कविताहरु

मजदुर र मट्टीतेल

मेरो जहानका आँशुले
चुलो बल्ने भए
कति जाति हुन्थ्यो
किन्नु पर्दैन थियो त्यो महङ्गो मट्टीतेल

पसलेले
मस्यौरा पोको पारेर दिएको अखबारमा
छापिएका हत्यारा मन्त्रीका
भँगेरे अक्षर समाचारले
कुनै अर्थ राख्दैन मलाई
केवल अर्थ राख्छ
बहिनीलाई हात हाल्न खोज्ने
पुलिसलाई चड्काएको निहुँमा
खोरमा सडाइएको छोरोको सम्झनाले
जसको यादमा
यसपालिको दशैं भिज्यो

जहानको आँशुले पनि अर्थ राख्थ्यो होला
शायद,
त्यो आँशु नभएर मट्टीतेल भएको भए
यसपालि दशैंमा
मेरो घरमा पनि चुलो बल्थ्यो कि !

Kamal Kumar is a Journalist. Currently he works for Herne Katha.

Leave a Reply

Your email address will not be published. Required fields are marked *