• होम
  • कविता
  • यात्रा
  • पत्र
  • कथा
  • गन्थन
  • लेख
  • Poems
  • Letters
  • Musings
  • Travel
  • Video

Musings by Kamal Kumar

  • बेलायत डायरी

    March 30th, 2013
    मौसम

    हुन त मार्च महिना बेलायतमा पारिलो घाम लाग्ने बेला हो । हिउँले खाएका रूखहरूमा हरिया टुँसा पलाउने बेला हो । बाटो छेउका हरिया घाँसहरूमा प्याजी र गुलाबी रंगका मसिना फूल फक्रने बेला हो । तर यसपटक मौसमले पनि नयाँ रेकर्ड कायम गर्‍यो । मार्च महिना २७ वर्षयताकै सबैभन्दा चिसो मार्च बन्यो । हिउँ, पानी र बाढीले हजारौंलाई पीडा दियो । सुन्दर तटीय क्षेत्रमा बाढीले उल्का मच्चायो । ग्यास र बिजुलीको आपूर्ति नहुँदा रोगी, बूढाबूढीहरू मरे । मन्त्रीले ऊर्जा कम्पनीहरूलाई देाष दिए । चिसो मौसमकै कारण गाउँतिरका किसानहरूको भर्खरै ब्याएका भेडाका पाठापाठी मरेको र केही प्रजातिका पुतलीसमेत लोप भएको भन्ने किसिमका समाचार पनि देख्न सुन्न पाइयो । मौसम कार्यालयको ‘खराब मौसम’को चेतावनीसँगै अघिपछि घमाइलो हुने मार्च महिनामा एका बिहानै सरकारी ट्रकहरू सडक र फुटपाथमा हिउँ पगाल्ने नुनिलो बालुवा छर्न व्यस्त देखिए । हामीलाई बेलाबखतमा बन्दले पिरोलेजस्तो बेलायतलाई हिउँले पिरोल्छ । राजमार्गमा गुड्दा गुड्दैका ट्रकहरू हिउँले पुरिन्छन् । मानिसहरू घन्टौंसम्म कारमै थुनिन्छन् । यसपालि बेलायती हिउँदले आफ्नो विस्तारित स्वरूप देखायो ।

    महारानी

    अघिल्लो वर्ष आफ्नो गद्दी आसनको ६० वर्षे हीरक जयन्ती धुमधामसँग मनाएकी थिइन् बेलायती महारानीले । १९५२ तिर केन्याको जंगल घुमिरहेकी एलिजावेथ आफ्ना बाउ, राजा जर्ज छैटौं मरेको खबरसँगै दौडेर बेलायत आएकी थिइन् र गद्दी सम्हालेकी थिइन् । ६० वर्षे शासनकालमा उनले १२ जना प्रधानमन्त्री भोगिसकिन् । बेलायतमै छँदा त्यहाँको आईटीभी भन्ने च्यानलले महारानीको बारेमा प्रसारण गरेको एउटा डकुमेन्ट्री ‘हाम्री रानी’ टीभीमा हेर्न पाइयो । प्रजातान्त्रिक र राज्यका अधिकांश अंगमा उच्च पारदर्शिता अभ्यास गर्ने बेलायतमा एउटा बैठक भने निकै गोप्य हुन्छ । रानी र प्रधानमन्त्रीबीचको बैठक । हरेक हप्ता प्रधानमन्त्री रानीलाई भेट्न जान्छन् र पोपको नियुक्तिदेखि, साइप्रसको मन्दीसम्मको विषयमा उनीहरूबीच कुराकानी हुन्छ । महारानीले यस्तो संवाद ६० वर्षमा १२ जना प्रधानमन्त्रीसँग हरेक हप्ता गर्दै आएकी छन् । त्यसैले विश्लेषकहरू भन्ने गर्दा रहेछन्, देशको वस्तुस्थिति र विकासक्रम महारानीले जति कसैले बुझेको छैन । भलै राजनीतिक निर्णयमा महारानीको कुनै भूमिका हुँदैन । हुन त, बेलायतका गणतन्त्रवादीहरूको एक समूहले राजतन्त्र फालेर निर्वाचित राष्ट्रप्रमुख हुनुपर्ने माग वर्षौंदेखि राख्दै आएको छ । तर पनि जनमत रानीकै पक्षमा छ । ७० प्रतिशत बेलायती जनता राजतन्त्रसँग खुसी छन् । आर्थिक हिसाबकिताबमा पनि दरबार नाफामै छ । सरकारले महारानीको खर्च र दरबार सञ्चालनको लागि केही पैसा दिन्छ । योबाहेक दरबार मातहत रहेका थुप्रै खेतीपाती र व्यापार व्यवसायले आत्मनिर्भर हुने गरी पैसा कमाउँछ । त्यो पैसा सरकार र दरबार दुवैले बाँड्छन् । राजसंस्थाले कर पनि तिर्छ । १९९० को दशकदेखि महारानीले आफैं कर तिर्ने चलन बसालेकी हुन् । मुख्य कुरा बेलायती पर्यटनको मुख्य आकर्षण महारानी नै हुन् । महारानी र दरबार हेर्न आउने विदेशी पर्यटकले करोडौं खर्च गर्छन् । त्यसैले बेलायतको राजतन्त्र नाफाको बिजनेस हो र राम्रो प्रतिफल दिने लगानी हो ।

    अक्सफोर्ड र कलेज पर्यटन

    अक्सफोर्डमा भर्ना हुन नपाउने अथवा अक्सफोर्ड विश्वविद्यालय सपनाभन्दा पनि टाढा, धेरै टाढा हुनेहरूले विश्वविद्यालय घुम्न भने पाउँछन्, पैसा तिरेर । टेक्निकल्ली भन्नुपर्दा लन्डनबाट धेरै टाढा नपर्ने अक्सफोर्ड सहरमा विश्वविद्यालयका पुराना भवनबाहेक केही छैनन् । अक्सफोर्ड विश्वविद्यालयका झन्डै ४० वटा क्याम्पस छन् सहरभरि । १४ औं शताब्दीदेखिका पुराना, कलात्मक घरहरू, चर्चहरू सबै विश्वविद्यालय हुन् । ती कलेजहरू अधिकांश पर्यटकका लागि घुम्न खुला हुन्छन् । तर विरलै मात्रै निःशुल्क होलान् । कलेजको इतिहास, विशेषता र पब्लिसिटी हेरी कम्तीमा २ पाउन्डदेखिको टिकट काट्नुपर्छ । भित्र गएर हेर्ने चीज खासै होइन, ढुङ्गामा कुँदिएका कला, भवनका टाकुरा, चर्च, पुराना तस्बिर कतैकतै चर्चमा भायोलिन रेटेर गीत गाइरहेका भक्त-भक्तिनीहरूको अर्केस्ट्रा । हरेक कलेजका इतिहासलाई फेरि विशिष्ट ढंगमा व्याख्या गरेर प्रचार गरिएका छन् । कुनै कलेजको भवनमा ह्यारी पोटर कथा बुनिएको रहेछ, कुनै कलेजको भवनमा एलिस इन वन्डरल्यान्डकी एलिस हराएकी रहेछिन् । हरेक कुरा बेच्न सकेको छ यो देशले । मंगोलियन अनुहारका सयौं पर्यटकहरू क्यामेरा तेस्र्याउँदै ढुङगा ढुङ्गालाई चारै दिशाबाट बिस्तारै नियालिरहेका देखिन्छन् । हामीकहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ, बेलायतमा ढुङ्गा ढुङ्गामा पैसाको बास छ । अक्सफोर्डमा पुग्दा त्यहाँ अक्सफोर्ड साहित्य महोत्सव पनि भइरहेको रहेछ । सहरका दस कुनामा दसवटा सत्र भइरहेका । हरेक सत्रमा भाग लिन पैसा तिरेर टिकट काट्नुपर्ने, कम्तीमा ११ पाउन्ड । टिकट पनि हप्तौंअघि बिक्री भइसक्ने । साहित्य महोत्सवको पोस्टर हेरेर चित्त बुझाउनुपर्‍यो । अनि केही हप्ताअघि जयपुर साहित्य महोत्सवलाई गाली गरेको सम्झें । कम्तीमा जयपुर निःशुल्क त थियो ।

    चाइनिज मार्केट, भारतीय दुकानदार

    बेलायतका सहरका हाइस्टि्रटहरूमा परम्परागत र कलात्मक घरमा थापिएका ब्रान्डेड पसलहरू धमाधम बन्द हुँदै रहेछन् । मन्दीका सिकार भएका पसलहरूको ठाउँमा सस्ता चिनियाँ मोबाइलका खोल बेच्ने भारतीय पसलहरू खुल्दै रहेछन् । स्टोर बन्द भएका र हुँदै गरेका जानकारी दिने ठूला अक्षरका सूचनाहरू यत्रतत्र देखियो । उपभोक्ताको आकर्षण पनि सस्ता तर उस्तै देखिने चिनियाँ सामानमा बढ्दै रहेछ । सेन्ट्रल लन्डनमा पर्यटकको घुइँचो लाग्ने क्षेत्रका फुटपाथमा पनि गुलाबी रङ मोबाइलका खोल र बेलायती झन्डा छापिएका कप र साँचो झुन्ड्याउने किरिङदेखि पैसा साट्ने सेवा दिनेहरूमा समेत भारतीय अनुहार धेरै देखियो । प्राइस वाटरहाउस कुपर्स नामको कम्पनीले गरेको एक अनुसन्धानअनुसार बितेको एक वर्षमा बेलायतमा दैनिक २० वटाका दरले हाइस्टि्रट पसलहरू बन्द भएछन् । नयाँ ठाउँमा हरेक माल १ पाउन्डमा पाइने सस्ता पसलहरू धेरै खुलेछन् ।

    मन्दी र आप्रवासी

    गएको वर्ष बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा -नेसनल हेल्थ सर्भिस- एनएचएस) ले गैरबेलायतीहरूको उपचारको लागि मात्रै ३ करोड ३० लाख स्टर्लिङ पाउन्ड खर्च गरेको तथ्याङ्क बाहिर आइरहँदा हिथ्रो विमानस्थलको प्रस्थान कक्षमा राखिएको विशाल टेलिभिजनमा केही एसियाली अनुहारहरू प्रधानमन्त्री डेबिड क्यामरुनको आप्रवासी नीतिसम्बन्धी एक कडा भाषणको प्रत्यक्ष प्रसारण हेरिरहेका थिए । क्यामरुन कराउँदै थिए, ‘हाम्रो देशको स्वास्थ्य सेवा निःशुल्क राष्ट्रिय सेवा हो, निःशुल्क अन्तर्राष्ट्रिय सेवा हैन ।’ निःशुल्क उपचार दिने बेलायतको स्वास्थ्य सेवा अब आप्रवासीहरूले सित्तै नपाउने नीतितर्फ संकेत गर्दै थिए प्रधानमन्त्री । सन् २०१५ को चुनावमा बेलायतमा आप्रवासीको मुद्दा कडा रूपमा उठ्ने निश्चित छ । तर बेलायतको लागि एसियाली र अपिकीभन्दा पनि युरोपेली आर्थिक क्षेत्रबाट आउने पूर्वी युरोपका लाखौं आप्रवासीहरू सबैभन्दा ठूलो बोझ भएको छ । जसले बेलायतमा बेरोजगार र सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् । वर्तमान कन्जरभेटिभ सरकारले अब युरोपबाट आउनेहरूलाई पनि सजिलै आफ्नो देशको यस्ता सुविधामा मोज गर्न नदिने स्पष्ट पारिसकेको छ ।

    बेलायतमा आप्रवासीहरूको पछिल्लो तथ्याङ्क हेर्दा सन् २०११ को तुलनामा २०१२ मा बेलायत छिर्ने आप्रवासीहरूको संख्या एक तिहाइले घटेको देखिन्छ । आप्रवासीका पक्षमा वकालत गर्नेहरूले उनीहरूले देशलाई पुर्‍याएको घाटा मात्र नभई दिएको योगदानको चर्चा गरिनुपर्ने बताउँछन् । लेबर पार्टीका एक पूर्वसांसद परमजित धन्दाले ट्विट गरेका छन्, ‘हाम्रो कुल गार्हस्थ्य उत्पादनमा आप्रवासीहरूले जति लिन्छन्, त्यसभन्दा ६ प्रतिशत बढी दिन्छन् भन्ने कुरा बिर्सनुभएन ।’

    फर्के नेपाली विद्यार्थी

    कानुनी र आर्थिक रूपमा बेलायत त्यति उर्बर नभएको अवस्था बुझेर स्वदेश र्फकने नेपाली विद्यार्थीहरूको संख्या पनि बढ्दो रहेछ । सन् २००९ ताका बेलायतले आर्थिक मन्दीलाई मध्यनजर गरी हजारौं विदेशी विद्यार्थीलाई बेलायतमा सजिलै निम्तो दिएको थियो । त्यही मौका छोपेर बेलायत हानिएका थुप्रै विद्यार्थीलाई कालान्तरमा त्यहाँको मन्दीले काउन्टर मात्र दिएन, डेबिड क्यामरुन नेतृत्वको कन्जरभेटिभ सरकारको कडा नीतिले पनि च्याप्दै लग्यो । नेपालमा प्लस टु सकेर हतारमा बिहे गरेर श्रीमतीसहित बेलायत जानेहरू पछि कानुनको सिकार भए । पढाइ सकेपछि २ वर्ष काम गर्न पाइने भिसाको प्रावधान पनि हटाइयो ।

    कम्तीमा २ वर्ष पोस्ट ग्य्राजुएट पढाइ गर्नेहरूले मात्र डिपेन्डेन्ट राख्न पाउने भए । यी तमाम कुराबाट आजित भएर नेपाल धमाधम फर्किन थाले विद्यार्थीहरू । ‘तर जो, जति, जसरी फर्के, स्वदेशमै केही गर्न सकिन्छ भन्ने उत्साहका साथ फर्केका छन्,’ लन्डन नजिकैको रिडिङ सहरमा बस्ने एकजना नेपाली विद्यार्थीले विश्लेषण सुनाए, ‘अब बेलायतमा बस्नका लागि विद्यार्थीहरूसँग पढ्नुबाहेक अरू विकल्प छैन । पढेर कमाउँला वा पढ्दै कमाउँला भन्ने सोचले काम गर्ने अवस्था छैन ।’

    कान्तिपुर कोसेलीमा प्रकाशित

  • बूढो माउते र हात्ती

    February 25th, 2013

    अजङ्गको हात्तीको
    गर्धनमा टाँसिएर
    दिनभरि घुमिरहन्छ
    र घुमाइरहन्छ
    एउटा लुरे ज्यानको बुढो माउते

    चहार्छ जङ्गल
    देखाउँछ जङ्गली जनावरहरु
    एक सिङ्गे गैंडा र मृगका बथान देखेर
    चिच्याउँदै गर्दा उसका सवारीहरु
    बुढो माहुते मोलिरहन्छ खैनी
    बेपर्वाह

    हरेक सूर्यास्तमा
    बाफ उडिरहेको खोलामा
    पिलाएर हात्तीलाई पेटभरि पानी
    बुढो माहुते
    धुवाँ उडिरहेको एउटा झुपडीमा पस्दछ
    र टकटक्याएर गम्छाबाट दिनभरिका टिप्सहरु
    पिउन थाल्छ हात्ती जस्तै

    अन्धाको देशमा हात्ती जस्तै
    उ छामिरहन्छ जिन्दगी
    कहिले जिन्दगी
    खाँबो जस्तो
    कहिले जिन्दगी डोरी जस्तो
    कहिले जिन्दगी
    भित्तो जस्तो
    पिउँदा पिउँदा हरेक साँझ
    प्राय उसलाई लाग्छ जिन्दगी
    रित्तो रित्तो जस्तो

  • डेरियो लोपेज: एउटा नामको कथा

    February 23rd, 2013
    हुन त विलियम शेक्सपियरले ‘नाममा के नै छ र ?’ भनेका थिए । तर गुल्मी जिल्लाको एउटा गाउँको साधारण परिवारमा जन्मेका सुदीप गौतमलाई जिन्दगीको यात्रामा त्यही नाम नै भारी भयो । ज्यादै पीडादायी थिए त्यस नामसँग जोडिएका संस्मरणहरू । त्यसैले एक दिन उनले आफ्नै नामै परिवर्तन गरेर नयाँ नाम राखे- डेरियो लोपेज । डेरियोको नाम परिवर्तनको प्रसंग अहिले क्लाइमेक्सतिर उल्लेख गरौंला । सुरुमा उनको सफलताकै कुरा ।

    बेलायतमा बस्ने २३ वर्षका डेरियो लोपेजलाई १ वर्ष अघिमात्रै सञ्चारमाध्यमले चिनेको थियो, जतिखेर उनी अनलाइनमार्फत सामान बेच्ने प्रख्यात साइट इबेमा टप सेलर भएका थिए । टप सेलर हुनु भनेको बेलायतमा अधिकांशले सामान खरिद गर्न प्रयोग गर्ने वेबसाइट इबेमा वर्षभरिमा सबैलाई उछिनेर धेरै सामान बेच्नु हो । सबैजनालाई उछिन्नु भनेको चाहिँ इबेमार्फत सामान बेच्ने नाम चलेका ठूला कम्पनी र चेन स्टोरहरूलाई पनि उछिन्नु हो ।

    डेरियो लोपेज १० वर्षअघि बेलायतमा विद्यार्थी भिसामा रहेका आफ्ना बाबुसँग रहन आफ्नी आमाको पछि लागेर गएका थिए । त्यतिखेर उनीसँग जीवनका विस्तृत उद्देश्यहरू तयार भइसकेका थिएनन् । बेलायतलाई २ वर्ष नियालिसकेपछि १४ वर्षको उमेरमा उनले एक दिन आमाको क्रेडिट कार्डबाट १० पाउन्ड मागे । उद्देश्य थियो एउटा वेबसाइटको नाम रजिस्टर गर्नु ताकि उनले इबेबाट कारोबार गर्न सकुन् । आमालाई वास्तविक उद्देश्य भनेको भए डेरियोले पैसा पाउँदैनथे होला । उनले अर्कै प्रयोजन बताएर पैसा मागेका थिए । वेबसाइट दर्ता गरेपछि उनले इबेमार्फत सामान बेच्न थाले । सुरुमा उनले मोबाइलको सिमकार्ड बेचे । त्यसपछि बिस्तारै मोबाइलका पाटपुर्जा र अन्य सामग्री बेच्न थाले । इबेमा सामान बेच्दा बेच्दा १० वर्षमा उनले निकै पैसा कमाए । अनि नाम पनि कमाए जब उनी टप सेलर भएर बेलायती सञ्चारमाध्यममा छाए ।

    इबेसँगै उनले अहिले लन्डन म्याजिक स्टोर नामको व्यवसाय पनि सुरु गरेका छन् । डेरियोले २९ जनालाई जागिर दिएका छन् । उनले वर्षभरि ६० लाख पाउन्डको कारोबार गर्छन् । अर्को वर्ष २ करोड पाउन्डको टार्गेट राखेको बताउँछन् डेरियो ।

    गुल्मीको अमरापुरमा जन्मे पनि डेरियोको बाल्यकाल काठमान्डुमै बितेको थियो, आमासँग । हरेक बालकको जस्तै डेरियोको पनि इच्छा आकांक्षा थिए । नयाँ खेलौना, लुगा अनि आकर्षक चीजहरू । र नेपालका धेरै बालबालिकाको जस्तै उनका पनि यी इच्छाहरू सपनामै सीमित हुने गर्थे । डेरियोलाई थाहा थियो, विद्यार्थी भिसामा बेलायतमा रहेका बाबु धेरै कमाउँछन् र आमासँग उनका इच्छा पूरा गरिदिने पैसा थिएन । त्यसैले उनी चित्त बुझाउँथे । सपना त उनले पाइलट बन्ने देखेका थिए । आकाशमा उडेका विमान हेेरेर तरंगित हुने गथ्र्यो उनको मन । उनले यो सपना साह्रै महँगो पर्छ भन्ने पनि बुझेका थिए । १२ वर्षको उमेरमा बेलायत आइसकेपछि पाइलट बन्न सकिएला कि भन्ने झिनो आशा नपलाएको होइन उनको मनमा । तर जब उनले इबेमा पसल थापे । त्यसपछि पाइलट बन्ने सपनालाई धनी बन्ने सपनाले जित्यो । र, यही सपनाले अघि डोर्‍यायो डेरियोलाई ।

    हो, पैसा भए कतिपय सपना पूरा हुन्छन् । बाल्यकालको कलिलो मस्तिष्कमा गढेको प्लेन उडाउने सपनालाई डेरियोले सार्थकता दिएरै छाडे । अहिले उनी प्लेन उडाउन पनि सिक्दै छन् सोखको रूपमा ।

    डेरियो बिहान ४ बजे उठ्छन् र राति ११ बजेसम्म निकै व्यस्त भइरहन्छन् । बाँकी ५ घन्टा पनि काम र व्यवसायकै कुरा मात्रै दिमागमा खेलिरहन्छ । इबेको काम पनि सजिलो कहाँ छ र ! उनी यसै टप सेलर भएका होइनन् । हरेक ग्राहकको जिज्ञासाको जवाफ दिँदै उनले धेरै रात अनिदो बिताएका छन् । कुनै असन्तुष्ट ग्राहकसँग माफी माग्न ग्राहककै ढोकासम्मै पुगेका छन् । लगनशीलता र कडा परिश्रम भयो भने जे गरे पनि सफल होइन्छ भन्ने मन्त्र छ डेरियोको ।

    १२ वर्षको उमेरमा आमाको पछि लागेर बेलायत आउनु उनको जीवनमा टर्निङ पोइन्ट थियो । बेलायतले उनलाई स्वतन्त्रता र अवसर दियो । उनले त्यसको सदुपयोग गरे । ‘नेपालमै भइरहेको भए पनि मलाई मन पर्ने केही न केही गरिरहेको हुन्थें, तर बेलायत नआएको भए मेरो जीवन बिल्कुलै यो अवस्थामा आइपुग्ने थिएन ।’

    ‘यहाँ लोडसेडिङ र राजनीतिक हडतालहरू हुँदैनन् । हरेक कुरा सिस्टममा चलेका छन् । पठाएका पार्सल र पत्र एकै दिनमा गन्तव्यमा पुगिसक्छ । र, व्यवसाय गर्नेहरूलाई हरेक किसिमका सुविधा दिइएका छन्, विशेषगरी साना व्यवसायलाई,’ आफूलाई सफल बनाउने बेलायती फ्याक्टरहरूबारे डेरियोले यसो भने ।

    हुन त, डेरियो सन् २००२ मा बेलायत गएदेखि फर्केर नेपाल आएका छैनन् । मन नलागेर होइन, आउन नभ्याएर । छिट्टै नेपाल आउने योजना छ उनको । नेपालमा पनि थुप्रै अवसर रहेको बताउँछन् डेरियो । ‘विशेषगरी प्रविधिमा अन्वेषण र प्रयोगको लागि उर्बर मानिएको विकासशील देशहरूमा अवसर बढी हुने’ डेरियोको बुझाइ छ ।

    हल्का गुनासो पनि छ डेरियोको नेपाली समाजप्रति, जहाँ राम्रो डिग्री भएका र डाक्टर, इन्जिनियरलाई मात्रै सम्मान गर्ने चलन छ । ‘हामीकहाँ अन्तर्राष्ट्रियस्तरका होनहार युवाहरू प्रशस्तै छन्, तर विडम्बना युवाहरू केही गर्न सक्दैनन् भनेर बूढाहरू होच्याएर हेर्ने गर्छन्,’ स्वाभाविक रूपमा आफ्नो जन्मभूमि आर्थिक र राजनीतिक रूपमा समृद्ध भएको हेर्ने चाहना छ डेरियोको । उनको बुझाइमा नेपाललाई आर्थिक क्रान्ति चाहिएको छ । त्यसपछि राजनीतिक समस्या आफैं हल हुन्छ ।

    सन् १९९० को दशकको नेपाली समाजमा क्षत्री केटी र बाहुन केटाको प्रेम विवाह सजिलै पच्ने विषय थिएन । भयो त्यही । केटीलाई केटाको परिवारले कहिल्यै स्विकारेनन् । अझै पनि स्वीकार गरेका छैनन् । सुदीप गौतमले आफ्ना बाबुको परिवारले आफ्नी आमा र आफूमथि गरेको नमिठो विभेद बाल्यकालदेखि नै अनुभव गरेका थिए । त्यसैले किन किन उनलाई आफ्नो बाबुसँग जोडिएको थर सधैं बोझ लाग्ने गर्दथ्यो । आफ्नो छुट्टै परिचयमा बाँच्नुपर्छ भन्ने धारणा कायम गर्न बाल्यकालको तितो अनुभवले नि सघाएको हुनुपर्छ । त्यसैले सन् २००७ मा सुदीप गौतमले आफ्नो नामलाई पूर्ण रूपमा खारेज गरिदिए र केही कुरासँग साइनो नजोडिएको नयाँ नाम आफैंले रोजेर राखे- डेरियो लोपेज । ‘हरेक व्यक्तिको आफ्नै परिचय हुन्छ । चाहे जुनसुकै जात धर्मको होस् आफ्नो जीवन बाँच्न पाउने अधिकार हुन्छ र मानवीय व्यवहारको अपेक्षा हुन्छ । मैले पनि मेरो आफ्नै परिचय चाहेको थिएँ,’ डेरियो भन्छन् ।

    डेरियोले जस्तै विलियम शेम्सपियरको रोमियो एन्ड जुलियटमा रोमियोले आफ्नो पिताको थर त्याग गरिदिएका हुन्छन् । अनि जुलियटले रोमियोलाई ‘नाममा के नै छ र ?’ भन्छिन् । जुलियटले त्यतिमात्रै भन्दिनन्, यो पनि भन्छिन्, ‘गुलाफलाई जे नाम दिएको भए पनि यसको सुवास यस्तै मिठो हुन्थ्यो,’ सायद डेरियो लोपेज बनेका सुदीप गौतम पनि सुवास छर्दै छन्, गुलाबजस्तै ।

    कान्तिपुर कोसेलीमा प्रकाशित

  • किम्बुको बोटमुनि

    February 13th, 2013
    हामीसँगै हुर्केको थियो
    किम्बुको बोट

    तिम्रो आँगनको छेवैमा
    छेलिएर किम्बुको बोटमा
    म हेर्ने गर्थेँ
    लुकेर
    तिमीले नुहाएको

    थाहा छ मलाई पनि
    तिमी पनि त रोज्ने गर्थ्यौ
    मेरै घर छेउको साँघुरो बाटो
    बजार जाँदा
    छाडेर
    छोटा र सजिला मूलबाटाहरु

    किम्बुको बोटमुनि
    खेल्ने गर्थ्यौं हामी
    गुडियाहरु
    जहाँ तिम्रा पुतली
    र मेरा पुतलीका
    अनगिन्ति विवाह महोत्सव भएका थिए

    किम्बुको बोटमुनि
    हुन्थेँ म
    सँधै डर लागेको नक्कल गर्थेँ रुख चढ्न
    किनभने तिमी छोटो फ्रक लगाएर
    चढ्दथ्यौ किम्बुको रुख
    र झारिदिन्थ्यौ मेरा लागि
    गुलिया रसिला किम्बुहरु

    किम्बुको बोटमुनि
    बुन्ने गर्थ्यौं हामी
    थुप्रै थुप्रै
    कोमल रेशमी सपनाहरु
    गुजुल्टिएर

    किम्बु फलेझैं
    कुनै विहान अचानक फक्रेको थियौ तिमी
    हो त्यसैदिन देखि
    तिमी आँगन छेउको इनारमा नुहाउन छाडेका थियौ
    मैले पनि हेर्न छाडेको थिएँ तिमीलाई
    छेलिएर किम्बुको बोटमुनि

    त्यसैदिनदेखि हुनु पर्छ
    तिमी हिँड्न पनि छाडेका थियौ
    बजार जाने मेरो घरको बाटो

    मैले अन्तिमपटक हेरेको थिएँ तिमीलाई
    छेलिएर किम्बुको बोटमा
    जतिखेर तिमी
    रँगिएर सिउँदोमा
    छाडेर जाँदै थियौ सँधै सँधै
    किम्बुको बोट र आँगन छेउको इनारलाई

    बुढो भएको किम्बुको बोट
    काटिएको छ अहिले
    र खुलेको छ एउटा फर्निचर पसल छेवैमा
    तिमी नुहाउने त्यो पुरानो इनारको
    नामो निशानै छैन
    बरु भेटिन्छन् नयाँ छिमेकीहरु
    रित्तो गाग्रि बोकेर भड्किरहेका यताउता

    किम्बुको बोटमुनि हुर्केका
    रेशमझैं पातला सम्झना
    बोकेर
    यतिखेर म सोचिरहेछु
    एउटा किम्बुको बोट रोप्न मन छ कतै
    तर को आएर खेल्ला
    मैले रोप्ने किम्बुको बोटमुनि ?

    फेब्रुअरी १२ २०१३ काठमाण्डु

  • आउटसाइडरको नजरमा जयपुर साहित्य महोत्सव

    February 9th, 2013
    नेपाली पत्रपत्रिकाका शनिबारीय परिशिष्टांकमा केही सालयता बर्सेनि साहित्यको कुम्भ मेलाजस्तै गरी छापिने ‘जयपुर साहित्य महोत्सव’का नालिबेली पढ्दा पढ्दा मलाई पनि एकचोटि पुगौं न त भन्ने लागेको थियो । जुन मौका यसपटक जुर्‍यो । एसियाकै सबैभन्दा ठूलो रेल सञ्जालको रेल चढ्न गोरखपुरबाट ब्ल्याकमा काटिएको टिकट समातेर दिल्लीको रेल चढ्दा बाटामा भेटिएका सहयात्रीहरू भारत र बेलायतको जारी क्रिकेट म्याचको कमेन्ट्री गरेर बाक्लो हुस्सुमाझ दौडिरहेको रेलको पट्यारलाग्दो यात्रामा टाइम पास गरिररहेका थिए ।

    काठमाण्डुबाट जयपुर केवल साहित्य मेला हेर्न हिँडेको भन्दा उनीहरू कान ठाडो पारेर अचम्म मानेझैं गर्दथे । बाटामा भेटिएका बिहारी मूलका ६० वर्षे एक व्यक्ति, जो हाल लखनउबासी भइसके, उनले आफ्ना अमेरिकामा रहेका छोरा, उनको तलब र उनले हालै किनिदिएको नयाँ गाडीका बारे गफ गरेर धेरै समय खर्च गरे । छोरीको बिहे नजिकिएको समेत उनले बताए । तर अफसोस, पण्डितले जुराइदिएको साइत भ्यालेन्टाइन्स डे अर्थात् फेब्रुअरी १४ मा परेकोले उनी साह्रै चिन्तित थिए । यस्ता आयातित दिवसहरूका कट्टर विरोधी उनको विचारमा भारतले परम्परागत मूल्य मान्यताको लत्तो छोड्दै थियो । भारत अधोगतितिर लम्कँदै थियो । र उनी यी सारा कुराको दोष नेताहरूलाई दिन चाहन्थे । विशेषगरी प्रधानमन्त्री मनमोहन सिंहलाई ।

    भारतका मिश्रति रंगहरू नियाल्दै दिल्लीमा एक रात बिताएपछि जयपुर उत्रियौं । संसारको सबैभन्दा ठूलो साहित्य मेला भनेर प्रचार गरिएको जयपुर महोत्सव भएको होटल डिग्गी प्यालेसका बारेमा अटो रिक्सा भनेर चिनिने ट्याम्पुहरू अनभिज्ञ थिए । हुन सक्छ डिग्गी प्यालेसका नियमित आगन्तुकहरू रेल स्टेसनमा उत्रिएर अटो रिक्साको सवारी गर्दैनथे ।

    भाडामा चर्को बार्गेन गरेपछि रेल स्टेसनबाट झोला गुन्टा बोकेर हामी सिधै मेलास्थल डिग्गी प्यालेस होटलतिर हानियौं । त्यो मेलाको दोस्रो दिन थियो । जयपुरकै नामी होटलमा गरिएको कार्यक्रममा प्रवेश गर्न बारकोडसहितका प्रवेश पत्रहरू घाँटीमा झुन्ड्याउनुपथ्र्यो । सिधै रेल स्टेसनबाट यात्रा दौरान मैलिएका लुगा र जिगि्रंग भएका कपाल लिएर महोत्सव छिर्दा चरण चरणका सुरक्षा जाँचमा झोलाबाट हाम्रा कट्टु र गन्जी सबै भुइँमा राखेर सुरक्षा जाँच गरियो । ‘किन यति धेरै दुःख दिएको ?’ भनेर सोध्दा सुरक्षाकर्मीले ‘जताबाट आएको उतै जा, भित्र छिर्न दिन्न’ भनेर थर्काए । साहित्य मेलाको पहिलो इम्प्रेसन त्यही थियो । जहाँ तर्क गर्न बन्देज थियो । केहीबेरको वादविवादपछि भित्र छिरियो ।

    साहित्य महोत्सवमा भेला भएका मान्छेहरू हामीले सुनौलीदेखि जयपुरसम्मको यात्रा दौरान देखेका मान्छेहरूभन्दा बिल्कुल फरक थिए । उनीहरूको छाला चमकदार थियो । उनीहरूका कपाल चिल्ला थिए । उनीहरूका लुगा सफा र किमती देखिन्थे । अधिकांशले कालो सन ग्लास लगाएका थिए । बाहिर महिलाहरूको सार्वजनिक उपस्थिति निकै न्यून देखिन्थयो । तर यहाँ पुरुषभन्दा बढी महिला थिए । १५ सय किलोमिटर लामो यात्रामा हामीले देखेको भारत बिल्कुलै थिएन डिग्गी प्यालेस होटलभित्रको महोत्सवमा । लाग्थ्यो हामी हिन्दी फिल्मको कुनै अवार्ड समारोहमा झुक्केर आइपुग्यौं । अथवा पेरिसको कुनै महंगो कला कृति लिलामी हुने थलोमा आइपुग्यौं ।

    साहित्य महोत्सवलाई टाटा, गुगलजस्ता विशाल कम्पनीले प्रायोजन गरेका थिए । मन्चहरू चार पाँच ठाउँमा थिए जहाँ एकैपटकका विविध विषयमा बहस भइराखेका थिए । अधिकांश बहस सत्रहरू बलिउडसँग सम्बन्धित थिए । ठाउँ ठाउँमा जयपुरका हस्तकला बेच्ने पालहरू टाँगिएका थिए । खाने स्टलहरू थिए । भन्नु जरुरी छैन महँगा थिए ।

    संयोगवश जावेद अख्तरको कविता र गजलमाथिको सत्र सुन्ने मौका पाइयो । हिन्दी काव्यबारेको बहसमा जावेद अख्तरलाई अंग्रेजीमा प्रश्न सोध्दै थिइन् आफ्नो भारतसँग तीन चार पुस्तादेखि कुनै साइनो नभएको बताउने भारतीय मूलकी एक क्यानेडेली युवती । जो मोडलजस्तै देखिन्थिन् । जो अंग्रेजीमा गजल लेख्थिन् ।

    जयपुर साहित्य महोत्सव मेरा लागि पहिलो थियो, सायद अन्तिम पनि होला । कुनै आग्रह पूर्वाग्रहबिनाको एउटा विशुद्ध आउटसाइडर थिएँ म । भन्नैपर्छ, महोत्सवको वातावरण आफैैंमा एउटा कम्फर्टेबल फिल गराउने खालको थिएन । मैले बुझेको साहित्यमा निर्बाध स्वतन्त्रता, स्वच्छन्दता, हल्का छाडापन र सुन्दर लाग्ने केही मैलो, फोहोरी र दुर्गन्धित अनुहार पनि हुन्छन् । तर महोत्सवमा त्यो पटक्कै देखिएन ।

    हुन त जावेद अख्तरले भनेका थिए, ‘आजकल घरमा कुन किताब किन्ने भन्ने लिस्ट इन्टेरियर डिजाइनरले तयार पार्छ । अनि धेरैको घरमा इन्स्लाइकोपेडिया बि्रटानिका राखिएको हुन्छ किनभने यसको छालाले बनेको गाढा खैरो रंगको चिल्लो गाता घरमा भएका फर्निचरसँग म्याच गर्छ ।’

    जयपुर गइरहँदा यात्राका सहयात्रीहरू -जनक पौड्याल र रूपेश श्रेष्ठ) माझ बाटोभरि एउटा कुरामा बहस भइरहेको थियो । हामीले हिन्दी फिल्ममा देख्ने गरेको भारत त कतै देखिएन त । न छोटा लुगा, न फेसन, न स्वतन्त्रता, न कुनै चुलबुल पाण्डेहरू । हैन यो बलिउडले कहाँको कथा टिप्छ हँ ? साहित्य मेलामा पुगिसके पछि पनि त्यस्तै अनुभव भयो । त्यहाँ हामीले सोचेको, देखेको र बुझेको भारतको प्रतिविम्ब थिएन । त्यो केवल साहित्यको बलिउडीकरण थियो ।

    साहित्य महोत्सवमा बर्सेनि एक डेढ दर्जन नेपाली साहित्य अनुरागी पनि जाने गर्छन् । कोहीकोही त हरेक वर्ष पुग्ने गर्छन् । भीडमा यताउता गरिरहेका केही नेपाली पनि भेटिए । जो पनि हामीजस्तै केही सत्रहरू हेरेर जयपुर घुम्न निस्किए ।

    हुन सक्छ महोत्सवमा भएका बहसहरूले ऊर्जाहरू छर्‍यो होला । साहित्यका नयाँ आयामहरू पनि पत्ता लागे होलान् । आजकल काठमाण्डुतिर पनि हुन थालेका ‘मिनी जयपुर महोत्सव’हरूको लागि पनि प्रशस्त खुराकहरू आयात भए होलान् । धेरैले दिव्यज्ञान पाए होलान् । यदि त्यसो हो भने, साहित्यमा पुँजीवादी युग सुरु भएछ । साहित्य ‘साहित्य’ कम र ‘महोत्सव’ बढी हुनथालेछ ।

    महोत्सवको अन्तिम दिनतिर पुँजीवादबारेको एउटा सत्र पनि थियो । जुन हेर्न पाइएन । तर मेरो बुझाइमा महोत्सव आफैंमा पुँजीवादको एउटा अनुपम नमुना थियो । जहाँभित्र हामीले बाटोभरि देखेको भारतको प्रतिविम्ब अलिकति पनि थिएन । जहाँ साहित्यलाई किन्न र बेच्न खोज्नेहरूको आकारविहीन भीड मात्रै थियो । भारतका रेल स्टेसनहरूमा राखिएका किताबका साना पसलमा हरबखत झुम्मिरहने अनुहारहरू पनि थिएनन् महोत्सवमा । सायद लामो दाह्री पालेका रवीन्द्रनाथ टैगोर धोतीकुर्तामा अचानक झुल्केर पुरानो झोला बोकेर मेलामा लुरुलुरु प्रवेश गर्न खोजे भने उनले पनि त्यहाँ प्रवेश नपाउन सक्छन् ।

    कान्तिपुर कोसेलीमा प्रकाशित

  • जयपुर जाने हो सान्नानी?

    January 20th, 2013
    जयपुर जाने हो सान्नानी?
    मैले सान्नानीलाई सोधेँ

    भनेँ
    सान्नानी
    लामो रेल चढौंला
    हेरौंला उडेका चराहरु
    र बगेका नदीहरु
    लामा लामा पुलहरु
    मान्छेहरु
    बजारहरु
    बस्तिहरु

    जाउँ न सान्नानी जयपुर जाउँ
    झिलिमिली शहरमा हराउँला
    दौडौंला उँटका बथानहरुसँगै
    मरुभूमिको नौलो र सुनौलो सूर्यास्तमा ।

    जयपुर जाने हो सान्नानी?
    दुई चार दिन घुमेर फर्कौंला नि ।

    अनुहारमा खुशि र डर एक्कैचोटि पोख्दै
    सान्नानीले मसिनो स्वरमा भनी :

    जान त जान्थेँ होला नि तिमीसँगै जयपुर
    २-४ दिन नि कुन ठूलो कुरा भो र!
    तर,
    फर्किएर आएपछि
    मेरा बा
    मेरी आमा
    दाजु
    भाउजु
    सानो भाइ
    दुई चार जना छिमेकी
    अनि घरको भोटे कुकुर समेत
    मेरो लागि ठूलो प्रश्न बनेर उभिनेछन
    आँगनको डिलमा,

    यति मात्र कहाँ हो र
    गाउँको चौतारीले समेत बाटो छेक्नेछ मेरो ।

    जयपुर मात्रै होइन
    लैजाउ मलाई
    भागलपुर,
    हाजिपुर,
    मुजफफरपुर,
    वासेपुर
    वा जनकपुर नै किन नहोस

    तर फर्केर नआउने गरी लैजाउ
    त्यहिँ भक्तपुर भए पनि जान्छु

  • जसले ‘भगवान’ खोजिन्

    December 29th, 2012

    यो रहस्यै रहस्यको दुनियाँ हो । मानवजाति र ब्रह्माण्डका धेरैजस्ता रहस्यहरूलाई या त कविहरूले अन्टसन्ट व्याख्या गरिदिएका छन्, या धर्मशास्त्रले या त विज्ञानले । विज्ञानको व्याख्या पनि कहाँ सधैं स्थिर छ र ? कुनै समय त्यही विज्ञानले गरेको व्याख्या कालान्तरमा झूटो सावित हुन्छ र त्यही विज्ञानले नयाँ परिभाषा जन्माउँछ । मान्छे मात्र होइन, सत्य पनि जन्मन्छ र मर्छ ।

    विज्ञानका सत्यहरू, या भनौं व्याख्याहरू थुप्रै अनुसन्धान, खोज र वस्तुगत प्रयोगबाट जन्मिएका हुन्छन् । त्यसैले सूर्य किन आकाशमा छ ? जून किन चम्किन्छ, तारा किन उदाउँछन् जस्ता प्रश्नबारे कविहरूले दिने व्याख्याभन्दा विज्ञानले दिने व्याख्या यथार्थ नजिक हुन्छ ।

    यी तमाम प्रश्नहरूको केही हदसम्मको जवाफ संसारले गएको जुलाई महिनामा पायो । ब्रह्माण्डमा कुनै पनि वस्तुको अस्तित्वको कारण पत्ता लगाउँदै छ एउटा विशाल प्रयोगले । साधारण तरिकामा भन्ने हो भने यो प्रयोगको उद्देश्य नै आकाशमा किन जूनतारा छन्, हामी किन छौं । हामी कहाँबाट आयौं भन्ने कुराको जवाफ खोज्नु नै हुनेछ । युरोपियन आणविक अनुसन्धान संगठनको प्रयोगले एउटा सनसनीपूर्ण नतिजा दिनेछ । जसले भौतिक विज्ञानले संसारलाई हेर्ने दृष्टिकोणमा एउटा अभूतपूर्व उपलब्धि सिर्जना गरिदिनेछ ।

    स्विट्जरल्यान्ड र प|mान्सको सिमानामा जमिनबाट १ सय मिटर तल झन्डै २७ किलोमिटर लामो सुरुङको रूपमा रहेको प्रयोगशालामा ३ वर्षदेखि ३ हजारभन्दा बढी वैज्ञानिक रातदिन खटिरहेका छन् । उनीहरूले यसै वर्ष घोषणा गरिदिए, ‘अहिलेसम्म अनुमानमात्रै गरिएको, तर छ कि छैन भनेर प्रमाणित हुन नसकेको हिग्स बोसोन नामक पदाार्थको अस्तित्व भेटियो है ।’ वैज्ञानिकहरूको शब्दमा यो पदार्थ नै सृष्टिकर्ता हो । कसैले ईश्वरलाई सृष्टिकर्ता मान्छ भने यो पदार्थलाई ईश्वर मान्दा हुन्छ ।

    गएको जुलाई महिनामै ‘हिग्स बोसोन’को अस्तित्व रहेको सार्वजनिक भए पनि थप प्रमाण र व्याख्याको खोजी भइरहेको छ । दशकौं लामो खोजको नतिजालाई यथेष्ट प्रमाण र प्रयोगबिना फ्याट्टै घोषणा गरिदिन कहाँ मिल्छ । जमिनमुनि सुरुङमा भौतिकशास्त्रको अहिलेसम्मकै ठूलो प्रयोगशालाले यो विशाल उपलब्धिलाई घोषणा गर्न पनि केही प्रमाण र प्रयोग पर्खिरहेको छ ।

    लार्ज हेड्रोन कोलाइडर नामको प्रयोगशालामा खोजीमा लागिपरेको ३ हजार वैज्ञानिकहरूको टोलीलाई नेतृत्व गर्ने व्यक्तिचाहिँ एक महिला हुन् । फेबियोला जियानोट्टी । भौतिक विज्ञान सधैं पुरुषप्रधान रहिआएको छ । यस विज्ञानको पनि एउटा महान् अन्वेषणलाई नेतृत्व दिनु चानचुने काम होइन । फेबियोला यस वर्ष ‘टाइम’ पत्रिकाको वर्ष व्यक्तिको दौडमा अमेरिकी राष्ट्रपति बाराक ओबामा नजिकै थिइन् । तर कहिल्यै नाम नसुनिएकी एउटी महिला वैज्ञानिकले एउटा नेतालाई कहाँ जित्न सक्छ र त्यसमाथि मिडियाले दिने उपाधिमा । त्यसैले ओबामा वर्ष व्यक्ति भए, फोबियोला पाँचौं नम्बरमा परिन् ।

    ५१ वर्षकी फेबियोलाको पृष्ठभूमि आमभौतिकशास्त्रीको भन्दा फरक छ । धेरैजसो वैज्ञानिकजस्तै उनी बाबुको साइकल पसलमा अथवा ग्यारेजको ल्याबमा हुर्केर वैज्ञानिक भएकी होइनन् । उनकी आमा साहित्य र संगीतको विद्यार्थी थिइन् भने बाबुचाहिँ भूगर्भविद् । शैक्षिक जीवनको प्रारम्भमा फेबियोलाले आमाको बाटो समातिन् । उनी साहित्य र दर्शन पढ्न थालिन् । साहित्यका कल्पनाशील दुनियाँ र दर्शनशास्त्रका असीमित प्रश्नहरूमा घोत्लिँदै गर्दा एक दिन उनको दिमागमा फुर्‍यो, ‘साहित्य र दर्शनले उब्जाएका यी प्रश्नहरूको जवाफ केवल विज्ञानले दिनेछ । भौतिक विज्ञानले ।’

    हुन त फेबियोला एकैचोटि ब्रह्माण्डको रहस्य लुकेको हिग्स बोसोन पदार्थको खोजीमा लागेकी होइनन् । सायद त्यतिबेला उनलाई रुचि पनि थिएन । तर विज्ञानमा पनि छुने र स्पर्श गर्ने विधामा रुचि राख्ने उनी बिस्तारै पदार्थ विज्ञान र यसका रहस्यतिर आकषिर्त भइन् । जीवनको उत्तरार्द्धमा उनी विज्ञानको एउटा रहस्य पत्ता लगाउन चौथाइ शताब्दी लामो प्रयासबाट जन्मिएको एउटा विशाल, विशाल प्रयोगशालाको नेतृत्वमा पुगिन् ।

    कलाको इतिहास र रोमन दर्शन पढिरहेकी एउटा विद्यार्थीले हाम्रो अस्तित्व किन ? भन्ने एउटा ठूलो प्रश्नको जवाफ खोज्न भौतिक विज्ञानलाई रोजिन् । उनी कार्यरत प्रयोगशालाकै एक पत्रिकालाई दिएको अन्तर्वार्तामा फेबियोलाले भनेकी छन्, ‘दुर्भाग्य नै भन्नुपर्छ भौतिक विज्ञानलाई पुरुषप्रधान, रूखो र संवेदनाविहीन विधाका रूपमा व्याख्या गरिन्छ । तर त्यो सत्य होइन, भौतिक विज्ञान कला हो, सुन्दरता हो र लय हो ।’

    लार्ज हेड्रोन कोलाइडर नामको प्रयोगशाला चानचुने हैन । जमिनमुनि २७ किलोमिटर लामो बाटोमा पदार्थका प्रोटोनहरूलाई विपरीत दिशामा झन्डै प्रकाशको गतिमा कुदाएर ठोकाइन्छ र ठोक्किँदा भएको विस्फोटबाट जन्मेका पदार्थ नै हिग्स बोसोन हुन सक्छन् र ब्रह्माण्डका केही रहस्यहरू ।

    जुलाई महिनामा हिग्स बोसोनको अस्तित्व फेबियोला नेतृत्वको प्रयोगशालाले पत्ता लगाएपछि सामाजिक सञ्जालमा यसको व्यापक चर्चा भयो । कतिपयले यसलाई ‘भगवान पदार्थ’को संज्ञा दिए । तर भौतिक विज्ञानको यो अन्वेषणलाई बुझ्नु आम मानिसका लागि चानचुने कुरा भने होइन । आममानिसले चन्द्रमामा पाइला राखेको कुरा बुझ्छ, कुनै गम्भीर रोगविरुद्धको सुई पत्ता लगाएको बुझ्छ, विनाशकारी बम निर्माण भएको बुझ्छ तर स्वयं वैज्ञानिकहरूलाई नै दशकौंसम्म रनभुल्ल पारेको हिग्स बोसोनलाई कसरि बुझ्ने ?

    विश्व ब्रह्माण्ड, तपाईं, हामी । हामीले वरपर जे देखिरहेका छौं, हरेक चीज, हो हरेक वस्तु पदार्थले बनेको हुन्छ । पदार्थ एटम र मोलिक्युलले बनेका हुन्छन् । तर ती पदार्थलाई मास अथवा पिण्ड अथवा अलि अवैज्ञानिक तर सजिलो शब्दमा भन्दा रूप दिने कामचाहिँ हिग्स बोसनको हो । भौतिक विज्ञानका सूत्र र सिद्धान्तहरूमा हिग्स बोसोन पहिलेदेखि नै थियो । तर यसको अस्तित्व पुष्टि र प्रमाणित भइसकेको थिएन । जुन त्यही युरोपियन आणविक अनुसन्धान संगठनको प्रयोगशालाले लगभग पुष्टि गरेको छ ।

    ७ हजार टन वजन भएको प्रयोगशालाको दैनिकी, वैज्ञानिक रणनीतिहरू र सम्पूर्ण दैनन्दिनी फेबियोलाको काँधमा छ । जुलाईमा हिग्स बोसनको अस्तित्व पत्ता लागेपछि, फेबियोला हिरो भइन् । प्रयोगशालाका एक वैज्ञानिकले भनेका थिए, ‘उनलाई संंसारले पहिले नै चिन्नुपथ्र्यो । ढिलै भए पनि चिन्यो ।’

    हिग्स बोसन पत्ता लाग्नु फेबियोलाकै शब्दमाआगमनविन्दु र प्रस्थानविन्दु दुवै थियो । यो दशकौंदेखिको खोजको निष्कर्ष थियो । हिग्स बोसन पत्ता नलागेको भए भौतिक विज्ञानका अहिलेसम्मका सिद्धान्त र सूत्रहरूले हावा खान्थे । सायद नयाँ सिद्धान्त जन्मिन्थे । यो पत्ता लागेर पनि सबै रहस्यको अन्त्य भएको छैन । बरु थप रहस्योद्घाटन गर्न बाटो खुलेको छ । डार्क म्याटर -कालो पदार्थ) भनिने चीज जसले ब्रह्माण्डको ८० प्रतिशत हिस्सा ओगटेको छ । त्यो के हो ? जस्ता प्रश्न अनुत्तरित नै छन् ।

    सपना, कल्पना, भावना यी सबै सधैं विज्ञानका नजिक छन् । विज्ञान धेरै हदसम्म कल्पनाशीलताबाट जन्मिन्छ । फेबियोलालाई वैज्ञानिक बनाएको पनि साहित्य र दर्शनले हो । सृष्टिकर्ता पदार्थ हिग्स बोसन पनि अनुमान र कल्पनाबाटै जन्मिएको हो । हिग्स बोसनको अस्तित्व थिएन त बच्चु कैलाशले ‘कल्पनाको गगन मुस्कुराउने चन्द्र वदन’ नि भन्न पाउने थिएनन् । किनभने हिग्स बोसनबिनाको ब्रह्माण्डमा चन्द्र, सूर्य, पृथ्वी, तपाईं हामी यो अवस्थामा हुने थिएनौं । रहस्यै रहस्यको यो दुनियाँमा मानिसलाई थाहै नभएका कुराको तुलनामा थाहा भएका कुरा धेरै कम छन् ।

    आखिर सपना देख्नु नै त रहेछ हरेक कुराको सुरुवात् । फेबियोलाले आफ्ना प्रशंसकहरू, जो धेरैजसो महिला नै हुने गर्छन्, उनीहरूलाई भन्ने गरेकी छन्, ‘सपना देख्न नछोड । सपना त्याग्यौ भने जीवनको कुनै मोडमा पछुताउनुपर्नेछ ।’

    कान्तिपुर कोसेलीमा प्रकाशित

  • एउटा पत्र हराउनेका लागि

    December 4th, 2012
    प्रिय हराएको तिमी,

    हुन त तिमी हुनु र नहुनुमा खासै अन्तर लागेको छैन । तै पनि कता कता तिमी हरायौ कि जस्तो लाग्दो रहेछ । हुन सक्छ म पनि कहिँ कतै हराएँ होला । तिमी हराउनु अथवा म हराउनु; हुन सक्छ हामी दुबै हराउनुको ‘महशुस गर्नु पनि त तिमी हुनु र नहुनुको अन्तर महशुस गर्नु नै हो’ भनेर तर्क गर्न सक्छौ तिमी । थाहा छ तिमीलाई, म सँधै विरोधाभाषी छु ।

    मैले भनिसकेँ तिमी हराएदेखि, अथवा त्यो पलदेखि जब तिमी हराएको एउटा गाढा महशुस हुन थालेदेखि खासै फरक पाएको छैन मैले म वरिपरिको दुनियाँमा । स्वभाविक र प्राकृतिक परिवर्तनहरु त तिमी हुँदा पनि हुन्छन्, तिमी नहुँदा नि हुन्छन्, हामी दुबै नहुँदा नि हुन्छन् । भइरहन्छन् । तिम्रो आँगन, तिम्रो झ्याल अथवा तिमी रहेको बन्द कोठाको एउटा सानो प्वालबाट पनि तिमी त्यो छिर्केमिर्के संसार देखिरहेकी छ्यौ होला जुन मैले पनि देखेको छु । तिमी हरेक साँझ एउटा रातो सूर्यास्त हेरेर केही बेर टोलाउँछ्यौ होला म पनि टोलाउने गर्दछु । अनि हरेक रङ्गीन विहानीमा तिमीमा पनि सपनाका उन्मुक्त रंग चढ्छ होला ममा जस्तै । फरक यत्ति छ हामी छिर्केमिर्के संसार, रातो सूर्यास्त र रङ्गीन विहानीका प्रतिबिम्ब एक अर्काको आँखामा पनि प्रष्ट देख्दथ्यौं । हेर्दथ्यौं ।

    हराउन पनि एक्कासी हराएको हो र । बिस्तारी बिस्तारी धमिलो हुँदा हुँदै देखिनै छाड्यौ पो त । रात विहानीमा हराएजस्तो । दिन साँझमा हराएजस्तो । नढाँटीकन भन्छु त्यो त्यही डाँडा हो । त्यही घाम हो । तर अँह सूर्यास्तमा पहिलेजस्तो ग्ल्यामर पटक्कै छैन । कतै यो सूर्यास्त पनि तिमी हराएजस्तै बिस्तारी बिस्तारी हराउने त हैन कुनै दिन । शहरको पनि के कुरा गर्नु । पहिले कति गाढा र सजिव लाग्द्थ्यो शहरको चित्र । आजकल फिक्का र धमिलो लाग्दैछ । शहरको पनि रङ्ग खुइलिन्छ र ? तिमीलाई थाहा छ भने भनन ।
    हुन त मेरा लागि तिमी मात्रै हराएनौ । तिमीसँगै केही गीत हराए । केही संगित हराए । कविता पनि हराए अलिअलि । केही दृश्य हराए । केही मूर्खता हराए । केही सौन्दर्य हराए ।  सम्झना त हराए अरुको कुरा छाड न ।

    यति धेरै थोक हराएर त म रित्तो भएँ जस्तो लागेको होला तिमीलाई । अँह म पूर्ण छु । भरिभराउ छु । अगिनै भनिसकेँ तिमी हुनु र नहुनुमा केही फरक छैन । हराउनु पनि प्राकृतिक र स्वभाविक कुरा रहेछ भनेर बुझिसकेँ मैले । तिमी हराएकोमा गुनासो त पटक्कै छैन । यहाँबाट हराएर के भयो!  अन्त कतै भेटियौ होला । म पनि हराउने क्रममै छु । बिस्तारी बिस्तारी ।

    उही
    हराउँदै गरेको म

  • 7 Reasons Why Nepali Twitter users are not Cool

    December 2nd, 2012
    1. They tweet like celebrity : most of the time you don’t understand what they are tweeting about. Only themselves or their close peers know.

    2. They tweet less chat much: most of the tweets are personal conversation.

    3. They have knowledge deficit: you don’t get nothing from their tweets. They don’t talk about ideas, knowledge, information, innovation, creativity or any other crazy things. Most of tweets are about everyday prattles.

    4. They don’t help: you ask where is the best place in Kathmandu for a nice dinner or you ask about coolest android device in the town. You don’t get goddamn answer because people don’t help you or people are not able to help you.

    5. People have very very close or limited circle: almost everybody knows of everybody. That means they have lots of prejudiced opinion.

    6. People don’t know about technology: they use technology but they don’t talk about it and they don’t want to extend their knowledge. They don’t tweet about their experience, troubleshooting, tips n tricks, except some ‘social media experts’ sharing some of the Mashable links.

    7. They tweet for the sake of tweeting: They just tweet because they think tweeting makes them cool

  • Old Man From Dadeldhura Sings in Great voice

    November 20th, 2012

←Previous Page
1 2 3 4 … 10
Next Page→

Proudly powered by WordPress