• होम
  • कविता
  • यात्रा
  • पत्र
  • कथा
  • गन्थन
  • लेख
  • Poems
  • Letters
  • Musings
  • Travel
  • Video

Musings by Kamal Kumar

  • मजदुर र मट्टीतेल

    October 13th, 2011
    मेरो जहानका आँशुले
    चुलो बल्ने भए
    कति जाति हुन्थ्यो
    किन्नु पर्दैन थियो त्यो महङ्गो मट्टीतेल

    पसलेले
    मस्यौरा पोको पारेर दिएको अखबारमा
    छापिएका हत्यारा मन्त्रीका
    भँगेरे अक्षर समाचारले
    कुनै अर्थ राख्दैन मलाई
    केवल अर्थ राख्छ
    बहिनीलाई हात हाल्न खोज्ने
    पुलिसलाई चड्काएको निहुँमा
    खोरमा सडाइएको छोरोको सम्झनाले
    जसको यादमा
    यसपालिको दशैं भिज्यो

    जहानको आँशुले पनि अर्थ राख्थ्यो होला
    शायद,
    त्यो आँशु नभएर मट्टीतेल भएको भए
    यसपालि दशैंमा
    मेरो घरमा पनि चुलो बल्थ्यो कि !

  • प्रधानमन्त्रीको इमेल

    September 16th, 2011
    प्रधानमन्त्री नहुँदै पनि फेसबुकबाट जनतासँग अन्तर्क्रिया गर्न रुचाउने बाबुराम भट्टराईले अहिले इमेलमार्फत जनआवाज थाहा पाउने पहल गरेको जानकारी उनका सहयोगीलाई उद्धृत गरेर मिडियामा आएको छ। पत्रपत्रिकाका अनुसार प्रधानमन्त्रीले जनताका इमेल पढ्न पनि थालिसकेका छन्। देशका प्रधानमन्त्रीले जनताका पीरमर्का इमेलमार्फत सोझै जान्न चाहनु सराहनीय हो। अझ, नेपालको सन्दर्भमा त माओवादीकै शब्दमा शासक र जनताबीचको दूरीमा ठूलै क्रमभंग हो।

    तर सरकार प्रमुखजस्तो प्रभावशाली व्यक्तिले हचुवाका भरमा इन्टरनेटमा उपलब्ध कुनै निःशुल्क इमेल खोलेर मैले जनताको कुरा सुन्न थालेँ है भन्नु चाहिँ अपरिपक्व काम हो। प्रधानमन्त्री भट्टराईले इमेलमार्फत् जनतामाझ जानुपूर्व यसको प्रभावकारिता र प्राविधिक पक्षबारे थोरै अध्ययन गरेको भए बेस हुने थियो।
    इन्टरनेटको माध्यमबाट पठाइने सन्देशलाई इमेल भनिन्छ। सामान्यतः इमेलमा लेखिने सन्देशको लमाइ र प्रकारको कुनै सीमा हुँदैन। इमेल पठाउनेले अक्षरमात्र होइन, तस्बिर, आवाज र भिडियो पनि पठाउन सक्छन्। तर के देशको प्रधानमन्त्रीले जनताका कुरा सुन्न प्रविधिलाई नै साथ लिँदा पनि इमेल नै सबैभन्दा प्रभावकारी होला त?
    एउटा उदाहरण दिऊँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक इमेल ठेगानाको त्यति धेरै प्रचारप्रसार गरेको पाइँदैन। हालै मैले एक जना सहयोगीमार्फत् प्रधानमन्त्री कार्यालयको आधिकारिक इमेल ठेगाना इन्फो एट ओपीएमसीएम डट नीओभी डट एनपी को एक झलक हेर्ने मौका पाएको थिएँ। त्यहाँ हजारौं इमेल थिए। सर्वसाधारणका गुनासा थिए। जिल्लाजिल्लाबाट आएका उजुरी पनि थिए। तर त्यो इमेल न कसैले नियमित हेर्छ न त कसैले इमेल पठाउनेलाई सम्बोधन नै गर्छ। प्रचारप्रसारबिना नै सरकारको ठेगानामा यति धेरै इमेल आएका छन् भने अत्याधिक प्रचार प्रसारमा आएको भट्टराईको इमेलमा कति धेरै सन्देश आउलान्? आएका सबै इमेल सन्देश पढ्न भ्याइएला?
    नेपाली समाजमा निराशा र गुनासा व्याप्त छ। सँगसँगै विद्वान कहलिएका प्रधानमन्त्रीबाट जनताले चाहिनेभन्दा धेरै आशा गरेका छन्। ती आशा, निराशा र गुनासा इन्टरनेट चलाउने जनताको सानो हिस्साले मात्रै पनि प्रधानमन्त्रीलाई पठायो भने इमेलको बाढी लाग्छ। ती सबै इमेल पढ्ने फुर्सद त प्रधानमन्त्रीलाई पक्कै हुँदैन होला। प्रधानमन्त्रीका एक जना सहयोगीले छानीछानी इमेल पढेर त्यसबाट पनि छानेर प्रधानमन्त्रीलाई बताए भने बाँकी इमेल नपढिनेका लागि धोका हुनेछ। यतिमात्र होइन जसले प्रधानमन्त्रीको इमेल पढ्छ ऊ निष्पक्ष र योग्य छ भनेर कसरी थाहा पाउने?
    यस्तै, एउटा स्वतन्त्र देशका प्रधानमन्त्रीले कुनै अमेरिकी कम्पनीको नाम झुन्डिएको इमेल प्रयोग गर्नु कत्तिको शोभाजनक होला? अंग्रेजीको ब्रान्ड शब्द सरकारका लागि लागु हुन्छ कि हुँदैन? नेपाल सरकारका प्रधानमन्त्रीले आफ्नो ब्राण्ड कायम गर्नुपर्छ कि पर्दैन? प्रधानमन्त्रीले मन्त्रिपरिषद्कै वेब साइटको नाममा आफ्नो इमेल बनाउन सजिलै सक्थे। उनले जीमेल नै किन रोजेका हुन्?
    देशका प्रधानमन्त्रीले जनताका कुरा सुन्न इमेल नै रोज्नु वैज्ञानिक पनि होइन। उनले जनताको गुनासाकै लागि कुनै एउटा वेब साइट खोल्नसक्थे। त्यहाँ जनताले आफूलाई लागेको गुनासा, सुझाव र प्रतिक्रिया राख्न सक्थे। वेब साइटमा आएका जनताका विचारलाई अरूले पनि सकारात्मक अथवा नकारात्मक भोट दिन सक्छन्। सकारात्मक भोट धेरै पाएका विचार स्वतः प्राथमिकतामा पर्छन् र नकारात्मक भोट धेरै भएका विचारलाई जनताले नै हटाउन सक्छन्। प्रधानमन्त्रीले त्यहीँबाट प्राथमिकतामा परेका विषयलाई सम्बोधन गर्न सक्छन्। यसो गर्दा इमेलमा जस्तो कुन इमेल पढ्ने कुन नपढ्ने भन्ने झन्झट हुँदैन। एकैथरीका समस्या भएका थुप्रै इमेल पनि आउन सक्छन्। तर यस्तो व्यवस्थामा एकथरी समस्या भएका सबैको विचार साझा हुन्छ। प्रधानमन्त्री र उनको सहयोगीको निष्पक्षता र आग्रहमा पनि शंका उठ्दैन। धेरै जनताले रुचाएको मुद्दा प्रधानमन्त्रीको प्राथमिकतामा पर्छ। धेरैले नरुचाएका तथा व्यक्तिगत स्वार्थ र आग्रहयुक्त सन्देशलाई नकारात्मक मतदानले स्वतः पछि पार्छ। यो प्रजातान्त्रिक प्रणाली न खर्चिलो नै हुन्छ। विश्वविद्यालय पढ्ने कम्प्युटरका विद्यार्थीलाई आह्वान गर्ने हो भने निःशुल्क नै पनि तयार हुनसक्छ। वर्ल्ड लिङक र मर्कन्टाइलजस्ता ठूला कम्पनीले पनि यस्तो सकारात्मक काममा नाफा नखोज्लान्।

  • गजल वाचन

    September 9th, 2011
    एक दिन अफिसमै बस्दा एउटा ‘गजल’ फुर्याथ्यो । मलाई गजलको प्राविधिक पक्षबारे केही पनि थाहा छैन भन्दा नि हुन्छ । अरुले लेखेको गजलको शैलीलाई पछ्याएर गजल लेखेँ भन्ठान्छु । हुन त यो गजल उज्यालो एफ एमका अच्युत घिमिरेले आफ्नो चर्चित कार्यक्रम बुलबुलमा पनि वाचन गरिदिनु भएको थियो । अफिसमा आडैको कुर्सीमा बस्ने भानु बोखिमलाई पनि यो गजल मन परेछ । उनले आफ्नो आवाजमा वाचन गरेर रेकर्ड गर्ने जाँगर देखाए । पृष्ठभूमिमा हिन्दी गानाको सँगित भरेर मिक्सिङ गर्ने महान् कार्य पनि भानु जीबाटै सम्पन्न भयो । भानु जी कै आग्रहमा यसमा इन्टरनेटबाट डाउनलोड गरिएका केही तस्बिर हालेर भिडियोको रुप दिइयो र युट्युबमा हालियो । युट्युबमा मैले निकै लामो समयपछि अपलोड गरेको भिडियो हो यो ।

  • सपना टुटेर के भो

    September 7th, 2011
    सपना टुटेर के भो
    म फेरि पनि निदाइदिन्छु
    म दोबाटोमा छुटेर के भो
    म अर्कै गोरेटो भेटाइदिन्छु

    मलाई छैन चाहत
    त्यो झूटो राहतको
    यो मन फाटेर के भो
    मनै त हो फेरि सिलाइदिन्छु
    सपना टुटेर के भो

    न, भाग तिमी
    न, खोज मलाई
    दर्पण फुटेर के भो?
    म शुन्य हुँ शुन्यमै बिलाइदिन्छु
    म फेरि पनि निदाइदिन्छु ।।

    I declare this song as ‘open source’. Anybody can re-use it, edit it, sing it or make fun of it for any commerical/non-commercial purpose.

  • कठै जुम्ला

    June 23rd, 2011
    डाँफे लेकमा
    उड्दथ्यो,
    फुल्दथ्यो सपनाका गुराँसहरु

    हावा चल्दा
    नाच्दथे
    बेसीँमा धानका बालाहरु
    सुसाउँथिन् तिला
    माधूर्य बैँसमा

    पसीना पोखिन्थ्यो माटामा
    सपना फूल्दथ्यो माटैमा
    स्याउ फल्दथे गालामा

    कठै जुम्ला
    अमूर्त सपनाका दोकानहरुले
    बस्तीलाई कुरुप बनाएका छन्
    पसीना पोखिन्छ विदेशको चौकिदारीमा
    डाँफे लेकको डाँफे
    कैद छ स्नोल्याण्ड होटलमा
    जहाँ खचाखच एन जि ओ कार्यकर्ताहरु
    कथित विकटताको खेतमा
    रोप्दैछन् सपनाका विजहरु

    कठै जुम्ला
    रोपे हुन्थ्यो नि बरु
    स्याउका बोटहरु

  • सुनौली जाने बसमा

    June 3rd, 2011

    खै के खै के
    जिन्दगीबाट विरक्तिएर
    खै कता खै कता
    जान हिँडेका दुई युवती
    टोलाउँदैछन् ड्राइभर पछाडिको सिटमा
    सडक जस्तै पुरानो
    सुनौली जाने बसमा

    गोरखपुरको रेल समात्न हिँडेको एउटा ठिटो
    पहेँलो वान्ता कट्कटिएको झ्यालबाट
    आधा जिउ निकालेर बाहिर
    अन्तर्वार्ता लिँदैछ
    डेन्ड्राइट सुँघ्दै
    एक रुप्पे मागीरहेको बालकसँग
    ‘घर काँ?’
    ‘नागढुँगा’
    ‘बाउ छ?’
    ‘छैन’

    पढ्न अल्छी लागेर
    बसमा हिँडेको
    धादिङको खलाँसी केटो
    दौडिँदैछ भित्र-बाहिर
    सोच्दै होला
    त्यो फूटपाथमा हिँड्ने सबै जना
    चढेदेखि हुन्थ्यो नि
    सुनौली जाने बसमा ।

  • रातोमाटे, रिसोर्ट र सपनाहरु

    May 16th, 2011

    म मजदूर
    रातोमाटेको यो डाँडामा
    खन्दैछु कुनै रिसोर्टका जगहरु
    चुहाउँदैछु पसीना
    तप्प तप्प

     

    सम्झिन्छु
    यहि रातो डाँडामा
    रातै सपना देखेको जेठो छोराले
    रातो रगत चुहाएको थियो कुनै दिन
    तप्प तप्प

     

    तल
    बगरभन्दा अलि माथि
    मेरो छाप्रोमा
    बेथा लागेकी स्वास्नीलाई
    घिस्सार्दै अस्पताल लाँदा
    रनक्क रन्किएको बगरका राता बालुवामा
    चुहिएका थिए स्वास्नीका दुई थोपा आँशु
    र एक मुठी सास
    तप्प तप्प

     

    रिसोर्ट बन्नेछ कुनै दिन
    आउनेछन् मालिकहरु
    सपनाको दस्तावेज बोकेर
    उन्माद् चुहाउनेछन्
    रातोमाटेको यो डाँडामा
    मदिरा र वीर्य
    तप्प तप्प

     

    म मजदूर
    रातोमाटेको यो डाँडामा
    खन्दैछु कुनै रिसोर्टका जगहरु
    चुहिँदैछन् सपना
    तप्प तप्प

    —

    12/05/2011

    Kathmandu

  • देशमा केही गर्ने मन छ? इन्टरनेट चलाउनुहोस्!

    April 4th, 2011

    यहाँ पाँच तरिका छन्। यिनलाई व्यवहारमा उतारे देश विकासमा योगदान पुग्छ। यसलाई अप्ठेरो रुपमा लिनु जरुरी छैन, यी सरल र सहज सुझावहरु हुन् जसलाई प्रयोग गर्दा रमाइलो त भइहाल्छ साथसाथै एउटा समृद्ध नेपालको विश्वव्यापी पहिचान र बहुलबादको सँस्कारलाई समेत बढावा दिन्छ।

    १. नेपाललाई चिनाउने : हामी यति धनी हुँदा हुँदै पनि हाम्रा यहाँका अतुलनीय विशेषता र मनोरमबारे विश्वलाई थाहा छैन। थोरैलाई मात्र थाहा छ । सगरमाथा त चीनमा होइन? भन्ने प्रश्न विदेशमा रहेका साथीभाइले बेलाबेलामा भोग्ने गरेका छन्। इन्टरनेटमा नेपालको बारेमा लेखेर यहाँका विविधता र विशेषताका बारेमा सूचना प्रवाह गरेरे हामी हाम्रोबारे विश्वलाई थाहा दिन सक्छौं जसले गर्दा पर्यटन उद्योग बढ्न सक्छ। पर्यटन हाम्रो जस्तो देशको लागि सबैभन्दा गज्जबको उद्योग हो।

    नेपाललाई चिनाउन इन्टरनेटमा के गर्ने त ? विकिपीडिया भनिने विश्व कोषमा जो सुकैले पनि नयाँ जानकारी थप्न र विद्यमान सूचनालाई सम्पादन गर्न सक्छ। यो धेरै मानिसले इन्टरेनटबाट जानकारी लिन प्रयोग गर्ने वेबसाइट हो। यस वेबसाइटमा गर्भाधान कसरी हुन्छ भन्ने देखि ओबामाको जन्मथलोसम्बन्धी विवाद, सुगौली सन्धीदेखि माओवादी विद्रोह, आइन्स्टाइनको e=mc2 देखि कोलम्बिया डिजास्टरसम्म, हरेको विषयको विस्तृत र व्यवस्थित जानकारी राखिएको छ। एक मुनाफारहित संस्थाले खोलेको यो साइट जति चलाउँदा पनि पैसा लाग्दैन। यही साइटमा नेपालसम्बन्धी प्रमुख घटना र विशेषताका बारेमा पनि सूचना त छन्, तर अधिकांश छोटा र अस्पष्ट छन्। त्यहाँ राखिएका जानकारी हामीले पनि सम्पादन गर्न पाउँछौं। अनुभवका आधारमा पनि कतिपय कुराको बढी जानकारी तपाईं हामीसँग छ।

    त्यसैले नेपालसम्बन्धी विकिपिडियाका जानकारीहरु सम्पादन गरौं। विशेषगरी क्याम्पस पढ्ने युवा यसमा सहभागी हुन सक्छन्। अर्को कुरा, विकिपेडियामा हामी नयाँ सूचना पनि थप्न सक्छौं। जे सुकैको बारेमा लेखौं, आफू बस्ने ठाउँको बारेमा। कुनै नेताको बारेमा। समाजसेवीको बारेमा। यस्तो कुरा लेखौं जुन कुरा पढ्न अरुलाई चासो लागोस्। यसरी हामी नेपालका साना साना जानकारी पनि विश्वलाई थाहा दिन सक्छौं र नेपाललाई चिनाउन सक्छौं।

    यसमै अर्को कुरा थप्न मन लाग्यो, नेपालका कलाकार, संगीतकर्मी लगायतका सेलिब्रिटीहरुमध्ये थोरैको मात्र पर्सनल वेबसाइट छ। कला र मनोरन्जन उद्योगमा बोल्डनेस बढाउने हो भने आजै इन्टरनेटलाई पकडौं । आजकल वेबसाइट खोल्नु ठूलो कुरै होइन।

    २. रेमिटेन्स भित्य्राउने : तपालाई थाहा छ, इन्टरनरेट चलाएर डलर पनि भित्य्राउन सकिन्छ। सबैभन्दा पहिला लेख्ने बानी बसालौं। लेख्ननेहरुले पनि आफ्ना रचना इन्टरनेटमा राखौं। दुनियाँलाई देखाऔं । यसको लागि ब्लग प्रयोग गर्नु राम्रो। ब्लग लेख्दै पैसा कमाउन चाहिँ गुगलको एडसेन्स सेवा प्रयोग गर्न सकिन्छ। गुगलको विज्ञापन तपाईंको साइटमा राखिन्छ। साइट भिजिट गर्नेले ती विज्ञापनमा जति धेरै क्लिक गर्छन् त्यति नै पैसा कमाइन्छ। तपाईंको खातामा कम्तिमा सय डलर पुगे पछि तपाईं पैसा मगाउन सक्नुहुन्छ। तपाईंको ठेगानामा चेक आइपुग्छ। क्रेडिट कार्ड छ भने पे पालको प्रयोग गरी सिधै आफ्नो खातामा पैसा पाउनु हुनेछ। त्यसैले ब्लग गरौं। सके अंग्रेजीमा नसके नेपालीमा। नेपाली ब्लग पनि धेरैले पढ्छन्। तर राम्रा कन्टेन्ट हुनु पर्यो। आफ्नो जीवनचर्या देखि राजनीतिक विषय बस्तुका बारेमा ब्लग गर्न सकिन्छ। मन लागेको कुरा लेख्ने हो, चाहे हाइकु लेख्नुस् वा आणविक निसश्त्रीकरणबारे लेख्नुस्। तर मेरो व्यक्तिगत अनुभवमा व्यवसायिक र पैसा कमाउने उदेश्यले चलाउने हो भने अलि बढि बिक्ने विषय सोच्नु पर्छ। नबिक्ने विषयलाई पनि बिकाउन सक्नु पर्छ। इन्टरनेट एउटा बजार हो। जहाँ फुटपाथका पसल पनि छन्,ठूला मल पनि छन् । अब ब्लग गर्न चाहिँ गुगलकै ब्लगर सेवा लिन सुझाव दिन्छु म। यसमा एडसेन्स विज्ञापन निकै सजिलै राख्न सकिन्छ, जसको लागि तपाईंलाई कुनै प्राविधिक कुरा जान्नु पर्दैन। अनि यो ब्लग तपाईंको जिमेल एड्रेसबाट नै साइन इन गरेर चलाउन सकिन्छ। ब्लगमा मोड्युल र साइडबार पनि सजिलै राख्न सकिन्छ। एडसेन्स र ब्लगर दुबै सेवा प्रयोग गर्न एक पैसा पनि तिर्नु पर्दैन।

    लेखकले मात्र होइन, अन्य क्षमता र प्रतिभा भएकाले पनि ब्लग गर्न सक्छन्, अडियो, भिडियो, तस्बिर जे राखेर ब्लग गर्दा पनि हुन्छ ।

    ३. सरकारी निकायले ट्वीट गर्ने : सार्वजनिक चासोका विषयमा सरकारले जनतालाई सही सूचना दिनुपर्छ। प्रजातन्त्रमा पारदर्शीता हुन्छ। संचार माध्यमलाई नियमित वक्तव्य पठाइरहने सेना, प्रहरी,मन्त्रालय, आदिले ट्वीटर प्रयोग गर्नु पर्छ । ट्वीटर छिटो छरितो मात्र होइन प्रभावकारी पनि हुन् सक्छ । ट्वीटरमा सर्वसाधारणले पहिलो च्यानलबाटै सूचना पाउने भएकाले रेडियो टेलिभिजनका अस्पष्ट र अपुष्ट खबर सुनेर जनता विचलित हुनु पर्दैन । यति मात्र होइन परम्परागत फ्याक्सको प्रयोग कम गर्न सके वातावरणलाई पनि सहयोग पुग्छ । ट्वीटरको प्रयोगले सरकारी निकायका प्रवक्ताहरु सरोकारवालाहरुको पटक पटक फोन उठाउनु पर्ने हैरानीबाट पनि मुक्त हुनेछन् । यसले समय पनि जोगाउँछ । बेलायतमा हालै सरकारी कर्मचारीलाई ट्वीट गर्न निर्देशन दिइएको थियो । नेपालमा संविधान निर्माणका बेला भएकाले सभासद्हरुले पनि ट्वीटर प्रयोग गर्नु पर्छ । संविधानमा समावेश हुने मुद्धाहरुका बारेमा इन्टरनेटमै ब्यापक बहस र छलफल चलाउन सकिन्छ ।

    ४. गुड गभर्नेन्स = इ गभर्नेन्स : म त्यो दिन निकै खुसि हुनेछु, जुन दिन मैले मेरो मोटरसाइकलको कर इन्टरनेटमार्फत मेरो खाताबाट सोझै सरकारलाई तिर्न सक्नेछु । घन्टौं लाइनमा बस्नु पर्ने र दलालसँग मोलमलाइ गर्नु पर्ने झन्झटबाट मुक्ति पाउने छु । इन्टरनेटबाटै फारम भरेर हामीले जन्मदर्ता, बसाइ सराइ, विवाह दर्ता गर्न सकौं । मध्यमवर्गीय शहरीया जनसंख्या निकै ब्यस्त हुँदैछ । यो समूहले अनावश्यक झन्झटमा खर्च गर्ने समय जोगाउन सकियो भने अन्य उत्पादनशील काम गर्न सकिन्छ । बेलायतमा माइ सोसाइटी भनिने एउटा संस्था छ । यसले लोकतन्त्रलाई सहयोग गर्ने थुप्रै साइटहरु संचालन गर्छ । माइसोसाइटीको वेबसाइट मार्फत २ लाख जनताले आफ्ना सांसदहरुलाई पत्र लेखीसकेका छन् । जनताको गुनासाका आधारमा १९ हजार समस्याहरु समाधान गरिएको छ । सरकारलाई दबाब दिन यसै साइटमार्फत १ करोड भन्दा बढि हस्ताक्षर संकलन भएको छ । यहाँ पनि यस्तै प्रभावकारी ढंगले नीति निर्मातालाई दबाब दिन सकिन्छ । प्रधानमन्त्रीको कार्यालय र सबै मन्त्रालयहरुले आफ्ना वेबसाइट नियमित अपडेट गर्नु पर्यो । यस्ता वेबसाइटबाटै विभिन्न मुद्धामा जनताका राय सुझाव पनि लिन सकिन्छ ।

    ५. गाउँ गाउँमा इन्टरनेट : इन्टरनेट विलासिता होइन, आवश्यकता हो । इन्टरनेटमा बहुसंख्यक जनताको पहुँच पुर्याउन अभियान थाल्नु पर्यो । यसको सुरुवात नगर क्षेत्रका विद्यालयहरुबाट गर्न सकिन्छ । सार्वजनिक पुस्तकालयहरुमा पनि निशुल्क अथवा सस्तोमा इन्टरनेट चलाउने व्यवस्था हुनु पर्यो । गाउँमा शिक्षक नभएका विद्यालयमा इन्टरनेट पुर्याउन सकियो भने सेन्ट जेभियर्समा पढाउने शिक्षकले जाजरकोटको दुर्गम विद्यालयमा भिडियो कन्फरेन्सबाट पढाउन सक्छ । स्थानीय उत्पादनलाई सोझै बिक्री गर्न सकिन्छ ।

    र अन्त्यमा, इन्टरनेटको प्रयोग बढ्दा प्रविधि क्षेत्रमा रोजगारी बढ्छ । नयाँ रोजगारी सिर्जना हुन्छ । नेपाली सफ्टवेयर उद्योगलाई प्रोत्साहन मिल्छ । ठूला विदेशी लगानी भित्रिन सक्छन् । के था, गुगल र माइक्रोसफ्टका क्षेत्रीय कार्यालय खुल्न पनि सक्छन् । तर सबैभन्दा पहिले इन्टरनेटको प्रयोग नै बढाउनु जरुरी छ । एशियाका अन्य मुलुकको अवस्था हेर्दा जुन मुलुकमा इन्टरनेट प्रयोगकर्ता बढ्दैछन्, ती मुलुकमा आर्थिक वृद्धि दर पनि तीव्र रहेको छ ।

    इन्टरनेट एउटा यस्तो भर्चुअल दुनियाँ हो जसले अर्थतन्त्रलाई बलियो रुपमा सघाउन सक्छ । यहाँ लगानी र ठूला कुराको भन्दा पनि मोबिलाइजेशन जरुरी छ । एउटा संस्कार जरुरी छ ।

     

  • गुगल गर्ने कि !

    March 17th, 2011

    प्रश्नै प्रश्नको यो दुनियाँमा उत्तर चाहिँ गुगलसँग छ तर विशाल सूचनाको भण्डार गुगलको भरपुर फाइदा लिन केही तरिका भने जान्नै पर्छ ।

    वेब सर्चको लागि गुगल प्रयोग गर्ने संसारका कूल इन्टरनेट प्रयोगकर्ताको ८० प्रतिशतमा तपाईं पनि पर्नु हुन्छ होला । त्यसो भए तपाईंले गुगलमा धेरै जसो के खोज्नु हुन्छ ? सूचनाको विशाल डाटावेश बोकेको गुगलको सर्भरबाट तपाईंले अत्याधिक फाइदा लिनु भएको छ त? हामीमध्ये कतिलाई त गुगलबाट के के समेत खोज्न सकिन्छ, अनि सही सर्च रिजल्टका लागि कसरी सर्च गर्ने भन्ने टीप्स एण्ड ट्रीक्स थाहा नहुन पनि सक्छ । आउनुहोस् आज हामी गुगलमा केही रमाइला अनि केही ज्ञानबर्द्धक सर्च गरौं।

    १. कुन शहरमा कति बज्यो : गुगल सर्चमा एउटा उपयोगी फिचर छ । गुगलको सर्च बक्समा time टाइप गरेर शहरको नाम टाइप गर्यो भने त्यो शहरमा अहिले कति बज्यो भनेर थाहा पाउन सकिन्छ । जस्तै मलाई यतिखेर टर्कीको इस्तानबुलमा कति बज्यो भनेर थाहा पाउन मन लाग्यो । म गुगलको सर्च बक्समा time Istanbul टाइप गरेर इन्टर हान्छु । गुगलले मलाई इस्तानबुलको अहिलेको समय यसरी देखाइदिन्छ :

    यसैगरी इस्तानबुलको ठाउँमा अन्य शहरको नाम हालेर तपाईं पनि ट्राइ गर्नुस् । काठमाडौंकै हेर्दा पनि हुन्छ । अब संसारको कुनै पनि शहरको समय थाहा पाउनु तपाईंले टाइम डिफरेन्सलाई जोड घटाउ गरिरहन परेन । न त कुनै सफ्टवेयर नै चाहियो ।

    २. क्याल्कुलेटर : इन्टरनेटमा बस्दा बस्दै दिमागले गर्न नसक्ने तर सामान्य हिसाबकिताब गर्नु पर्यो भने पनि गुगललाई नै सम्झनुस् । जस्तो मलाई ६ सय १ को ३३ प्रतिशत कति हुन्छ भनेर थाहा पाउन मन लाग्यो । गुगलमा जाने, सर्च बक्समा टाइप गर्ने 33% of 601 । गुगलको इन्जिनले तत्काल हिसाब गरेर नतिजा दिन्छ ।

    यी बाहेक गुगलमा तपाईं गणितका जोड (+), घटाउ (-), गुणा (*), भाग (/) प्रयोग गरेर सामान्य क्याल्कुलेशन गर्न सक्नु हुन्छ ।

    गुगलकै प्रयोग गरी तपाईं तौल, वजन, लम्बाइ जस्ता मापनहरुको एकाइको पनि ज्ञान लिन सक्नु हुन्छ । मलाइ मेरो उचाई फिटमा थाहा छ तर मिटरमा थाहा छैन । मलाई मिटरमा थाहा पाउन मन लाग्यो भने अल्मलिनु पर्दैन । गुगलको सर्च बक्समा गएर 5.8 feet in meter टाइप गरेपछि गुगलले नै हिसाब गरेर मेरो उचाइ मिटरमा देखाइदिन्छ । यसरी :

    यसैगरी तपाईं औंसमा कति ग्राम हुन्छ (ounce in gram), निश्चित माइलमा कति किलोमिटर हुन्छ (250 miles in kilometer)जस्ता धेरै कुरा गुगलको सर्च बक्समा टाइप गरेर इन्टर हानेकै भरमा थाहा पाउन सक्नु हुन्छ ।

    ३. मौसम : अहिले काठमाडौंको तापक्रम कति छ ? भोलि घाम लाग्ला कि बादल ? अब मौसमसम्बन्धी भरपर्दो जानकारीका लागि अन्त कतै धाउनु पर्दैन । यसको समाधान पनि गुगलमै छ । गुगलमा जाने र सर्च बक्समा weather टाइप गरेर शहरको नाम हान्ने । आउनुस् काठमाडौंकै मौसम हेरौं । weather kathmandu गुगल गर्दा यस्तो नतिजा आउँदो रहेछ । तापक्रम, हावाको गति, आद्रता मात्र होइन आउँदा ३ दिनका मौसम भविष्यवाणी समेत गुगलले सबैभन्दा माथि नै सचित्र देखाइदिन्छ ।

    थुप्रै वेबसाइटको पेज भिजिट गरी गरी थाहा पाउनु पर्ने सूचनाहरु गुगलको एउटा सानो सर्च बक्सले एउटै पेजमा केही समयमा नै देखाइदिन्छ । काठमाडौंको मौसम त देखाउन त गुगललाई शुन्य दशमलव २३ सेकेण्ड मात्र लाग्यो रे । सूचना खोज्ने यो भन्दा सही र छिटो तरिका अरु केही होला त ।

    ४. शब्दकोष अर्थात डिक्स्नरि : काम गर्दा होस् या गफ गर्दा अंग्रेजी नभई हुन्न । हाम्रो दोस्रो भाषा अंग्रेजीका थुप्रै शब्दको अर्थ हामीलाई थाहा छैन । यसको लागि चाहिन्छ डिक्स्नरी । व्यक्तिगत कुरा गर्दा मेरो टेबलमा डिक्स्नरी पनि छैन, न त कम्प्युटरमा कुनै डिक्स्नरीको सफ्टवेयर नै छ । न त म कुनै अन्य अनलाइन डिक्स्नरीमा शब्दको अर्थ खोज्छु । म त अंग्रेजी शब्दको अर्थ हेर्न गुगल प्रयोग गर्छु । गुगलको सर्च बक्समा जाने define टाइप गरेर दुईटा थोप्लो (: कोलोन) हान्ने र अर्थ खोज्नु पर्ने शब्द टाइप गर्ने । गुगलले उक्त शब्दको अर्थ थुप्रै डिक्स्नरीबाट खोजेर एउटै पेजमा देखाइदिन्छ । जस्तै मैले गुगलमा define:military सर्च गर्दा यस्तो रिजल्ट आयो :

    ५. आफ्नै नाम : गुगलमा आफ्नै नाम सर्च गर्दा पनि रमाइलो हुन्छ । फाइदा पनि छन् । पब्लिसिटी र प्राइभेसी । यी दुबै कुरामा तपाईंको रेटिङ कस्तो रहेछ भन्ने थाहा पाउन आफ्नै नाम गुगल गर्ने । तपाईं फाट्टफुट् ब्लगिङ गर्नुहुन्छ, सोसल नेटवर्किङ मन पराउनु हुन्छ, तपाईंका खुबी र क्षमताका प्रचार र पहिचानमा ध्यान दिनुहुन्छ भने एकपटक आफ्नै नाम हानेर सर्च ठोक्नुस् । तपाईंका नाम जोडिएका कन्टेन्टहरुको मजा लिनुस् । थाहा पाउनुस् तपाईं इन्टरनेट संसारमा कत्तिको पपुलर हुनुहुन्छ ।

    अब प्राइभेसीको कुरा तपाईंलाई आफ्नो अनावश्यक चर्चा मन पर्दैन, गोप्य जीवन मन पराउनु हुन्छ भने तपाईंले आफ्नो गोपनीयता कुन हद सम्म कायम छ भनेर थाहा पाउनु आफ्नै नाम गुगल गर्न सक्नु हुन्छ । यदि तपाईंको इच्छा बिपरित तपाईंका व्यक्तिगत जानकारी, इमेल ठेगाना, फोन नम्बर र तस्बिरहरु कहिँ कतै सार्वजनिक भएका छन् भने तपाईं त्यसलाई हटाउने बाटो अपनाउन सक्नुहुन्छ । त्यसैले गुगलमा आफ्नै नाम सर्च गर्दा रमाइलो पनि हुन्छ फाइदा पनि हुन्छ ।

    र अन्त्यमा... माइक्रोसफ्ट, याहु, गुगल, या अन्य कुनै बहुराष्ट्रिय कम्पनीमा कुनै दिन जागिरको लागि अन्तर्वार्ता दिन जाँदा तपाईं सामू कठीन प्रश्न सोधियो भने तपाईं आत्तिनु पर्दैन र त्यसको उत्तर आउँदैन समेत नभन्नुस् । बरु निर्धक्क भएर भन्नुहोस्, ‘आइ क्यान गुगल द्याट (म त्यसबारे गुगल गर्न सक्छु) । मलाई लाग्छ परिवर्तित विश्वका ह्युमन रिसोर्सेज म्यानेजरहरुलाई यो जवाफ चित्त बुझ्नेछ ।

    यो ब्लग www.nagariknews.com मा प्रकाशित भएको थियो

  • A day off

    March 11th, 2011
    A day off from office, I am fighting with the lazy day in my flat outside the ring road. Ring road is a 20 miles long road that surrounds this crowded city. It has also helped the expansion of the crowd of the city. Ring road has been a status symbol for the neo urban people of this city. So where do you live? Somebody would ask me. I would say sukedhara….hmm what dhara? Is it inside or outside ring road? People inside the ring road think there is no Kathmandu outside ring road. New people who want to settle in kathmandu or want to begin their business prefer to be not far from ring road,

    In recent years the real estate business in Kathmandu has taken it’s being in unprecedented way…..I will continue later.

    I am starting this note again nearly after 5 hours. It is the last week of February. It started raining all of sudden. There is this roof of tin over the ladder of this house. And the rain fall on the tin is creating a loud music of drum. Well, just before i started writing this i was standing at the door, watching a plane in the middle of the cloud. The angle and rotation of this small domestic airline hinted me that it was about to land on the runway, which is not so far from this place. I was wondering how pilot would tackle the rain and all other challenging weather.

    To be honest, I have many times thought about seeing a plane crashing down live. That’s why i watch each and every planes in the sky when i hear it’s sound. I have a big interest in airplanes since my childhood, so my small brother had.

    I think, I was in grade five or six and my brother was three years younger than me. In my hometown, about 30 miles south of Kathmandu, we rarely saw airplanes. In a fine weather, we used to see small images of aircraft flying very high on the sky. We, along with other children if my age would run on the street, watching over the sky and saying ‘airplane…..airplane’

    My small brother always used to ask me a question, ‘dai, how does airplane fly?’ poor me, i had no answer. In our government school we were taught abcd at the fourth grade, how could i know how does an airplane fly? We did not have google at that time, we did not have television at that time, the only media we did have access to was radio Nepal, on which i remember i only used to listen patriotic songs and news.

    But the question of my brother was not going to stop. Whenevr we saw airplane in the sky, he started asking the same question, ‘how does airplane fly’.

    Later, i started to cook my own answer. I used to tell him that, inside a airplane there is a big gear kind of thing, when the pilot takes the gear forward, the plane goes forward,, when the pilot pulls the gear upward the plane comes up and so on…..thank god my brother never asked what happens to the plane when the gear is pulled back.

    My random how does stuff work proved somehow to be true, i kinda knew later in my life, how does airplane work.

←Previous Page
1 … 3 4 5 6 7 … 10
Next Page→

Proudly powered by WordPress