बूढो माउते र हात्ती

अजङ्गको हात्तीको
गर्धनमा टाँसिएर
दिनभरि घुमिरहन्छ
र घुमाइरहन्छ
एउटा लुरे ज्यानको बुढो माउते

चहार्छ जङ्गल
देखाउँछ जङ्गली जनावरहरु
एक सिङ्गे गैंडा र मृगका बथान देखेर
चिच्याउँदै गर्दा उसका सवारीहरु
बुढो माहुते मोलिरहन्छ खैनी
बेपर्वाह

हरेक सूर्यास्तमा
बाफ उडिरहेको खोलामा
पिलाएर हात्तीलाई पेटभरि पानी
बुढो माहुते
धुवाँ उडिरहेको एउटा झुपडीमा पस्दछ
र टकटक्याएर गम्छाबाट दिनभरिका टिप्सहरु
पिउन थाल्छ हात्ती जस्तै

अन्धाको देशमा हात्ती जस्तै
उ छामिरहन्छ जिन्दगी
कहिले जिन्दगी
खाँबो जस्तो
कहिले जिन्दगी डोरी जस्तो
कहिले जिन्दगी
भित्तो जस्तो
पिउँदा पिउँदा हरेक साँझ
प्राय उसलाई लाग्छ जिन्दगी
रित्तो रित्तो जस्तो


Leave a Reply

Your email address will not be published. Required fields are marked *