‘युनाइटेड ब्रेक्स गिटार’

क्यानेडियन गायक डेभ क्यारोल सन् २००८ को मार्च महिनामा आफ्नो सांगितिक समूह सन्स अफ म्याक्वेलसँग साँगितिक कार्यक्रम लिएर अमेरिकाको नेब्रास्का जाँदै थिए । उनी चढेको युनाइटेड एयरलाइन्सको विमानमा उनको मूल्यवान टेलर गिटार पनि थियो । तर विमानका कर्मचारीहरुले सामान उतार्ने बेलामा उनको ३५०० डलर पर्ने गिटारलाई हेलचेक्य्राइँपूर्वक फ्याँकेको देखियो ।

पछि हेर्दा उनको त्यो गिटार कामै नलाग्ने गरी भाँच्चिएको रहेछ । एयरलाइन्सले आफ्नै कारणले गिटार भाँच्चिएको स्वीकार गरे पनि दोष भने एक कर्मचारीले अर्का कर्मचारीलाई लगाइरहे ।

गायक क्यारोललले क्षतिपुर्ती माग गरे पनि उनलाई ९ महिना यसै झुलाइयो । र अन्त्यमा एयरलाइन्सका कर्मचारीले क्षतिपुर्ती दिन नसकिने बताए । त्यसपछि पीडित बनेका गायक क्यारोलले युनाइटेड एयरलाइन्समा भेटेका अन्तिम कर्मचारीलाई एउटा वाचा गरे, ‘युनाइटेड एयरलाइन्ससँगको मेरो अनुभवका बारेमा म तीनवटा गीत लेख्नेछु, गाउनेछु हरेकको भिडियो बनाउने छु र संसारभरिका मानिसले हेर्न सकिने गरी देखाउने छु’

नभन्दै गायक क्यारोलले गीत गाए र भिडियो पनि बनाए । युट्युबमा १९ दिन अघि राखिएको उनको म्युजिक भिडियो ‘युनाइटेड ब्रेक्स गिटार’ आइतबारसम्म ४० लाख ९५ हजार पटक हेरिएको छ । यो गित बेलायतमा आइट्युन्सको आधिकारिक वेबसाइटबाट सबैभन्दा धेरै डाउनलोड समेत भएको छ । पश्चिमका सञ्चार माध्यम, गुगल, ट्वीटर र अन्य सोसल नेटवर्किङमा सबैभन्दा धेरै चर्चा युनाइटेड ब्रेक्स गिटारकै छ ।

क्यारोलले बनाएको म्युजिक भिडियोको लोकप्रियता यति धेरै बढ्यो कि त्यसलाई युनाइटेड एयरलाइन्सले चुप लागेर हेर्नै सकेन । र अन्तत: लज्जित भएको युनाइटेड एयरलाइन्सले क्षतिपुर्ती दिने भएको छ ।

लोक रक गायक डेभिड क्यारोलले विमान कम्पनीसँग क्षतिपुर्ती दाबी गर्न मुद्दा मामिला गर्न पनि सक्थे होलान्, तर उनले रचनात्मक विरोध शैली अपनाए जसले युनाइटेडलाई क्षतिपुर्ती दिन बाध्य पार्यो । उनले बनाएको म्युजिक भिडियो केवल इन्टरनेटमा मात्र राखिएको थियो । सिडी र टिभीका लागि नबनाइए पनि उनको भिडियो निकै धेरै मानिसले हेरेछन् । यसले विश्वब्यापी रुपमा बढ्दै गएको एउटा भर्चुअल समाजको शक्तिलाई पनि प्रतिबिम्बित गर्छ । बेलायती पत्रिका इन्डिपेन्डेन्टले यसलाई इन्टरनेटको ‘विशाल प्रभाव’ भनेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *