• होम
  • कविता
  • यात्रा
  • पत्र
  • कथा
  • गन्थन
  • लेख
  • Poems
  • Letters
  • Musings
  • Travel
  • Video

Musings by Kamal Kumar

  • आउनेछ त्यो दिन

    February 15th, 2012
    आउनेछ त्यो दिन
    जहाँ पड्किनेछन् ट्वीटहरु
    बहिराको नक्कल गर्नेका
    फुट्नेछन् कानका जालीहरु

    आउनेछ त्यो दिन
    जहाँ भित्ताभरि पोतिनेछन्
    अन्धाले पनि देख्न सक्ने
    गाढा, चम्किला रङहरु
    र पोल्नेछ केवल रङको रापले

    त्यो दिन पक्कै आउनेछ
    जब भन्न सक्छौं
    कालो कालो नै हो
    सेतो सेतो नै हो
    पक्कै आउँछ त्यो दिन
    जुन दिन जङ्गबहादुरले
    सिधा रुखलाई बाङ्गो भन्ने छैन

    त्यो दिन
    सुनिने र देखिने भएर आउँछ
    जहाँ भीड र झण्डाले होइन
    आन्दोलन गर्नेछन्
    अक्षरहरुले
    साँच्चै पड्किनेछन् ट्वीटहरु
    रङ्गिनेछन् फेसबुकका भित्ताहरु

    त्यो दिन
    उठ्नेछन् आवाजहरु
    भाते स्वार्थभन्दा धेरै माथि
    खकार झैं चिल्ला र घीनलाग्दा सम्बन्धभन्दा
    धेरै धेरै माथि

    जहाँ सत्य जस्तै झूठ हुनेछैन
    जहाँ सत्य झूठ जस्तै हुनेछैन ।।

    फेब्रुअरी १५, २०१२ काठमाण्डु

  • सुन्दर, अति सुन्दर

    January 17th, 2012
    तिमी सँगै हुनु कति सुन्दर
    तिमी नहुनु झनै सुन्दर
    तिम्रो याद अति सुन्दर

    सम्झिनु कति सुन्दर
    सम्झिँदै हराउनु झनै सुन्दर
    हराउँदै सम्झिनु त अझै सुन्दर
    बिर्सिएको सम्झना अति सुन्दर

    सपना कति सुन्दर
    सपनाको कल्पना झनै सुन्दर
    सपनामा तिमी भए अझै सुन्दर
    सपना झैं लाग्ने सम्झना सुन्दर

    बोल्दा खेरि कति सुन्दर
    नबोल्दा त झनै सुन्दर
    मनले बोल्दा अति सुन्दर
    आँखाको भाका अझै सुन्दर

    पहाड सुन्दर
    नदी सुन्दर
    धर्ती सुन्दर
    आकाश सुन्दर
    त्यो आकाशमुनि तिमी सुन्दर
    तिमीसँगै म भए झनै सुन्दर
    नभए नि कल्पना सुन्दर

    तिमी सुन्दर
    म सुन्दर
    सँगै भए संसार सुन्दर
    नभए नि सपना सुन्दर
    सपना झैं लाग्ने जिन्दगी सुन्दर

    जनवरी १७, २०१२, काठमाण्डु

  • Bio of a Dog

    January 15th, 2012

    I was born as a typical Nepali street dog, somewhere near Chitwan National Park. I do not remember my birthday. But my god-parents have given me a birthday.

    January 11, 2012 was just another cold night in Saurha. Restaurants were crowded with tourists, there were music, alcohol, food, and fire. Nobody would see me or care me. I lost my parents. I was trying to live with thrown leftovers and whatever I could find to eat. I had wounds, scratches and lots of leeches all over my body.

    Life was a misery. And I had stopped crying. For few days I cried a lot but nobody cared.

    Suddenly some boys and girls came and picked me just to say hello. They held me for few minutes on their warm lap. Later they tried to leave me where they found me earlier, near a restaurant in the beach. They thought that I belong to the restaurant owner.

    But the restaurant owner did not allow them to leave me there, claiming that I do not belong to them. Those 4 guys did not have any option except taking me with them. Finally they did. And I was happy. Because I had already thought they were good; the way they handled me. Nobodoy (I mean no human being) carried me like that earlier in my life.

    First they gave me lots of milk and bread to eat. I never got that much food to eat. I spent that night in a warm hotel room. The next day I flied to Kathmandu with one of them.

    I am happy now. But there are so many other abandoned street dogs in my place. I hope people would treat them humanely.

    And yes, I know that Mark Zuckerberg has got a dog named Beast. She has got a facebook page with more than 400 thousand likes. One of my god parents thought why not create a facebook page for me too? So.. I am here. Like me 😛

    Follow the link to like me: https://www.facebook.com/pages/Sabika/284839254908360?sk=wall

  • I Forget

    January 6th, 2012
    I am happy
    happier than I look
    you see,
    I am sad
    Sadder than I look

    I forgive more than I do
    I forget
    more than I remember,
    you remember.

    I forgive god for their cruelty
    I forgive devils for their kindness
    I even forgive politicians of my country.

    I forget
    the color of my skin,
    your skin,
    my blood,
    your blood,
    my flag,
    your flag,
    my sky,
    your sky.
    I forget the size of the universe
    shape of the earth,
    I forget
    wars,
    I forget bodies,
    I forget bloods,
    I forget more than I remember

    I love
    more than I do
    you feel.

    I revolt
    I raise
    I rise
    I rage
    more, more than I do
    more than you see,
    they feel.

  • एउटा युद्धको अन्त्य

    December 24th, 2011
    घाँटीमा पावरदार चश्मा । हिँड्दा डुल्दा उस्तै पावरदार क्यामेरा पनि झुन्ड्याउने, वन जंगल शयर गर्न रुचाउने, चरा चुरुङ्गीका तस्बिर खिचेर फेसबुकका एल्बममा राख्न रुचाउने नेेपालस्थित अमेरिकी राजदूत स्कट एच डेलिसी । उनलेफेसबुक स्टाटसमार्फत् नेपालका नेताहरूलाई हिंसात्मक विरोध नगर्न र बन्द नगर्न गरेका आग्रह । महामहिमका तिनै भाइरल स्टाटसबाट दिव्यज्ञान पाएर राष्ट्रिय अखबारहरू रंगीन भएर चिया पसल र फेसबुकमा यो साता फैलिए । त्यही बेला काठमाण्डुबाट सीधा नाप्ने हो भने २ हजार ५ सय माइल पश्चिम इराक भन्ने देशमा झन्डै ९ वर्ष युद्ध गरेको त्यही अमेरिकी सेनाको अन्तिम टुकडी मध्यरातमा सीमा नाघेर कुवेततिर छिर्दै थियो । यो आइतबार एक्काईसौं शताब्दीको पहिलो र ठूलो युद्धको ‘अन्त्य’ हुँदै थियो ।

    अंग्रेजीमा ‘प्याराडक्स’ भन्ने एउटा शब्द छ । नेपालीमा ठ्याक्कै उल्था गर्दा विरोधाभासपूर्ण भन्न मिल्छ । उदाहरण दिने हो भने अमेरिकी राजदूतको चेतावनीयुक्त स्टाटसलाई लिन सकिन्छ । जसको सरकारले मध्यपूर्वको एउटा सार्वभौम मुलुकमा ९ वर्षसम्म बमबारी गरेर न हार न जित न त उद्देश्यै बिनाको युद्ध लड्यो त्यो देशका एक कूटनीतिक अधिकारी आफ्नै गल्ती र इतिहासबाट पाठ सिक्दै गरेको एउटा सानो प्रजातान्त्रिक मुलुकका नेताहरूलाई फेसबुक स्टाटसकै भरमा नाकाबन्दीको शैलीमा चुनौती दिइरहेका थिए । अहिले बन्द हडतालको समीक्षा र राजदूत डेलिसीको आलोचनालाई छाडेर ९ वर्ष अगाडि, सन् २००३ तिर लागौं ।

    मार्च महिनाको २० तारिख, एकाबिहानै अधिकांश इराकीहरू सुतिरहेका थिए । उनीहरूको गहिरो निद्रालाई अमेरिकी युद्ध विमानका आक्रमण र बमबारीले बिथोलिदियो । इराक आक्रमणको सुरुवात र अमेरिकी सेनाको अन्तिम टुकडी फर्किने बेला समय एउटै थियो । केवल तरिका फरक थियो । अमेरिकी सेनाले युद्ध सुरु गर्दा इराकीहरूको निद्रा बिथोलिदियो । युद्ध सकेर फर्किने बेला, ठीक विपरीत अमेरिकी सेना यसरी लुसुक्क फक्र्यो कि उनीहरूसँगै काम गर्ने इराकी सुरक्षाकर्मीहरूले समेत ब्रह्ममुहूर्तमै अमेरिकी सेनाले आफ्नो देश छाडेको थाहा पाएनन् ।

    पेन्टागनले प्रेस वक्तव्यमा उल्लेख गर्ने कारण त ‘सुरक्षा’ नै होला । तर कुनै समय आफ्ना पौने २ लाख जवान मरुभूमिको रणभूमिमा उतारेको अमेरिकी सेनासँग उल्लास मनाउने कुनै कारण नै नभएर त्यो बहिर्गमन शान्त भएको हो भन्दा

    अत्युक्ति नहोला ।

    कज एन्ड इफेक्ट । अर्थात् कारण र परिणामको कोणबाट हेर्ने हो भने इराक युद्ध जनयुद्ध थिएन, सीमा विवादमा दुई देशबीच भएको युद्ध थिएन, जनता जागेर तानाशाहविरुद्ध गरिएको युद्ध थिएन । विवरणहरूका अनुसार सद्दाम हुसेनसँग आमविनाशकारी हतियार भएको आशंकाकै भरमा यो युद्ध सुरु गरिएको थियो । ९ वर्षसम्म चलेको युद्धमा त्यस्ता आमविनाशकारी हतियार कहिल्यै भेटिएन । अमेरिकी सेना मात्रै ४५ सय मारिए । इराकी जनता कति मारिए अमेरिकी सेनाले रेकर्ड राखेन । अमेरिकी सैन्य जनरलले भनेका नै थिए, ‘इराक युद्धमा हामी लास गन्दैनौं ।’ स्वतन्त्र संस्थाहरूका अनुसार सवा १ लाख मारिए । तर जति मारिए हरेक पाँच जनामा ४ जना गैरसैनिक मारिए ।

    रिपोर्टहरूका अनुसार, इराक युद्ध चरममा पुगेका बेला झन्डै ७० प्रतिशत इराकीले भनेका थिए, ‘सद्दाम हुसेनको कार्यकालमा भन्दा अमेरिकी सेनाको कार्यकालमा बढी असुरक्षित महसुस गर्छौ ।’ अमेरिकी सञ्चारमाध्यममा छापिएका तथ्यचित्र हेर्दा पछिल्लो समय इराकमा मान्छेहरू साँझमा अलि बढी समय बाहिर बस्न थाले, विमानस्थल र अति सुरक्षित गि्रन जोनमा बम थोरै पड्किन थाले, इराकको तेल उत्पादन र निर्यात अलिकति भए पनि बढ्यो ।

    देखिने र ठूलो परिवर्तनचाहिँ के हो भने इराकले जननिर्वाचित सरकार पायो । अझ त्यसमा पनि सरकारको अस्थिरता र अल्पसंख्यकको प्रतिनिधित्वको प्रश्नलाई घटाउने हो भने मात्र । तर के यो अपूरो परिणामका लागि ४५ सय अमेरिकी सेना, लाखभन्दा बढी इराकी जनता र १ सय खर्ब अमेरिकी डलरको बलिदान बढी भएन र ? युद्ध उच्च बिन्दुमा पुगेका बेला इराकमा १ लाख ७० हजार अमेरिकी सेना तैनाथ थिए । ५०० भन्दा बढी सैन्य आधार शिविर थिए ।

    अर्को वर्ष चुनाव हुँदै छ अमेरिकामा । इराक युद्धप्रति अमेरिकी राष्ट्रपति बाराक ओबामा पनि बडो सन्तुलित देखिन थालेका छन्, ‘इराक युद्ध विवादास्पद रह्यो तर हाम्रा सेनाले एउटा सार्वभौम, स्थिर र स्वावलम्बी इराक निर्माण गरिदिएका छन् ।’ राजनीतिक शब्दावलीमा ओबामाका शब्दहरूले गहिरा र ठूला अर्थ राख्छन् होला तर थुप्रै इराकीका लागि यो युद्धको अर्थ विनाश, विछोड, वेदना, वियोग रह्यो ।

    सुरुवातदेखि नै अमेरिकी त्रुटिको सिकार भयो इराक । जब जर्ज डब्लु बुसको आदेशमा सन् २००३ को मार्च २० तारिख एकाबिहानै राजधानी बग्दादका ‘निश्चित सैन्य इलाकामा’ बमबारी सुरु भयो, अमेरिकी गुप्तचरका गलत सूचनाका कारण सद्दाम लुकेको आशंकमा निहत्था किसानहरूको बस्तीमा बम खसाइयो ।

    अमेरिकी ट्याङ्कहरूलाई बग्दादका गल्लीगल्लीमा दौडिन एक महिना पनि लागेन र बग्दादस्थित सद्दाम हुसेनको सालिक ढालियो । जर्ज डब्लु बुस दंग थिए । तर उनी ‘अगाडि अझै खतरा देख्थे’ । आक्रमण सुरु भएको दुई महिनामै तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसले क्यालिफोर्नियास्थित एक सैन्य आधारमा आयोजित विजय सभालाई सम्बोधन गरे । तर उनले युद्ध अन्त्य भएको घोषणा गरेनन् । किनभने अमेरिकाले आधिकारिक रूपमा इराक युद्धको घोषणा कहिल्यै पनि गरेको थिएन ।

    आमविनाशकारी हतियार बोकेका भनिएका सद्दाम हुसेनलाई अमेरिकाले त्यही वर्ष बडो दयनीय अवस्थामा पक्राउ गर्‍यो । युद्ध अपराधको अभियोगमा सन् २००६ मा सद्दामलाई झुन्ड्याएर मारियो । सन् २००४ पछि इराक झन् बिथोलियो । जातीय विद्रोही संस्थाहरू सशस्त्र युद्धमा उत्रिए । इराकी-इराकी लड्न थाले । आत्मघाती बमहरू पड्किए । युद्धका बिभत्स घटना र दुव्र्यवहारका तस्बिर सार्वजनिक हुन थाले । र बाँकी इतिहास भए ।

    सन् १९४५ मा दोस्रो विश्वयुद्ध सकिएपछि मुख र मन अमिलो बनाउने युद्धका बिभत्स सम्झनालाई बिर्सने चेष्टा भयो । शान्ति भन्ने शब्दले ठूलै प्लेटर्फम पायो । बडाबडा देश मिले र वाचा गरे संसारले जति युद्ध देख्नु थियो देख्यो । अब पाउने पुस्ताले युद्धको त्रासदी झेल्नुपर्ने छैन । सबै मिलेर संयुक्त राष्ट्रसंघको बडापत्रमा लेखे पनि ‘…मानव जातिको जीवनकालमा दुईपटकसम्म कहिल्यै वर्णन गर्न नसकिने दुःख ल्याएको युद्धको चपेटाबाट भावी पुस्तालाई जोगाउन …’ लाग्यो संसारले अब कहिल्यै युद्ध देख्ने छैन । तर इराक युद्ध त दोस्रो विश्व युद्धभन्दा पनि लामो पो भयो त ।

    राष्ट्रपति ओबामाका लागि इराक युद्ध घाँडो सावित भयो । यो त्यही युद्ध थियो जसको उनले खुलेर विरोध गरेका थिए र प्रमुख चुनावी मुद्दा बनाएका थिए, सन् २००८ मा राष्ट्रपति बन्नुअघि । तर गएको अक्टोबरमा युद्ध सकिएको औपचारिक घोषणा गर्दा अमेरिकी सेनाको बागडोर उनको हातमा थियो ।

    आफैंले कडा विरोध गर्ने युद्धमा लडेका अमेरिकी सेनाको तारिफ कसरी गरे होलान् उनले ? लहडमा युद्ध सुरु गरिदिएका तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुस न्युयोर्क टाइम्सको सम्पादकीय पढ्दै कतै बल्छी थापेर माछा मारिरहेका बेला, त्यही युद्धको घनघोर विरोध गर्ने ओबामा राष्ट्रपतिको रूपमा त्यही युद्धको बचाउ गर्न व्यस्त थिए, बडो कन्फ्युजिङ मुद्रामा । सायद यही हो अंग्रेजीको ‘प्याराडक्स’ र नेपालीको विरोधाभासपूर्ण ।

    इराकका केही प्रमुख सहरमा बिजुली, बाटो र बजार सामान्य भएका छन् । सद्दाम हुसेनको पालामा जस्तो अल्पसंख्यक सुन्नी समुदायका सम्भ्रान्तहरू मात्रै सरकारमा छैनन् । केही इराकी जनता र अमेरिकी सेना इराक युद्धको यो महान् उपलब्धिप्रति गर्व गर्छन् । एउटा फरक पाटो के छ भने, सद्दाम हुसेनको पालामा इराकी जनता बग्दादको कुनै ठूलौ चोकमा भेला भएर ‘सद्दाम मुर्दावाद’ भन्न सक्दैनथे । तर अहिले हरेक शुक्रबार सयौं जनता धर्मगुरुको प्रवचन सुनेपछि ढुक्कसँग ‘अमेरिका मुर्दावाद’ भन्न सक्ने भएका छन् ।

    आइतबार बिहानै २ सय माइलभन्दा लामो राजमार्गमा बिस्तारै गुडेका माइनप्रुफ ट्याङ्कभित्र बसेका ५०० अमेरिकी सैनिकहरू कुवेती सीमातर्फ गइरहँदा उनीहरूको लस्करलाई थुप्रै शक्तिशाली हेलिकोप्टरले सुरक्षा दिएका थिए । अमेरिकी सेनाले ठाउँठाउँमा सडक वरपर रहेका फोहोरका थुप्रो हटाउन स्थानीय अगुवाहरूलाई पैसा दिएको थियो । ताकि ती फोहोरको डङ्गुरमा सैनिक लस्करलाई लक्षित गरी विद्रोहीहरूले बम नराखुन् ।

    बितेका ४० वर्षदेखि इराक संसारकै सबैभन्दा अस्थिर मुलुक रहँदै आएको छ । १९७० मा इराकमा राजा फाल्न सद्दाम हुसेनलाई सघाएको अमेरिकाले दोस्रो खाडी युद्धमा त्यही सद्दाम शासनविरुद्ध हमला गर्‍यो । स्रोत र साधनमा त्यति कमजोर नभएको र संसारकै चौथो तेल उत्पादन गर्न सक्ने इराकलाई अहिले केवल भाग्यको खाँचो छ । अमेरिकी राष्ट्रपतिहरूलाई त के छ र युद्ध सुरु गरिदिन्छन्, कार्यकाल सकिन्छ अनि बल्छी बोकेर माछा मार्न हिँड्छन् र बाँकी सबै इतिहास हुन्छ ।

    प्राचीन ग्रीक दार्शनिक एस्किलसले भनेका थिए, ‘इन वार, ट्रुथ इज द फस्र्ट क्याजल्टी’ -युद्धमा सबैभन्दा पहिले सत्य मारिन्छ) ।

    कान्तिपुर कोसेलीमा प्रकाशित

  • सम्झना दिदी र नेपाल बन्द

    December 19th, 2011
    थानकोटमाथिको तामाङ बस्तीबाट
    एकाविहानै
    सम्झना दिदी
    मुल सडकतिर फटाफट झरिरहँदा
    आमाको सुकेको छाती
    अघाउन्जेल चुस्न नपाएको
    काखे छोरोको अतृप्त रुवाइ
    बाक्लो हुस्सुबीच पातलिँदै जान्छ,
    पर सडकमा
    अलिअलि घाम पोखिन्छ
    देखिन्छन् नौला मान्छेहरु
    टायर बलेर निस्केको धुँवाको मुस्लो,
    रङ्गीन झन्डाहरु
    र प्रायोजित नाराको समिश्रणमा
    मनमनै  अर्थ खोज्दै
    सम्झना दिदी छोरोको सम्झना बोकेर
    एकनाश चालिरहन्छिन् पाइलाहरु ।

    २ घन्टा १७ मिनेट
    लगातार हिँडेपछि
    नारायणचौरको साहुको अफिसको
    चिसो सिँढीमा थचक्क बस्छिन् सम्झना दिदी
    कापकापबाट निस्केका ताता पसीना
    सेलाउँछन् बिस्तारै
    चिस्याउँछन् भित्रैदेखि सम्झना दिदीलाई
    शीतको थोपा सरी

    घरैघरैको जंगलपारि
    उठेका धुवाँका काला मुस्ला हेर्दै
    बेलाबेलामा सुनिने गस्तिका साइरनसँग झस्किँदै
    सम्झना दिदी दिनभरि उमालिरहन्छिन्
    फिक्का चिया
    र छोरोको सम्झना ।

    सम्झना दिदी
    फटाफट पाइला चाल्छिन्
    नेपाल बन्दको साँझ
    उनलाई थानकोटमाथि पुग्नुछ हिँडेर
    चुक पोखिएका अँध्यारा सडकमा
    जँड्याहा,
    फटाहा,
    लुटेरा,
    भुस्याहा कुकुर
    र प्रहरीबाट
    जोगाउनुछ सम्झना दिदीले आफूलाई
    २ घन्टा १७ मिनेट हिँडेर
    पुग्नुछ थानकोट
    र चुसाउनुछ अतृप्त छोरोलाई
    सुकेका छाती ।

  • एउटा पुरानो कविता

    December 8th, 2011
    एउटा पुरानो कविता
    लेखिएको थियो बादलको धर्कामा
    देखिएको थियो जुनमा
    पोखिएको थियो
    घाम डुब्नै लाग्दा
    क्षितीजभरि

    कोरेको थिएँ तिम्रो तस्बिर
    शब्द शब्दमा
    हाँस्दा हाँस्दै
    तप्प झरेका दुइ थोपा आँशुको मसीले,
    नापेको थिएँ सपनाको दूरी
    मायाको कसीले

    गुनगुनाउँदै
    ‘कोरा कागज था ये मन मेरा’
    लेखेको थिएँ तिम्रै नाम
    आकाशजस्तै फराकिलो मुटुमा
    देखेको थिएँ तिम्रो तस्बिर
    मुटु जस्तै फराकिलो आकाशमा

    तिम्रा ओठ, आँखा, परेली
    र कान नजिकैबाट
    तर्ल्याङ तुर्लुङ झरेका
    कपाललाई
    पालैपालो चुमेका हावाले
    कान नजिकै आएर
    खुसुक्क केही भन्दा
    ज्वलन्त फुरेको थियो त्यो पुरानो कविता
    मनको कुनै कुनामा

    याद छ अलिअलि
    अझै छ धमिलो तस्बिर
    बादलका धर्का जस्तै शब्दहरुको
    सम्झनाको एउटा कुनामा
    सम्झना भएर बसेको छ
    एउटा पुरानो कविता ।।

  • जसले बोल्दा आगो बल्छ

    November 26th, 2011

    नाकको दाहिने पटि छेडेर झुन्ड्याइएको चाँदीको पातलो मुन्द्रि । गहीरा हरिया आँखा । बादलजस्ता झाँगिएका लामा, काला केश । रहस्यमयी अनुहार । अनि साइज जिरो शरिर । २३ वर्षकी क्यामिला भ्यालेजोको सुन्दरतालाई एक शब्दमा वर्णन गर्ने हो भने ‘खतरनाक’ भन्ने शब्द नै चाहिन्छ । तर क्यामिलालाई जिउडालले भन्दा पनि अर्कै कुराले धेरै सुन्दर बनाएको छ । त्यो यस्तो सुन्दरता हो जुन एक जुगमा एक चोटि आउँछ । उथलपुथल लिएर आउँछ । वाद र अपवादहरुलाई विथोल्दै आउँछ ।

    इन्टरनेटमा गुगलमार्फत खोज्ने हो भने क्यामिलाबारे पछिल्ला २४ घन्टामा मात्रै झण्डै ८० हजार पृष्ठ लेखिएका छन् । ट्वीटरमा क्यामिलाका ३ लाख ४० हजार फलोअर्स छन् । एक वर्ष अगाडिसम्म क्यामिला विश्वविद्यालयका अन्य साधारण युवतीहरु जस्तै थिइन् जो टाइट जिन्स र खुकुलो टिसर्ट लगाउँथ्यो । जसलाई सडकमा प्रहरीसँगको मुठभेडमा भन्दा कुनै फेसन सो मा बढि सुहाउँथ्यो । तर क्यामिला अचानक यसरि देखिने र सुनिने भइन् जसले ल्याटिन अमेरिकाको सबैभन्दा विकसित र व्यवस्थित मुलुकलाई एक्कासी हल्लाइदियो ।

    अगस्टमा क्यामिलाको नेतृत्वमा चिलीले तीस वर्षयताको सबैभन्दा विशाल प्रदर्शन देख्यो । ८० को दशकको अन्त्यतिर अगस्टो पिनोसेको १७ वर्षे तानाशाह निभ्नै लाग्दा चिलीका सडक राता भएका थिए । तीस वर्षअघिको क्षण सम्झाउने आन्दोलनको नेतृत्व यसपटक एउटी कलिली ठिटीले गरेकी छिन् । आन्दोलनको प्रमूख मुद्धा शिक्षा भए पनि देख्ने–बुझ्नेहरुले यसलाई सम्भ्रान्तहरु विरुद्ध ‘नहुनेहरु’ ले गरेको आन्दोलन भनेका छन् ।

    चिलीको विद्यार्थीहरुको सबैभन्दा ठूलो संगठन, विश्वविद्यालय विद्यार्थी महासंघको उनी अध्यक्ष हुन् । यो संगठनको १०५ वर्ष लामो इतिहासमा अध्यक्ष पदमा बस्ने उनी दोस्रो महिला हुन् । चिली कम्युनिष्ट पार्टीको सदस्य पनि हुन् क्यामिला ।

    ‘चिलियन हिउँद’ को नामले चिनिएको क्रान्तिमा सुरक्षाकर्मीले हानेका अश्रु ग्यासका खाली सेलहरु जम्मा पारेर अगस्ट महिनाको कुनै साँझ विद्यार्थीहरुले सडकमा शान्तिको ठुलो प्रतीक चिन्ह बनाएका थिए । त्यसकै छेउमा टुक्रुक्क बसेकी क्यामिलाले आफुतिर तेर्र्सिएका दर्जनौं क्यामेरामा हेर्दै भनेकी थिइन् राज्यले आन्दोलन दबाउन पाँच करोड पेसो त अश्रु ग्यासमै खर्च गर्यो ।

    क्यामिला नेतृत्वको विद्यार्थी आन्दोलनको प्रमुख माग भनेकै राज्यले अश्रुग्यासमा कम र शिक्षामा धेरै खर्च गरोस् भन्ने हो । धनीका छोराछोरीले राम्रो शिक्षा पाउने र गरिबका छोराछोरी ऋणमा चुर्लुम्मै डुब्ने प्रथाको अन्त्य गर्न यी ठिटी जागेकी हुन् र उनीसँगै पुरै चिली जाग्यो । दुइ महिनाअघि आव्हान गरेको आम हड्तालमा सबैले साथ दिए उनलाई । सेतै फुलेका बुढाबुढी समेत शिक्षामा सुधारको नारा लेखिएका प्लेकार्ड बोकेर सडकमा उत्रिए ।

    निजि शैक्षिक संस्थाको खारेज हुनुपर्छ । शिक्षाको नाममा ब्यापार गर्न पाइँदैन । शैक्षिक व्यवस्थामा राज्यको पुर्ण नियन्त्रण हुनुपर्छ र सरकारी शैक्षिक संस्थानमा बढि लगानी गर्नुपर्छ । क्यामिला नेतृत्वको आन्दोलनको प्रमुख माग यही हो । तर सरकारलाई यी माग पुरा गर्न त्यति सजिलो छैन ।
    अर्बपति ब्यापारीबाट राष्ट्रपति बनेका सबास्टियन पिनेराले दिएका सुधारका आश्वासनहरुले आन्दोलनको ज्वालालाई अलिकति पनि प्रभाव पारेको छैन । क्यामिला आफ्ना माग पुरा नभएसम्म सडकबाट पछि हट्ने सोचाइमा छैनन् । ५ महिनादेखि जारि आन्दोलनले राष्ट्रपति पिनेराको कुर्सी हल्लाइसकेको प्रष्ट हुन्छ । सँस्कृती मन्त्रालयका एक उच्च अधिकारीले त्यो बोक्सीलाई मारिदिए टन्टै साफ हुने अभिव्यक्ति दिएपछि पदबाट हात धुनु पर्यो । सर्वोच्च अदालतले चौबिसै घन्टा क्यामिलालाई सुरक्षा दिन प्रहरीलाई आदेश दिइसकेको छ ।

    लाखौं विद्यार्थी सरकार ढाल्न सडकमा उत्रिएका होइनन् । सैनिक शासक अगस्टो पिनोशेको कार्यकालमा भित्रिएको नवउदारवादी शैक्षिक व्यवस्थाले धनीलाई धनी र गरिबलाई गरिब बनाएकोले उनीहरुकाृ विभेदको विरुद्ध उत्रिएका हुन् क्यामिलाको तर्क छ । धनीका छोराछोरीले जस्तै गरिबका छोराछोरीले पनि उस्तै स्कुलमा उस्तै गुणस्तरको शिक्षा पाउनु पर्यो । माग यत्ति हो । हुन पनि दक्षिण अमेरिकाकै उत्कृष्ट स्कुलहरु चिलीमा छन्, जहाँ धनीका वच्चाहरु मात्र पढ्न पाउँछन् । गरिबहरु गुणस्तरहीन सरकारी स्कुल जान्छन् ।

    एक सर्वेक्षणका अनुसार चिलीका एक तिहाइ जनताले पछिल्ला १० वर्षमा त्यहाँको शैक्षिक अवस्था खराब हुँदै गएको बताएका छन् । झण्डै ५० प्रतिशतले यो झन् खराबोन्मुख भएको ठानेका छन् । मत सर्वेक्षणका अनुसार सन् १९९० मा प्रजातन्त्रको पुनस्र्थापना भएयता वर्तमान राष्टपति सबैभन्दा अलोकप्रिय भएका छन्

    अघिल्लो निर्वाचनमा १२० सिटमा तीन सिट मात्र जितेको चिलीको कम्युनिष्ट पार्टीकी ‘योङ्ग कम्युनिष्ट’ क्यामिलाको फोटोजेनिक व्यक्तित्वले दक्षिण अमेरिकामा एउटा रातो तरङ्ग ल्याइदिएको छ । समाचार माध्यमहरुले उनलाई ‘कमाण्डर क्यामिला’ र ‘लाल क्यामिला’ भन्न थालेका छन् । छिमेकी मुलुक बोलिभियाका उपराष्ट्रपतिले आफ्ना देशका युवाहरुलाई क्यामिला जस्तै क्रान्तिकारी बन्न आग्रह गरेका छन् । कोलम्बियामा भएका केही र्यालीमा चिलीको झण्डा फहराइएको पनि देखियो । क्यामिलालाई मेक्सिकन कम्युनिष्ट आन्दोलन ज्यापाटिस्टाका विद्रोही आइकन मार्कोससँग तुलना गर्न थालिएको छ । कसैकसैले त चे ग्वेभारासँग पनि ।

    भुगोल विषयको तेइस वर्षकी विद्यार्थीलाई यी उपमाहरु अलि बढाइचढाइएका नै हुन सक्लान् । तर उनले लाखौं विद्यार्थीलाई तताइसकेकी छिन् । संसारभरका उनको राजनीतिक ग्ल्यामरका फ्यानहरुको संख्या बढ्दैछ । ट्वीटर र फेसबुकमा उनलाई पछ्याउनेहरु लाखौं छन् । युट्युबमा क्यामिलाको नाम खोज्ने हो भने सबैभन्दा माथि अमेरिकन पन्क रक ब्यान्ड ग्रिन डे ले गाएको सि इज अ रिबेल (उनी विद्रोही हुन्) बोलको गितमा क्यामिलाको भिडियो देखिन्छ ः
    सि इज अ रिबेल
    सि इज अ सेन्ट
    सि इज सल्ट अफ द अर्थ
    एण्ड सि इज डेन्जरस

    (उ एक विद्रोही हो
    उ एक साधु हो
    उ माटोमा मिसिएकी नुन हो
    र उ खतरनाक हो ।

    (एजेन्सीहरुको सहयोगमा)

  • बा, मकै र शान्ति

    November 2nd, 2011
    ४७ सालतिर
    एकाविहानै भोटे कुकुर डोर्याउँदै
    दैलोमा आएका
    गाउँका ठूलाबाले भनेका थिए
    ‘बहुदल आयो’
    सानै थिएँ म
    सोधेँ कुकुरको नाम
    भने ठूलाबाले
    ‘माले’
    बासँगै मकै गोडिरहेको मलाई
    भोटे कुकुरको नाम र बहुदल दुबै नौला थिए

    दुइ चार वर्षपछि
    म पढ्ने स्कुलमा आएका
    गाउँकै मामा पर्नले भने
    ‘माओवादी आयो’
    ६ कक्षाको नैतीक शिक्षाको
    उपदेश कविता
    र मामाले भनेको माओवादीको नाम
    दुबै बुझिनसक्नु थिए मेरा लागि
    स्कुलबाट घर फर्किँदा
    बा मकै गोड्दै थिए

    शहरमा क्याम्पस पढिरहँदा
    अचानक हल्ला खल्ला भयो
    सुनियो ‘राजा आयो’
    अघिल्लो दिन भनेको थियो क्याम्पसको साहुले
    ‘फिस नतिरे जाँच दिन नपाउने’
    मेरा लागि राजा भन्दा
    क्याम्पसको साहु भयानक थियो
    कर्फ्यु लाग्ने बेलामा
    गाउँ पुग्दा
    बा मकै गोड्दै थिए

    आउने र जाने क्रममा
    शहरमा भिड आयो
    सेना आयो
    पुलिस आयो
    भूत आयो
    अमेरिका आयो
    भारत आयो
    लोकतन्त्र आयो
    मलाई तलब आउनुको मात्र चिन्ता थियो
    बालाई मकैमा घोगा आउनुको मात्रै चिन्ता थियो

    आज एकाविहानै
    चोकको पसलेले भन्यो
    शान्ति आयो
    फोन गरेँ बालाई
    लाग्यो होला तपाईंलाई
    मेरा बा अझै मकै गोड्दैछन्
    अँह
    बा त मकै गोड्नै नसक्ने गरी
    बुढो भइसके ।।

  • स्टिभ जब्सः जो बाँच्यो

    October 22nd, 2011

    जीवन बाँच्नुमा मात्र होइन नबाँच्नुमा पनि सार्थकता छ । सफल हुनुमा मात्र होइन असफल हुनुमा पनि अर्थ छ । बाटो पहिल्याउनुमा मात्र होइन बाटो हराउनुमा पनि गन्तव्य छ । स्टिभ जब्सको ५६ वर्षको जीवन यिनै कुराको जोडदार उदाहरण बन्यो ।

    जीवनलाई व्याख्या गर्ने सजिलो दर्शनले भनिदिन्छ जीवन घाम-छाया हो । एक पाटो घाम अर्को पाटो छाया । तर स्टिभले जीवनको दुवै पाटो घमाइलो हुन्छ भनी देखाइदिए । जीवनका अन्तिम ७ वर्षमा उनी क्यान्सरले थलिए र उनलाई थाहा थियो उनी ढिलो होइन चाँडो मर्दै छन् । तर मृत्युको उल्टो गन्ती भइरहँदा उनले सबैभन्दा घनिभूत जीवन बाँचे । कामलाई सबैभन्दा धेरै पूजा गरे । उनका आविष्कारले प्रविधिको संसारलाई नयाँ युग दियो ।

    ७० को दशकमा अध्यात्म, शान्ति र मोक्षको खोजीमा बरालिँदै हिँडेको ठिटो भारत आइपुग्यो । स्टिभलाई लागेको थियो भारत अध्यात्मको खानी हो । जहाँ फूल मात्र फुल्छन् । जीवन सजिलो छ । निम करोइली बाबाको गुरुत्वको खोजीमा स्टिभ जतिबेला भारत आइपुगे तब उनले त्यहाँको गरिबी, अशिक्षा र दयनीय जीवन देखे । उनका हुन नसकेका गुरु निम बाबालाई पनि उनले सोचेजस्तो पाएनन् । स्टिभलाई लाग्यो जोगी बनेर हिँडेर संसार परिवर्तन हुँदैन । अध्यात्म खोज्दै भारत गएका स्टिभले अर्कै ज्ञान पाए ः संसार आविष्कार र आविष्कारकहरूको कारण बाँच्नका लागि सजिलो ठाउँ भएको छ, धर्मगुरु तथा राजनीतिक पण्डितहरूको कारण होइन । त्यसैबेला उनले मनको कुरा प्याच्च बोलेका थिए, ‘संसारको अवस्था सुधार गर्न निम बाबा र कार्ल माक्र्स दुवैले गरेको योगदान जोड्दा जति हुन्छ त्योभन्दा बढी सायद थोमस एडिसनले गरे ।’

    सन् १९३१ मा रोगले थलिएर ८४ वर्षको उमेरमा बितेका वैज्ञानिक थोमस अल्वा एडिसन र भर्भराउँदो उमेरमा ५६ वर्षमै क्यान्सरले परलोक लगेका स्टिभ जब्सको जीवनमा धेरैले समानता देख्छन् । यी दुवैले क्रान्तिकारी आविष्कार गरे । महान् जीवन बाँचे र महान् मृत्युवरण गरे । एडिसनको मृत्युमा जस्तै स्टिभ जब्सको मृत्युमा संसारभरबाट स्वतस्फूर्त शोक र समवेदनाको बाढी लाग्यो । कुनै प्रख्यात राष्ट्रप्रमुख अथवा नेताको मृत्युमा भन्दा स्टिभ जब्सको मृत्युमा संसार बढी शोकाकुल भयो ।

    स्टिभ जब्स बुद्ध थिएनन् । उनी आफ्ना कर्मचारीका लागि जङ्गबहादुर थिए । एप्पल कम्पनीका हरेक उत्पादनको उनी सूक्ष्म निरीक्षण गर्दथे । चित्त नबुझेको कुरामा कर्मचारीको सातो खान्थे । उनी एक कुशल व्यवसायी थिए । जसले बुझेको थियो उपभोक्तालाई कुन उत्पादन चाहिएको छ । २१ औं शताब्दीको पहिलो वर्षमै माइक्रोसफ्टले विन्डोज अपरेटिङ सिस्टम भएको ट्याबलेट कम्प्युटर बनाएको थियो । तर हातले छोएर चलाउने माउस र किबोर्ड नभएको त्यो कम्प्युटरमा बिल गेट्सले भविष्य देखेनन् र रद्दीको टोकरीमा मिल्काइदिए । ७ वर्षपछि स्टिभ जब्सले त्यस्तै ट्याबलेट कम्प्युटर -आइप्याड) बनाइदिए । पहिलो वर्षमै दसौं लाख बिकेपछि कम्प्युटर कम्पनीहरूले भन्न थाले, अबको संसार भनेको ट्याबलेट कम्प्युटरको हो ।

    स्टिभ जब्सले जे गरे त्यसले ट्रेन्ड परिवर्तन गरिदियो । मानिसलाई मानिससँग जोड्ने जटिल माध्यमहरूको सरल आविष्कारले स्टिभ जब्सलाई महान् बनायो । स्टिभ सधैं सरलतामा जोड दिन्थे । उनको मन्त्र थियो, ‘जटिल कुराभन्दा साधारण कुरा बनाउन निकै गाह्रो छ र साधारण कुराले हिमाल हल्लाउने तागत राख्छ ।’

    आइपड, आइफोन र आइप्याड आविष्कार नभएको भए कम्प्युटर मात्र बनाउने एप्पल कम्पनी आजको अवस्थामा आइपुग्ने थिएन । स्टिभ जब्स भन्ने गर्थे, ‘मानिसलाई आफ्नो आवश्यकता के हो भन्ने कुरा तबसम्म थाहा हुँदैन जबसम्म तपाईं त्यो आवश्यकता उसको अगाडि लगेर राखिदिनु हुँदैन ।’ स्टिभ जब्सले २१ औं शताब्दीका मान्छेको आवश्यकता बुझेका थिए ।

    पत्रकारहरू भन्ने गर्छन् स्टिभ जब्सको व्यक्तित्व र प्रस्तुतिका कारण उनका कम असल उत्पादनहरू पनि बडो सौन्दर्यप्रधान देखिन्थे । उनको जीवन पनि त्यस्तै रह्यो । अभाव र संघर्षको सुरुवात, पैसा नभएर कलेज छोड्नुपर्ने बाध्यता, अध्यात्मको खोजीमा भड्किएको आत्मा । जब जीवनले सफल ट््रयाक समात्न थाल्यो तब क्यान्सर र अवश्यम्भावी मृत्यु ।

    यी तीता सत्यहरूका बाबजुद स्टिभ जब्सले मीठो जीवन बाँचे । देख्दाखेरी उनी एउटा रमाइलो, हँसिलो, जोडदार व्यक्तित्व भएको, आशावादी, स्वप्नदर्शी अनि सकारात्मक सोचको खानीको रूपमा देखिए । त्यसैले उनी संसारका १ प्रतिशतभन्दा कम धेरै धनीहरूको माझमा उभिएर पनि संसारका ९९ प्रतिशतको प्यारा बन्न सके । सधैं आफ्ना व्यक्तिगत कुरामा गोप्यता कायम राख्न चाहने जब्सले सन् २००५ मा स्ट्यानफोर्ड विश्वविद्यालयका सयौं विद्यार्थीमाझ जीवनका तीन कथा खुलेर सुनाए । स्टिभले सुनाएका ती तीता सत्य उनका अनुयायीहरूको लागि मात्र होइन जिन्दगी भरपूर बाँच्न चाहने सबैका लागि गीता हो । स्टिभ गीताले संघर्ष, सत्य र मृत्युका तीन कुराको उदाहरण दियो ।

    जीवनमा अगाडि के हुन्छ कसलाई थाहा हुँदैन । तर जे हुन्छ राम्रै हुन्छ । पैसा नभएर कलेज छोड्नुपरेका स्टिभ कलेज जानै नपाएको कारण भिखारी भएनन् । आफैंले स्थापना गरेको एप्पल कम्पनीबाट निकालिँदा स्टिभको करिअर साफ भएन । अनि एकपछि अर्को सफलताका सिँढी चढिरहँदा जीवनमा कहिल्यै नामै नसुनेको क्यान्सर आफैंलाई लागेको थाहा हुँदा पनि स्टिभ गलेनन्, साइनाइड खाएनन् । बरु यी सबै तीता सत्यले स्टिभलाई थप प्रेरणा र ऊर्जा दियो । मृत्युको पर्खाइमा उनले सबैभन्दा सुन्दर जीवन बाँचे ।

    स्टिभले स्ट्यानफोर्डमा भनेका थिए, ‘स्वर्ग जान चाहनेहरू पनि मर्न चाहँदैनन् ।’ तर पनि मृत्यु हामी सबैको साझा गन्तव्य हो । जीवनको सबैभन्दा उत्कृष्ट सिर्जना नै मृत्यु हो । जीवन क्रमलाई परिवर्तन गर्ने साधन मृत्यु हो । मृत्युले पुरानालाई पाखा लाउँछ र नयाँलाई स्थापित गर्छ । सुन्दा नाटकीय लागे पनि सत्य यही हो ।

    फेरि पनि स्टिभ जब्सलाई थोमस एडिसनसँग तुलना गर्दा एउटा कुरा भने फरक देखिन्छ । थोमस अल्वा एडिसन मर्दा मानिसहरूको लागि एउटा रहस्यमयी, तीक्ष्ण र असाधारण वैज्ञानिक मरेको थियो ।

    स्टिभ जब्सले हामीलाई के प्रभाव छाडेर गए भने उनी मर्दा तपाईं-हामीजस्तै एउटा व्यक्ति मर्‍यो, जो हाम्रै उचाइको थियो, जसले हामीले जस्तै संघर्ष गर्‍यो, जो हामीजस्तै जीवनका अनिश्चित घटनाहरूको सिकार भयो र जसका लागि हाम्रा लागि जस्तै मृत्यु निश्चित थियो ।

    कान्तिपुर कोसेलीमा प्रकाशित

←Previous Page
1 2 3 4 5 6 … 10
Next Page→

Proudly powered by WordPress