कविताहरु

एउटा पुरानो कविता

एउटा पुरानो कविता
लेखिएको थियो बादलको धर्कामा
देखिएको थियो जुनमा
पोखिएको थियो
घाम डुब्नै लाग्दा
क्षितीजभरि

कोरेको थिएँ तिम्रो तस्बिर
शब्द शब्दमा
हाँस्दा हाँस्दै
तप्प झरेका दुइ थोपा आँशुको मसीले,
नापेको थिएँ सपनाको दूरी
मायाको कसीले

गुनगुनाउँदै
‘कोरा कागज था ये मन मेरा’
लेखेको थिएँ तिम्रै नाम
आकाशजस्तै फराकिलो मुटुमा
देखेको थिएँ तिम्रो तस्बिर
मुटु जस्तै फराकिलो आकाशमा

तिम्रा ओठ, आँखा, परेली
र कान नजिकैबाट
तर्ल्याङ तुर्लुङ झरेका
कपाललाई
पालैपालो चुमेका हावाले
कान नजिकै आएर
खुसुक्क केही भन्दा
ज्वलन्त फुरेको थियो त्यो पुरानो कविता
मनको कुनै कुनामा

याद छ अलिअलि
अझै छ धमिलो तस्बिर
बादलका धर्का जस्तै शब्दहरुको
सम्झनाको एउटा कुनामा
सम्झना भएर बसेको छ
एउटा पुरानो कविता ।।

Kamal Kumar is a Journalist. Currently he works for Herne Katha.

Leave a Reply

Your email address will not be published. Required fields are marked *