• होम
  • कविता
  • यात्रा
  • पत्र
  • कथा
  • गन्थन
  • लेख
  • Poems
  • Letters
  • Musings
  • Travel
  • Video

Musings by Kamal Kumar

  • एउटा अधुरो कथा – घर कब आवोगे

    August 24th, 2016
    घर कब आओगे?

    लामो समय पछि उसको कपाल काट्ने पसलमा पुगेर मेरा कपाल र दारीमा उसले गर्नु पर्ने योगदानबारे छोटो निर्देशन दिएपछि म विशाल ऐनाअगाडि राखिएका एक कुर्सीमा बसेँ । आकाशे रंगको कपडा झट्काएर मेरो घाँटीमा बेरिदिँदै गर्दा उसले सोध्यो, ‘दाइ फेरि कान्तिपुरमै आउनु भयो?’ कपडा बेरिएको घाँटीभित्रको नलिलाई खुकुलो बनाउँदै मैले हैन भनेँ । नजिकै शान्तिनगरमा डेरा सरेको बुझाएँ । उ केही बोलेन । एकछिन पछि हातमा कैँची चलाउँदै सोध्यो ‘कस्तो काट्ने? कति काट्ने’ यो मामिलामा म निकै सजिलो मान्छे । ‘जत्रो मन लाग्छ तेत्रो, जस्तो मन लाग्छ तेस्तो । म केही भन्दिनँ’ मेरो जवाफ सुनेर झन् कन्फ्युज भए जसरी टाउको घुमाइ घुमाइ मेरो झाङ्गिएको कपाललाई कोण कोणबाट निरिक्षण गर्न थाल्यो उ । र एकछिन पछि कैंची चलेको एकोहोरो सँगीत मेरो कानमा गुन्जिन थाल्यो । मेरा आँखा उसको पसलका भित्ताभरि टाँसिएका पोस्टरमा पोखिन थाले ।
    ***
    सानो छँदा पिताजीले कपाल काटिदिनु हुन्थ्यो । अलि ठूलो भएपछि पिताजीले काटिदिएको कपाल टाटेपाटे लाग्न थाल्यो । त्यसपछि हाम्रो टोलतिर साइकलमा चढेर ‘क…..पा…..ल का….ट्ने’ भन्दै कराउँदै हिँड्ने एक जना हजामबाट मैले यो सेवा लिन थालेँ । उ धोती लाउँथ्यो । सेतो सर्ट लाउँथ्यो । मोटो ज्यानको थियो । उसको अगाडि म सारा कपडा खोलेर नतमस्तक भएर टुक्रुक्क बस्थेँ । उ सानो काठको बाकसबाट कैँची र काइँयो निकालेर मेरो कपालसँग एकछिन खेल्थ्यो । कपाल काटेको उसको आम्दानी ५ रुपैंया । कपाल काटेपछि मात्र उसले सानो गोलाकार ऐना हेर्न दिन्थ्यो । कपाल काटिरहँदा ऐना हेर्न खोजेको उसलाई मन पर्दैन थियो । मेरो पुर्पुरोमा उसका सुर्तीले पहेँलिएका खस्रा हत्केला हुन्थ्यो । जहाँबाट सँधै नमिठो गन्ध आइरहेको हुन्थ्यो । कपाल काट्दा काट्दै उ बेला बेलामा पिच पिच सुर्ती थुक्थ्यो । बस्दाखेरि बेपर्वाह उसका धोती काला तिघ्रासम्म माथि सरेका हुन्थे । उसले लगाउने नीलो रङको सुतीको कट्टु पनि सम्झिन्छु म ।
    ***
    हुन त हेटौंडामा कपाल काट्नै सैलुन अरु पनि थिए । धेरै जसो बजारमा थिए । मेरो घर भएको ठाउँ कर्रामा पनि एउटा थियो । हाइवेको छेवैमा । यति छेवैमा कि नारायणघाटबाट विराटनगर जान कुदेको एक्सप्रेस बसले सडकमा उडाएको धुलो कपाल काटिरहँदा अनुहारमै आएर टाँसिन्थ्यो । काठको पुरानो छाप्रोमा रहेको त्यो कपाल काट्ने पसल मैले सम्झेदेखि नै त्यहिँ थियो । त्यो सैलुनमा ठूला ऐना थिए । कपाल काटेको नि अलि महँगो थियो । १० हो कि १५ रुपैंया । चाडबाड या यस्तै विशेष बेलामा चाहिँ त्यहाँ गएर कपाल काटिन्थ्यो । मलाई त्यहाँ सबैभन्दा मन पर्ने चाहिँ काठको ठूलो घुम्ने कुर्सी । अनि भित्तामा टाँसिएका हनुमान चालिसा, गीता सार देखि बलिउडका अर्धनग्न हिरोइनहरुको रंगीन पोस्टरहरु । भित्ताभरि यति पोस्टर हुन्थे कि हेरेर कहिल्यै सकिँदैन थियो । जति हेर्यो हेरुँ हेरुँ लाग्ने । कपाल काटिदिने हजामको उमेर भर्खरको थियो । उसको आवाज चाहिँ केटीको जस्तो थियो । कपाल काट्दिरहँदा बडो मिठो गित पनि गाउँथ्यो कहिले काहिँ । टोलका दादा केटाहरुसँग उसको हल्का दोस्ती पनि थियो । तर यो दोस्तीको मूल्य भने उ ती दादा केटाहरुको कपाल सित्तैमा काटिदिएर चुकाउँथ्यो । त्यो जवान हजाम सँधै उस्तै देखिन्थ्यो । उ कहिल्यै बुढो भएन । कर्रामा जनसंख्या बढ्यो । घरहरु बढे । बुढाहरु मरे । तर त्यो हजाम उस्तै थियो । कुनै दिन म घर जाँदा राजमार्गमा छेवैमा रहेको उसको त्यो काठको छाप्रो थिएन । त्यसकै अलि पर पक्की घरमा अर्कै हजामले नयाँ सैलुन खोलेको रहेछ ।

    ***
    म त्यही सैलुनको पोस्टरमा फर्किन्छु । प्रमोदले ठाकुरले मेरो कपाल काटिरहँदा अफिस जान चिटिक्क परेर हिँडेका एक अँधबैंशे सैलुनमा छिर्छन् । घर्रामा राखेको मेसिन आफैंले निकाल्छन् । ऐनामा झण्डै गाला जोडेर आफ्ना बाक्ला जुँगामा आफैंले मेसिन लगाउँछन् । धन्यवाद भनेर हिँड्छन् । अर्का एक वृद्ध आउँछन् । प्रमोदले उसलाई बस्नुस् अंकल भन्छ । ती वृद्ध फुर्सदसँग एउटा पत्रिका च्याप्चछन् र बस्छन् ढोका छेउकै कुर्सीमा । प्रमोदको एउटा एसिस्टेन्ट पनि छ । भर्खर आए जस्तो छ । त्यति धेरै बोल्दैन ।
    प्रमोदका अरु एसिस्टेन्ट पनि थिए । तर ती आउँथे-जान्थे । कुनै भर्खर जुँगाको रेखी बसेका हुन्थे । कुनै प्रमोद भन्दा पाका नि हुन्थे । प्राय सबै एसिस्टेन्ट प्रमोदको नाता गोता नै हुने गर्थे । कोही भतिज, कोही साला, कोही टाढाको यस्तै कोही । ‘त्यो पहिलाको साथी कहाँ गयो?’ मैले प्रमोदलाई सोधेँ । उसले बुझीहाल्यो मैले कसलाई सोध्दैछु भनेर । तुरुन्त प्रतिप्रश्न गर्यो, ‘को? त्यो काले?’ हो त्यही काले । काले भन्न मलाई अफ्ठ्यारो लागेको थियो । उसले नै प्याच्च भन्दियो । निकै काले थियो त्यो असिस्टेन्ट । हाँस्दा खेरि उसका सेता दाँत मर्करी बत्ती जस्ता टल्किन्थे । उसको नाम चैं थाहा थिएन । तर उसलाई लामो समयसम्म देखेको थिएँ प्रमोदको पसलमा ।
    उ ती बूढा अंकलको गालामा ब्रस दल्न थाल्छ । ‘दारी नै छैन बुढाको किन काट्नु परेको होला?’ म मनमनै सोच्छु । बुढा अंकलको अनुहारमा निधार र आँखा बाहेक सबैतिर सेता गाजै गाजले ढाकेको हुन्छ । फेरि अर्को युवक झुस्स दारी र निराश अनुहार लिएर सैलुनमा छिर्छ । दुबै जना नाइलाई व्यस्त देखेपछि उसको अनुहार झन् चाहुरिन्छ । ती चौडा ऐनामा आफ्नो अनुहारलाई केहीबेर एक टकले नियाले पछि उ बाहिरिन्छ । अर्को लामो कपाल, कालो वर्ण र मैलो लुगा लगाएको २०-२५ को मान्छे सैलुनमा छिर्छ । प्रमोद नजिकैको कुर्सीमा आएर बस्छ । उसलाई हेर्दा लाग्दथ्यो उ भर्खर सिमेन्टीको ५० वटा बोरा गाडीबाट अनलोड गरेर आएको हो । उ कपाल काट्न हैन पीडा पोख्न आएको रैछ । टाउकोमा हात लाएर कुर्सीमा बसुन्जेल उसले एक पटक पनि ऐना हेरेन । ठेकेदारले पैसा खाएर भागेको कुरा उ मलीन आवाजमा सुनाउँछ । प्रमोद फिस्स हाँसेर प्रतिक्रिया जनाउँछ ‘भाग्यो है?’ । मजदूरको अनुहारको मलीनता उस्तो उन्छ । ऐनामा देखिएको प्रमोदको शान्त अनुहारले भन्छ ‘धन्य, मेरो कुनै ठेकेदार छैन’

  • पत्र लेख्न छोडेको वर्षौंपछि १५ सालको जनवरीको चीसो साँझमा आफैंलाई एउटा पत्र

    January 23rd, 2016
    प्यारो म

    मलाई औपचारिकतादेखि घृणा लाग्छ । अनि यति भन्दा भन्दै पनि औपचारिक हुने आफ्नै बानीदेखि अनौठो लाग्छ । मन नपर्ने सबै कुराबाट भाग्न सकिँदैन । मन परेजस्तो गरिदिनु । रमाए जस्तो गरिदिनु । थाहा छैन मान्छेलाई के ले बाँधेको हुन्छ । मलाई नि बाँधेकै होला केहीले त ।

    मैले आफैंलाई प्यारो भनेर सम्बोधन गरेपछि मलाई माथीका हरफ फुरेका हुन्, सबभन्दा पहिला । अनि माथिका हरफमा धेरै ध्यान दिएर वर्षौं अथवा महिनौंपछि कुन संजोगले लेख्न थालेको पत्रको विषय नै बिर्सेछु । शायद अब यही ‘प्यारो’ को विषयमा  थप केही हरफ लेख्नु पर्ला ।

    मेरो लेखाइ बिग्रेको हो कि मुड । पहिले जस्तो मजा आइरहेको छैन लेख्दा । जबर्जस्ति लेखेको जस्तो लागिराछ । अलिअलि जबर्जस्ती पनि हो । भाषा पनि बिग्रेछ । अगि जबर्जस्ति ह्रस्व लेखेँ । पछिल्लो लाइनमा दीर्घ ।

    सामाजिक सन्जालमा पोखिएका वह साह्रै सस्तो लाग्छन् । त्यसैले मन लाग्दा लाग्दै पनि पोख्न सकिनँ । कतिचोटी लेख्दै मेट्दै गरेँ । हामीलाई सामाजिक मूल्याङ्कनदेखि डर लाग्ने बानी परेछ । लेनादेना केही नभए पनि । पूँजिको समाज । स्टाटस र इम्प्रेसनको समाज ।

    अस्ति भर्खर ब्रीज अफ स्पाइज भन्ने फिल्म हेरेको थिएँ । त्यसमा एउटा साधारण संवाद थियो । जसले मलाई छोएको थियो । अँग्रेजीमा अर्कै थियो । नेपालीमा भन्न खोज्दा यस्तो हुन्छ ‘तिमी आफू को हौ भनेर अरुलाई भनिरहनु पर्दैन’ । अँह न्याय भएन त्यो संवादलाई । प्रसङ्ग यस्तो थियो फिल्ममा: रुसले पक्रेको अमेरिकन पाइलटलाई रुसीहरुले चरम यातना दिएर गोप्य सूचनाहरु चुहाउने प्रयास गर्छन् । फिल्ममा उसले सूचना चुहाएको वा नचुहाए दृश्य देखाइँदैन । अन्तिममा एउटा सम्झौता अनुसार उसलाई रिहा गरिन्छ । बाटोमा फर्किरहँदा प्लेनमा उसले उसलाई रिहा गराउने वकीललाई भन्छ ‘मैले रसियनहरुलाई एउटा पनि सूचना दिइनँ’ । त्यसपछि वकिलले भन्छ ‘You know what you did. You dont need to tell others’ । यो अँग्रेजीमा लेखेको पनि ठ्याक्कै त्यही संवाद नहुन सक्छ । तर यस्तै केही थियो ।

    केही दिनअघि कसैले केही सोधेको थियो । सोधेको प्रश्न बिर्सिएँ । तर मैले दिएको जवाफ यस्तो थियो ‘मान्छेलाई आफू असल छु भनेर प्रमाणित गरिरहन मन लाग्छ, आफूलाई असल प्रमाणित गर्न मान्छे जतिसुकै खराब हुन पनि चुक्दैन । ‘

    मलाई झूठदेखि घृणा लाग्छ । झूटो बोल्नु र झूठमा धेरै फरक छ। कसैले मलाई कस्तो मान्छे मन पर्दैन भनेर सोध्दा मैले तुरुन्तै भनेको थिएँ ‘ढोँगी’ । ढोँगि भनेको के हो मलाई व्याख्या गर्न आउँदैन । अझै भन्नु पर्दा मलाई यो शब्दको एउटा पनि पर्यायवाची शब्द आउँदैन । (उमङ्गले सँधै आफूलाई नेपालीमा कमजोर भन्थी । तर भर्खरै मैले उसलाई synonym को नेपाली के हो भनेर सोधेँ । उसले नै पर्यायवाची भनेर सम्झाइदिई) ।

    मेरो बुझाइमा झूठमा रमाउने मान्छे ढोँगी हुन् । आफूलाई असल प्रमाणित गर्न खराब हुने मान्छे ढोँगी हुन् ।

    मलाई औपचारिकता मन नपरेजस्तै उदेश्य र लक्ष्य पनि मन पर्दैन । बडो बोझपूर्ण लाग्छन् मलाई यी शब्द । त्यसैले त निरुदेश्य लेखिरहेको छु । यति भन्दा भन्दै पनि कहिलेकाहिँ केही केही गरुँ गरुँ जस्तो चाहिँ लाग्छ । मलाई थाहा छ मैले सोचेका ती कुरा गर्ने आँट बटुल्न मैले थुप्रै सामाजिक मूल्याङ्कनलाई भत्काउनै पर्ने हुन्छ । ती कति टाढाका कुरा हुन् मैलै नापेको छैन । तर मनमनै कल्पेर बडो रमाइला रोडम्यापहरु बनाउँछु कहिलेकाहिँ ।

    ह्या । कस्तो अमूर्त कुरा गरेको । त्यो ढोँगीपन ममा पनि होला अलिअलि ।

    मेरा मनका सबै कुराहरुलाई व्यक्त गर्न सक्दिनँ । कत्ति कत्ति कुरा मनमा मात्र हुन्छन् । ती कुराको स्वरुप मनमा मात्र हुन्छ । बाहिर निकालेपछि जिरो ग्राभिटीमा हावा हराएजसरि हराउँछन् मात्र । मन प्यारो लाग्छ । म चाहिँ कुन्नि!

    पछिल्ला दिनमा मलाई रोडम्यापहरुले साँच्चै सताइरहेका छन् । ती रोडम्याप कुनै दस्तावेज र भिजन नभएर केवल रोडम्याप नै हुन् । अर्थात् सडकका नक्सा । मलाई त्यस्तै नक्सामा भएका अथवा नभएका सडकै सडक । सडकै नभए पनि भीरै भीर, जंगलै जंगल कता कता जान मन्छ । आफूले जानेको काम भएर होला हातमा एउटा क्यामेरा नि बोकेर । आफ्नो कथा बिर्सिँदै, अरुको कथा सुन्दै ।

    अफशोच । सामाजिक मूल्याङकनलाई भत्काउन यति सजिलो भएको भए सबै मान्छे गौतम बुद्ध हुन्थे होला ।

    म पछिल्लो समय जागीर खोजीरहेको छु । म जागिरे हुँ । तर पनि । हिँडेर जाने बाटो अफ्ठ्यारो छ । चौतारामा कतिन्जेल बसुरहुँ, चौतारालाई पनि झ्याउ लागिसक्यो होला ।

    फेरि पनि मूल्याङ्कन कै कुरा । इदर उदर ।

    त्यही नक्सा भएका नभएका सटकमा भाग्न मन लाग्छ । तर पनि के ले रोक्छ केले । जागिर भन्ने कुरा यस्तो चुतिया लाग्छ । झन् नयाँ जागीरमा दरखास्त हाल्नका लागि लेखिएका बुँदाहरु यस्तो घटिया लाग्छ । जीवनका वास्तविकता अनुकुल हुँदै हुदैनन् । पुरा फेक ।

    टेम्प्लेटमा बाँच्छन् कि क्या हो सबै जना ।

    संसार यसमै रमाएको छ । आफू काम गर्ने सँस्थाको नाम सुनाउँदा नातेदार छिमेकीहरु ‘प्रगति भएछ’ भन्थे । मलाई प्रगति भन्ने सब्द सुनेर जरो आउँछ । (शब्द पनि अशुद्ध लेखेछु)  । सँगै काम गर्ने एक जना कम ढोँगी दाइ छन् । अस्ति फोनमा उनलाई नि कसैले यस्तै प्रगतिको कुरो सुनाएछन् क्यारे । उनी भन्दै थिए ‘प्रगति र दूर्गतिसँग खासै सरोकार राख्दिनँ’ । चित्त बुझेको थियो मलाई नि ।

    लेख्दै थिएँ । अरु धेरै लेख्थेँ होला ।  उमङ्गले भात सेलायो भनेर धेरै चोटि भनीसकी । यो चाहिँ पारिवारिक मूल्याङ्कन हो ।

    दाल, भात, अालु भुजिया, गोलभेडाको अचार र अमलेट । हाम्रो डिनरमा यति धेरै भेराइटी दुर्लभ हो । आज शनिबार हो ।

    आफैंलाई लेखेँ कि अरुलाई लेखेँ । अरुलाई लेखेँ कि तिमीलाई लेखेँ । कति ठाउँमा ठीक्क पार्न लेखेँ होला ।
    सामाजिक मूल्याङ्कनदेखि नडराउने प्रयास गर्दैछु ।

    ‘You know what you did. You dont need to tell others’

    तिम्रो म
    २०१५ जनवरी २३
    ८:४८ साँझ

  • ट्याक्सी नम्बर ५९५९

    October 31st, 2014
    गंगा तटमा रचिएका टैगोरका आत्मकथा, सत्यजित रे र रितुपर्नो घोषका फिल्म, भुपेन हजारिकाका गीत र अरु यस्तै इधर-उधरले कलकत्ता जाने हुटहुटी लामो समयदेखि मनमा थियो । यसपालिको दशैं विदामा त्यो तिर्खाले शान्ति पायो । सँगै काम गर्ने हामी चार सहकर्मी एक-एउटा झोला भिरेर सुनौली हुँदै गोरखपुरको रेल पकड्न रमाना भयौं ।

    उसो त कलकत्ता नेपालबाट सबैभन्दा नजिकैको बन्दरगाह पनि हो । पूर्वी नाका काकडभिट्टाबाट जाँदा धेरै छोटो पर्ने थाहा भइकन पनि हामी पश्चिमतिर लागेका थियौं । किनकि गोरखपुरबाट रेल धेरैबेरसम्म चढ्न पाइन्छ । भारत यात्रामा सँधै रेलले आकर्षण गर्छ । रेलमा दिनभरि, रातभरि दौडिरहनु मात्रै पनि यात्राको आधासरो आनन्द हो ।

    गोरखपुरबाट बिस्तारै हिँडेको पूर्वान्चल एक्सप्रेस कहिले तुफान हुन्थ्यो कहिले कुनै अनजान पटरीमा अर्कोतिरबाट आएको रेलगाडीलाई साइड दिन घन्टौं कुरेर बस्थ्यो । रेलका हरेक डिब्बामा कम्तिमा चार वटा शौचालय हुन्छन् । तर यसरी अन्जान ठाउँमा रेल रोकिएको मौका पारेर यात्रुगणहरु ढोकाबाट फुत्त फुत्त जमीनमा हाम्फाल्थे र क्षितिजमा उडेका बकुल्लाका बथान हेर्दै मूत्र बिसाउँथे । स्टेशन न स्टेशन, कोही कोही पोका बोकेर रेलबाट झर्थे र बाटो लाग्थे । कोही कोही त्यसै गरी चढ्थे ।

    साँझ नपरुन्जेल रेलभित्र बजार हुन्थ्यो । साबुन, स्याम्पु, मन्जन, चटपटे, भात, केरा, पकौडा बेच्नेदेखि गीत गाएर, दिक्क लगाएर पैसा माग्नेको थरिथरिका अनुहारले रौनकता थपिरहन्थ्यो । रातभरि मान्छे सुत्थे । रेल दौडिरहन्थ्यो । कहिलेकाहिँ बिउँझिनेहरु झ्यालबाट बाहिर चियाउँथे । जुनको प्रकाशमा पर थुम्का थुम्की डाँडाहरु, ताल तलैया, विशाल धानका फाँट, नरिवलका बुटा, बस्ति केके केके देखिन्थे । ठाउँ ठाउँमा विशाल औद्योगिक क्षेत्र थिए ।

    पूर्वोत्तर भारतमा अन्य क्षेत्रको तुलनामा रेलगाडीहरु समयमा चल्दा रहेनछन् । गोरखपुरबाट रेल चढेको २० घन्टा लामो सफरपछि भोलिपल्ट विहान हामी निर्धारित समयभन्दा करिब डेढ घन्टा ढिला हावडा पुग्यौं । हावडा पुललाई रविन्द्र सेतु भन्दा रहेछन् । अंग्रेजले १९४२ मा बनाइदिएको यो पुल कलकत्ताको ‘ल्यान्डमार्क’ हो । गङ्गाबाट भँगालो फाटेको विशाल होग्ली नदीमा बनेको ७०५ मिटर लामो आठ लेनको सडक बोकेको पुलमा एउटा पनि पिलर छैन भन्ने थाहा पाउँदा त्यो बेलाको इन्जिनियरिङ सम्झेर जिब्रो नटोकी बस्न सकिएन ।

    पहाडको देशबाट झरेका हामीलाई समुद्र हेर्नु थियो । कलकत्ताको नामी समुद्री तट डिगा हो भन्ने गुगलले पहिले नै बताइसकेको थियो । हामी हावडा पुल हेरेर थप कलकत्ता भ्रमण थाँति राखेर डिगा जाने बस चढ्यौं र सुरु गर्यौं अर्को १ सय ८० किलोमिटर लामो बस यात्रा । आधाजसो दूरी बसले ८ लेनको विशाल एक्सप्रेस वेमा झिमिक्कै पार गर्यो । बाँकि आधा बाटो भने यताकै जस्तो, साँघुरो र खाल्डा खुल्डी । दायाँ बायाँका दृश्यहरुले दया नगरेको भए बसको उफ्र्याइ र अनवरत बजिरहने कर्कश हर्नको आवाजले बिरामी बनाउँथ्यो होला । झन्डै ६ घन्टाको यात्रा पछि डिगा पुगियो । बंगालको खाडीको एउटा सुन्दर तटीय शहर अनि सुन्दर विच । गोवाका निला समुद्री तटमा रमाइसकेका हामीलाई यो खासै नसुनिएको तटले निराश बनाउँछ कि जस्तो लागेको थियो, तर त्यसो भएन । हामी रमायौं ।

    समुद्री तट व्यस्त थियो । विदेशी पर्यटक एकदम कम । अधिकांश भारतीय । हामी रात परुन्जेल छालसँग रमाइरह्यौं । कहिले छालले बगायो । कहिले छालसँगै बग्यौं । शरिर थाके नि मन थाकेको थिएन । पुणिर्माको रात थियो । घाम डुबेसी जुन उदायो । अनि झन् सुन्दर भयो । पुणिर्मामा ठूला छाल आउँदा रहेछन् । समुद्रको सतह पनि बढ्दै बढ्दै आयो । अघिसम्म पर देखिने छालहरु किनारामा ढुंगै ढुंगामाथि बसेका हाम्रा खुट्टासम्मै आइपुगे । पानीभरि जुनको उज्यालो टल्किएको थियो । छाल आउँथ्यो, जान्थ्यो । कहिले गडगडाएर आउँथ्यो । एकैछिन शान्त हुन्थ्यो फेरि । ‘समुद्र जस्तै शान्त’ भन्छन् नि कविहरु । त्यसरात मैले पत्ता लाउनै सकिनँ समुद्र शान्त हुन्छ कि अशान्त ?

    भोलिपल्ट फर्कुनु थियो । कलकत्ता त घुम्नै बाँकि छ विहान होटलबाट झोला भिरेर जानु अघि एकपल्ट फेरि गंगासागर हेर्ने रहर पलायो । किनारामा नरिवल पानी बेच्नेले घाम छेक्न टाँगिदिएको पालमुनि बसेर एकछिन समुद्र हेरेपछि त मन कहाँ मान्थ्यो र ? फेरि हाम्फाल्यौं पानीमा । प्रचण्ड घामले छाला डढेको पत्तो भएन । पानीमा एक-डेढ घन्टा रमायौं । कलकत्ता जाने बस चढ्दा दिउँसोको १ बजिसकेको थियो । विशाल कलकत्तामा कुन ठाउँमा, कुन गल्लीमा गएर बस्ने भन्ने हाम्रो अनभिज्ञतालाई गुगलले नि मेटाउन सकेको थिएन । झमक्क रात परेपछि कलकत्ता पुगियो । बसबाट झरेपछि हामीले मान्छेहरुलाई सोध्यौं ‘यहाँ टुरिस्टहरु आएर कहाँ बस्छन् ?’ उनीहरुले ‘पार्क स्ट्रीट’ भने । हामी त्यतै लाग्यौं र होटल खोज्न थाल्यौं । त्यति धेरै होटल भाको ठाउँमा नि कतै कोठा खाली छ भन्दैनन् त । एउटा होटलवालाले कारण बताए, इदको छुट्टी पारेर त्यही साँझ मात्रै १० हजार बंगलादेशीहरु कोलकाता छिरेछन्, अनि होटलको हाहाकार । बल्लतल्ल एउटा ठीकैको होटलमा महँगो दाममा कोठा पाइयो ।

    भोलिपल्ट निस्कियौं सडकमा । दिनभरि कलकत्ता घुम्ने इरादा थियो । तर कलकत्ता त विशाल पो छ त । अनि कहाँ कहाँ घुम्ने ? छुटाउनै नहुने ठाउँ कुन होला ? बस र रेलका भिडले तर्साइसकेको थियो । बाटो छेउमा चिया पिउँदै गर्दा एक सहकर्मीले जुक्ति निकाले, ‘ट्याक्सी खोजौं’ । दुइ जना ट्याक्सी खोज्न लागे । दिनभरि कलकत्ता घुमाइदिनु पर्ने हाम्रो शर्त । उसले भन्यो ‘बेलुका ८ बजेसम्म घुमाएर होटलमा ल्याएर छोडिदिन्छु ३ हजार दिनोस्’ हामीले भन्यौं १५ सय । कुरा मिल्यो २ हजार भारुमा ।

    प्रोदीप दास नामका टुप्पीदेखि कपाल र्झन भर्खरै सुरु भएका श्याम वर्णका अन्दाजी ४० नाघेका ट्याक्सी ड्राइभर सँगै बसेर चिया पियौं । अनि उनको पहेँलो रङको सुन्दर एम्बेसडर कारमा चढ्यौं । नेपाल छोडेदेखि नै हल्काफुल्का रुघा खोकीले सताइएका एक सहयात्री आफूलाई ‘मरिज’ बताउँदै अगाडि सिटमा बसेर ड्राइभरसँग गफिन थाले । भारत घुम्न गइरहनेहरुको सँधै एउटा पूर्वाग्रह हुन्छः युपि विहारमा असल मानिस कम हुन्छन् सहयोगी हुँदैनन् ठग्न खोज्छन् र दक्षिण भारतीयहरु सहयोगी र असल हुन्छन् । हामी थियौं पूर्वी भारतमा । ट्याक्सी ड्राइभर सोझा थिए । १६ वर्षदेखि ट्याक्सी चलाएर उनले हालसालै आफैंले त्यो ट्याक्सी किनेका थिए । बेच्यो भने १ लाख आउँछ भन्दै थिए । धेरै नबोल्ने ट्याक्सी ड्राइभर त्रृणमुल काँग्रेसका भोटर रहेछन् । २ दशक पश्चिम बंगालमा राज गरेको कम्युनिष्टले सिन्को पनि नभाँचेको उनको बुझाइ थियो ।

    प्रोदिप दासले हाम्रो यात्रा कालीघाटस्थित काली मन्दिरबाट सुरु गराइदिए । कलकत्ताको नाम पनि यसै मन्दिरबाट राखिएको भनिँदो रहेछ । दर्शनका लागि लामो लाइन हुने मन्दिरमा सर्टकर्टबाट दर्शन गराइदिने दलालहरुले घेरेर हैरान पार्दा रहेछन् । वागमति भन्दा धेरै फोहोर पानी बग्ने घाटछेउ घुमघाम गरेपछि हामीले त्योभन्दा धेरै सफा वागमती सम्भिmएर मनमनै गर्व गर्यौं । काली दर्शनपछि प्रोदीप दासले हामीलाई बाटो छेउको एउटा विशाल रेस कोर्स -घोडा दौड खेल हुने ठाउँ) देखाउँदै भिक्टोरिया मेमोरियल पुर्याए । त्यस ठाउँमा एउटा नाम चलेको पुरानो चर्च र खगोलिय पिन्डहरुको अध्ययन गर्ने तारामन्डल भनिने प्रयोगशाला नि रहेछ । प्रोदीप दासले आफूले ट्याक्सी रोक्ने ठाउँ देखाउँदै भने ः ‘यी तीन वटै ठाउँ घुमेर आउनोस्, ४५ मिनेट जति लाग्छ’ हामीले हस् भन्यौं र प्रोदिपलाई छोडेर भिक्टोरिया मेमोरियल छिर्यौं । तत्कालीन बेलायती महारानी भिक्टोरियाको सम्झनामा बनाइएको यो विशाल भवन चानचुने रहेनछ । कलकत्ताको ताजमहल । भित्र १३ औं शताब्दीदेखि भारतको इतिहास लेखिएका । घुम्दा घुम्दै हामीलाई भिक्टोरियामै १ घन्टा भन्दा बढि लाग्यो । त्यहाँबाट निस्केर तारामन्डलमा गएर ग्रह र ताराहरुको बारेमा आधा घन्टा लामो एउटा आकर्षक प्रस्तुति हेयौैं । चर्च पनि हेरेर आउँदा २ घन्टा जसो भइसकेको थियो ।

    हतार हतार प्रोदीपले ट्याक्सी रोक्छु भनेको ठाउँमा जाँदा न उनी थिए न ट्याक्सी नै थियो । पार्किङ गर्न नपाएर अलि पर पुगेकी भनेर चारैतिर खोज्यौं । अँह प्रोदीप भेटिएनन् । परेन आपत । चार जना सहयात्री चारतिर बाँडिएर चर्को घाममा ट्याक्सीको खोजी गर्यौं । भेटिएन । विहान १० बजेतिर ट्याक्सी चढेका थियौं हामी । २ बजिसकेको थियो ।

    हामीले भारतको सीम कार्ड किन्न खोज्दा विदेशीले पाउँदैनन् भन्ने जवाफ पाएका थियौं । त्यसैले हामीले ट्याक्सी ड्राइभरको नम्बर पनि लिएका थिएनौं । एकजना सहयात्रीले भने उनको ट्याक्सीको फोटो खिच्न भ्याएका रहेछन् । जहाँ ट्याक्सी नम्बर लेखिएको थियो डब्ल्यु बि ०४ बी ५९५९ । हामीमा अलिकति आशा पलायो । बुलेट बाइकमा दबंग स्टाइलमा गस्तिमा हिँड्ने सेतो बर्दि लगाएका कलकत्ते पुलिस गुहार्यौं । उनले सोधे ः ‘सामान छुटेको थियो ट्याक्सीमा?’

    हामीले भन्यौं, ‘थिएन, पानीको एउटा बोतल मात्रै थियो’

    ‘किन खोजेको त त्यसलाई ?’

    हामीले भन्यौं ‘हामीले उसलाई एक पैसा पनि दिएका थिएनौं । उसको आधा दिनको कमाइ भए पनि दिन चाहन्छौं ।’

    पुलिसले हाँसेर उडाइदिएः ‘जाने दो ।’

    अर्का एक सहयोगी जस्ता देखिने पुलिस भेटिए । उनलाई नि व्यथा सुनाइयो । उनले प्रष्ट भने, ‘कलकत्तामा यसरी ट्याक्सी खोज्ने सिस्टम छैन । कुनै हालतमा भेटिँदैन । बरु प्रहरी चौकीमा ट्याक्सी नम्बर दियो भने उसको फोन नम्बर र ठेगाना पाउन सकिन्छ ।’ पुलिस चौकी जानुअघि भेटिएका सबै ट्याक्सीलाई हामीले खोजेको ट्याक्सी ड्राइभरको विवरण दियौं । कसैले कसैलाई चिन्दा रहेनछन् । हामीले पटक पटक एउटै जवाफ पायौं ‘कलकत्तामा ३८ हजार ट्याक्सी छन् ।’

    पुलिस चौकीमा थानेदारले हामीसँग एकछिन केरकार गरे । ठूलै तहकिकात हुन्छ कि झैं साना साना विवरण सोधे । अनि भने ‘ट्याक्सी चाहिँ भेटिँदैन, बरु ट्याक्सीलाई दिने पैसा मलाई दिनोस्, त्यो ट्याक्सी ड्राइभर यहाँ आयो भने उसलाई दिउँला ।’ हामीलाई ट्याक्सी डाइभर पुलिस चौकी जाला भन्ने रतिभर लागेको थिएन । बाटोमा हामीले प्रोदीप दासलाई सोधेका थियौं, ‘कलकत्तामा तपाईंलाई सबभन्दा मन नपर्ने कुरा के हो ?’ उसले भनेको थियो ‘बर्दिवाले’

    हामीले कलकत्ता घुम्ने समय ट्याक्सी हन्टिङमा खेर फालिरहेका थियौं । विहान चिया खाएदेखि केही खान पाइएको थिएन । प्रोदीप दासले नै बंगाली खाना पाइने ठाउँमा लान्छु, सँगै खाने भनेको थियो ।

    हामीमध्येका पाका सहयात्री सबभन्दा उत्साही थिए । उनी भन्दै थिए ‘घुमघाम छाडौं जसरि नि त्यो ट्याक्सी खोजेर उसलाई भाडा तिर्ने मिसनमा लागौं ।’ हामी बाँकि तीनले नाइँ भन्न सकेका थिएनौं । तर अब कहाँ जाने ? कहाँ खोज्ने ? बाटोमा सोधखोज गरिरहँदा अर्का एक ट्याक्सी डाइभरले सुझाए, ‘कलकत्ताको ट्याक्सी एसोसिएसनमा जानोस्, त्यहाँ ट्याक्सी नम्बर भनेपछि फोन नम्बर ठेगाना सब पाइन्छ’ मध्य कलकत्ताको कुनै गल्लीभित्र तिनै ट्याक्सीवालाले पुर्याइदिए । उनी उत्साहित हुनुको कारण रहेछ, केही समयअघि एक जना प्रोफेसरले त्यसैगरी भाडा तिर्न बिर्सेका रहेछन् उनलाई । अनि प्रोफेसर ३ महिनापछि खोज्दै आएछन् र भाडा तिरेछन् ।

    ट्याक्सी एशोसिएसनको कार्यालयमा केही पाका व्यक्ति चुपचाप फाइल पल्टाउँदै थिए । भित्तामा एक पूर्व कम्युनिष्ट मन्त्रीको तस्बिर टाँसिएको थियो । ट्याक्सी खोजीको कहानी हामीले सुरुदेखि बेलिबिस्तार लगायौं । उनीहरु एकदम उत्साही भएर भनेः ‘सजिलै पाइन्छ उसको फोन नम्बर’ हामी कुरेको कुरेइ गर्यौं । जतिखेर सोध्दा पनि ‘एकछिन’ ‘एकछिन’ भन्थे । उनीहरुले कहिले फाइल पल्टाउँथे कहिले फोन घुमाउँथे । हामीले भोक थाम्न सकेनौं । ‘नम्बर खोज्दिराख्नोस् हामी आउँछौं’ भनेर बाहिर निस्क्यौं । रोटी सोटी खाएर आधा घन्टापछि फर्केर जाँदा नि ‘खोज्दैछौं’ भन्ने जवाफ मात्र पायौं । केही अगाडि आशाको संचार भएको हामीमा फेरि निराशा छाउन थाल्यो । कुर्दा कुर्दै एसोसिएसनका कोषाध्यक्ष जसपाल सिंह आए । उनले नि फोन घुमाए । धन्न ट्याक्सीको ठेगाना चाहिँ पाइयो । फोन नम्बर पाइएन । पाइएको ठेगानामा जाउँ न त भन्ने सल्लाह हुँदै थियो, जसपाल सिँहले थर्काए, ‘यो धेरै टाढा छ । असम्भव नै छ जान’ फेरि त्यो उसको स्थायी ठेगाना थियो, ५० किलोमिटरको परिधिमा फैलिएको दक्षिण कोलकताको कुनै गल्ली । जान निकै टाढा, गएर नि भेट हुने सम्भावना निकै कम ।

    ५९५९ को खोजि प्रयास लगभग असफल भयो । अँध्यारो भइसकेको थियो । हामी होटलतिरको बाटो लाग्यौं ।

    भोलिपल्ट विहान जहाँ प्रदीपलाई भेटिएको थियो त्यहिँ गएर खोज्यौं । सडकमा दौडेका हरेक ट्याक्सीको नम्बर प्लेटमा आँखा पुग्थ्यो । ५९५९ कतै देखिएन । यो खोजीको क्लाइमेक्स पर्खिरहनु भएको छ भने, छैन । प्रोदीप भेटिएनन् ।

    ट्याक्सी एसोसिएसनका जसपाल सिँहले प्रोदीपको ठेगाना लेखिदिएको कागजको चिर्कटो गोजीमा बोकेर हामी निराश मनले नेपाल फक्र्यौं । बाटोमा भेटिएका दर्जनौंलाई ५९५९ खोज्दाको ‘परेसानी’को कथा सुनायौं । कोही चाख मानेर सुन्थे । कोही हाम्रै गल्ती देखाउँथे । कोही ‘जाने दो’ भन्थे ।

    प्रोदीपको ठेगानामा एउटा चिठीसम्म लेखेर पठाउने कि भनेर हामी सहयात्रीहरु सोच्दैछौं ।

    प्रकाशित: कार्तिक १४, २०७१

  • Question

    September 8th, 2014
    I love questions without answers
    And answers without question
    Tell me
    Would you answer
    Or question?

    Sometimes no question is question
    And silence
    Is the best answer

    How many questions
    exist between
    One silence to another silence
    How many answers
    Lie between
    One question to another

    I love moments without memories
    And memories without moments
    Would you be
    My memory or moment?

    If you asked me same question
    I would rather be silent.


  • सत्य नाडेला को इमेल

    February 7th, 2014

    सन् १९६७ मा भारतको आन्ध्रप्रदेशको हैदरावादमा नाडेला सत्यनारायण चौधरी भन्ने केटो जन्मिँदा, माइक्रोसफ्ट भन्ने कम्पनी नै स्थापना भएको थिएन । सन् १९७५ मा बिल गेट्सले स्थापना गरेको माइक्रोसफ्टको सबैभन्दा शक्तिशाली पदमा अघिल्लो हप्ता ४६ वर्षका सत्य नाडेला नियुक्त हुनु र बिल गेट्स स्वयंले माइक्रोसफ्टको बोर्डको अध्यक्षबाट पनि राजीनामा दिनु संयोग मात्र थिएन । धेरै विश्लेषकहरूको शब्दमा यो एउटा युगको अन्त्य पनि थियो । सत्य नाडेलाको माइक्रोसफ्टको युगचाहिं १९९२ तिर सुरु भएको थियो । त्यसअघि उनले हैदरावादकै सार्वजनिक स्कुल पढेका थिए । कर्नाटकको मणिपाल इन्स्िटच्युट अफ टेक्नोलोजी गएका थिए र त्यसपछि अमेरिका गएर कम्प्युटर साइन्स र व्यवस्थापनमा स्नातकोत्तर गरेका थिए । प्रविधि उत्पादन गर्ने र कम्प्युटरका कल्याल्मल्याङ कोडमा घोत्लिरहने माइक्रोसफ्टका कर्मचारीहरू कम्पनीले गाडी बनाउने फोर्डका प्रमुखलाई हाकिम बनाएर ल्याउने त होइन भनेर बडो बेचैन थिए । किनभने उनीहरूलाई थाहा थियो, माइक्रोसफ्टको भावना प्रविधि बुझेको मान्छेले मात्र बुझ्छ । अरू धेरै सम्भावित दाबेदारलाई पछि पार्दै सत्य नाडेला माइक्रोसफ्टको प्रमुख कार्यकारी अधिकृत भए । बोर्ड अध्यक्षबाट निस्केका बिल गेट्सले भने प्राविधिक सल्लाहकारको रूपमा नाडेलालाई सघाउने वाचा गरेका छन् । नाडेला, स्टिभ बाल्मरलाई विस्थापित गर्दै माइक्रोसफ्ट इतिहासको तेस्रो कार्यकारी प्रमुख भएका हुन् ।

    विगत २२ वर्षदेखि माइक्रोसफ्टका काम गरिरहेका नाडेला पछिल्लो समयमा अनलाइन र सर्भरसँग सम्बन्धित विभागको प्रमुख थिए । जुन विभागको वाषिर्क आम्दानी १९ अर्ब डलर थियो । यो रकम माइक्रोसफ्टको वाषिर्क आम्दानीको एक चौथाइ हो ।

    सत्य नाडेला प्रमुख कार्यकारी भएपछि आफ्नो कम्पनिका कर्मचारीहरूलाई एउटा इमेल लेखेका छन् । यो प्रेरक इमेलका केही अंश यस्ता छन् :

    सत्य नाडेला

    ‘आज मेरो लागि एकदमै कृतज्ञतापूर्ण दिन हो । म २२ वर्षअगाडि माइक्रोसफ्टमा मेरो पहिलो दिन सम्भिmँदैछु । त्यति बेला तपाईंहरूजस्तै मसँग पनि कहाँ जागिर खाने भन्ने रोजाइहरू थिए । माइक्रोसफ्ट संसारको सर्वोत्कृष्ट कम्पनी हो भन्ने विश्वास बोकेर म यहाँ जागिर खान आएको थिएँ । हाम्रा सिर्जनाका माध्यमबाट मानिसहरू कसरी जादूमयी काम गर्दै छन् र संसारलाई सुन्दर ठाउँ बनाउँदै छन् भन्ने मैले देखेको थिएँ । म परिवर्तन चाहन्छु भने माइक्रोसफ्टमा छिर्नुबाहेक अरू कुनै विकल्प छैन भन्ने मलाई थाहा थियो । आजको दिनमा आइपुग्दा पनि मलाई त्यही प्रेरणाले अघि बढ्न मद्दत गरिरहेको छ ।

    हाम्रो यो महान् कम्पनीलाई सेवा गर्ने र नेतृत्व दिने अवसर पाउनु मेरो लागि एउटा अविश्वसनीय सम्मान हो । स्टिभ बाल्मर र बिल गेट्सको एउटा सोचबाट सुरु भएको माइक्रोसफ्ट संसारकै सबैभन्दा महान् र पि्रय कम्पनीमध्ये एक हुन पुगेको छ । स्टिभ र बिलको नजिकै रहेर माइक्रोसफ्टमा धेरैखाले भूमिकामा काम गर्न पाएकोमा म आफूलाई भाग्यमानी ठान्छु । प्रमुख कार्यकारीको रूपमा मेरो नयाँ भूमिकामा आइरहँदा मैले बिल गेट्सलाई पनि उनको अधिकतम समय माइक्रोसफ्टका प्रविधि र उत्पादनका लागि दिन अनुरोध गरिसकेको छु । माइक्रोसफ्ट बोर्डका नयाँ अध्यक्ष जोन थम्पसनसँग पनि मिलेर काम गर्न म उत्साही छु ।

    हामीले धेरै सफलता हासिल गरिरहँदा, हामी अझै बढी गर्न ज्यादै लालायित छौं । हामी परम्परालाई सम्मान गर्दैनौं हामी केवल आविष्कार र नयाँपनलाई सम्मान गर्छौं । प्रविधि क्षेत्र र माइक्रोसफ्टकै लागि अहिले निकै गम्भीर समय हो । हामीले गल्ती गरेनौं भने हाम्रो भविष्य सुन्दर छ । जसरी प्रविधि विकसित हुँदै जान्छ, हामी प्रविधिभन्दा पनि तीव्र गतिमा विकसित हुन्छौं । माइक्रोसफ्टलाई मोबाइल र अनलाइन दुनियाँमा फस्टाउन सक्ने बनाउनु हाम्रो कर्तव्य हो ।

    हाम्रो यात्राको नयाँ चरण सुरु गरिरहँदा मलाई मेरो केही पृष्ठभूमि र मलाई प्रेरणा दिने कुराहरू बाँड्न मन लागेको छ ।

    म यहाँ किन आइपुगें ?

    अधिकांश व्यक्ति जुन कारणले माइक्रोसफ्टमा काम गर्न आइपुगेका छन् म पनि त्यही कारणले आइपुगेको हुँ ः संसारलाई प्रविधिले परिवर्तन गर्न, ता कि मानिसहरू अचम्मका काम गर्न सकून् । मलाई थाहा छ यो अलिकति हावादारी लाग्यो होला । तर वास्तविकता यही हो । हामीले यो काम गरिसकेका छौं, गरिरहेका छौं र फेरि पनि गर्नेछौं ।

    मलाई लाग्दछ, आउने दशकमा कम्प्युटर झन् धेरै सर्वव्यापी हुनेछ । सफ्टवेयर र हार्डवेयरका समानान्तर विकासले हामीले काममा, जीवनमा र संसारमा गर्ने, भोग्ने धेरै कुरालाई मध्यस्थता गरिदिनेछ र डिजिटल स्वरूपमा लानेछ । यी कुरालाई कम्प्युटर सामग्रीहरूको आपसी सम्बन्ध, अनलाइन र सूचनाका विशाल भण्डारले सम्भव बनाउन मद्दत गर्नेछन् ।

    यो सफ्टेवेयर केन्दि्रत संसार हो । यसले हामीलाई परिवार र साथीसँग यसरी जोड्नेछ जसरी यसअघि सम्भव नै थिएन । व्यवसायलाई उपभोक्तासँग बढी अर्थपूर्ण रूपमा जोड्नेछ ।

    म यहाँ छु, किनभने हामीसँग प्रभाव पार्नका लागि अद्वितीयी क्षमता छ ।

    हामी किन यहाँ छौं ?

    प्रारम्भिक इतिहासको क्रममा हाम्रो उद्देश्य हरेक कार्यालय र हरेक घरमा कम्प्युटर पुर्‍याउनु थियो, जुन उद्देश्य हामीले विकसित देशहरूमा लगभग हासिल गरिसक्यौं । आज हाम्रो दायरा फराकिलो भइसकेको छ, जुन कम्प्युटरमा मात्र सीमित छैन । पूर्ण रूपमा सहमति भइसकेको त छैन, तर हामी नोकियाका उत्पादन र सेवाहरूलाई हाम्रो परिवारमा छिट्टै स्वागत गर्नेछौं ।

    अगाडि हेर्दा, माइक्रोसफ्टले यो संसारलाई अरूले भन्दा के फरक योगदान दिन सक्छ भन्ने कुरामा हामी केन्दि्रत हुनुपर्छ । हामीसामु रहेको अवसरलाई सदुपयोग गर्न हामीले विगतमा गरेका मोबाइल र अनलाइनसँग सम्बन्धित कामलाई पुनः सम्भिmनु जरुरी छ र नयाँ काम गर्नु जरुरी छ ।

    सफ्टवेयरको शक्तिलाई सदुपयोग गरी त्यसलाई कम्प्युटर तथा अन्य डिभाइस र सेवाको माध्यमबाट व्यक्ति र संस्थालाई सशक्त बनाउने क्षमता हामीसँगमात्र छ । हामी इतिहास बोकेको एक मात्र कम्पनी हौं, जसले निर्माण गरेका मंच र प्रणालीले फराकिला अवसरहरू सिर्जना गरेका छन् ।

    माइक्रोसफ्टका सहकर्मी की लुले हाल सालैको एउटा बैठकमा भनेका थिए माइक्रोसफ्टले मानिसहरूलाई अझै धेरै गर्न प्रोत्साहन गर्छ । यसको अर्थ यो होइन कि हामीले धेरै थरि काम गर्नु जरुरी छ, बरु यस्तो काम गर्नुपर्‍यो जसले संंसारलाई उनीहरूको चासोको विषयमा अझै धेरै गर्ने प्रेरणा दियोस्, काम गर्ने, रमाइलो गर्ने, सञ्चार सम्पर्क गर्ने र ठूला कुरा हासिल गर्ने । हामी को हौं भन्ने भित्री कुरा यही हो र हामीले गर्ने हरेक काममा यही कुराले प्रेरित गरेको छ ।

    अब हामी के गर्छौं ?

    अस्कर वाइल्डको शब्द सापटी लिनुपर्दा ः हामीले असम्भवमा विश्वास गर्नुपर्छ र असम्भाव्यतालाई हटाइदिनुपर्छ ।

    …अर्को कुरा, हामी हरेकले आफ्नो उत्कृष्ट क्षमता प्रदर्शन गर्नुपर्छ, नेतृत्व गर्नुपर्छ र सांस्कृतिक परिवर्तनलाई डोर्‍याउन सघाउनुपर्छ । हामी कहिलेकाहीं आफ्नो क्षमतालाई कम आँक्छौं र अघि बढ्नका लागि अरूको क्षमतामा बढी भर पर्छौं । यो सोचलाई बदल्नैपर्छ ।

    अन्त्यमा, म के विश्वास गर्छु भने हामी हरेकले आफूले गर्ने कामको अर्थ खोज्नु जरुरी छ । जब हामी आफूले गर्ने कामलाई कामको रूपमा मात्र नभई अरुको जीवन परिवर्तन गर्ने माध्यमका रूपमा हेर्छौं तब मात्र हाम्रो कामले सार्थकता पाउँछ । यस कम्पनीमा काम गर्ने सबैलाई यही सोचले अघि डोर्‍याउँछ ।

    सबै कम्पनी संसार बदल्ने रहर गर्छन् । तर थोरैसँग मात्र त्यसको लागि आवश्यक तत्त्व हुन्छ ः प्रतिभा, स्रोत र लगनशीलता । माइक्रोसफ्टले यी तीनवटै तत्त्व आफूसँग प्रशस्त भएको प्रमाणित गरिसकेको छ । त्यसैले नयाँ प्रमुख कार्यकारी अधिकृतको रूपमा मलाई अरू केही माग गर्नु छैन ।’

  • Kerala Backwaters and House Boat

    December 26th, 2013

    Enjoy the beautiful view of Kerala backwaters. See how does it feel to live in a house boat in Kerala Backwaters. 

    I went to Kerala last month and stayed a night in House Boat.

    This video explains everything: 

    (more…)
  • Where do the Children Play? – Cat Stevens

    July 11th, 2013

    Where do the Children Play? I have always been a big fan of Cat Stevens (Yusuf Islam). Though I can not articulate all the meanings of his songs and their impacts, I just find his songs very meaningful and connected with our societies.

    Even the songs he wrote and sang in 70s are still relevant and meaningful. One of my favorite is ‘where do the children play?’ Well, that is a big question for metro cities like Kathmandu. And the question is going to be even bigger in coming decades. One fine evening I filmed kids in my neighborhood in Eastern Kathmandu and tried to sync them with the song. Please enjoy the video and let me know how did you find it.

    Watch Where Do the Children Play by Cat Stevens

    Please turn the captions [CC] on to see the lyrics.

    This one is from my hometown Hetauda. This is the place I grew up in.

    When Did I first listen to Cat Stevens?

    It was early 2000s. I was in grade 11 or 12. I don’t remember exactly. We had a song called ‘Father and  Son’ by Cat Stevens in the textbook of Major English. Listening to the audio of the song was part of the curriculum. My teacher Prem Sapkota brought cassette player one day and played ‘father and son’ by Cat Stevens. I fell in love with both the song and Cat Stevens.

    It was probably the first time I intentionally listened to an English song. Otherwise Hindi movies songs and Nepali songs were those I grew up with.

    Later I started listening all songs by Cat Stevens. His ‘Kathmandu’ is another favorite. I also have made a video of ‘Kathmandu’ by Cat Stevens. You can watch the video here.

  • पूर्व चार नम्बर

    May 25th, 2013
    ठमेलमा आगो लाग्दा भोजपुर बजारमा पानी परिरहेको थियो । उसो त केही दिनअघि नेपालै बन्द भइरहँदा पनि त्यसको प्रभाव यहाँका सीमित राजनीतिक कार्यकर्ताहरूले ि चया पसलमा बसेर मसिनो स्वरमा गर्ने कुराकानीमा बाहेक अन्यत्र देखिएको थिएन ।

    धनकुटाको हिलेबाट पाखि्रबाससम्मको कालोपत्रे सडकपछि झन्डै २५ किलोमिटर कच्ची ओरालोमा धूलो उडाउँदै अरुण नदीको तीरमा पुगिन्छ । अरुणमा एक विदेशी संस्थाको सहयोगमा धमाधम पक्की फलामे पुल बन्दैछ । अढाइ सय मिटर उचाइमा तातो हावा चल्ने अरुण किनाराका छाप्राहरू अब बिस्तारै बजार बन्दै छन् । धरान, धनकुटादेखि भोजपुर र संखुवासभा जाने मिनिबस र जिपहरू धूलो उडाउँदै आएर यही लेगुवा भन्ने ठाउँमा घ्याच्च रोकिन्छन् र अरुण तर्न पालो कुरेर बस्छन् । फलामे तारमा बाँधिएको फेरिमा मोटरसाइकलदेखि, बस, ट्रक, ट्याक्टर र डोजरसम्मले अरुण पार गर्छन् । अरुणपारि भोजपुर । वारि अरुणको तीरैतीर उँभो लागे खाँदबारी ।

    भोजपुर बजारबाट दक्षिणतिर पर्ने टक्सार गाविसको पारपानी भन्ने ठाउँमा जान रातोमाटोका भिराला गोरेटा र बाँसघारी छिचोलेर झरिरहँदा सँगै गएका भोजपुरका एक युवा पत्रकार कम नेता युद्धकालको चर्चित गीत गुनगुनाइरहेका थिए, ‘अरुण तरेर नाना तमोर तरेर, आयौं हामी वीरताको गाथा बोकेर’ ।

    १० वर्षअगाडिको युद्धमा त अरुण र तमोर तरेका कुरा गरिन्थ्यो । अझै ७ पुस्ताअगाडि भोजपुर आएका काठमाण्डुका नेवारहरूले के के मात्र तरेनन् होला । अहिले त अरुणमा मात्र हो पुल बन्न बाँकी । तमोरमा धेरै पहिले पक्की पुल बनिसक्यो । राणा कालअघि नै धातुका टक बनाउनका लागि औद्योगिक क्षेत्रको रूपमा विकास भएको रहेछ टक्सार बजार । पछि नजिकैको तामाखानीमा तामा भेटिन छाड्यो । अनि तामाका सिक्का उत्पादन गर्ने टक्सारले काम पाउन छाड्यो । तर अझै पनि टक्सारमा दुई चार घर पुराना नेवारहरू दिनभरि भाँडाकुँडा ट्याक्क टुक्क पारेर बसिरहन्छन् । सडकबाटो हुँदै कच्चापदार्थ बाहिरबाट आउँछ, टक्सारका सिपालु हातले तिनीहरूलाई पोल्छन्, ठोक्छन्, पगाल्छन् अनि चिल्ला भाँडाकुँडा बनाएर बाहिर पठाउँछन् ।

    राणाकालपछि सत्र सालसम्म पनि भोजपुरलाई पूर्व चार नम्बर भनेर चिनिन्थ्यो । भोजपुरेहरूको विश्लेषणमा उपत्यकाका ३ वटा जिल्लापछि सुगमताको हिसाबले भोजपुर चौथो नम्बरमा आउँथ्यो रे । त्यसबेला घोडा दौडने बाटो भएका ठाउँलाई सुगम मानिन्थ्यो । भोजपुरमा पक्की घोडेटो थिए । कुनै जमानामा सुगम भनेर चिनिने र अवसरको खोजीमा काठमाण्डुदेखि बसाइ सराइ हुने भोजपुरमा समय कहिलेदेखि टक्क अडियो थाहा छैन । ३ वर्षअघि मात्रै बाहिर दुनियाँसँग सडक बाटोले जोडिएको भोजपुरलाई त आजकल पूर्वको कणर्ाली पनि भन्दा रहेछन् ।

    भोजपुरमा भेटिएका चिया पसलेदेखि, विद्यार्थी, नेता, वकिल, पत्रकार सबैको मुखबाट एउटै खाले टिप्पणी सुन्न पाइयो । भोजपुरले थुप्रै अब्बल दर्जाका नेता र प्रशासक जन्मायो तर कसैले भोजपुरलाई बाल दिएनन् । यति भनिरहँदा भोजपुर बजारका व्यापारीहरू दुई चार दिनपछि जिल्ला घुम्न आउने एकजना मन्त्रीको स्वागतमा दुई चार अक्षर लेखिएका फ्लेक्स ब्यानरलाई अआफ्नो पसलमाथि टाँग्दै थिए । मन्त्रीको सवारीलाई लक्षित गरी, प्रहरीहरू सडक नै ढाकेर राखिएका मासु पसल र सेकुवा पोल्ने चुलोलाई भित्र सार्न उर्दी जारी गर्दै हिँडिरहेका देखिन्थे । केन्द्रीय राजनीतिसँग प्रगाढ साइनो राख्न चाहने चल्तापुर्जाहरू घरीघरी मोबाइल थिच्दै आजै एयरपोर्ट आइपुग्ने योजना आयोगका एक पूर्वसदस्यका लागि गाडीको इन्तजाम गर्दै थिए । बजारका पुराना घरका भित्तामा टाँसिएका केपी ओली प्रमुख अतिथि भएको कार्यक्रमको पम्प्लेट दुई चार दिनयताको झरीले खुइलिँदै गएका थिए । केही हप्ताअघि मात्रै भोजपुर आएर जोडदार भाषण गरेर गएका केपी ओलीले भोजपुरबासीसमक्ष प्रस्तुत गरेका उखान टुक्का र किस्साहरू अझै पनि दाउरामै चिया पाक्ने बजारका होटलहरूमा जीवन्त थिए ।

    ३७ प्रतिशत राईहरू बसोबास गर्ने भोजपुर जिल्लामा, बजारमा एउटा चिया पसलमा किराँत वर्कस पार्टीका एक जल्दाबल्दा स्थानीय नेता पनि भेटिए । नेपाल एकीकरणमा माझकिराँतको विलयदेखि, हिन्दुवादी केन्द्रीय राज्यसत्ताले गरेका अन्याय अत्याचारका थुप्र्रै उदाहरण उनले हक्की रूपमा प्रस्तुत गरे । मदिराकी आविस्कारक सुम्निमा र आर्किटेक्ट इन्जिनियर पारुहाङलाई शिव-पार्वतीको रूपमा कसरी अपव्याख्या गरिन्छ भन्ने तर्क पनि दिए । नेता महोदयका गहकिला कुरा सुनेपछि यसो बजार घुम्न निस्किँदा बजारमा रहेको निकै सुन्दर, आकर्षक र प्रख्यात ढुंगेधारा ‘सातधारा’तिर पुगियो । सातधारा व्यवस्थापन समितिको नाम मार्बलमा कुँदेर राखिएको थियो । नामहरू सरर पढेँ । एकजना पनि राई रहेनछन् त्यो समितिमा । थाहा छैन, गाउँको ढुंगेधारा बनाउने समितिमा कसरी केन्द्रीय राज्यसत्ताले बहुल राईहरूलाई पाखा लगाएछ ।

    काठमाण्डुतिरै थोरबहुत संगत भएका युवा संगीतकार श्याम सामसोन संयोगवश भोजपुर बजारमै भेटिए । उनी विकटताको दोष नदीलाई दिन्थे । एकातिर दूधकोसी अर्कातिर अरुण । अनि पुल नभएको नदीबाट विकास के चढेर आउनु भोजपुरसम्म ?

    उसो त ३ वर्षअघि सडक आएपछि भोजपुरमा फाट्टफुट्ट बैंक र निजी अस्पताल खुल्न थालेका छन् । मासु बेच्ने प|mेस हाउसहरू खुलेका छन् । लोकल कुखुराको मात्रै ससाना अण्डा पाइने चिया पसलमा विकासे अण्डा पनि पाइन थालेको छ । सेतो कमेरोले पोतेका घरहरूको ठाउँमा आधुनिक तरिकाका घर बन्न थालेका छन् । एनजीओ र आईएनजीओका गाडीहरू पनि आक्कलझुक्कल आउन थालेका छन् । गाउँबाट बजार बन्दै छ भोजपुर । तर अफसोस, ७ पुस्ताअघि थुप्रै नदी तरेर भोजपुर बसाइ आएकाहरू अब फेरि भोजपुर छाडेर फकर्ंदै छन् । कोही धरान धनकुटा र मधेस झर्दै छन् । कोही काठमाण्डुमा घरजम । ‘हाम्रा केटाकेटीहरू यहाँ बस्नै मान्दैनन् नि’ पुस्तौंदेखि भोजपुरमा खुकुरी उत्पादन गर्दै आएका एक श्रेष्ठ थरका व्यापारीले काठमाण्डुको इमाडोलमा घर किनेको सुनाउँदै थिए ।

    बाटोसँगै सपना र आशा पनि भित्रिएका रहेछन् भोजपुरमा । विदेशी संस्थाले ट्र्याक खोलिदिएको बाटोले खोटाङको दिक्तेल भेट्दो रहेछ । बाटो पिच होला र सरर एकै दिनमा दिक्तेल, ओखलढुङ्गा हुँदै मध्यपहाडी राजमार्गमा काठमाण्डु पुगौंला भन्ने सपना पनि व्याप्त छ । तर वास्तविकता, एक झर पानी परेपछि सडकमा ट्याक्टरबाहेक केही गुड्न सक्दैनन् । भोजपुरबाट बस चढेर धरानपुगेर अर्को बसमा चढेर काठमाण्डु पुग्ने भाडा २५ सय तिर्नुपर्छ ।

    घाँसे मैदानमा टक्सार विमानस्थल छ । सरकारीबाहेक अर्को एउटा निजी कम्पनीले पनि हप्तामा एकचोटि प्लेन ओराल्छ । टिकट पाउन ठूलै पहुँचवाला हुनुपर्छ । नेपाल एयरलाइन्सको काउन्टरबाहिर एउटा सूचना पढ्न पाइयो, ‘फलानो फलानो गते फलानो मन्त्री आउने भएकाले यहाँबाट वितरण गरिने ८ वटा सिटमध्ये ७ वटा उपलब्ध नहुने व्यहोरा जानकारी गराइन्छ ।’

    विमानस्थल पायक ठाउँमा नभएकाले वैकल्पिक विमानस्थलको रूपमा दुई तीनवटा गाउँ प्रस्ताव गरिएको रहेछ । ती प्रस्तावित गाउँका मान्छे आफ्नो गाउँ छेउमा नयाँ एयरपोर्ट बन्ला भनेर आस गरेर बस्दा रहेछन् ।

    भोजपुरमा विमानसम्बन्धी दुईटा रमाइला किस्सा सुन्न पाइयो । विमानस्थलमा अवतरण गर्ने नियमित रुटमा बादल लाग्दा विमान अर्कोतिरबाट एक चक्कर घुमाएर उचाइ कम गदर्ैै अवतरण गरिँदो रहेछ । तर बजारका मान्छेहरू भने भोजपुरकै एकजना पाइलटले प्लेन उडाएको दिन आफ्नो गाउँलाई एक चक्कर मारेर मात्रै ल्यान्ड गर्छ भन्दा रहेछन् ।

    भोजपुर विमानस्थलमा जहाज बसेको हेर्न जाँदा बजारका तिनै पत्रकार कम नेता पनि सँगै थिए । उनले यत्ति रमाइलो गफ दिए कि, काठमाण्डु जाने जहाज उड्न ठिक्क परेको थियो । उनी जहाजको रुटबारे पूर्वानुमान गर्दै थिए ‘ऊ त्यो डाँडो यस्सो नाघेर जान्छ होला ।’ जहाज उड्यो । उनले भनेको डाँडो ननाघी जहाज सोझै गयो । उनले कुरा मिलाए, ‘त्यो ट्याम्के डाँडो हो, त्यहाँबाट राम्रो दृश्य देखिन्छ । म भएको भए पाइलटलाई त्यतैबाट उडाएर लैजानु भन्थेँ ।’ उनले जोक गरेको शैलीमा भनेका थिएनन् ।

    कान्तिपुर कोसेलीमा प्रकाशित

  • कति पटक १२ बज्यो होला जिन्दगीमा?

    May 7th, 2013

    १२ बजे गएको थियो भुइँचालो
    च्यापेर लालाबाला
    हुित्तँदै आँगनमा झरेकी उनी
    रातभरि टोलाएकी थिइन्
    तीन आँख्ले तारा हेर्दै
    परदेशीको सम्झनामा

    १२ बजेतिर
    खोलामा भैंसी आहाल बस्थ्यो
    र उनी डोकाभरि घाँस काटिरहन्थिन्
    खोलाको डिलमा बसेर धोर्जे
    सुसेली रहन्थ्यो
    छिमेकको एउटा बुढो लाहुरे
    बल्छी बोकेर आउँथ्यो खोलामा

    १२ बजे कहिले घाम लाग्थ्यो
    कहिले पानी पर्थ्यो
    कहिले त बाढी नै आएको थियो
    चट्याङ परेको थियो
    हुरि चलेको थियो
    धुलो उडेको थियो
    रेडियोमा गित बजेको थियो
    स्कुलबाट केटाकेटी छिटै घर फर्केका थिए
    छिमेकीको घरमा सत्यनारायण पुजाको पर्साद खाने बेला भएको िथयो
    पेट दुखेको थियो
    जुलुस देखिएको थियो
    रत्यौली नाचेका थिए गाउँभरिका आइमाइहरु

    १२ त कति बज्यो कति जिन्दगीमा
    कहिले दिउसोको १२ बज्यो
    कहिले रातीको १२ बज्यो
    कहिले ताराहरुले १२ बजाए
    कहिले फ्याक्ट्रीको साइरनले १२ बजायो
    कहिले घरमाथि पर आकाशमा उड्ने हवाइजहाजले १२ बजायो
    कहिले भोका बाख्राले १२ बजाए

    परदेशीले बर्सौंअघि ल्याइदिएको भित्ते घडीमा
    ब्याट्री सक्किएको छ
    र १२ नै बजेको छ

    तर अफशोच
    घडीको ब्याट्री बोकेर आउनेछैनन् अब परदेशी फर्केर
    तैपनि उनको जिन्दगीमा
    अझै थुप्रै पटक १२ बज्न बाँकि नै छ

  • छोटिएका बाटाहरू, लम्बिएका सपनाहरू

    April 20th, 2013

    एक वर्षअगाडि, जतिखेर अहिले पुरानो भएको ६९ साल भर्खरै जन्मेको थियो, तमाम निराशाका बाबजुद नेतादेखि ‘जनता’ भनिने रैतीसम्मले रंगीन सपना देखेका थिए र देखाएका थिए । पृथ्वीले अनन्त ब्रह्माण्डमा एउटा बलिरहेको आगोको डल्लोलाई चक्कर लगाउँदा उत्पन्न हुने दिन र रातहरूको सिलसिलेबर गिन्ती गर्न, सायद सुरु भएको तिथि-मिति र पात्रोमा हिउँद र वसन्तहरूको एउटा शृंखलापछि फेरि सुरु हुने दिनहरूको नयाँ गिन्तीलाई नयाँ वर्ष भनिन्छ । संसारभर यो एउटा विशेष बहाना हुने गर्छ सपना देख्न, भविष्यवाणी गर्न, आशावादी हुन ।

    हुन त हामी हरेक वर्ष यस अवसरको चरम दुरुपयोगको सिकार हुँदै आएका छौं । आधुनिक नेपाली इतिहासका हरेक नयाँ वर्षमा कति शुभशुभ कामनाहरू गरिए होलान् । कति सपना देखाइए होलान् । पोहोर यसै बखतमा नयाँ संविधान बन्लाबन्लाजस्तो सपनाहरू अभूतपूर्व रूपमा वितरण गरिएका थिए । आज एक वर्षपछि ती सपनाहरू केवल पुराना भएका छन्, बितेको वर्षका दिनहरूजस्तै । उही महिना, गते र बारको नयाँ गणना सुरु हुन थालेजस्तै तिनै सपनाहरू अब फरक कलेबरमा फेरि बाँडिनेछन् सायद ।

    पोहोर मैले यसै ठाउँमा लेखेको थिएँ, यो साल चुनाव हुने हो भने फेसबुक प्रयोगकर्ताहरूले निर्वाचित संस्थामा तेस्रो ठूलो दल हुने तागत राख्नेछन् । एक वर्ष बित्दा, संसार झन् साँघुरिएको छ । मान्छेका ज्ञान, बुझाइ, चेतना, झन् झाँगिएका छन् । आजको दिनमा फेसबुक चलाउने नेपाली २० लाख पुगेका छन् । जसमध्ये झन्डै पौने १८ लाख व्यक्ति १८ वर्षमाथिका छन् अर्थात् मतदाता । १८ लाखभोटले १ करोड चानचुन मत खस्ने निर्वाचनमा महत्त्वपूर्ण हिस्सा राख्दछ । गणितमै सही, नेपालको एउटा जुझारु, राजनीतिक वितृष्णाबाट वाक्क भएको पुस्ताले चाहने हो भने नयाँ वर्षमा हुने चुनावमा एउटा नाटकीय परिणाम दिने शक्ति राख्दछ ।

    हामीमाझ एउटा सिङ्गो दशकले पनि बिदा लिएर गएको छ । नाफा नोक्सानका गणितहरू अलग्गै होलान् । तर बितेको दशकमा हामीले प्रशस्तै सामाजिक, राजनीतिक र आर्थिक कारोबारहरू देख्न पायौं । जुन कारोबारहरूले हामीले सोच्ने र गर्ने तरिकामा विशाल परिवर्तन ल्याइदिए । ६० साल सुरु हुँदै गर्दा ५० हजार इन्टरनेट प्रयोगकर्ता भएको देशमा ७० साल सुरु हुँदा त्यो संख्या ५० लाख पुगेको छ । इन्टेरनेट प्रविधिमात्रै होइन । त्योभन्दा बढी, यो एउटा समाज हो । समाजलाई एकतामा बाँध्ने सूत्र खोज्ने क्रममा पटक पटक नानाभाँतीका उदाहरण बाँडिने र बेचिने हाम्रो समाजमा कम्तीमा एउटा जवान प्रविधिले ५० लाखको समाजलाई बाँध्न सफल भएको छ । मोबाइल फोनले जनसंख्याको आधा आकाशलाई बाँध्यो । सडक सञ्जालले देशको ७३ जिल्लालाई बाँध्यो । बितेका दशकका यी महान् उपलब्धि हुन् । र, यी उपलब्धिका रफ्तार हेर्दा आउने दशकमा हामी झन् धेरै बलियोसँग एक अर्काप्रति बाँधिनेछौं । हामीबीचका दूरीहरू घट्नेछन् ।

    बितेको दशकले झन्डै १० हजार किलोमिटर नयाँ सडक दियो देशलाई । देशका ६६ प्रतिशतभन्दा बढी परिवारका लागि नजिकैको बस चढ्ने ठाउँको दूरी आधा घन्टाभन्दा कम समयमा झर्यो । १० वर्षअघि ३७ प्रतिशत परिवार नजिकैको कालोपत्रे सडकबाट आधा घन्टाको दूरीमा थिए । ७० को दशक सुरु हुँदा देशका झन्डै ६० प्रतिशत घरबाट नजिकैको कालोपत्रे सडक पुग्न आधा घन्टाभन्दा कम समय लाग्छ । बितेको दशकले हामीबीच दूरी घटाएको छ । भलै रुकुमको दुर्गम गाउँबाट कतार जानको लागि काठमाडौंको हवाइजहाज बिसौनीसम्म आउने यात्रा अवधि किन नघटेको होस् । दूरदराज मरुभूमिमा भेडा चराइरहेका परदेशीसँगको दूरी मोबाइल फोनले घटायो । वित्तीय संस्थाका विस्तारले, पसिना भजाएर आएको कमाइ गाउँ आइपुग्ने दूरी पनि घट्यो ।

    भूराजनीतिक परिधिभित्र हामी आउने दशकमा पनि उही स्थानमा नै हुनेछौं । उत्तरकोरिया र अमेरिकाको सम्बन्ध र इरानको परमाणु कार्यक्रमले हाम्रा लागि अखबारका विदेश पेजमा छापिने समाचारभन्दा खासै बढी अर्थ नराख्लान् । उसो त उत्तरकोरियाले दिने अणुबमको धम्की पनि उसले बर्सेनि मनाउने आफ्ना नेताको जन्मदिनको प्रचार प्रसारको सामग्रीभन्दा बढी कहिल्यै देखिएन । भारत र चीनसँगको सम्बन्ध पनि राजनीतिक वृत्तका तर्क वितर्कहरूमाझ नै अल्भिmरहलान् । अलिउग्र सोचाइ राख्नेले सिक्किमीकरणको खतरा बितेको दशकमा नि देखेकै थिए, आउने दिनमा देखिरहलान् । तर ‘अमेरिकी साम्राज्यवाद’ र ‘भारतीय विस्तारवाद’को व्यावहारिक यथार्थको लागि भने संसारका पात्रोहरू धेरै अघि बढिसके । हामी आफैंले बनाइदिएका स्पेसहरूमा हुने सामान्य विदेशी चलखेलबाहेक राष्ट्रियतामा कुनै प्रस्ट खतरा हुनेछैन आउने दशकमा । त्यो सम्भव पनि छैन । स्वाभाविक रूपमा हुने भुइँचालोका धक्काबाहेक भूराजनीतिका अन्य सानाठूला धक्काहरूले हामीलाई खासै प्रभाव नपार्लान् ।

    तर यस वृत्तमा उद्देश्यहीन गरमागरम छलफल, भाषण र बहसहरू भने अपेक्षा गर्न सकिन्छ । यी तपसिलका कुराहरू जे जस्ता भए पनि ६ करोड वर्षअगाडि ठडिएको सगरमाथा कहाँ पर्छ र २६०० वर्षअगाडि शाक्यमुनि बुद्ध कहाँ जन्मिएका थिए भन्ने बहस गर्नको लागि हामी पात्रोमा निकै अगाडि बढिसकेनौं र ?

    बितेको दशक हाम्रा लागि शान्तिको दशक पनि रह्यो । ५० को दशकमा युद्ध भोगेको नेपाली समाजले ६० को दशकमा केही ठूला राजनीतिक परिवर्तनसँगै संकटकाल देख्न छाड्यो, निद्रा बिथोल्ने फायरिङ सुन्न छाड्यो, आमाहरूले छोराहरूलाई खाटमुनि सुताउन छाडे, लामो यात्रामा ठाउँ ठाउँमा हुने डरलाग्दा चेकिङ हुन छाडे, आफ्नै देशको जुनसुकै कुनामा घुम्न पनि डर लाग्न छाड्यो, सुतली बम र पाइपबमहरू समाचार बन्न छाडे र सबैभन्दा खुसीको कुरो त प्रेसर कुकरमाथिको अघोषित प्रतिबन्ध हट्यो ।

    राजनीतिक पदावलीमा ठूलै घनत्व राख्ने परिवर्तनहरू भए पनि व्यावहारिक रूपमा त्यसका अर्थपूर्ण उपलब्धिहरू भने केही देखिएनन् । देशको लामो इतिहासमा १० वर्षले गौण अर्थ राख्ला । तर एउटा मान्छेको जिन्दगीमा १० वर्ष ठूलै हिस्सा हो । बितेको दशकमा जस्तै आउने दशकमा पनि सस्ता राजनीतिक कमेन्ट्ररीहरू र फुस्रा भाषणमा समाज केन्दि्रत भइरह्यो भने त्यसले नयाँ राजनीतिक अध्यायहरू जन्माउला तर एउटा व्यक्तिको जिन्दगीको गुणस्तर भने खासै उकास्न सक्दैन । औसत आयु ६० वर्ष भएका नेपालीले जिन्दगीका दसौं दस वर्ष सपनामात्रै देख्न खर्चिनु महँगो भएन र ? सपना देखाउनेका त पेसै सपना देखाउनु हो ।

    भौतिक रूपमा शान्ति भए पनि मानसिक शान्ति भने खासै छाएन बितेको दशकमा । बेरोजगारीको रापले छटपटाएकाहरू झन् पोल्ने खाडीको गर्मीमा होमिन बाध्य भए । सायद नेपालको इतिहासमा सबैभन्दा धेरै युवाहरू बिदेसिए बितेको दशकमा । समाज बढी महत्त्वाकांक्षी भयो । पाखुरा लाग्नेबित्तिकै गच्छेअनुसार कोही खाडीतिर लागे कोही युरोप अमेरिका लागे । छिमेकीलाई छोरो अमेरिका छ भनेर धाक लगाउने आमाबाबुहरू बिस्तारै एक्लिए । आउने दशकमा नेपाली मध्यमवर्गीय समाजमा झन् धेरै एक्ला, निन्याउरा अनुहारहरू बढ्नेछन् ।

    हेटौंडाको कर्रा टोलमा टोलबासी पाकाहरूले एउटा भजन मण्डली खडा गरेका छन् । ‘पवित्र’ तिथिमितिमा मन भुलाउन घरघरै साँझमा भजन गाउँदै समय कटाउने जमातका अधिकांशका छोराछोरी विदेशमा छन् । विदेशमा रहेका छोराछोरीका जन्मदिनका अवसरमा उनीहरू ‘हरिहरि राम जपन, यो जिन्दगी सपना, राम जपन’ भन्दै भजन गाउने गर्छन् । आउने दशकमा यी पाकाहरू आँखा कम देख्नेछन्, कान कम सुन्नेछन् । अनि भजन गाउने क्रम पनि बन्दहोला । टोल रित्तै होला सायद ।

    कान्तिपुर कोसेलीमा प्रकाशित

1 2 3 … 10
Next Page→

Proudly powered by WordPress

 

Loading Comments...