बा, मकै र शान्ति

४७ सालतिर
एकाविहानै भोटे कुकुर डोर्याउँदै
दैलोमा आएका
गाउँका ठूलाबाले भनेका थिए
‘बहुदल आयो’
सानै थिएँ म
सोधेँ कुकुरको नाम
भने ठूलाबाले
‘माले’
बासँगै मकै गोडिरहेको मलाई
भोटे कुकुरको नाम र बहुदल दुबै नौला थिए

दुइ चार वर्षपछि
म पढ्ने स्कुलमा आएका
गाउँकै मामा पर्नले भने
‘माओवादी आयो’
६ कक्षाको नैतीक शिक्षाको
उपदेश कविता
र मामाले भनेको माओवादीको नाम
दुबै बुझिनसक्नु थिए मेरा लागि
स्कुलबाट घर फर्किँदा
बा मकै गोड्दै थिए

शहरमा क्याम्पस पढिरहँदा
अचानक हल्ला खल्ला भयो
सुनियो ‘राजा आयो’
अघिल्लो दिन भनेको थियो क्याम्पसको साहुले
‘फिस नतिरे जाँच दिन नपाउने’
मेरा लागि राजा भन्दा
क्याम्पसको साहु भयानक थियो
कर्फ्यु लाग्ने बेलामा
गाउँ पुग्दा
बा मकै गोड्दै थिए

आउने र जाने क्रममा
शहरमा भिड आयो
सेना आयो
पुलिस आयो
भूत आयो
अमेरिका आयो
भारत आयो
लोकतन्त्र आयो
मलाई तलब आउनुको मात्र चिन्ता थियो
बालाई मकैमा घोगा आउनुको मात्रै चिन्ता थियो

आज एकाविहानै
चोकको पसलेले भन्यो
शान्ति आयो
फोन गरेँ बालाई
लाग्यो होला तपाईंलाई
मेरा बा अझै मकै गोड्दैछन्
अँह
बा त मकै गोड्नै नसक्ने गरी
बुढो भइसके ।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *