जसले ‘भगवान’ खोजिन्

यो रहस्यै रहस्यको दुनियाँ हो । मानवजाति र ब्रह्माण्डका धेरैजस्ता रहस्यहरूलाई या त कविहरूले अन्टसन्ट व्याख्या गरिदिएका छन्, या धर्मशास्त्रले या त विज्ञानले । विज्ञानको व्याख्या पनि कहाँ सधैं स्थिर छ र ? कुनै समय त्यही विज्ञानले गरेको व्याख्या कालान्तरमा झूटो सावित हुन्छ र त्यही विज्ञानले नयाँ परिभाषा जन्माउँछ । मान्छे मात्र होइन, सत्य पनि जन्मन्छ र मर्छ ।

विज्ञानका सत्यहरू, या भनौं व्याख्याहरू थुप्रै अनुसन्धान, खोज र वस्तुगत प्रयोगबाट जन्मिएका हुन्छन् । त्यसैले सूर्य किन आकाशमा छ ? जून किन चम्किन्छ, तारा किन उदाउँछन् जस्ता प्रश्नबारे कविहरूले दिने व्याख्याभन्दा विज्ञानले दिने व्याख्या यथार्थ नजिक हुन्छ ।

यी तमाम प्रश्नहरूको केही हदसम्मको जवाफ संसारले गएको जुलाई महिनामा पायो । ब्रह्माण्डमा कुनै पनि वस्तुको अस्तित्वको कारण पत्ता लगाउँदै छ एउटा विशाल प्रयोगले । साधारण तरिकामा भन्ने हो भने यो प्रयोगको उद्देश्य नै आकाशमा किन जूनतारा छन्, हामी किन छौं । हामी कहाँबाट आयौं भन्ने कुराको जवाफ खोज्नु नै हुनेछ । युरोपियन आणविक अनुसन्धान संगठनको प्रयोगले एउटा सनसनीपूर्ण नतिजा दिनेछ । जसले भौतिक विज्ञानले संसारलाई हेर्ने दृष्टिकोणमा एउटा अभूतपूर्व उपलब्धि सिर्जना गरिदिनेछ ।

स्विट्जरल्यान्ड र प|mान्सको सिमानामा जमिनबाट १ सय मिटर तल झन्डै २७ किलोमिटर लामो सुरुङको रूपमा रहेको प्रयोगशालामा ३ वर्षदेखि ३ हजारभन्दा बढी वैज्ञानिक रातदिन खटिरहेका छन् । उनीहरूले यसै वर्ष घोषणा गरिदिए, ‘अहिलेसम्म अनुमानमात्रै गरिएको, तर छ कि छैन भनेर प्रमाणित हुन नसकेको हिग्स बोसोन नामक पदाार्थको अस्तित्व भेटियो है ।’ वैज्ञानिकहरूको शब्दमा यो पदार्थ नै सृष्टिकर्ता हो । कसैले ईश्वरलाई सृष्टिकर्ता मान्छ भने यो पदार्थलाई ईश्वर मान्दा हुन्छ ।

गएको जुलाई महिनामै ‘हिग्स बोसोन’को अस्तित्व रहेको सार्वजनिक भए पनि थप प्रमाण र व्याख्याको खोजी भइरहेको छ । दशकौं लामो खोजको नतिजालाई यथेष्ट प्रमाण र प्रयोगबिना फ्याट्टै घोषणा गरिदिन कहाँ मिल्छ । जमिनमुनि सुरुङमा भौतिकशास्त्रको अहिलेसम्मकै ठूलो प्रयोगशालाले यो विशाल उपलब्धिलाई घोषणा गर्न पनि केही प्रमाण र प्रयोग पर्खिरहेको छ ।

लार्ज हेड्रोन कोलाइडर नामको प्रयोगशालामा खोजीमा लागिपरेको ३ हजार वैज्ञानिकहरूको टोलीलाई नेतृत्व गर्ने व्यक्तिचाहिँ एक महिला हुन् । फेबियोला जियानोट्टी । भौतिक विज्ञान सधैं पुरुषप्रधान रहिआएको छ । यस विज्ञानको पनि एउटा महान् अन्वेषणलाई नेतृत्व दिनु चानचुने काम होइन । फेबियोला यस वर्ष ‘टाइम’ पत्रिकाको वर्ष व्यक्तिको दौडमा अमेरिकी राष्ट्रपति बाराक ओबामा नजिकै थिइन् । तर कहिल्यै नाम नसुनिएकी एउटी महिला वैज्ञानिकले एउटा नेतालाई कहाँ जित्न सक्छ र त्यसमाथि मिडियाले दिने उपाधिमा । त्यसैले ओबामा वर्ष व्यक्ति भए, फोबियोला पाँचौं नम्बरमा परिन् ।

५१ वर्षकी फेबियोलाको पृष्ठभूमि आमभौतिकशास्त्रीको भन्दा फरक छ । धेरैजसो वैज्ञानिकजस्तै उनी बाबुको साइकल पसलमा अथवा ग्यारेजको ल्याबमा हुर्केर वैज्ञानिक भएकी होइनन् । उनकी आमा साहित्य र संगीतको विद्यार्थी थिइन् भने बाबुचाहिँ भूगर्भविद् । शैक्षिक जीवनको प्रारम्भमा फेबियोलाले आमाको बाटो समातिन् । उनी साहित्य र दर्शन पढ्न थालिन् । साहित्यका कल्पनाशील दुनियाँ र दर्शनशास्त्रका असीमित प्रश्नहरूमा घोत्लिँदै गर्दा एक दिन उनको दिमागमा फुर्‍यो, ‘साहित्य र दर्शनले उब्जाएका यी प्रश्नहरूको जवाफ केवल विज्ञानले दिनेछ । भौतिक विज्ञानले ।’

हुन त फेबियोला एकैचोटि ब्रह्माण्डको रहस्य लुकेको हिग्स बोसोन पदार्थको खोजीमा लागेकी होइनन् । सायद त्यतिबेला उनलाई रुचि पनि थिएन । तर विज्ञानमा पनि छुने र स्पर्श गर्ने विधामा रुचि राख्ने उनी बिस्तारै पदार्थ विज्ञान र यसका रहस्यतिर आकषिर्त भइन् । जीवनको उत्तरार्द्धमा उनी विज्ञानको एउटा रहस्य पत्ता लगाउन चौथाइ शताब्दी लामो प्रयासबाट जन्मिएको एउटा विशाल, विशाल प्रयोगशालाको नेतृत्वमा पुगिन् ।

कलाको इतिहास र रोमन दर्शन पढिरहेकी एउटा विद्यार्थीले हाम्रो अस्तित्व किन ? भन्ने एउटा ठूलो प्रश्नको जवाफ खोज्न भौतिक विज्ञानलाई रोजिन् । उनी कार्यरत प्रयोगशालाकै एक पत्रिकालाई दिएको अन्तर्वार्तामा फेबियोलाले भनेकी छन्, ‘दुर्भाग्य नै भन्नुपर्छ भौतिक विज्ञानलाई पुरुषप्रधान, रूखो र संवेदनाविहीन विधाका रूपमा व्याख्या गरिन्छ । तर त्यो सत्य होइन, भौतिक विज्ञान कला हो, सुन्दरता हो र लय हो ।’

लार्ज हेड्रोन कोलाइडर नामको प्रयोगशाला चानचुने हैन । जमिनमुनि २७ किलोमिटर लामो बाटोमा पदार्थका प्रोटोनहरूलाई विपरीत दिशामा झन्डै प्रकाशको गतिमा कुदाएर ठोकाइन्छ र ठोक्किँदा भएको विस्फोटबाट जन्मेका पदार्थ नै हिग्स बोसोन हुन सक्छन् र ब्रह्माण्डका केही रहस्यहरू ।

जुलाई महिनामा हिग्स बोसोनको अस्तित्व फेबियोला नेतृत्वको प्रयोगशालाले पत्ता लगाएपछि सामाजिक सञ्जालमा यसको व्यापक चर्चा भयो । कतिपयले यसलाई ‘भगवान पदार्थ’को संज्ञा दिए । तर भौतिक विज्ञानको यो अन्वेषणलाई बुझ्नु आम मानिसका लागि चानचुने कुरा भने होइन । आममानिसले चन्द्रमामा पाइला राखेको कुरा बुझ्छ, कुनै गम्भीर रोगविरुद्धको सुई पत्ता लगाएको बुझ्छ, विनाशकारी बम निर्माण भएको बुझ्छ तर स्वयं वैज्ञानिकहरूलाई नै दशकौंसम्म रनभुल्ल पारेको हिग्स बोसोनलाई कसरि बुझ्ने ?

विश्व ब्रह्माण्ड, तपाईं, हामी । हामीले वरपर जे देखिरहेका छौं, हरेक चीज, हो हरेक वस्तु पदार्थले बनेको हुन्छ । पदार्थ एटम र मोलिक्युलले बनेका हुन्छन् । तर ती पदार्थलाई मास अथवा पिण्ड अथवा अलि अवैज्ञानिक तर सजिलो शब्दमा भन्दा रूप दिने कामचाहिँ हिग्स बोसनको हो । भौतिक विज्ञानका सूत्र र सिद्धान्तहरूमा हिग्स बोसोन पहिलेदेखि नै थियो । तर यसको अस्तित्व पुष्टि र प्रमाणित भइसकेको थिएन । जुन त्यही युरोपियन आणविक अनुसन्धान संगठनको प्रयोगशालाले लगभग पुष्टि गरेको छ ।

७ हजार टन वजन भएको प्रयोगशालाको दैनिकी, वैज्ञानिक रणनीतिहरू र सम्पूर्ण दैनन्दिनी फेबियोलाको काँधमा छ । जुलाईमा हिग्स बोसनको अस्तित्व पत्ता लागेपछि, फेबियोला हिरो भइन् । प्रयोगशालाका एक वैज्ञानिकले भनेका थिए, ‘उनलाई संंसारले पहिले नै चिन्नुपथ्र्यो । ढिलै भए पनि चिन्यो ।’

हिग्स बोसन पत्ता लाग्नु फेबियोलाकै शब्दमाआगमनविन्दु र प्रस्थानविन्दु दुवै थियो । यो दशकौंदेखिको खोजको निष्कर्ष थियो । हिग्स बोसन पत्ता नलागेको भए भौतिक विज्ञानका अहिलेसम्मका सिद्धान्त र सूत्रहरूले हावा खान्थे । सायद नयाँ सिद्धान्त जन्मिन्थे । यो पत्ता लागेर पनि सबै रहस्यको अन्त्य भएको छैन । बरु थप रहस्योद्घाटन गर्न बाटो खुलेको छ । डार्क म्याटर -कालो पदार्थ) भनिने चीज जसले ब्रह्माण्डको ८० प्रतिशत हिस्सा ओगटेको छ । त्यो के हो ? जस्ता प्रश्न अनुत्तरित नै छन् ।

सपना, कल्पना, भावना यी सबै सधैं विज्ञानका नजिक छन् । विज्ञान धेरै हदसम्म कल्पनाशीलताबाट जन्मिन्छ । फेबियोलालाई वैज्ञानिक बनाएको पनि साहित्य र दर्शनले हो । सृष्टिकर्ता पदार्थ हिग्स बोसन पनि अनुमान र कल्पनाबाटै जन्मिएको हो । हिग्स बोसनको अस्तित्व थिएन त बच्चु कैलाशले ‘कल्पनाको गगन मुस्कुराउने चन्द्र वदन’ नि भन्न पाउने थिएनन् । किनभने हिग्स बोसनबिनाको ब्रह्माण्डमा चन्द्र, सूर्य, पृथ्वी, तपाईं हामी यो अवस्थामा हुने थिएनौं । रहस्यै रहस्यको यो दुनियाँमा मानिसलाई थाहै नभएका कुराको तुलनामा थाहा भएका कुरा धेरै कम छन् ।

आखिर सपना देख्नु नै त रहेछ हरेक कुराको सुरुवात् । फेबियोलाले आफ्ना प्रशंसकहरू, जो धेरैजसो महिला नै हुने गर्छन्, उनीहरूलाई भन्ने गरेकी छन्, ‘सपना देख्न नछोड । सपना त्याग्यौ भने जीवनको कुनै मोडमा पछुताउनुपर्नेछ ।’

कान्तिपुर कोसेलीमा प्रकाशित


Leave a Reply

Your email address will not be published. Required fields are marked *