका रहेछन्।

    यी युवा सभासद् तथा दर्जनौं ब्यापारिक संस्थाका अगुवाबाट मैले एउटा परिपक्व धारणाको अपेक्षा गरेको थिएँ। हजारौं मानिससँग कोठाभित्र बसी बसी फेसबुकमार्फत नै संविधानको राय लिन सक्थे यिनले, मिलेर जानु पर्छ भन्ने कुनै राजनीतिक सन्देश दिन सक्थे यिनले, संकटमा परेका व्यवसायका कुरा गर्न सक्थे यिनले।

    तर उनले त लेखे- ‘प्रेम अन्धो हुन्छ’।

    मैले खेतानको प्रोफाइलमा उनका पुराना स्टाटसहरु पनि हेरेँ, प्रधानसेनापति विवादका कारण ‘अब के होला’ भन्ने अन्यौल उत्कर्षमा पुगेका बेला अर्थात सोमबार विहान उनको स्टाटसमा लेखिएको थियो ‘तिम्रो आहत र मुस्कान अनि मोहक…. हराएछु’ त्योभन्दा पहिले शनिबार एकाविहानै खेतानले फेसबुक स्टाटस अपडेट गरेका रहेछन्। जहाँ उनले लेखेका थिए ‘किन आयौ सुटुक्क, मेरो मुटु कुटुक्क’।
    मालेको समानुपातिक सिटबाट सभासद बनेका खेतानले जनताको मुटु कुटुक्क हुने गरी देश दुखेको बेला राखेको स्टाटस देख्दा मलाई चाहिँ दीपक लिम्बुले गाएको गीत गुनगुनाउन मन लागिरहेको छ, यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छौ।

    नागरिकमा प्रकाशित

  • YouTube – Garaj Baras Saawan Ghir Aayo

    April 18th, 2009

     

    Quote

    Talking about YouTube – Garaj Baras Saawan Ghir Aayo
     

  • Letter to the Past

    December 19th, 2006

    Dearest Past,

    You began with the 23 pairs of chromosome and drove me to the age of 23. You gave me lots of cheers and despairs. The science of life and the art of living always reacted with the missing plugins.You gave me hope. That’s why I am still alive. Thanks for the MEMORIES.

    You crawled in the tunnels of innocence. You ran with the speed of dreams. You crossed beyond the border of thinking. You jumped the height of happiness. You dived the pool of tears. You detached with attachment and you attached with detachment. Thanks for MORAL OF THE LESSON.

    You confronted with the loneliness. You lost among the shapeless crowds. You fell from the bottom. You stood at the height. Thanks for the EXISTENCE.

    You compiled the s c a t t e r e d fragrance. You sang the sensation. You danced the freedom. You rocked with the rhythm of life. You hymned with the harmony. Thanks for the MELODY.

    You gave mom’s lap at 1. You gave dad’s shoulder at 3. You gave friends at 4. You gave school at 5. You gave homework at 7. You gave punishment at 8. You gave understanding at 9. You gave ecstasy at 10. You gave youthhood at 13. You gave college at 17. You gave beauty at 18. You gave dreams at 19. You gave fame at 21. You gave frustration at 22. Finally you seized everything and gave me a bunch of memory.

    Dear Past, thanks for beholding me all the time. Thanks for decoding every seconds within your memory. Thanks for Transformation. Thanks for Challenge. Thanks for Experience.

    Yours, Present

←Previous Page
1 … 5 6 7 8 9 10
Next Page→

Proudly powered by WordPress