पूर्व चार नम्बर

ठमेलमा आगो लाग्दा भोजपुर बजारमा पानी परिरहेको थियो । उसो त केही दिनअघि नेपालै बन्द भइरहँदा पनि त्यसको प्रभाव यहाँका सीमित राजनीतिक कार्यकर्ताहरूले ि चया पसलमा बसेर मसिनो स्वरमा गर्ने कुराकानीमा बाहेक अन्यत्र देखिएको थिएन ।

धनकुटाको हिलेबाट पाखि्रबाससम्मको कालोपत्रे सडकपछि झन्डै २५ किलोमिटर कच्ची ओरालोमा धूलो उडाउँदै अरुण नदीको तीरमा पुगिन्छ । अरुणमा एक विदेशी संस्थाको सहयोगमा धमाधम पक्की फलामे पुल बन्दैछ । अढाइ सय मिटर उचाइमा तातो हावा चल्ने अरुण किनाराका छाप्राहरू अब बिस्तारै बजार बन्दै छन् । धरान, धनकुटादेखि भोजपुर र संखुवासभा जाने मिनिबस र जिपहरू धूलो उडाउँदै आएर यही लेगुवा भन्ने ठाउँमा घ्याच्च रोकिन्छन् र अरुण तर्न पालो कुरेर बस्छन् । फलामे तारमा बाँधिएको फेरिमा मोटरसाइकलदेखि, बस, ट्रक, ट्याक्टर र डोजरसम्मले अरुण पार गर्छन् । अरुणपारि भोजपुर । वारि अरुणको तीरैतीर उँभो लागे खाँदबारी ।

भोजपुर बजारबाट दक्षिणतिर पर्ने टक्सार गाविसको पारपानी भन्ने ठाउँमा जान रातोमाटोका भिराला गोरेटा र बाँसघारी छिचोलेर झरिरहँदा सँगै गएका भोजपुरका एक युवा पत्रकार कम नेता युद्धकालको चर्चित गीत गुनगुनाइरहेका थिए, ‘अरुण तरेर नाना तमोर तरेर, आयौं हामी वीरताको गाथा बोकेर’ ।

१० वर्षअगाडिको युद्धमा त अरुण र तमोर तरेका कुरा गरिन्थ्यो । अझै ७ पुस्ताअगाडि भोजपुर आएका काठमाण्डुका नेवारहरूले के के मात्र तरेनन् होला । अहिले त अरुणमा मात्र हो पुल बन्न बाँकी । तमोरमा धेरै पहिले पक्की पुल बनिसक्यो । राणा कालअघि नै धातुका टक बनाउनका लागि औद्योगिक क्षेत्रको रूपमा विकास भएको रहेछ टक्सार बजार । पछि नजिकैको तामाखानीमा तामा भेटिन छाड्यो । अनि तामाका सिक्का उत्पादन गर्ने टक्सारले काम पाउन छाड्यो । तर अझै पनि टक्सारमा दुई चार घर पुराना नेवारहरू दिनभरि भाँडाकुँडा ट्याक्क टुक्क पारेर बसिरहन्छन् । सडकबाटो हुँदै कच्चापदार्थ बाहिरबाट आउँछ, टक्सारका सिपालु हातले तिनीहरूलाई पोल्छन्, ठोक्छन्, पगाल्छन् अनि चिल्ला भाँडाकुँडा बनाएर बाहिर पठाउँछन् ।

राणाकालपछि सत्र सालसम्म पनि भोजपुरलाई पूर्व चार नम्बर भनेर चिनिन्थ्यो । भोजपुरेहरूको विश्लेषणमा उपत्यकाका ३ वटा जिल्लापछि सुगमताको हिसाबले भोजपुर चौथो नम्बरमा आउँथ्यो रे । त्यसबेला घोडा दौडने बाटो भएका ठाउँलाई सुगम मानिन्थ्यो । भोजपुरमा पक्की घोडेटो थिए । कुनै जमानामा सुगम भनेर चिनिने र अवसरको खोजीमा काठमाण्डुदेखि बसाइ सराइ हुने भोजपुरमा समय कहिलेदेखि टक्क अडियो थाहा छैन । ३ वर्षअघि मात्रै बाहिर दुनियाँसँग सडक बाटोले जोडिएको भोजपुरलाई त आजकल पूर्वको कणर्ाली पनि भन्दा रहेछन् ।

भोजपुरमा भेटिएका चिया पसलेदेखि, विद्यार्थी, नेता, वकिल, पत्रकार सबैको मुखबाट एउटै खाले टिप्पणी सुन्न पाइयो । भोजपुरले थुप्रै अब्बल दर्जाका नेता र प्रशासक जन्मायो तर कसैले भोजपुरलाई बाल दिएनन् । यति भनिरहँदा भोजपुर बजारका व्यापारीहरू दुई चार दिनपछि जिल्ला घुम्न आउने एकजना मन्त्रीको स्वागतमा दुई चार अक्षर लेखिएका फ्लेक्स ब्यानरलाई अआफ्नो पसलमाथि टाँग्दै थिए । मन्त्रीको सवारीलाई लक्षित गरी, प्रहरीहरू सडक नै ढाकेर राखिएका मासु पसल र सेकुवा पोल्ने चुलोलाई भित्र सार्न उर्दी जारी गर्दै हिँडिरहेका देखिन्थे । केन्द्रीय राजनीतिसँग प्रगाढ साइनो राख्न चाहने चल्तापुर्जाहरू घरीघरी मोबाइल थिच्दै आजै एयरपोर्ट आइपुग्ने योजना आयोगका एक पूर्वसदस्यका लागि गाडीको इन्तजाम गर्दै थिए । बजारका पुराना घरका भित्तामा टाँसिएका केपी ओली प्रमुख अतिथि भएको कार्यक्रमको पम्प्लेट दुई चार दिनयताको झरीले खुइलिँदै गएका थिए । केही हप्ताअघि मात्रै भोजपुर आएर जोडदार भाषण गरेर गएका केपी ओलीले भोजपुरबासीसमक्ष प्रस्तुत गरेका उखान टुक्का र किस्साहरू अझै पनि दाउरामै चिया पाक्ने बजारका होटलहरूमा जीवन्त थिए ।

३७ प्रतिशत राईहरू बसोबास गर्ने भोजपुर जिल्लामा, बजारमा एउटा चिया पसलमा किराँत वर्कस पार्टीका एक जल्दाबल्दा स्थानीय नेता पनि भेटिए । नेपाल एकीकरणमा माझकिराँतको विलयदेखि, हिन्दुवादी केन्द्रीय राज्यसत्ताले गरेका अन्याय अत्याचारका थुप्र्रै उदाहरण उनले हक्की रूपमा प्रस्तुत गरे । मदिराकी आविस्कारक सुम्निमा र आर्किटेक्ट इन्जिनियर पारुहाङलाई शिव-पार्वतीको रूपमा कसरी अपव्याख्या गरिन्छ भन्ने तर्क पनि दिए । नेता महोदयका गहकिला कुरा सुनेपछि यसो बजार घुम्न निस्किँदा बजारमा रहेको निकै सुन्दर, आकर्षक र प्रख्यात ढुंगेधारा ‘सातधारा’तिर पुगियो । सातधारा व्यवस्थापन समितिको नाम मार्बलमा कुँदेर राखिएको थियो । नामहरू सरर पढेँ । एकजना पनि राई रहेनछन् त्यो समितिमा । थाहा छैन, गाउँको ढुंगेधारा बनाउने समितिमा कसरी केन्द्रीय राज्यसत्ताले बहुल राईहरूलाई पाखा लगाएछ ।

काठमाण्डुतिरै थोरबहुत संगत भएका युवा संगीतकार श्याम सामसोन संयोगवश भोजपुर बजारमै भेटिए । उनी विकटताको दोष नदीलाई दिन्थे । एकातिर दूधकोसी अर्कातिर अरुण । अनि पुल नभएको नदीबाट विकास के चढेर आउनु भोजपुरसम्म ?

उसो त ३ वर्षअघि सडक आएपछि भोजपुरमा फाट्टफुट्ट बैंक र निजी अस्पताल खुल्न थालेका छन् । मासु बेच्ने प|mेस हाउसहरू खुलेका छन् । लोकल कुखुराको मात्रै ससाना अण्डा पाइने चिया पसलमा विकासे अण्डा पनि पाइन थालेको छ । सेतो कमेरोले पोतेका घरहरूको ठाउँमा आधुनिक तरिकाका घर बन्न थालेका छन् । एनजीओ र आईएनजीओका गाडीहरू पनि आक्कलझुक्कल आउन थालेका छन् । गाउँबाट बजार बन्दै छ भोजपुर । तर अफसोस, ७ पुस्ताअघि थुप्रै नदी तरेर भोजपुर बसाइ आएकाहरू अब फेरि भोजपुर छाडेर फकर्ंदै छन् । कोही धरान धनकुटा र मधेस झर्दै छन् । कोही काठमाण्डुमा घरजम । ‘हाम्रा केटाकेटीहरू यहाँ बस्नै मान्दैनन् नि’ पुस्तौंदेखि भोजपुरमा खुकुरी उत्पादन गर्दै आएका एक श्रेष्ठ थरका व्यापारीले काठमाण्डुको इमाडोलमा घर किनेको सुनाउँदै थिए ।

बाटोसँगै सपना र आशा पनि भित्रिएका रहेछन् भोजपुरमा । विदेशी संस्थाले ट्र्याक खोलिदिएको बाटोले खोटाङको दिक्तेल भेट्दो रहेछ । बाटो पिच होला र सरर एकै दिनमा दिक्तेल, ओखलढुङ्गा हुँदै मध्यपहाडी राजमार्गमा काठमाण्डु पुगौंला भन्ने सपना पनि व्याप्त छ । तर वास्तविकता, एक झर पानी परेपछि सडकमा ट्याक्टरबाहेक केही गुड्न सक्दैनन् । भोजपुरबाट बस चढेर धरानपुगेर अर्को बसमा चढेर काठमाण्डु पुग्ने भाडा २५ सय तिर्नुपर्छ ।

घाँसे मैदानमा टक्सार विमानस्थल छ । सरकारीबाहेक अर्को एउटा निजी कम्पनीले पनि हप्तामा एकचोटि प्लेन ओराल्छ । टिकट पाउन ठूलै पहुँचवाला हुनुपर्छ । नेपाल एयरलाइन्सको काउन्टरबाहिर एउटा सूचना पढ्न पाइयो, ‘फलानो फलानो गते फलानो मन्त्री आउने भएकाले यहाँबाट वितरण गरिने ८ वटा सिटमध्ये ७ वटा उपलब्ध नहुने व्यहोरा जानकारी गराइन्छ ।’

विमानस्थल पायक ठाउँमा नभएकाले वैकल्पिक विमानस्थलको रूपमा दुई तीनवटा गाउँ प्रस्ताव गरिएको रहेछ । ती प्रस्तावित गाउँका मान्छे आफ्नो गाउँ छेउमा नयाँ एयरपोर्ट बन्ला भनेर आस गरेर बस्दा रहेछन् ।

भोजपुरमा विमानसम्बन्धी दुईटा रमाइला किस्सा सुन्न पाइयो । विमानस्थलमा अवतरण गर्ने नियमित रुटमा बादल लाग्दा विमान अर्कोतिरबाट एक चक्कर घुमाएर उचाइ कम गदर्ैै अवतरण गरिँदो रहेछ । तर बजारका मान्छेहरू भने भोजपुरकै एकजना पाइलटले प्लेन उडाएको दिन आफ्नो गाउँलाई एक चक्कर मारेर मात्रै ल्यान्ड गर्छ भन्दा रहेछन् ।

भोजपुर विमानस्थलमा जहाज बसेको हेर्न जाँदा बजारका तिनै पत्रकार कम नेता पनि सँगै थिए । उनले यत्ति रमाइलो गफ दिए कि, काठमाण्डु जाने जहाज उड्न ठिक्क परेको थियो । उनी जहाजको रुटबारे पूर्वानुमान गर्दै थिए ‘ऊ त्यो डाँडो यस्सो नाघेर जान्छ होला ।’ जहाज उड्यो । उनले भनेको डाँडो ननाघी जहाज सोझै गयो । उनले कुरा मिलाए, ‘त्यो ट्याम्के डाँडो हो, त्यहाँबाट राम्रो दृश्य देखिन्छ । म भएको भए पाइलटलाई त्यतैबाट उडाएर लैजानु भन्थेँ ।’ उनले जोक गरेको शैलीमा भनेका थिएनन् ।

कान्तिपुर कोसेलीमा प्रकाशित


Leave a Reply

Your email address will not be published. Required fields are marked *