काठमाण्डुबाट जयपुर केवल साहित्य मेला हेर्न हिँडेको भन्दा उनीहरू कान ठाडो पारेर अचम्म मानेझैं गर्दथे । बाटामा भेटिएका बिहारी मूलका ६० वर्षे एक व्यक्ति, जो हाल लखनउबासी भइसके, उनले आफ्ना अमेरिकामा रहेका छोरा, उनको तलब र उनले हालै किनिदिएको नयाँ गाडीका बारे गफ गरेर धेरै समय खर्च गरे । छोरीको बिहे नजिकिएको समेत उनले बताए । तर अफसोस, पण्डितले जुराइदिएको साइत भ्यालेन्टाइन्स डे अर्थात् फेब्रुअरी १४ मा परेकोले उनी साह्रै चिन्तित थिए । यस्ता आयातित दिवसहरूका कट्टर विरोधी उनको विचारमा भारतले परम्परागत मूल्य मान्यताको लत्तो छोड्दै थियो । भारत अधोगतितिर लम्कँदै थियो । र उनी यी सारा कुराको दोष नेताहरूलाई दिन चाहन्थे । विशेषगरी प्रधानमन्त्री मनमोहन सिंहलाई ।
भारतका मिश्रति रंगहरू नियाल्दै दिल्लीमा एक रात बिताएपछि जयपुर उत्रियौं । संसारको सबैभन्दा ठूलो साहित्य मेला भनेर प्रचार गरिएको जयपुर महोत्सव भएको होटल डिग्गी प्यालेसका बारेमा अटो रिक्सा भनेर चिनिने ट्याम्पुहरू अनभिज्ञ थिए । हुन सक्छ डिग्गी प्यालेसका नियमित आगन्तुकहरू रेल स्टेसनमा उत्रिएर अटो रिक्साको सवारी गर्दैनथे ।
भाडामा चर्को बार्गेन गरेपछि रेल स्टेसनबाट झोला गुन्टा बोकेर हामी सिधै मेलास्थल डिग्गी प्यालेस होटलतिर हानियौं । त्यो मेलाको दोस्रो दिन थियो । जयपुरकै नामी होटलमा गरिएको कार्यक्रममा प्रवेश गर्न बारकोडसहितका प्रवेश पत्रहरू घाँटीमा झुन्ड्याउनुपथ्र्यो । सिधै रेल स्टेसनबाट यात्रा दौरान मैलिएका लुगा र जिगि्रंग भएका कपाल लिएर महोत्सव छिर्दा चरण चरणका सुरक्षा जाँचमा झोलाबाट हाम्रा कट्टु र गन्जी सबै भुइँमा राखेर सुरक्षा जाँच गरियो । ‘किन यति धेरै दुःख दिएको ?’ भनेर सोध्दा सुरक्षाकर्मीले ‘जताबाट आएको उतै जा, भित्र छिर्न दिन्न’ भनेर थर्काए । साहित्य मेलाको पहिलो इम्प्रेसन त्यही थियो । जहाँ तर्क गर्न बन्देज थियो । केहीबेरको वादविवादपछि भित्र छिरियो ।
साहित्य महोत्सवमा भेला भएका मान्छेहरू हामीले सुनौलीदेखि जयपुरसम्मको यात्रा दौरान देखेका मान्छेहरूभन्दा बिल्कुल फरक थिए । उनीहरूको छाला चमकदार थियो । उनीहरूका कपाल चिल्ला थिए । उनीहरूका लुगा सफा र किमती देखिन्थे । अधिकांशले कालो सन ग्लास लगाएका थिए । बाहिर महिलाहरूको सार्वजनिक उपस्थिति निकै न्यून देखिन्थयो । तर यहाँ पुरुषभन्दा बढी महिला थिए । १५ सय किलोमिटर लामो यात्रामा हामीले देखेको भारत बिल्कुलै थिएन डिग्गी प्यालेस होटलभित्रको महोत्सवमा । लाग्थ्यो हामी हिन्दी फिल्मको कुनै अवार्ड समारोहमा झुक्केर आइपुग्यौं । अथवा पेरिसको कुनै महंगो कला कृति लिलामी हुने थलोमा आइपुग्यौं ।
साहित्य महोत्सवलाई टाटा, गुगलजस्ता विशाल कम्पनीले प्रायोजन गरेका थिए । मन्चहरू चार पाँच ठाउँमा थिए जहाँ एकैपटकका विविध विषयमा बहस भइराखेका थिए । अधिकांश बहस सत्रहरू बलिउडसँग सम्बन्धित थिए । ठाउँ ठाउँमा जयपुरका हस्तकला बेच्ने पालहरू टाँगिएका थिए । खाने स्टलहरू थिए । भन्नु जरुरी छैन महँगा थिए ।
संयोगवश जावेद अख्तरको कविता र गजलमाथिको सत्र सुन्ने मौका पाइयो । हिन्दी काव्यबारेको बहसमा जावेद अख्तरलाई अंग्रेजीमा प्रश्न सोध्दै थिइन् आफ्नो भारतसँग तीन चार पुस्तादेखि कुनै साइनो नभएको बताउने भारतीय मूलकी एक क्यानेडेली युवती । जो मोडलजस्तै देखिन्थिन् । जो अंग्रेजीमा गजल लेख्थिन् ।
जयपुर साहित्य महोत्सव मेरा लागि पहिलो थियो, सायद अन्तिम पनि होला । कुनै आग्रह पूर्वाग्रहबिनाको एउटा विशुद्ध आउटसाइडर थिएँ म । भन्नैपर्छ, महोत्सवको वातावरण आफैैंमा एउटा कम्फर्टेबल फिल गराउने खालको थिएन । मैले बुझेको साहित्यमा निर्बाध स्वतन्त्रता, स्वच्छन्दता, हल्का छाडापन र सुन्दर लाग्ने केही मैलो, फोहोरी र दुर्गन्धित अनुहार पनि हुन्छन् । तर महोत्सवमा त्यो पटक्कै देखिएन ।
हुन त जावेद अख्तरले भनेका थिए, ‘आजकल घरमा कुन किताब किन्ने भन्ने लिस्ट इन्टेरियर डिजाइनरले तयार पार्छ । अनि धेरैको घरमा इन्स्लाइकोपेडिया बि्रटानिका राखिएको हुन्छ किनभने यसको छालाले बनेको गाढा खैरो रंगको चिल्लो गाता घरमा भएका फर्निचरसँग म्याच गर्छ ।’
जयपुर गइरहँदा यात्राका सहयात्रीहरू -जनक पौड्याल र रूपेश श्रेष्ठ) माझ बाटोभरि एउटा कुरामा बहस भइरहेको थियो । हामीले हिन्दी फिल्ममा देख्ने गरेको भारत त कतै देखिएन त । न छोटा लुगा, न फेसन, न स्वतन्त्रता, न कुनै चुलबुल पाण्डेहरू । हैन यो बलिउडले कहाँको कथा टिप्छ हँ ? साहित्य मेलामा पुगिसके पछि पनि त्यस्तै अनुभव भयो । त्यहाँ हामीले सोचेको, देखेको र बुझेको भारतको प्रतिविम्ब थिएन । त्यो केवल साहित्यको बलिउडीकरण थियो ।
साहित्य महोत्सवमा बर्सेनि एक डेढ दर्जन नेपाली साहित्य अनुरागी पनि जाने गर्छन् । कोहीकोही त हरेक वर्ष पुग्ने गर्छन् । भीडमा यताउता गरिरहेका केही नेपाली पनि भेटिए । जो पनि हामीजस्तै केही सत्रहरू हेरेर जयपुर घुम्न निस्किए ।
हुन सक्छ महोत्सवमा भएका बहसहरूले ऊर्जाहरू छर्यो होला । साहित्यका नयाँ आयामहरू पनि पत्ता लागे होलान् । आजकल काठमाण्डुतिर पनि हुन थालेका ‘मिनी जयपुर महोत्सव’हरूको लागि पनि प्रशस्त खुराकहरू आयात भए होलान् । धेरैले दिव्यज्ञान पाए होलान् । यदि त्यसो हो भने, साहित्यमा पुँजीवादी युग सुरु भएछ । साहित्य ‘साहित्य’ कम र ‘महोत्सव’ बढी हुनथालेछ ।
महोत्सवको अन्तिम दिनतिर पुँजीवादबारेको एउटा सत्र पनि थियो । जुन हेर्न पाइएन । तर मेरो बुझाइमा महोत्सव आफैंमा पुँजीवादको एउटा अनुपम नमुना थियो । जहाँभित्र हामीले बाटोभरि देखेको भारतको प्रतिविम्ब अलिकति पनि थिएन । जहाँ साहित्यलाई किन्न र बेच्न खोज्नेहरूको आकारविहीन भीड मात्रै थियो । भारतका रेल स्टेसनहरूमा राखिएका किताबका साना पसलमा हरबखत झुम्मिरहने अनुहारहरू पनि थिएनन् महोत्सवमा । सायद लामो दाह्री पालेका रवीन्द्रनाथ टैगोर धोतीकुर्तामा अचानक झुल्केर पुरानो झोला बोकेर मेलामा लुरुलुरु प्रवेश गर्न खोजे भने उनले पनि त्यहाँ प्रवेश नपाउन सक्छन् ।