बिन्दास सभासद्

देश राजनीतिक संकटमा होमिएका बेला यी युवा सभासद् प्रेमको कुरामै व्यस्त थिए….

फेसबुक सामाजिक सञ्जालको एउटा सशक्त माध्यम बन्न पुगेको छ। अमेरिकी राष्ट्रपति बाराक ओबामादेखि पूर्व अर्थमन्त्री बाबुराम भट्टराईले पनि युवा पुस्ताको मन बुझ्न फेसबुक कै सहारा लिएका थिए ।

फेसबुकमा केही नाम चलेका र प्रभावशाली मानिसहरु पनि छन्। उनीहरुले फेसबुकलाई हजारौं समर्थक र सरोकारवालाहरुसँगसम्बन्ध कायम गर्न एउटा बलियो माध्यमका रुपमा प्रयोग गर्न सक्छन्। नेकपा मालेका मनोनित सभासद् राजेन्द्र खेतान,जो एक सफल उद्यमी पनि हुन्। उनी पनि फेसबुकमा छन्। उनलाई फेसबुकमा आफ्नो साथीको सूचिमा राख्‍न बेला मेरा धेरै अपेक्षा थिए। एक जना युवा उद्यमी र सभासद्। उनका विचारहरु। युवा पुस्तालाई उनका सुझावहरु। उनका अनुभवहरु,यस्तै उत्पादनशील र सिर्जनशील कुराहरुको अपेक्षा मैले नेपालका एक जना सभासद् र उद्यमीको फेसबुकबाट गरेको थिएँ।

तर उनी विन्दास रहेछन्। प्रधानमन्त्री पुष्पकमल दाहालले राजिनामा दिएपछि देश गम्भीर राजनीतिक संकटमा होमियो। फेसबुकमा देशविदेशका युवा साथीहरु अब के होला भन्ने चिन्तामा थिए। सबैका आफ्नै अड्कल, आकांक्षा र अनुरोध थिए। नेपालको एक्स जेनेरेशनमा यति धेरै राजनीतिक सचेतना देखेर म दङ्ग थिएँ।

एकाएक मेरो आँखा राजेन्द्र खेतानको फेसबुक अपडेटमा पुग्यो। (फेसबुकमा मनमा लागेका कुरा, अथवा आफू के गर्दैछु भनेरजतिखेर मन लाग्यो त्यतिबेला अपडेट लेख्न सकिन्छ) राजेन्द्र खेतानको अपडेटमा अंग्रेजीमा लेखिएको थियो- लभ इज ब्लाइन्ड (प्रेम अन्धो हुन्छ)। हुनत उनको फेसबुक अपडेट नितान्त व्यक्तिगत हो। उनलाई आफ्नो कुरा आफ्नो ढंगले राख्‍न पाउँछन्। तर त्यो हेरेर म जस्ता उनीप्रति अपेक्षा गर्नेले उनीप्रति धारणा बनाउन पनि पाउँछन्। मलाई उदेक लाग्यो, चरम राजनीतिक संकटका कारण देशमा संविधान लेखन नै अन्यौलमा परेका बेला संविधान लेख्‍न मनोनित भएका यी विवाहितसभासद्को दिमागमा ‘अन्धो प्रेम रहेछ’। उनले त्यो स्टाटस कुनै ‘वायरलेस डिभाइस’ बाट अपडेट गरेका रहेछन्।

यी युवा सभासद् तथा दर्जनौं ब्यापारिक संस्थाका अगुवाबाट मैले एउटा परिपक्व धारणाको अपेक्षा गरेको थिएँ। हजारौं मानिससँग कोठाभित्र बसी बसी फेसबुकमार्फत नै संविधानको राय लिन सक्थे यिनले, मिलेर जानु पर्छ भन्ने कुनै राजनीतिक सन्देश दिन सक्थे यिनले, संकटमा परेका व्यवसायका कुरा गर्न सक्थे यिनले।

तर उनले त लेखे- ‘प्रेम अन्धो हुन्छ’।

मैले खेतानको प्रोफाइलमा उनका पुराना स्टाटसहरु पनि हेरेँ, प्रधानसेनापति विवादका कारण ‘अब के होला’ भन्ने अन्यौल उत्कर्षमा पुगेका बेला अर्थात सोमबार विहान उनको स्टाटसमा लेखिएको थियो ‘तिम्रो आहत र मुस्कान अनि मोहक…. हराएछु’ त्योभन्दा पहिले शनिबार एकाविहानै खेतानले फेसबुक स्टाटस अपडेट गरेका रहेछन्। जहाँ उनले लेखेका थिए ‘किन आयौ सुटुक्क, मेरो मुटु कुटुक्क’।
मालेको समानुपातिक सिटबाट सभासद बनेका खेतानले जनताको मुटु कुटुक्क हुने गरी देश दुखेको बेला राखेको स्टाटस देख्दा मलाई चाहिँ दीपक लिम्बुले गाएको गीत गुनगुनाउन मन लागिरहेको छ, यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छौ।

नागरिकमा प्रकाशित


Leave a Reply

Your email address will not be published. Required fields are marked *