• होम
  • कविता
  • यात्रा
  • पत्र
  • कथा
  • गन्थन
  • लेख
  • Poems
  • Letters
  • Musings
  • Travel
  • Video

Musings by Kamal Kumar

  • 3 PC Myths, I never Follow

    March 10th, 2011
    1. I never use paid Antivirus: It’s not because that I can not afford them. But because I do not trust them. I believe free antivirus softwares are as powerful as the paid ones. Currently I am using Microsoft security essentials for my not “Genuine” windows 7 PC.

    2. I never safely remove hardware: I do not go to the task bar, click a small removable disk icon over there and eject it safely. Or Some people do it more longer way, they double click it and they see a list of devices and they click stop working or something like that. But I just remove the device like pen drive and my camera or memory card. I don’t know why I preferred this method, but I am always in hurry.

    3. I rarely shutdown my computer properly. I just press the power button or remove the main power supple when I don’t want to use my computer anymore.

  • म गणितमा कमजोर छु

    January 4th, 2011
    “तिमीलाई के गर्न मन लाग्छ ?”

    “मलाई भ्वाइलिन बजाउन मन लाग्छ। अनि प्यानो पनि बजाउन मन लाग्छ। अरु केही पनि गर्न मन लाग्दैन। मात्रै प्यानो र भ्वाइलिन बजाउन। प्यानो र भ्वाइलिन मेरा सबैभन्दा मिल्ने साथी हुन्।”

    “तिमीले नेपालको बारेमा सुनेकी छ्यौ ?”

    “अँ सुनेको छु। नेपाल गरिब देश हो। अनि ……….।”

    “अनि के ?”

    “मैले त्यहाँको मानिसहरुलाई सहयोग गर्न खोजेकी थिएँ। तर ……..।”

    “तर के ?”

    “मैले त्यहाँका मानिसहरुलाई लाउनको लागि केही पुरानो लुगाहरु जुटाउन खोजेको थिएँ। तर ……..।”
    “तर के ?”

    “तर मेरो स्कूलले मलाई सहयोग नगरेको कारण मेरो इच्छा पुरा हुन पाएन। ”

    “साह्रै राम्रो। तिमी पश्चिमाहरु ज्यादै असल हुन्छौ।”

    “अहँ, म असल छैन”

    “किन नि ?”, मैले उत्सुक हुँदै सोधेँ।

    “किनकि म गणितमा एकदम कमजोर छु। म मुस्किलले यो विषयमा पास हुन्छु। मैले यो विषयमा सँधै तृतिय श्रेणी पाउन्छु। ज्यादै दुःख लाग्छ। अहँ म असल छुइनँ। मलाई असल नभन्नोस् ”

    “अहो कस्तो हाँसो उठ्दो कस्तो रमाइलो ?” म आवाज निकालेर हाँस्छु। म उसको कुरा सुनेर ऊ प्रति हाँसेको भन्ने त उसले थाहा पाई। तर मैले बोलेको शब्द भने उसले नबुझेको भान हुन्थ्यो।

    “ए साँच्चि तिमी कति वर्षकी भयौ रे ?”

    उसले नहिच्किचाइकन भनी ” म १४ वर्षको। यो डिसेम्बरमा १४ लागेँ। ”

    मैले पनि हत्त न पत्त भनेँ “म १९ वर्षको, अब एक महिना पछि २० लाग्दैछु। ”

    उसले वास्ता नै गरिन। मैले बुझ्न पनि सकिनँ। मैले फेरि उसलाई मेरो उमेर सोधेँ भने उसले भन्न सक्छे कि सक्दिन।

    मैले फेरि कुरा लम्ब्याउने उद्देश्यले भने ? ” ओहो साह्रै असल। हाम्रो देशका चौध वर्षका केटाकेटीहरु त तिमीले जति सोच्छ्यौ त्यसको एक चौथाइ पनि सोच्ने सामर्थ्य राख्दैनन्। अझ तिमी त बालिका। हाम्रा छोरीहरु त झन् छोरा भन्दा कमजोर हुन्छन्। ”

    उसले मेरो कुरा बीचमै काटेर सोधी ” किन ?”

    उसले मबाट लामो उत्तरको अपेक्षा गरेकी हुनुपर्छ तर मैले छोटो जवाफ दिएँ “खोई ”

    मेरो उत्तर दिने पाराप्रति उसलाई रिस उठेको जस्तो देखिन्थ्यो। ऊ त्यसपछि चुप लागी। मैले नै कुरा अगाडि बढाएँ।

    “त्यसैले त म भन्दैछु, तिमीहरु असल हुन्छौ। मिहेनती हुन्छौ।”

    उसले फेरि हत्त न पत्त जवाफ दिई – “अहँ म छैन। किनकि म गणितमा कमजोर छु। ”

    मैले तिम्रो मात्र कुरा गरेको होइन सबै पश्चिमाहरुको कुरा गरेको। ऊ मौन रही।

    तिमीलाई पियानो बजाउन बाहेक के गर्न मन लाग्छ नि ? उसले भनी – ” कविता लेख्न ”

    “ओहो तिमी यति सानै उमेरमा कविता पनि लेख्छ्यौ ?, साह्रै राम्रो ” मैले उसलाई फुर्क्याउने उद्येश्यले भने।

    “हेहे” ऊ आवाज निकालेर हाँसी। जोडले हाँसी म पनि मुसुक्क हाँसे। हाम्रा नेपालीहरु पनि तिमी जस्तै गरी हाँस्छन् नि। “हेहेहे” मैले उसको जस्तै गरी बनावटी हाँसो हाँसे।

    उसले अचम्म मान्दै सोधी -” नेपालीहरु पनि हाँस्छन् र ? उनीहरु त गरिब हुन्छन्। उनीहरुसँग खाने कुरा पनि हुँदैन। अनि लाउने लुगा पनि हुँदैन। सबै हामीले नै दिनु पर्छ। उनीहरु हाँस्छन् र ? फेरि म जस्तै गरी ? हामी जस्तै गरी ? असम्भव। हेहेहे।”

    ऊ फेरि जोडले हाँसी।

    ” म हाँसी त रहेकी छु नि। म नेपाली हैन र ? ” मैले हाँस्दै उसलाई बुझाउन खोजेँ।

    उसले फेरि जोडले हाँसेर टारी दिई। उसलाई धेरै बुझ्नु जरुरी थिएन। उसकै बुझाइ पर्याप्त थियो। नेपालीहरु हाँस्दैनन्।

    केही बेर उसले थरीथरीको अमेरिकी हाँसोको नक्कल गरी। मैले पनि थरी थरीको नेपाली हाँसको नक्कल गरेँ। दुबै जना जोडले हाँस्यौं। निकैबेर हाँस्यौं। हाँसो महोत्सव झैं लाग्थ्यो। हाँस्न थाके पछि मैले नै कुरा कोट्याएँ – “तिमी कविता लेख्छ्यौ भनेकी हैन ?”

    “अँ” उसले ठाडो जवाफ दिई।

    ” मलाई कविता लेखने मान्छे एकदम मन पर्छ। ”

    म उसको प्रतिक्रिया पर्खिरहेँ। लगभग १५ सेकेण्ड पछि उसले सोधी ” किन?”

    ” किनकि म पनि कविता लेख्छु ” उसको प्रश्न भुइँमा र्झन नपाउँदै मैले भनेँ।

    ” ए ” उसले जवाफ छिट्टै दिई तर वास्ता नगरिकन दिई। मैले केही बोल्नु भन्दा पहिले नै यसले फेरि भनी “राम्रो”

    “तिमीले लेखेको कविता सुन्न पाए हुन्थ्यो। ” मैले अनुरोध मिश्रित स्वरमा भनेँ।

    ऊ एक छिन मौन भएर “भनी एउटा त छ तर अल्लि पुरानो छ ”

    ” किन पुरानो नयाँ सुनाउन ” यति कुरा मनमै रहृयो।

    भनेँ ” भईहाल्छ नि पुरानो भए पनि सुनाउन ”

    उसले कविता सुनाई –
    “म आकाश छुन चाहन्छु
    क्षितिज भेट्टाउन चाहन्छु
    सूर्य दिनभरि एउटा आकाशबाट
    अर्को आकाशमा पुगी सकेको हुन्छ,
    तर म भने जहाँको तहीँ
    म अँगालो मार्न खोज्छु क्षितिजलाई
    तर म भन्दा पहिलो क्षितिजको काखमा सूर्य पुगीसकेको हुन्छ
    म चुम्न खोज्छु आकाशलाई
    तर मैले भन्दा पहिले सूर्यले छोइसक्छ
    ऊ भन्दा पनि पहिले उसको किरणले
    म चाहिँ जहिँको तहिँ
    न आकाश छुन सक्छु न क्षितीज भेट्टाउन सक्छु ……………… सक्यो ”

    ” वा वा वा, अति राम्रो। सँधै सुनिरहुँ जस्तो लाग्ने अति राम्रो। ओ हो ” मैले जाने जति शब्दले मुक्त कण्ठले उसको कविताको प्रशंसा गरेँ। उसले आधा खुशी र आधा अचम्म मिसिएको अनुहार पार्दै भनी – “राम्रो छ र ? मलाई त त्यस्तो लाग्दैन। ”

    म केही बोल्न खोज्दै थिएँ उसले फेरि भनी – ” झन् यो कविता त पुरानो। दुई वर्षअघि लेखेको त्यतिबेला म पाँच कक्षामा पढ्थेँ। ”

    “ए, भने पछि तिमी अहिले सात कक्षामा पढ्छ्यौ ? ”
    “हैन आठ कक्षामा”

    मैले मनमनै गमेँ दुई वर्षअघि पाँच कक्षामा पढ्ने मान्छे त अहिले सात कक्षामा पढ्नु पर्ने हो। मैले चाहेर पनि उसँग स्पष्टिकरण मागिनँ किनकि उसले नै भनेकी थिइ ऊ गणितमा कमजोर छे।

    “आज स्कूल किन नगएको त ?” मलाई आज आइतबार भन्ने थाहा हुँदा हुँदै पनि सोधेँ।

    उसले भनी – “आज आइतबार हो ”

    “अनि के भो त ?” मैले हेपेर सोधेँ।

    “आइतबार हाम्रो छुट्टि हुन्छ। ” उसले मलाई पढाउने पारामा जवाफ दिई।

    ” ए हो ? हाम्रोतिर त शनिबार छुट्टी हुन्छ”

    एक छिन दुबै जना मौन भयौं। एक्कै छिन १५ सेकेण्ड जति।

    उसले आफैं भनी म “क्यालिफोर्नियामा बस्छु। मेरो बुबा टेक्ससमा बस्नुहुन्छ। म मेरो आमासँग बस्छु। ”
    मैले उसको परिवारतिर त्यत्ति चासो दिइनँ। सोचेँ उसको बाउ टेक्सस भन्ने ठाउँमा जागिर खान बस्छन् होला। फेरि मैले टेक्सस र क्यालिफोर्नियाबिचको दूरी पनि नजरअन्दाज गर्ने कोशिश गरिन।

    मैले छोटो जवाफ दिएर टारेँ – “ए”

    मैले सुनेको थिएँ पश्चिमाहरु दश वर्षो भए पछि चुरोट रक्सी सबै खान्छन्। यी सबै उनीहरुको लागि सामान्य हो।

    मैले जान्ने उद्येश्यले सोचेँ – ” तिमी चुरोट पिउँछ्यौ ?”

    “अँह यतातिर १६ वर्षो नभई चुरोट खानु गैरकानुनी हो। तर म १६ वर्षो भए पछि पनि चुरोट खान्न।
    किनकि मलाई चुरोटको गन्ध नै मन पर्दैन। ”

    “ए, अनि तिमी रक्सि खान्छौ कि खाँदैनौं नि ?

    “म संसारमा सबैभन्दा घृणा रक्सीलाई गर्छु उसको अनुहार साँच्चै नै रिसाएको जस्तो देखियो , ” रक्सी मलाई पटक्कै मन पर्दैन। मेरो एकदम जँड्याहा हुनुहुन्छ। ”
    “ए”

    ऊ अल्लि बढि जटिल हुँदै गईरहेकी थिई अर्थात हाम्रा कुराकानीहरु। जति बुझे पनि नसकिने। कति बुझौं कसरी बुझौं। त्यसैले म सबै कुरालाई हल्कासँग मात्र लिइरहेको थिएँ। बढि खोजतलास गर्नेतिर लागेको थिइनँ।

    ” ए साँच्चि आज मेरो सौतेनी बुबा आउनु भएको थियो। हामीलाई भेट्न” उसले ज्यादै स्थिर भएर यसो भनेपछि म झसँग भएँ।

    “सौतेनी बुबा ?”

    उसले टाउको हल्लाई।

    “तिम्री आमाले दोस्रो विहे गर्नु भएको हो ?”

    “हो -”

    “अनि तिम्रो आफ्नै बुवा, जन्म दिने बुवा ……..?”

    प्रश्न पूरा हुन नपाउँदै उसले भनी “टेक्ससमा हुनुहुन्छ। ”

    “त्यो त मलाई थाहा छ, तिम्रो आमा र बुवाबिच सम्बन्धविच्छेद भइसकेको हो ?

    उसले फेरि टाउको हल्लाई।

    “किन” मैले अधैर्य भएर सोधिहालेँ।

    “किनकि मेरो बुवाले धेरै रक्सी पिउनु हुन्थ्यो। अनि आमा र बुवाको सँधै झगडा भईरहन्थ्यो। त्यही भएर”

    “तिम्रा दाजुभाइ दिदीबहिनी पनि छन् ?”

    “एउटा दाइ छ, १९ वर्षको भयो। ऊ चाहिँ बुवासँग टेक्ससमा बस्छ। अनि म चाहिँ आमासँग ”

    “तिमी आमासँग बस्न पाउँदा खुशी छ्यौ हैन त ? ”

    उसले भनी – ” अहँ पटक्कै खुशी छैन ”

    मैले अचम्म मान्दै सोधेँ – ” ए त्यसो भए तिमीलाई तिम्रो बुवा चाहिँ मन पर्छ ? तिमी बुबासँग बस्न चाहन्छ्यौ हो ?”

    उसले फेरि मैले नचिताएको जवाफ दिई ” अँह होइन ”

    मैले केही बोल्नु भन्दा पहिले नै उसले भनी – “म मेरा आमा बुबा दुबै जनासँग बस्न चाहन्छु। ”
    उसको प्रश्नले मलाई ज्यादै भावुक बनाइसकेको थियो। मैले उसको बारेमा थप जान्न चाहेँ। विशेष गरी उसको आमा बुबाको बारेमा

    मैले सोधेँ – तिम्रा आमा बुबा कति वर्षको हुनुहुन्छ ?

    जवाफ आएन।

    फेरि सोधेँ उहाँहरुको बिहे भएको कति वर्ष भयो ?

    अझै जवाफ आएन।

    मैले अझै सोधेँ उहाँहरु छुट्टिएको कति वर्ष भयो ?

    फेरि जवाफ आएन।

    बल्ल सम्झेँ उसले अघि भनेको कुरा ऊ गणितमा कमजोर छे।

    ( यो कथा माइसंसारमा प्रकाशित भएको थियो )

  • त्यो अफिस

    January 4th, 2011
    त्यो दिन, त्यस अफिसमा हामी दुबै जनाको लागि पहिलो थियो। हाकिमले आफ्नो कोठामा बोलाएर मलाई सामान्य ब्रिफिङ गरेपछि आफ्नो लामो, कैलो कपाल दुई हातले सपक्क मिलाउँदै उ हाकिमको कोठामा छिरेको थियो। लामो, त्यसमाथि रङ्गाइएको सतिशको कपालले मलाई राम्रो इम्प्रेसन त दिएको थिएन। तर केही हप्तामै मलाई फर्स्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन भन्ने कुरा गलत लाग्न थाल्यो। अफिसमा हाम्रो उमेरका अरु कोही नभएर पनि होला हामीले चिया खाने र गफिने साथीका रुपमा एक अर्कालाई नै देख्न थाल्यौं। बिस्तारै यो चिया–चौतारीमा मात्र सीमित भएन, अरु कसैलाई नभनिने कुरा हामीले एक अर्कालाई भन्न थाल्यौं। गफका विषयहरु प्राय महिला र तीनका शारीरिक बनौटका हुन्थे। र केही यहाँ लेख्न नमिल्ने खालका हुन्थे। एक दिन सतिशले ठूलै कुरा पत्ता लगाए झैं मेरो छेउमा आएर भन्यो, ‘भाइ अफिसमा त टन्नै नयाँ लड्कीहरु आउँदै छन् रे नि।’

    उसो त हामीले त्यो अफिस सुरुगर्दा त्यहाँ ‘हेर्न लायक’का केटी कोही थिएनन्। एक महिनापछि झण्डै आधा दर्जन युवती थपिए, जसलाई हामी क्यान्टिनको कुनामा बसेर ‘च्वाँक’ भन्थ्यौं। ती आधा दर्जनमध्ये एक थिइन् गरिमा।
    क्यान्टिनको बाहिरपटि अलिकति घाम परेको टेबलमा गरिमा एक्लै कुनै किताब पढेर चिया चुस्काइरहँदा क्यान्टिनभित्र बसेर कालो सिसा लगाइएको झ्यालबाट चियाएर हामी दुईले गरिमाको सौन्दर्य मस्तले पान गरेका थियौं। सतिशको मुखबाट एक्कासी निस्कियो, ‘कस्तो बिहे गरौं गरौं लाग्ने रैछे यार।’
    सतिश गरिमाको नजिक हुने कोशिस गर्न थाल्यो। अनेक बहानामा ऊ गरिमाको डेस्कतिर चहार्न थाल्यो। महिना दिन बित्दा पनि उसले गरिमासँग बोल्न चाहिँ सकेको थिएन। एक दिन सतिश झण्डैझण्डै नाच्दै मेरो छेउ आइपुग्यो। ‘भाइ बब्बाल भयो यार’। दुःख पर्दा होस् या सुःख पर्दा ‘बब्बाल भयो’ भन्ने उसको बानी थियो। मैले कम्प्युटरकै स्त्रि्कनमा आँखा गाड्दै सोधेँ ‘के भयो?’

    ‘लब पर्यो यार। म गरिमाबिना बाँच्न सक्दिनँ जस्तो लाग्न थाल्यो।’

    भएको के रहेछ भने, गरिमा बोलिछ सतिशसँग पहिलो पटक। लिफ्ट चढ्ने बेलामा जम्काभेट भएछ, गरिमाले मुसुक्क हाँस्दै ‘हेल्लो’ भनिछ। भाइलाई के चाहियो र? हिन्दी फिल्ममा जस्तो ब्याकग्राउण्ड म्युजिक बजेछ, फूल फुलेछ, लभ परे परे जस्तो भएछ। धेरै हप्तासम्म सतिशलाई त्यही एउटा ‘हेल्लो’ भन्ने शब्दले सताइराख्यो। त्यसपछि केही हप्तासम्म गरिमासँग उसको बोलचाल त भएको थिएन। त्यही पनि उ त्यही एउटा शब्दको कारण पुरै दँग थियो।

    गरिमा, पत्रकारितामा नयाँ थिई। सतिश भन्दा कम अनुभवी। एक दिन खोइ कुन स्टोरीको ‘एङ्गल भेटिएन’ भन्दै गरिमा सतिशकै डेस्कमा आइपुगिन्। त्यसपछि त सतिशलाई के चाहियो र। भोलिपल्टदेखि त उ गरिमाले केही सोध्छे के भनेर गरिमाकै डेस्कमा धाउन थाल्यो। गरिमाको डेस्क अलि कुनामा भएकाले कार्यालयको नियमित चहलपहलबाट त्यो ठाउँ मुक्त थियो। सतिश गरिमाको पछाडि उभिएर हेरिरहन्थ्यो। गरिमा निकै बेरपछि मात्र थाहा पाउँथी। पछाडि फर्केर तर्से जस्तो, रमाए जस्तो हाँसे जस्तो गर्थी। हरेक दिनका यस्ता साना साना अपडेट चाहिँ सतिशले मलाई क्यान्टिनमा गर्थ्यो। ‘आज गरिमा खुसि थिइ’ ‘आज गरिमाले यस्तो लुगा लगाकी थिई’ ‘आज गरिमा दुःखी थिइ’ ‘आज गरिमासँग यो कुरा भयो’ ‘आज गरिमाले मलाई मेरो फेमिलीको बारे धेरै प्रश्न सोधी’ ‘आज गरिमाले चिया खान जाउँ भनी’ आदि आदि। सतिशको बुझाईमा उसले गरिमाबाट प्रशस्त हिन्ट्स पाउन थालिसकेको थियो। सतिश हावामा उड्न थालेको थियो।
    ‘गरिमा आज कस्तो ‘पेल’ देखिएकी है?’ एक दिन सँधै झैं क्यान्टिनको झ्यालबाट गरिमालाई चियाइरहँदा सतिशले भन्यो।

    ‘गरिमा एक्लै छे, जाउ न त भाइ एकछिन बिजी बनाउ’ मैले भनेँ। धेरै कर गरेपछि सतिश लुखुर लुखुर गरिमाको टेबलतिर गयो। तर सतिशभन्दा पहिले नै सुनील गरिमाको डेस्कमा पुगेर बसिसकेकेा थियो। सतिशलाई असह्य भयो। अँध्यारो देख्यो चारैतिर। उ लर्खराउँदै क्यान्टिनको बाहिरपटि रहेको बाथरुम छिर्यो। धेरैबेरपछि मात्र बाथरुमको ढोका खोलेर सतिश निस्कियो। अघिसम्म गरिमा पेल देखिएकी थिई, अहिले बाथरुमबाट निस्किँदा सतिश त्यस्तो देखिएको थियो। म नजिक आएर बस्ने बित्तिकै सोधेँ, ‘के भयो भाइ, स्खलित देखिन्छौ त?’ उसले मलाई कुनै प्रतिक्रिया दिएन। अलिकति टाउको बङ्ग्याएर झ्यालको कालो सिसाबाट गरिमाको टेबलतिर चिहायो र सानो स्वरमा सुनीललाई लक्षित गर्दै भन्यो ‘मादर …….’।

    सुनील पनि कार्यालयमा नयाँ नै थियो। तर ऊ डिजाइनिङ तिर थियो। डिपार्टमेन्ट छुट्टै भए पनि त्यो कसरी गरिमासँग नजिकियो भनेर हामी दुबैलाई आश्चर्य लागेको थियो। ‘मुजी धनी बाउको छोरो जस्तो छ’, सुनील गाडी फेरी–फेरी अफिस आको देखेर सतिश कहिले काहिँ बर्बराउँथ्यो, ‘कर्ममै नलेखेपछि के हुन्छ यार?’ कहिले काहिँ सतिश निराश बन्थ्यो।

    दिनहरु बित्दै गए। गरिमाको सौन्दर्य झन् झन् खारिँदै गएको थियो। उसको खिरिलो शरीर सुहाउँदो गरी फुक्दै गएका थिए र लुगाहरु कस्सिँदै गएका थिए। केही सहकर्मीहरु गरिमाको जीउ हेरेर घुटुक्क थुक निल्दा रुद्रघण्टी चलेको मैले पनि देखेको थिएँ। सतिश र गरिमाको लुकामारी यथावत् थियो। सतिशले जीवनको पहिलो कविता पनि लेख्यो। एक दिन गरिमालाई पनि च्याटमै त्यो कविता सुनाएछ। एउटै अफिसमा भए पनि अ–आफ्नै डेस्कबाट गरिमा र सतिश च्याटमा ब्यस्त हुन्थे कहिले काहिँ।

    ‘भाइ आज मेरोमा बसेर दारु खाउँ है’ सतिशले अफिसबाट निस्किने बेला हुनै लाग्दा मलाई भन्यो। एकछिन अघि मात्र सुनीलको गाडीको अगाडिको सिटमा बसेर गरिमा अफिसबाट बाहिरिएकी सतिशले देखेको थियो। त्यसपछि उसलाई भाउन्न भएको थियो।

    दुई दुई पेग सकिँदासम्म हामी दुईले आज कुरा गर्न चाहेको तर कुरा गर्न नसकेको विषय अलपत्र थियो। तेस्रो पेग थप्नुअघि सतिशले भन्यो ‘भाइ बाहिर गएर चुरोट खाउँ’ चुरोट सल्काएर दुई चोटि खोकेपछि सतिश बल्ल खुल्न थाल्यो, ‘भाइ म के गरुँ?’

    ‘मोबाइल देउ तिम्रो’ मैले सतिशको मोबाइल मागेँ र मेसेज टाइप गर्न थालेँ, ‘प्यारी गरिमा, म तिमीलाई मनमनै माया गर्छु, तिम्रो विचार के छ?’ गरिमालाई एस एम एस पठाउनुअघि मैले टाइप गरेको म्यासेज सतिशलाई देखाएँ। सुरुमा डराएपनि नशा चढ्दै जाँदा सतिश कन्भिन्स भयो। सेन्ड बटन थिचेपछि सतिशको प्रेम प्रस्ताव बोकेको सिग्नल उड्दै उड्दै गरिमाको मोबाइल खोज्दै गयो।

    मेसेज पठाइसकेपछि सतिश डराउन थाल्यो। ‘भाइ अब के हुन्छ यार? गरिमाले के भन्ली? मलाई किन उचालेको यार। केही भयो भने तिम्रो दोष हुन्छ’ सतिश बर्बराइरहँदा उसको मोबाइलको घन्टी बज्यो। गरिमा कलिङ…

    मेरो अनुहारमा पुलुक्क हेर्दै सतिशले फोन उठायो। ‘हेल्लो……….. अँ यत्तिकै बसिराको….. खाना खायौ………? मैले पनि खाको छैन………… के हेरिरहेको टिभीमा…… ए ए…. अनि अरु?…… भोलि अफिस कतिखेर आउँछौ? …………. ए ल ल …. हुन्छ ….. बाइ …… गुडनाइट …… यु टु’

    सतिशले फोन राख्यो। गरिमाले उसको प्रेम प्रस्तावको त कुरै गरिनछ। नर्मल भएर बोली रे। सतिश झन् छट्पटिन थाल्यो। कस्तो होला यो केटीको जात बुझ्नै नसकिने। हामीबीच अरु दुई घन्टा जति केटीकै बारेमा छलफल भए। बिना कुनै निष्कर्ष हामी सुत्यौं। सुत्नुअघि खोइ के मुड चलेर हो सतिशले गरिमालाई मिसकल गर्यो।

    प्रेम प्रस्ताव राखेको दुई तीन दिन सम्म अफिसमा गरिमा र सतिशको कुनै बोलचाल भएन। गरिमाले केही भन्छे कि भनेर सतिश पर्खाइमा थियो। टाढैबाट पटक पटक आँखा जुध्यो रे। गरिमाको आँखा शान्त थियो रे। गरिमा खुशि पनि थिइन, दुःखी पनि थिइन रे। झण्डै एक हप्तापछि सतिश हिम्मत गरेर गरिमाको डेस्क छेउमा पुग्यो। एकछिन कुरेपछि गरिमाले ‘हेल्लो’ भनि। अनि केही बिर्सेर सम्झेजस्तो गरेर गरिमाले भनी, ‘अँ साँची तिम्रो एसएमएस पाएको थिएँ’

    सतिशले भनेअनुसार त्यो भन्ने बेला गरिमा अहिलेसम्मकै सबैभन्दा राम्री देखिएकी थिइ रे। लजाको हो कि, डराको, खुशि भाको हो कि कस्तो कस्तो रे। अलिअलि हाँसकी पनि थिइ रे। त्यसपछि गरिमा एकछिन सम्म बोलिन। सतिश पनि उसले केही भन्छे कि भनेर सुनेर बस्यो। गरिमाले भनी, ‘अँ…..हेरन मैले यसबारेमा सोचेकै छैन। मेरो फर्स्ट प्रायोरिटी मेरो प्यारेन्ट्स हो। मेरो लाइफमा अरु कोही भएर तिमीलाई यस्तो भनेको होइन। तर तिमीलाई म हुन्छ भन्न सक्दिनँ। तिम्रो लागि एउटा गुड फ्रेन्डचाहिँ म सँधैभरि रहिरहन्छु। ‘

    गरिमालाई हाँसे जस्तो अनुहार देखाएर फनक्क फर्केर सतिश मेरो छेउ आइपुग्यो, ‘साला केटीहरु हिन्दी फिल्म धेरै हेर्छन् यार’ असन्तोषी अनुहार बोकेको सतिश धेरै बेरसम्म मसँग पनि बोलेन।
    सतिश पुरै निराश भइसकेको थिएन। गरिमामा मन आफूतिर तानिएला भन्नेमा ऊ अझै पनि आशावादी थियो। गरिमासँग उसको बोलचाल कम तर हेराहेर ज्यादा हुन थालेको ऊ सुनाउँथ्यो। गरिमाले ‘हेल्लो’ भन्दा पनि ऊ कैयौं दिनसम्म फुर्केको हुन्थ्यो। झन् एक दिन त क्यान्टिनमा अरु साथीसँगै चिया खाने बेलामा गरिमा र ऊ आमने सामना बसेका थिए रे। अरुका आँखा छली छली ऊ गरिमाको आँखा चोर्दै थियो रे। गरिमाले हातमा चियाको गिलास उठाइ। ओठले गिलासलाई छुनै लाग्दा गरिमाको हातबाट गिलास फुस्क्यो। चिया सहितको ग्लास झर्याम्म फुट्यो। सतिशले धेरै दिनसम्म यो घटना दोहोर्याएर सुनाइरहन्थ्यो। ‘मेरो हेराईले साला गिलास फुटाइदियो यार’ सतिश भन्ने गर्थ्यो।
    एक दिन अचम्मै भएछ। गरिमाले सतिशलाई ‘फिल्म हेर्न जाउँ’ भनिछे। शहरमा लागेको इमरान हस्मीको कुनै हिन्दी फिल्म हेर्न जाने प्रस्ताव सुनेपछि सतिशले पाइतालादेखि टुप्पीसम्मको नशा नशामा रगत कुदेको सजिलै महशुस गरेको थियो रे। फिल्ममा एउटा गित आइरहँदा एकपटक सतिशको तिघ्रामा गरिमाको हात आएर सल्बलायो रे। यो सपना थियो कि, बिपना, सतिश आफैंले समेत थाहा पाउन सकेन।

    फिल्म हेरेर फर्केको साँझ सतिश धेरै बेरसम्म टोलाएको थियो।
    पछिल्लो समय सतिशले चित्त बुझाउन थालेको जस्तो देखिएको थियो। ‘गरिमालाई देखेँ’ ‘गरिमाले देखी’ भन्नेमै उ मजा लिइरहेको थियो। कहिले काहिँ संयोगवश गरिमा र ऊ मात्र लिफ्ट भित्र हुँदा उसलाई सबैभन्दा आनन्द लाग्थ्यो रे। एक अर्कासँग नबोलेपनि हेरिरहन्थे रे। १५ सेकेन्डपछि लिफ्टको ढोका खुलेर बाहिर निस्कनु पर्दा टुक्रिएको जस्तो अनुभव गर्थ्योे।

    एक दिन अफिसमा हल्ला चल्यो, ‘गरिमाको बिहे रे’। त्यो हल्लालाई केही हप्तापछि नोटिसबोर्डमा टाँसिएको निम्तो पत्रले पुष्टि गर्यो। गरिमाको बिहेमा अफिसका प्राय सबै गए। सतिश भने गएन। कसैले सोध्दा भनिदियो, ‘बिरामी भएर जान पाइनँ’। अरुको नजरमा उसले बहाना बनाएको देखिए पनि गरिमाको बिहेको दिन सतिश साँच्चिकै बिरामी भएको मलाई मात्र थाहा थियो।

    बिहेपछि, गरिमा झन् राम्री देखिएकी थिइ। उसको लवाइखवाइमा बिहेसुचक कुनै परिवर्तन देखिएको थिएन। बितेका कुरा समयसँगै पातला हुँदै जाँदा रहेछन्। सतिशले गरिमासँग फेरि आँखा जुधाउन र क्यान्टिनको झ्यालको कालो सिसाबाट लुकी लुकी हेर्न सुरु गरिसकेको थियो।

    मैले जागिर फेर्ने निधो भयो। त्यो अफिस छाडेर अन्तै जाने भएँ। कार्यालयको अन्तिम दिन नजिकैको छाप्रोमा नमिठो मूख पारेर दुई पेग खाइसकेपछि, सतिशले झण्डै रुँदै भन्यो, ‘तिमी पनि जाने भयौ है?’

    अर्को ठाउँमा जागिर खान थालेपछि, सतिश र मेरो भेट र संवाद पनि पातलिन थाल्यो। च्याट र फोनमा कहिले काहिँ कुरा हुन्थे। ‘कोही छैन अफिसमा साथी’ भनेर दुःखेसो गर्थ्यो। गरिमासँग नबोले पनि ऊ अफिसमा हुँदा चाहिँ रमाइलो लाग्छ भन्थ्यो।

    ……………………..

    लामो समयपछि एक दिन बानेश्वरमा चिया खाँदै गर्दा सतिशले गरिमाका थुप्रै अपडेट सुनाएको थियो। गरिमाको बिहे मधेसमा भएको रहेछ। मामाघरपटिबाट आएको कुरालाई स्वीकार्दै थुप्रै जग्गा जमिनका एकलौटी मालिकसँग गरिमाको बिहे भएको रहेछ। केटा पढे पनि जागिर खाँदा रहेनछन्। मधेसमै बस्छन् रे। पथलैयामा एउटा होटल पनि छ रे। गरिमा एक्लै काठमाडौंमा।

    काठमाडौंका सम्भ्रान्तहरुको संगत बढ्दै गएपछि गरिमालाई पथलैयामा रहेका श्रीमान् र आफूबिच दूरी बढ्दै गएको अनुभव हुन थालेछ। गफाडी इतिहास बोकेको सतिशले गरिमा बिहेपछि आफूसँग एकाएक नजिकिन थालेको कुरा मलाई सुनाइरहँदा मैले सजिलै पत्याउन सकेको थिइनँ। तर पनि सतिश गम्भिर थियो। मैले पत्याउन कर लाग्यो।

    अफिसभरि रहेका चनाखा आँखा र कानलाई छल्नुपर्ने भएकाले सतिश र गरिमाका अधिकांश संवाद च्याटमै हुने गर्थे। अफिसको भिडभाड पातलिँदै गएपछि सतिश लुसुक्क गरिमाको डेस्कछेउ पुग्थ्यो र उनीहरु घन्टौंसम्म गुनगुन गरिरहन्थे।

    त्यस वर्षको होलीको दिन सतिश र गरिमा दुस्साहसपूर्वक एक अर्कासँग नजिकिएछन्।

    अफिसमा अचानक गरिमाले आफूलाई सन्चो नभएको बताएपछि सतिशले उनलाई नजिकै रहेको आफ्नो कोठामा गएर आराम गर्ने प्रस्ताव राखेछ। गरिमाले नबोलीकन त्यो प्रस्ताव स्वीकार गर्दा सतिशका गोडा कामेका थिए रे।

    मध्य फागुन भइसक्दा पनि काठमाडौंे तातिसकेको थिएन। सतिशको कोठाको खाटमा घोप्टो परेर पल्टिएकी गरिमाको टिसर्ट तन्किएर अलिकति देखिएको कम्मरमा झ्यालबाट छिरेको एक टुक्रा घाममा टल्किरहेको थियो। अधैर्य भएर कुर्सीमा बसेर टोलाइरहेको सतिश बेला बेलामा बाहिर होली खेल्नेहरुले कराएको आवाज सुनेर झस्किन्थ्यो। १५ मिनेट चकमन्न भएको कोठामा एकाएक गरिमाको सानो आवाज खस्यो। ‘सतिश, खाटमै बस न’।

    सतिश एकछिन अन्यौलमा पर्यो। उसले निर्क्यौल गर्न सकेन गरिमाको यो आग्रह उसले चाहेको थियो या नचाहेको थियो। सतिश घसि्रँदै खाटको छेउमा बस्यो। अझैसम्म घोप्टो परेर सुतिरहेकी गरिमाले सतिशको बायाँ हातलाई छातीमा च्यापेर निदाएको जस्तो गरी। सतिशको दायाँ हात बिस्तारै गरिमाको शरिरमा बडो लापरवाह चलमलाउन थाल्यो। बिस्तारै ती दुइ प्राणी अलि धेरै नै चलमलाउन थाले।

    ……………..

    बानेश्वरको ठेलामा राखिएको चिया किनेर सडकछेउको रेलिङमा बसेका हामीले अर्को एक–एउटा चिया थप्ने निर्णय गर्यौं। गरिमासँगको शारिरिक तहमा त्यो हदसम्म नजिकिएपछि, सतिशले निकै ग्लानि महुशुस गरेको बतायो। तर फागु पुर्णेको त्यस घटना लगत्तै गरिमाको आँखाभरि सन्तुष्टि देखेको थियो रे सतिशले भनेको।
    नयाँ वर्षको इभमा सतिश र गरिमा अबेरसम्म ठमेलमा देखिएका थिए। गरिमाका पति झण्डै ६ महिनामा काठमाडौं आउँथे र गरिमासँग एक रात बिताएर फर्किन्थे। गरिमालाई पत्रकारिता छोड्न र मधेशमै गएर घरबार सम्हाल्न उनकी बिधुवा सासु र पतिले पटक पटक दबाब दिएका थिए। यो आग्रहलाई नमान्दा गरिमा उनीहरुको लागि पराई हुँदै गएकी थिई। यता सतिशले पनि घरबाट बिहेका लागि आउन थालेको दबाबलाई अनेकौं बहाना बनाएर टार्न थालिसकेको थियो।

    गरिमा र सतिश अफिसमा कम र बाहिर ज्यादा भेट्थे। गरिमालाई बन जंगल र डाँडाकाँडा पटक्कै मन नपर्ने। त्यसैले होला उनीहरुको डेटिङ स्पट भनेको या त सतिशको कोठा या ठमेलको कुनै पब। गरिमा पनि खुब पिउन थालेकी थिइ।
    एक दिन सतिशले बिहानै निन्द्रामै फोन गरेर १० हजार रुपैंया चाहियो भन्यो। गरिमाले पेट बोकिछ। घर परिवारमा थाहा पाएर रडाँको मच्चिनु भन्दा पहिले नै उनीहरु त्यस बोझबाट मुक्त हुन चाहन्थे। नभएको विवाहपछि नजन्मेको सन्तानलाई गरिमा र सतिशले फाले।
    गरिमाको स्वास्थ्य यसै पनि पहिले देखि नै कमजोर थियो। टाउको दुख्ने समस्या त सानै देखिको। उसले लगाउने चश्माको मोटाइ पनि बढेको थियो। गर्भपतन गरेपछि उसको शरिर पनि केही झुलिन थालेको थियो। पछिल्ला समय सतिशलाई फोन गर्दा प्राय गरिमाको स्वास्थ्यकै कुरा हुन्थ्यो। एक चोटि उपचारका लागि गरिमालाई लिएर दिल्ली जान्छु भन्दै थियो। तर पैसा नपुगेर गरिमा एक्लैलाई पठाइदिएछ।

    गरिमा अफिसमा कम देखिन थालेकी थिइ। सतिशसँग पनि पहिले जस्तो नियमित भेटघाट हुन छाडेको थियो। गरिमाले एमए को थेसिस लेख्नलाई एक महिनाजति बिदा लिँदा सतिशले एक पटक पनि भेटेन रे।

    गरिमाले सतिशलाई बेलाबेलामा भन्ने गर्थि, ‘तिमी मसँगको सम्बन्धमा साँच्चिकै गम्भिर हौ भने, नेपालमा बसेर त्यसलाई मूर्त रुप दिन सम्भव छैन। त्यसैले बिदेश जाउँ’

    ‘तिमी चाहिँ मसँगको सम्बन्धमा गम्भिर हौ कि होइनौ?’ सतिशले प्रतिप्रश्न गर्दा गरिमा नङमा लागेको पालिस कोट्याउँदै चुप लाग्थी।

    गरिमाका मावल हुने खाने नै थिए। लामो समयदेखि अमेरिकामा बस्दै आएका उनीहरुले गरिमाको श्रीमानसँगको सम्बन्ध राम्रो नभएको थाहा पाएपछि गरिमालाई पटक पटक अमेरिका आउन आग्रह गरेका थिए।

    एक महिनाको बिदा सकिनै लाग्दा गरिमाले सतिशलाई फोन गरेकी थिइन्।

    ‘सतिश मैले अमेरिका जाने निधो गरेँ। म गएर मिलाउँछु अनि तिमी पनि आउनु पर्छ। ‘ गरिमाले फोनबाटै मौखिक राजिनामा दिएको र अब अफिस नआउने बरु सतिशलाई बाहिरै भेट्ने बताइरहँदा सतिशको ओठ कामेको थियो।

    सतिशले केही नभनी घर्याप्प फोनको रिसिभर बजारेको थियो।

    त्यो नै उनीहरुबिचको अन्तिम संवाद थियो। हुन त अमेरिका उड्ने दिन गरिमाले सतिशलाई धेरै पटक फोन गरेकी थिई। सतिशलाई उठाउनै मन लागेन रे। फ्य्राङकफर्ट एयरपोर्टमा टान्जिट परेका बेला गरिमाले लेखेको फेसबुक स्टाटस मैले र सतिश दुबैले देखेका थियौं।

    ‘टाढा धेरै टाढा……’
    (यो कथा माइसंसारमा प्रकाशित भएको थियो)

  • ट्वीटर

    October 6th, 2010

    झण्डै २ वर्ष पुराना
    तिम्रा ट्वीट्सहरुमा,
    खुसुक्क खोजिरहेछु
    ६ वर्ष पुराना लिङ्कहरु…

  • फेसबुक

    August 31st, 2010

    तिम्रो स्ट्याटसको
    कूमारीत्व लुटिइसकेको थियो,
    त्यसैले न ‘कमेन्ट’ गरेँ
    न ‘लाइक’ ।

  • एसएलसीको भूत र मिडिया

    July 15th, 2010
    एसएलसीलाई वर्षौंदेखि नेपालको शैक्षिक क्षेत्रमा सबैभन्दा महत्वपूर्ण तहको रुपमा अपव्याख्या गरिँदै आइएको छ । मिडियाले दिएको आइरन गेटको नाम पनि चर्चित भएको छ । नेपालको शैक्षिक व्यवस्था अनुसार एसएलसी परीक्षा १० वर्षे विद्यालय तहको अन्तिम परीक्षा हो जुन पास गरेपछि क्याम्पस पढ्न पाइन्छ । एसएलसी पास गर्दा विद्यार्थी को सरदर उमेर १५ देखि १९ वर्षसम्मको हुन्छ । तर दुर्भाग्यपूर्ण पक्ष के छ भने एसएलसी पास गरेको विद्यार्थीले स्वरोजगारको लागि कुनै व्यवहारिक शीप जानेको हुँदैन ।विद्यालयमा घुँडा धसेर सिकेको ज्ञानले उसलाई खेती गर्न आउँदैन गाडी चलाउन आउँदैन कम्प्युटर बनाउन आउँदैन फर्निचरको काम गर्न आउँदैन कस्टमर सर्भिसको काम गर्न आउँदैन । एसएलसी त केवल दशकौं अघिका शासकहरुले शिक्षित र अशिक्षितबीचको स्पष्ट विभाजन कायम गर्न सुरु गरेको एउटा डरलाग्दो प्रथा हो । एसएलसीको जुन ढंगले मिडियाले प्रचार प्रसार र बढाइचढाईं गर्दै आएको छ त्यसले यस प्रथालाई थप मलजल गरेको छ । विद्याथीमाझ एसएलसी नामको डरलाग्दो भूतको सिर्जना पनि मिडियाले गरेको हो । जसको कारण उतीर्ण हुनेको आँकडा कहिल्यै पनि सन्तोषजनक हुन सकेको छैन । विद्यालय तहको एउटा सामान्य परीक्षा जसबाट आर्थिक रुपमा न देशलाई फाइदा छ न विद्यार्थीलाई नै त्यसलाई अतिरिाजत रुपमा प्रचार प्रसार गर्नु जरुरी छ कि छैन । बहस आवश्यक छ ।

    सरकारले सन् २०१५ देखि लागू गर्ने भनिएको योजनामा विद्यालय शिक्षालाई १२ कक्षा सम्म बढाएर लाने प्रस्ताव छ । विद्यालयमा के पढाइने भन्दा पनि कसरी पढाइने भन्ने कुरामा मात्र केन्द्रित भइयो भने यो योजना पनि हावादारी हुनेछ । यद्यपी हाल कायम रहेको एसएलसी कुप्रथालाई हल गर्न र विद्यार्थीको मनबाट एसएलसी भूतलाई हटाउन यो योजना सहयोगी हुने अपेक्षा गर्न सकिन्छ । तर यस योजनालाई एकातिर मिडिया आफैंले समर्थन र सुधारका लागि खबरदारी गर्दै आएका छन् भने अर्कातिर त्यही मिडियाले एसएलसीको परम्परागत धारणालाई सघाउ पुग्ने सामगि्र प्रकाशन-प्रसारण गर्दै आएका छन्।

    सरकारले केही वर्ष पहिले नै एसएलसीमा बोर्ड प्रथम हुने व्यवस्था खारेज गरेको थियो । अस्वस्थ प्रतिस्पर्धालाई हटाउन गरिएको उक्त कदमको स्वागत पनि भएको थियो । तर हाल आएर एसएलसीमा अन्धाधुन्ध बोर्ड टपर घोषणा गरिदिने नयाँ निकाय देखा परेको छ त्यो हो मिडिया । एसएलसी नतिजा प्रकाशन भए लगत्तै पत्रपत्रिकाले स्कुले शिक्षक र अभिभावकको दाबीलाई हवाला दिँदै बोर्ड टपरका नाम उद्घोष गर्न थाले । यो मिडियाको अत्यन्त गैरजिम्मेवार चरित्र हो । खारेज भइसकेको व्यवस्थालाई मिडियाले सहयोग गर्नु भनेको खारेज भइसकेका राजतन्त्र पाचायत र रााणाशासन जिउँदै छ भन्नु जस्तै हो।

    अर्को प्रसङ्ग यसपटक एसएलसीको परीक्षामा आएका उपलब्धिलाई पत्रिकामा छापिँदा शहरका र निजी स्कूलका विद्यार्थी नै हावी भए । समान अंक ल्याउने पोखराका जुम्ल्याहा दिदी बहिनी सेन्ट मेरिज स्कुलमा पढेका रहेछन् विशिष्ट श्रेणीमा छोरा पास हुँदा प्रथम श्रेणीमा पास हुने भक्तपुरकी महिला परीक्षा दिन चाहिँ पास गर्न मलिलो भूमि मानिने बारा पुगेकी रहिछन् । राजधानीबाट विशिष्ट श्रेणी ल्याउने तिम्ल्याहा प्राध्यापकका सुपुत्र हुन् । नागरिक दैनिकले त बोर्ड टपर हुने छात्र छात्राको नाम नै बकाइदाले घोषणा गरिदियो उनीहरुको भावी योजना सहित।

    मेधावी विद्यार्थीहरुलाई मिडियामा स्थान दिने मौका हो यो । तर मिडियामा कुन स्थान दिने भन्ने कुरा चाहिँ महत्वपूर्ण हुन्छ । परीक्षाफल प्रकाशित भएको लगातार ३ दिनसम्म विशिष्ट अंक ल्याएर पास भएकाहरु मात्र फ्रन्ट पेजमा छाइरहे । फेल हुने ३६ प्रतिशत विद्यार्थी किन कहिँ अटाएनन् परीक्षा दिने शत् प्रतिशत विद्यार्थीको सपना एउटै थियो होला । तर राज्यको एउटा अवैज्ञानिक र अव्यवारिक व्यवस्थाबाट वलात्कृत भएका बाँकि ३६ प्रतिशत सपनालाई स्वतन्त्र मिडियाहरुले पनि किन लात हाने
    एसएलसी शिक्षा प्रणालीको एउटा महत्वपूर्ण पाटो कहिल्यै हुन सकेन । यो केवल सामाजिक विभेद र स्टाटस सिम्बोलको परिचायकका रुपमा मात्र रह्यो । सुधारको लागि मिडिया सहयोगी र जिम्मेवार हुनै पर्छ ।
    र अन्त्यमा…
    एसएलसीको परीक्षाफल प्रकाशित हुनुभन्दा साताअघि एक ठूलो प्रकाशन गृहको क्यान्टिनमा भाँडा माझिरहेका सिन्धुपाल्चोकका सुमन चालिसे भेटिए । एसएलसी दिएपछि घरको कमजोर आर्थिक अवस्था उकास्ने सपना बोकेर यी १६ वर्षे ठिटो शहर पसेका रहेछन् । उनको विद्यालय जीवनलाई पढाइ र रहरले भन्दा पनि अभाव र गरिबीले थिच्यो । उनलाई एसएलसीमा पास हुने समेत झीनो मात्र आशा रहेछ । पास भए घर फर्केर गाउँकै क्याम्पस पढ्ने नभए शहरमा मजदुरीलाई निरन्तरता दिने उनको स्पष्ट योजना थियो । अहिलेको परीक्षामा विशिष्ट श्रेणी ल्याएर प्लस टु पास पछि विदेश गएर भाँडा माझ्ने या नेपालमै भनेजस्तो विषय पढेर डाक्टर इन्जिनियर र न्युरो सर्जन हुनेहरु भन्दा सुमन चालीसे सत्र्चार माध्यमका लागि महत्वपूर्ण हुनु पर्ने हैन र?

    नागरिक दैनिकमा

  • गाउँ

    June 16th, 2010
    मेरो गाउँ टाढा छ
    मन बोक्छु डोकाभरि
    सपना गाढा छ ।

    बादलपारी शहर छ
    उडी जाने रहर छ
    म हिँड्ने बाटोमा
    पहिरोको डर छ
    मन बिसाउने त्यही एउटा
    बिरानो बगर छ ।

    कहिले काहिँ आकासको
    चरी जस्तै उडूँ लाग्छ
    खोलाको त्यो पानी बनी
    सललल बगूँ लाग्छ

    खाली खुट्टा भारी बोक्दा
    बिझाउँछ मेरो मन
    जीन्दगिको गोरेटोमा
    जंगली त्यो काँडा छ
    मेरो गाउँ टाढा छ
    बाटो छेक्ने डाँडा छ
    मन बोक्छु डोकाभरि
    सपना गाढा छ ।

  • तिमी र समय

    February 13th, 2010
    तिमी आउँछु भन्यौ,
    कुरिरहँदा
    बितेन समय
    निमेषभरको पर्खाइ पनि बर्षौं झैं लाग्यो

    तिमी आयौ
    चरी जस्तै भुर्र उडेर गयो समय
    परेलीको एक झिम्क्याइमा
    रातहरु बिते, साथहरु बिते, बातहरु बिते

    तिमी गएदेखि
    घडी फेरि चल्न छोडेको छ ।

  • Poem of You

    January 30th, 2010

    I collected the most beautiful

    moments of life,

    I gathered the color of joys.

    With a brush of happiness,

    on the canvas of dream,

    I sketched all the emotions I had,

    and I got the Picture of you.

    I sang all the melodies,

    I played sweet memories,

    I rhymed with my own story,

    I went up with cheers

    and down with tears,

    Finally I created the rhythm of life,

    I created the Song of you .

    I traveled beyond the horizon,

    up to the heaven,

    I reached the imagination.

    I found flowers, rainbow, moon

    river forest and gentle breeze

    only as the metaphor of you,

    I lost among the cascades of words,

    with great ecstasy.

    Finally, I became the poem of you.

    Written on : 6/11/2007 10:35:00 AM

  • लाले, सरस्वती पुजा र पुरी

    January 20th, 2010
    हेटौंडा बजार सुरु हुनै लाग्दा दक्षिणतिर कर्रा नाम गरेको खोलो बगेको छ । त्यो खोलापारि औद्योगिक क्षेत्र छ, खोला वारि मेरो स्कुल । सन् १९९२ तिर पहिलो पटक त्यो स्कुलमा दुई कक्षामा पढ्न गएको थिएँ । अघिल्लो बर्खामा कर्रा खोलाले झण्डै स्कुल नै लगेको रहेछ । स्कुलको चौर भनेको खोलाको बगर थियो । होचो ठाउँमा भएकाले बगरमा ढुङ्गा चाहिँ थिएनन्, खोलाले बगाएर ल्याएको बालुवा थुप्रेर त्यो बलौटे बगर बनेको थियो; मरुभूमि जस्तो मेरो स्कुलको चौर । पछिसम्म खोलाले बाटो फेरेन र त्यो बालुवाको मैदानमा घाँस पलाउन थाल्यो, गाइबस्तु चर्न थाले, हामी खेल्न थाल्यौं, स्कुलको वार्षिक दिवसमा दौड हुन थाल्यो, र सरस्वती पुजामा भोज हुन थाल्यो, हलुवा र पुरीको ।

    ***

    स्कुल नजिकै पूर्व-पश्चिम महेन्द्र राजमार्ग थियो । राजमार्गको दायाँबायाँ बगरेका बस्तिहरु, भट्टी र ससाना चिया पसल थिए । खोला पारिबाट स्कुल आउनेहरु राजमार्गकै पुल तरेर आउँथे । बाटो छेउछाउमा पैदल यात्रीलाई हिँड्ने फराकिलो ठाउँ थिएन । त्यसमाथि अधिकांश समय बाटो छेउमा ट्रकहरु पार्किङ गरिएका हुन्थे अनि अमलेखगन्जबाट होटलवालाहरुको लागि ट्रकको हुटमा हालेर ल्याइएका दाउराको भारी लडाइएको हुन्थे । विरगंजबाट राँगा बोकेर आएका लामा र थोत्रा ट्रकहरु धुँवाको मुस्लो फालेर घुइँ घुइँ गर्दै उत्तरतिर उकालो लाग्थे, अनि नेपालगंजदेखि आएका ‘रैना ट्राभल्स’ लेखिएका लामा लामा यात्रुबाहक बसहरु प्वाँ पुँ प्वाँ पुँ प्वाँ गरेर लामो सांगितक हर्न बजाउँदै हुँइकिन्थे । राजमार्ग छेवैमा स्कुल भएकाले वर्षेनी कोही न कोही विद्यार्थीको गाडीले किचेर ज्यान जान्थ्यो । हामीलाई को मर्यो भन्दा पनि विद्यार्थी मरेपछि स्कुलमा शोकको लागि हुने छुट्टीले बढि महत्व राख्थ्यो । लालबहादुर तामाङ पनि खोला पारिबाट स्कुल आउँथ्यो तर बाटोमा गाडीले किच्ला भन्ने डरले उ पुल तरेर हैन खोला तरेर आउँथ्यो ।

    ***

    लालेको नाम लालबहादुर हो भन्ने धेरै पछि थाहा भएको थियो । सरहरु र साथीभाइ सबैले उसलाई लाले भन्थे । हामी ४-५ कक्षा मा हुँदै लालेको जुँगाको रेखी बसिसकेको थियो । म भन्दा ठूलो र बलियो र मोटोघाटो थियो लाले । कालो वर्णको दुइटा गाला पुक्क बाहिर निस्केका थिए, ओठदेखि गालासम्मको लामो खतमा टाँका लाएको डोब प्रष्ट देखिन्थ्यो । कपाल छोटो छोटो पारेर काट्थ्यो अनि सिधा अगाडि सम्याएको हुन्थ्यो, हामी त्यस्तो कपाललाई ‘लाटा कट’ भन्थ्यौं । लाले सबैलाई दौडमा जित्न सक्थ्यो, दुइ तीन जनालाई पछार्न सक्थ्यो । सँगै पढ्ने केटीहरुसँग म बोल्न लजाउँथें, लालेको दोस्ती राम्रो थियो । कहिले काहिँ लाले देखेर मलाई डाह लाग्थ्यो । तर लाले पढ्नमा चाहिँ लोदर थियो । सँधै गोलो खाएर बल्ल तल्ल पास हुन्थ्यो ।

    ***

    स्कुल पढुन्जेल ठूलो उत्सव हुने गर्थ्यो हाम्रा लागि सरस्वती पुजा । एक महिना अघि देखि नै तयारी सुरु हुन्थ्यो । बजेट र किनमेलको काम ९-१० कक्षामा पढ्ने ठुलाहरुले गर्थे । हामी सानाहरु विशुद्ध कार्यकर्ता थियौं । सबै सँग पैसा उठाइन्थ्यो । पैसा दिनेहरुले हलुवा र पुरीको भोज खान पाउँथे, नदिनेहरु सरस्वतीको फोटोमा ढोगेर हातमा पर्साद थापेर घर फर्कनु पर्थ्यो । सरस्वती पुजाको अघिल्लो दिन नै मैदा पकाएर रंगीन कागजको तोरण तयार पार्न हामी लागि पर्थ्यौ‌ । भोलि पल्ट झिसमिसेमै स्कुल पुग्थ्यौं अनि बेहुली झैं सिँगारिन्थ्यो स्कुल। सबै लाइनमा बसेपछि वेन्चमाथि उभिएर सँस्कृत पढाउने गुरुले सरस्वतीको बन्दना भाका हालेर गाउँथे अनि हामी त्यही दोहोर्याउँथ्यौं । सुरुका एक दुइ वर्ष ‘बुडी माइडम’ ले सरस्वतीको बन्दना सुनाएकी थिइन् । हामीलाई सँस्कृत पढाउने ‘बुडी माइडम’को नाम कहिल्यै थाहा भएन । ‘बुडी’ माइडम बुढी भइन्, रिटायर्ड भइन्, अहिले यो संसारबाट पनि गइसकिन् । पछि पछि नेपाली पढाउने अर्का सरले सरस्वती बन्दना गाउन थाले ।

    ***

    पुजा आजा सकेपछि हामी सबै खोला छेउको चौरमा लहरै बस्थ्यौं । खाने थाल आफैंले लानु पर्थ्यो । अनि हलुवा र पुरीको भोज सुरु हुन्थ्यो । सरस्वती पुजाको भोजमा एउटा अघोषित प्रतियोगिता हुने गर्थ्यो, कसले धेरै पुरी खाने भन्ने प्रतियोगिता । शायद लालेले नै सुरु गरेको हुनुपर्छ यो चलन, किनभने लगातार दुई वर्ष सम्म पुरी खाने प्रतियोगिताको उपाधि लालेकै नाममा थियो । लालेले परार २० वटा पुरी खायो रे, पोहोर त झन् आफ्नै रेकर्ड तोडेर २२ वटा खाएछ । लौ यसपालि लालेले के गर्ने हो !

    ***

    हामी ६ कक्षामा पढ्थ्यौं होला । सरस्वती पुजाको भोजको दिन । भोजमा लाले म भन्दा पल्लो लाइनमा बसेको थियो । हलुवा पुरी बाँड्नेहरु पनि लालेलाई हौस्याउँदै थिए नयाँ रेकर्ड ब्रेक गर्न । लाले खाँदै थियो, अरु गन्दै थिए । ‘१८….१९…..२०…. खा लाले खा…तलाई अरुलेइ जित्ला !’
    लाले बल गर्दै थियो । मलाइ लालेको पब्लिसिटी देखेर पहिल्यै लोभ लागेको थियो । ‘मैले नि लालेले जत्ति नै पुरी खान पाए सबले मलाइ चिन्थे, कत्रो नाम हुन्थ्यो’ यस्तो तर्कना गर्दै लालेतिर आँखा गाड्दै म पुरी ठेलिरहेको थिएँ । मैले खाको पुरी न कसैले हेरेको थियो, न कसैले गनेको थियो । लाले खाँदा खाँदा टक्क अड्क्यो, बिस्तारि तन्क्यो । माघको जाडोमा पनि लाले पसिनाले निथ्रुक्क भिजेको थियो । ‘यत्ति हो अरु खान सक्दिनँ’ लालेले २३ वटा खाएछ । यसपालि पनि लाले नै हिरो हुने पक्का भइसकेको थियो । उसलाई खुवाउने भान्छेहरु भने अझै धेरै खुवाउन नसकेकोमा खुशि थिएनन् । मलाई एक्कासी कहाँ बाट के फुर्यो, सँगै छेउमा बस्ने साथीलाई हिम्मत गरेर भनें, ‘ओइ मैले त २६ वटा खाएँ बुझिस्?’ त्यसपछि त्यो साथी चिच्यायो ‘कमलले २६ वटा पुरी खायो ।’
    लालेले निराश अनुहार पार्दै पुलुक्क मलाई हेर्यो । सबैको कान ठाडा भए । लालेलाई घेर्नेहरु मलाइ घेर्न आए । लाले एक्लो भयो । म भीडको भए । गाइगुइ गाइगुइँ हुँदै सबैको कानमा पुग्यो मैले ‘२६ वटा पुरी खाएको’ कुरा । अनि धेरै पु्री खाने उपाधि मैले जितेँ । भिडले मैले नै जितेको ठहर्यो । लाले हार्यो । मैले झुटो बोलेर जितेँ । वर्षभरि साथीभाइ र छरछिमेकले मलाई ‘२६ पुरी’ उपनाम दिए । म दङ्ग परेँ ।

    ***

    आठ कक्षाको जिल्ला स्तरीयमा फेल भएपछि लालेले स्कुल छोड्यो । कहाँ गयो, के भयो केही थाहा पाइएन । कसैले भन्यो, ‘लालेको बा बिते रे अनि पढ्न छाडेको रे’
    लाले जस्तै मेरा धेरै साथीहरु औद्योगिक क्षेत्रका मजदुर र ट्रक ड्राइभरका छोराछोरी थिए । धेरैको आर्थिक अवस्था कमजोर थियो । बाध्यताले गर्दा पढाइ पुरा गर्न पाउँदैन थिए । अरु थुप्रै साथी पनि स्कुल पढ्दा पढ्दै कोही फ्याक्ट्रीमा काम गर्न गए, कोही ड्राइभर भए, कोही खलासी भए । त्यसैले लाले स्कुलबाट हराउनु पनि मेरा लागि नौलो भएन ।

←Previous Page
1 … 4 5 6 7 8 … 10
Next Page→

Proudly powered by WordPress