बेलायतमा बस्ने २३ वर्षका डेरियो लोपेजलाई १ वर्ष अघिमात्रै सञ्चारमाध्यमले चिनेको थियो, जतिखेर उनी अनलाइनमार्फत सामान बेच्ने प्रख्यात साइट इबेमा टप सेलर भएका थिए । टप सेलर हुनु भनेको बेलायतमा अधिकांशले सामान खरिद गर्न प्रयोग गर्ने वेबसाइट इबेमा वर्षभरिमा सबैलाई उछिनेर धेरै सामान बेच्नु हो । सबैजनालाई उछिन्नु भनेको चाहिँ इबेमार्फत सामान बेच्ने नाम चलेका ठूला कम्पनी र चेन स्टोरहरूलाई पनि उछिन्नु हो ।
डेरियो लोपेज १० वर्षअघि बेलायतमा विद्यार्थी भिसामा रहेका आफ्ना बाबुसँग रहन आफ्नी आमाको पछि लागेर गएका थिए । त्यतिखेर उनीसँग जीवनका विस्तृत उद्देश्यहरू तयार भइसकेका थिएनन् । बेलायतलाई २ वर्ष नियालिसकेपछि १४ वर्षको उमेरमा उनले एक दिन आमाको क्रेडिट कार्डबाट १० पाउन्ड मागे । उद्देश्य थियो एउटा वेबसाइटको नाम रजिस्टर गर्नु ताकि उनले इबेबाट कारोबार गर्न सकुन् । आमालाई वास्तविक उद्देश्य भनेको भए डेरियोले पैसा पाउँदैनथे होला । उनले अर्कै प्रयोजन बताएर पैसा मागेका थिए । वेबसाइट दर्ता गरेपछि उनले इबेमार्फत सामान बेच्न थाले । सुरुमा उनले मोबाइलको सिमकार्ड बेचे । त्यसपछि बिस्तारै मोबाइलका पाटपुर्जा र अन्य सामग्री बेच्न थाले । इबेमा सामान बेच्दा बेच्दा १० वर्षमा उनले निकै पैसा कमाए । अनि नाम पनि कमाए जब उनी टप सेलर भएर बेलायती सञ्चारमाध्यममा छाए ।
इबेसँगै उनले अहिले लन्डन म्याजिक स्टोर नामको व्यवसाय पनि सुरु गरेका छन् । डेरियोले २९ जनालाई जागिर दिएका छन् । उनले वर्षभरि ६० लाख पाउन्डको कारोबार गर्छन् । अर्को वर्ष २ करोड पाउन्डको टार्गेट राखेको बताउँछन् डेरियो ।
गुल्मीको अमरापुरमा जन्मे पनि डेरियोको बाल्यकाल काठमान्डुमै बितेको थियो, आमासँग । हरेक बालकको जस्तै डेरियोको पनि इच्छा आकांक्षा थिए । नयाँ खेलौना, लुगा अनि आकर्षक चीजहरू । र नेपालका धेरै बालबालिकाको जस्तै उनका पनि यी इच्छाहरू सपनामै सीमित हुने गर्थे । डेरियोलाई थाहा थियो, विद्यार्थी भिसामा बेलायतमा रहेका बाबु धेरै कमाउँछन् र आमासँग उनका इच्छा पूरा गरिदिने पैसा थिएन । त्यसैले उनी चित्त बुझाउँथे । सपना त उनले पाइलट बन्ने देखेका थिए । आकाशमा उडेका विमान हेेरेर तरंगित हुने गथ्र्यो उनको मन । उनले यो सपना साह्रै महँगो पर्छ भन्ने पनि बुझेका थिए । १२ वर्षको उमेरमा बेलायत आइसकेपछि पाइलट बन्न सकिएला कि भन्ने झिनो आशा नपलाएको होइन उनको मनमा । तर जब उनले इबेमा पसल थापे । त्यसपछि पाइलट बन्ने सपनालाई धनी बन्ने सपनाले जित्यो । र, यही सपनाले अघि डोर्यायो डेरियोलाई ।
हो, पैसा भए कतिपय सपना पूरा हुन्छन् । बाल्यकालको कलिलो मस्तिष्कमा गढेको प्लेन उडाउने सपनालाई डेरियोले सार्थकता दिएरै छाडे । अहिले उनी प्लेन उडाउन पनि सिक्दै छन् सोखको रूपमा ।
डेरियो बिहान ४ बजे उठ्छन् र राति ११ बजेसम्म निकै व्यस्त भइरहन्छन् । बाँकी ५ घन्टा पनि काम र व्यवसायकै कुरा मात्रै दिमागमा खेलिरहन्छ । इबेको काम पनि सजिलो कहाँ छ र ! उनी यसै टप सेलर भएका होइनन् । हरेक ग्राहकको जिज्ञासाको जवाफ दिँदै उनले धेरै रात अनिदो बिताएका छन् । कुनै असन्तुष्ट ग्राहकसँग माफी माग्न ग्राहककै ढोकासम्मै पुगेका छन् । लगनशीलता र कडा परिश्रम भयो भने जे गरे पनि सफल होइन्छ भन्ने मन्त्र छ डेरियोको ।
१२ वर्षको उमेरमा आमाको पछि लागेर बेलायत आउनु उनको जीवनमा टर्निङ पोइन्ट थियो । बेलायतले उनलाई स्वतन्त्रता र अवसर दियो । उनले त्यसको सदुपयोग गरे । ‘नेपालमै भइरहेको भए पनि मलाई मन पर्ने केही न केही गरिरहेको हुन्थें, तर बेलायत नआएको भए मेरो जीवन बिल्कुलै यो अवस्थामा आइपुग्ने थिएन ।’
‘यहाँ लोडसेडिङ र राजनीतिक हडतालहरू हुँदैनन् । हरेक कुरा सिस्टममा चलेका छन् । पठाएका पार्सल र पत्र एकै दिनमा गन्तव्यमा पुगिसक्छ । र, व्यवसाय गर्नेहरूलाई हरेक किसिमका सुविधा दिइएका छन्, विशेषगरी साना व्यवसायलाई,’ आफूलाई सफल बनाउने बेलायती फ्याक्टरहरूबारे डेरियोले यसो भने ।
हुन त, डेरियो सन् २००२ मा बेलायत गएदेखि फर्केर नेपाल आएका छैनन् । मन नलागेर होइन, आउन नभ्याएर । छिट्टै नेपाल आउने योजना छ उनको । नेपालमा पनि थुप्रै अवसर रहेको बताउँछन् डेरियो । ‘विशेषगरी प्रविधिमा अन्वेषण र प्रयोगको लागि उर्बर मानिएको विकासशील देशहरूमा अवसर बढी हुने’ डेरियोको बुझाइ छ ।
हल्का गुनासो पनि छ डेरियोको नेपाली समाजप्रति, जहाँ राम्रो डिग्री भएका र डाक्टर, इन्जिनियरलाई मात्रै सम्मान गर्ने चलन छ । ‘हामीकहाँ अन्तर्राष्ट्रियस्तरका होनहार युवाहरू प्रशस्तै छन्, तर विडम्बना युवाहरू केही गर्न सक्दैनन् भनेर बूढाहरू होच्याएर हेर्ने गर्छन्,’ स्वाभाविक रूपमा आफ्नो जन्मभूमि आर्थिक र राजनीतिक रूपमा समृद्ध भएको हेर्ने चाहना छ डेरियोको । उनको बुझाइमा नेपाललाई आर्थिक क्रान्ति चाहिएको छ । त्यसपछि राजनीतिक समस्या आफैं हल हुन्छ ।
सन् १९९० को दशकको नेपाली समाजमा क्षत्री केटी र बाहुन केटाको प्रेम विवाह सजिलै पच्ने विषय थिएन । भयो त्यही । केटीलाई केटाको परिवारले कहिल्यै स्विकारेनन् । अझै पनि स्वीकार गरेका छैनन् । सुदीप गौतमले आफ्ना बाबुको परिवारले आफ्नी आमा र आफूमथि गरेको नमिठो विभेद बाल्यकालदेखि नै अनुभव गरेका थिए । त्यसैले किन किन उनलाई आफ्नो बाबुसँग जोडिएको थर सधैं बोझ लाग्ने गर्दथ्यो । आफ्नो छुट्टै परिचयमा बाँच्नुपर्छ भन्ने धारणा कायम गर्न बाल्यकालको तितो अनुभवले नि सघाएको हुनुपर्छ । त्यसैले सन् २००७ मा सुदीप गौतमले आफ्नो नामलाई पूर्ण रूपमा खारेज गरिदिए र केही कुरासँग साइनो नजोडिएको नयाँ नाम आफैंले रोजेर राखे- डेरियो लोपेज । ‘हरेक व्यक्तिको आफ्नै परिचय हुन्छ । चाहे जुनसुकै जात धर्मको होस् आफ्नो जीवन बाँच्न पाउने अधिकार हुन्छ र मानवीय व्यवहारको अपेक्षा हुन्छ । मैले पनि मेरो आफ्नै परिचय चाहेको थिएँ,’ डेरियो भन्छन् ।
डेरियोले जस्तै विलियम शेम्सपियरको रोमियो एन्ड जुलियटमा रोमियोले आफ्नो पिताको थर त्याग गरिदिएका हुन्छन् । अनि जुलियटले रोमियोलाई ‘नाममा के नै छ र ?’ भन्छिन् । जुलियटले त्यतिमात्रै भन्दिनन्, यो पनि भन्छिन्, ‘गुलाफलाई जे नाम दिएको भए पनि यसको सुवास यस्तै मिठो हुन्थ्यो,’ सायद डेरियो लोपेज बनेका सुदीप गौतम पनि सुवास छर्दै छन्, गुलाबजस्तै ।