मिसन मंगल

अघिल्लो साता दुई प्रकारका ठूला खेल भइरहेका थिए संसारमा । कोही ओलम्पिक्समा दौडिँदै थिए भने क्युरियोसिटी नामको यान मंगल ग्रहतिर दौडिँदै थियो । झन्डै ९ महिना लामो रेस पार गरेर क्युरियोसिटीको मंगल सतहमा अवतरण हुने तयारी भइरहँदा धेरैले लन्डन ओलम्पिक्सलाई बिर्सेका थिए ।

सन् १९६१ तिर एउटा भाषणको क्रममा तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले एक दशकभित्रै अमेरिकाले चन्द्रमामा मान्छे पठाउने घोषणा गरिदिए । शीतयुद्धको बेला सोभियत संघसँग चलिरहेको ‘स्पेस रेस’मा पछि पर्न लागेको देखेपछि अलि बढी नै आवेगमा आएर राष्ट्रपति महोदयले चन्द्रमामा मान्छे नै पठाउने योजना सार्वजनिक गरिदिएपछि नासालाई बडो धर्मसंकट परेको थियो । किनभने त्यतिबेला नासासँग चन्द्रमामा मान्छे पठाउने कुनै योजना थिएन ।

केनेडी राष्ट्रपति मात्र थिएनन् । त्यतिबेलाका सबभन्दा प्रभावशाली र चर्चित नेता पनि थिए । आखिर उनको त्यही लहडी भाषणबाट सुरु भएको योजनाले सन् १९६९ मा मूर्त रूप पायो । अमेरिकाले चन्द्रमामा मान्छे पठाइछाड्यो । संसारका लागि त्यो घटना ऐतिहासिक भयो । नेपालसम्मका अंग्रेजी स्कुलका विज्ञान विषयका पाठ्यपुस्तकमा चन्द्रमामा पाइला राखिरहेका निल आर्मस्ट्रङको आवरण तस्बिर छापियो र मान्छेको जातले भनिरहन पायो, मान्छे महान् छ हामीले चन्द्रमालाई पनि छाडेनौं । कतिपयले त अमेरिकाले चन्द्रमामा मान्छे पठाएको समेत पत्याएनन् । सन् १९६९ देखि ७३ सम्म एपोलो मिसनमा १२ जनाले चन्द्रमामा पाइला टेके । त्यसपछि अहिलेसम्मका ४० वर्षमा कुनै मान्छे पनि चन्द्रमामा पुग्न सकेको छैन । सायद चन्द्रमामा जानुको उदेश्य केवल जानु मात्रै थियो, त्यहाँबाट हात पर्ने केही थिएन ।

अहिलेचाहिँ कुरो मंगल ग्रहको हो । पृथ्वीसँग मिल्दोजुल्दो स्वभाव भएको यो ग्रहसँग धेरै पहिलेदेखि नै मान्छेको जिज्ञासा र कल्पना जोडिँदै आएको छ । अमेरिका र उसको अन्तरिक्ष नियोग नासालाई नजिकबाट बुझ्नेहरूले सधैं के भन्ने गरेका छन् भने, नासा साँचो कुरा लुकाउन खप्पिस छ । मंगल ग्रहको पातलो वायुमण्डलमा १३ हजार माइलको गतिमा खस्दै गरेको क्युरियोसिटी यान हावामै जलेर भष्म भएको भए पनि नासाले केही सुन्दर र रोचक जवाफहरू तयार पारेर राखेको थियो, जसले उसको असफल प्रयासलाई पनि उपलब्धिकै रूपमा सावित गथ्र्यो । भइदियो के भने, नासा सफल भयो । यान मंगल ग्रहकै सतहमा उत्र्यो र भटाभट फोटो खिचेर पठाउन थाल्यो ।

नासाले जे गरे पनि गलत देख्ने ‘षड्यन्त्रको सिद्धान्त’मा विश्वास गर्नेहरूले यानले पठाएको पहिलो फोटोमै षड्यन्त्रको गन्ध देखे । त्यो फोटोमा एउटा कालो धब्बा थियो । त्यो धब्बा के थियो ? मंगलको कुनै जीव ? कुनै रहस्य ? आखिर के ? मंगल अवतरणका प्रत्यक्ष प्रसारण टेलिभिजनमा भइरहँदा सामाजिक सञ्जालमा यस्ता प्रश्नहरूको ओइरो लागेका थिए । नासाले जवाफ दिन कर लाग्यो, ‘यो अरू केही होइन हाम्रै यानले उडाएको धूलो हो ।’ कतिले पत्याए । कतिले पत्याएनन् । हुन पनि मंगलबाट पृथ्वीमा आइपुगेको पछिल्लो फोटोले मानिसहरूलाई एकपटक फेरि सन् १९७६ सम्झाइदिएको थियो । जतिखेर भाइकिङ १ यानले खिचेको मंगल सतहको एउटा तस्बिरमा मान्छेको अनुहारझैं लाग्ने आकृति देखिएको थियो । कालान्तरमा त्यो एउटा चट्टान मात्रै भएको पुष्टि भयो ।

***

पृथ्वीबाट मंगल ग्रहको दूरी २५ करोड माइल छ । १९६० को दशकमा मंगलको आकाशसम्मै यान पुग्यो । त्यसपछि यस ग्रहका थप रहस्यहरू बाहिर आउन थाले । यहाँ कुनै समय पानीको अस्तित्व थियो । अहिले पनि बरफका रूपमा रहेको पानी भेटिएको छ । पृथ्वीजस्तै वायुमण्डल र पृथ्वीजस्तै सूर्यबाट ठिक्कको दूरीमा न धेरै तातो न धेरै चिसो अवस्थिति । यी यावत् कुराहरूले जिज्ञासु मानव जातिको यो ग्रहप्रति रुचि बढाइदिएको हो ।

मंगल ग्रहका यी सबै भूगर्भीय र जैविक सर्तहरूले जीवनको सम्भावनालाई एउटा सानो स्थान दिन्छन् । र जिज्ञासु प्राणी मान्छेले यही सम्भावनालाई खोतल्ने क्रममा मंगलमा यति धेरै रुचि दिएको हो । अमेरिकाले मंगल ग्रहमा पनि आफ्नो साम्राज्यवाद विस्तार गर्न, त्यहाँ रातारात सहर बसाउन र त्यहाँबाट महँगा खानीहरू पृथ्वीमा ओसार्नकै लागि दुई चार वर्षको अन्तरमा अर्बौं खर्च गरेर यानहरू पठाइरहेको हो भन्ने विश्लेषणचाहिँ हालको लागि यथार्थभन्दा अलि पर नै रहन्छ । अर्थात् हावादारी । कमसे कम अहिलेका लागि मंगल जेम्स क्यामरुनले ‘अवतार’मा देखाएको प्यान्डोराजस्तो ग्रह होइन ।

यसको अर्थ यो होइन कि, अमेरिकाले नितान्त वैज्ञानिक र पवित्र सामाजिक उद्देश्य बोकेर यी महँगा मिसनहरू सञ्चालन गरिरहेको छ । अमेरिकी प्रशासन, यसका विज्ञान र प्रविधिका अनुसन्धान र भविष्यवाणीका विश्लेषणहरू आम विश्वासीको बुझाइ र पहुँचभन्दा धेरै टाढा छन् । स्वयं अमेरिकी राष्ट्रपति बाराक ओबामाले मंगलमा यान पठाउने नासाको टोलीलाई फोन गरेर भनेका थिए, मंगलमा जीव भेटियो भने सुरुमा मलाई भन्नुहोला, सानो जीवाणु भेटिए पनि मैले सुरुमा थाहा पाउनुपर्छ । ओबामाले ठट्टै गरेका भए पनि नासाले मंगलमा जीवाशेष भेट्यो भने ओबामाले समेत तत्काल थाहा पाउने छैनन् । बाँकी संसार त परको कुरा । एउटा भनाइ छ नि, ‘वी नेभर नो ह्वाट वी डन्ट नो’ अर्थात् हामीलाई के थाहा छैन भन्ने कुरा, हामीलाई कहिले नि थाहा हुँदैन ।

मंगलमा अवतरण गरेको क्युरियोसिटी यान यसअघि त्यहाँ पठाइएका यानहरूभन्दा शक्तिशाली छ । यसअघिका सम्पूर्ण यानहरूले गर्न सक्ने कामलाई जोड्ने हो भने पनि क्युरियोसिटीले गर्न सक्ने कामभन्दा कम नै हुन्छ । यसअघि साना यान पठाइन्थ्यो । यसपटक सिङ्गै प्रयोगशाला नै मंगलमा खसालिएको छ । प्राविधिक हिसाबले अत्यन्त जटिल प्रक्रियाबाट । केश फुलेका अनुभवी वैज्ञानिकहरूले पनि क्युरियोसिटी यान मंगल ग्रहको सतहमै नपुगी नष्ट हुने अनुमान गरेका थिए । त्यसैले नासाको लागि मंगल अवतरणले नै एउटा प्रमुख उदेश्य पूरा गरिदियो । त्यो यानले पत्ता लगाउने थप कुराहरू त सबै नासाको नाफामा जोडिनेछ ।

***

नासाले मंगल ग्रहमा पठाएको पछिल्लो यान, अहिलेसम्म कुनै ग्रहमा पठाइएको सबैभन्दा ठूलो यान हो । पृथ्वीबाट मंगलसम्मको दूरी, यान पठाउन लागेको खर्च, यसमा प्रयोग भएका अत्याधुनिक उपकरण र मंगलमा जीव अवशेष खोज्ने यसको उद्देश्यजस्ता फ्याक्टरहरूले नासाको मंगल यात्रालाई कुनै रोमाञ्चकारी कथा या फिल्मजस्तो बनाइदिएको छ । मान्छे रमाएका छन् । एउटा गरिब देशको मान्छेले पनि संसारको अर्को कुनोको मान्छेले नै गरेको यो उपलब्धिमा गर्व महसुस गरेको छ । २३ महिनापछि क्युरियोसिटी यानको आयु सकिनेछ । मंगलको कुनै खाल्टोमा यो यान निष्त्रिmय हुनेछ । नासाले पत्रकार सम्मलेन गर्नेछ । र उसले पत्ता लगाएका कुराहरू बडो जटिल र प्राविधिक शब्दावलीमा सुनाउनेछ । संसारले बुझेजस्तो गर्नेछ र धेरै कुरा थाहा पाउने छैन ।

हुन पनि सामान्य मानिसलाई मंगल ग्रहसम्म पुग्न लागेको इन्धन, क्युरियोसिटीमा जडान गरिएका क्यामेरका लेन्सका विशेषताजस्ता प्राविधिक पक्षसँग खासै चासो हुँदैन । यो विशाल ब्रह्रमाण्डको कुनै टाढा टाढा कुनामा हामीजस्तै प्राण भएका जीव होलान् कि नहोलान् भन्ने लेम्यान उत्सुकता न हो । र केवल नासाको यसपटकको मंगल अन्वेषणबाट हाम्रो उत्सुकताको तिर्खा पूर्ण रूपमा मेटिएला भनेर अपेक्षा नगरे पनि हुन्छ । विज्ञानका सर्तहरूका अनुसार मंगल ग्रहमा जीवन असम्भव छ । यहाँको पातलो वायुमण्डलमा पर्याप्त अक्सिजन छैन । सूर्यका हानिकारक किरण रोक्ने ओजोन तह छैन । पानी छैन । एउटा ब्याक्टेरियासमेत १५ सेकेन्ड बाँच्ने आधार पनि छैन ।

तर केही झिनो आधारहरू छन् जसले विगत कुनै समयमा मंगलमा जीवन थियो कि भन्ने सम्भावनालाई जीवित राखेको छ । कुनै समय त्यहाँ जीवन भएको भए, के कुराले त्यसलाई नष्ट गर्‍यो ? मंगलमा बसाइ सर्नेभन्दा पनि यो प्रश्नको जवाफ खोज्ने कामचाहिँ नासाको लागि र मानव जातिका लागि बढी महत्त्वपूर्ण हो । सौर्यमण्डलमा एउटै तरिकाले बनेका पृथ्वी र मंगलका समानताहरूबीच, मंगल ग्रहमा जीव अस्तित्व सखाप पार्ने कारण, पृथ्वीको लागि पनि कुनै समयमा एउटा गम्भीर कारण बन्न सक्छ । पृथ्वीका प्राणीलाई बचाउने एउटा महत्त्वपूर्ण पाठ बन्न सक्छ । मंगल अन्वेशषणले खोजेको जवाफ पनि त्यही नै हो ।

***

१९९० को दशकमा मंगल ग्रह अन्वेषणको कुनै मिसनमा ३ महिना काम गरेका एन्ड्रयु केसलर हफिङटनपोस्टमा लेख्छन्, ‘बाहिर सुनिने गरेको कुरा र नासाको मिसन कन्ट्रोल रूममा देखिने कुरामा धेरै अन्तर छ । नासा सधैं आफ्नो असफलता लुकाउने प्रयासमा हुन्छ र सुन्दर कथा बुनेर प्रस्तुत गर्छ । ओलिम्पिक्समा जम्मा सय मिटर दौडनेले के

पाउँछ ? एउटा सुनको तक्मा ? उसको तारिफ, चर्चा, समाचार, महत्त्व कति हुन्छन् कति । यसको पछाडि ओलम्पिक्सको प्रतिष्ठा र त्यो खेलाडीले सय मिटर दौड जित्न जिन्दगीभर गरेको मिहिनेतलाई प्रमुख कारण मानिन्छ । सय मिटर दौड्दा त यत्रो नाम र हल्ला हुन्छ भने ब्रह्माण्डमा अर्बौं मिटर दौडँदा त्यसले चर्चा पाउनु स्वाभाविक हैन र ? त्यसमा पनि त मिहिनेत र प्रतिष्ठा दुवै जोडिएको छ, ओलम्पिक्समा जस्तै ।’

कान्तिपुर कोसेलीमा प्रकाशित


Leave a Reply

Your email address will not be published. Required fields are marked *